समाज आधुनिक बन्दै गएको छ । साक्षर दर बढेको छ । मानिसहरु धनसम्पति र इज्जत प्रतिष्ठाका लागि निकै मिहिनेत गरिरहेका भेटिन्छन् । हिजोभन्दा आज र आजभन्दा भोलि मानिसको जीवनस्तर पनि बढिरहेको छ । तर समाज जतिनै आधुनिक भएपनि नारी पुरुषबीचको विभेद उस्तै छ । स्वास्नीमान्छे भएकै कारण अहिले पनि प्रताडित हुनेहरुको संख्यामा कमी आएको छैन । मानिसहरुले डिग्री त हासिल गरे तर ज्ञान र चेतना बढाउन सकेनन् । जसका कारण हामी हरेक दिन विभेद र असमानताका परिघटनाहरु देख्न बाध्य छौं । समाजमा व्याप्त हिंसाका समाचारहरु सुन्न र पढ्न अभिशप्त छौं ।
यहि समय कथाकार शान्ति शर्माको नयाँ कथा संग्रह बजारमा आएको छ – ग्रिन टावेल । यो महिला पुरुषबीचको विभेद र असमानताका परिसन्दर्भहरुले भरिएको कथा संग्रहको हो । प्रेम र यौनको पृष्ठभूमीमा लेखिएको महिला संवेदनाका १५ वटा कथाहरुले भरिएको यस संग्रह वर्तमान समाजमा विद्यमान पारिवारिक, सामाजिक, आर्थिक पक्षलाई मनोवैज्ञानिक ढंगले विश्लेषण गरिएको छ ।
कथाकार शब्दहरुको सहाराले सामाजिक विसंगतिलाई केलाउन उद्दत छिन् । उनले आदर्श समाजको कल्पनामा वेथितिहरुको चिरफार गरेकी छिन् । कथामा जीवन उतार्न खप्पिस उनी प्रेम, संवेग, यौन मनोविज्ञानलाई लेख्छिन् । नारीमाथि हुने विभेद जसरी उनले कथामा उतारेकी छिन् त्यसैगरि उनले नारीले पुरुषमाथि गर्ने दुव्र्यवहारको पनि विरोध गरेकी छिन् । यसबाट उनी समग्र मानवताको पक्षमा छिन् भन्ने प्रष्ट हुन्छ । उनी आफै संघर्षशील नारी भएका कारण कोमलता, समर्पण, सहनशीलता मात्र होइन उनले नारीभित्रका क्रुरता, बदमासी र बेइमानीलाई पनि लुकाएकी छैनन् ।
शान्तिको कथाहरुको सार नारी पुरुष समानता नै हो । त्यसैका लागि उनले कथाका माध्यमबाट वकालत गरेकी छिन् । तर केही कथाहरुमा उनले गरिरहेको वकालत प्रष्ट र ज्यादा मुखरित हुँदा सन्देश दिनकै लागि कथा लेखेको भान पर्छ । संरचनागत हिसाबले सुन्दर कथाहरु पढिरहँदा पाठकहरु रोमाञ्चित हुन सक्छन् । कति स्थानमा पाठक संवेदित र भावुक बन्न पुग्छन् । तर केही कथामा दृश्य र घट्नाको ज्यादा विश्लेषण र विवरणात्मक अभिव्यक्तिले पाठकलाई अल्मलाउने खतरा पनि छ ।
म आफै पनि यही समय कथा लेखिरहेको छु । मलाई पनि मानिस मानिस सम्वन्ध र प्रेमका विषयमा कथा लेख्न मन पर्छ । शान्तिले पनि आफ्नो मुख्य विषय यसैलाई बनाएकी छिन् । तर उनले प्रष्टसँग समानताका पक्षमा गरेको वकालत मलाई निकै मन प¥यो । अझ मलाई रमाइलो लागेको के हो भने समाजको आनीबानी, व्यक्तिका कुण्ठा र मनोविज्ञानलाई शैलीगत रुपमा उनले कथाहरुमा उतारेकी छिन् । कतिसम्म भने नारी संवेदना र चाहनालाई उनले इमान्दारिताका साथ प्रस्तुत गरेकी छिन् ।
सबै कथाहरुको बुनोट र विषय उठान शक्तिशाली छ । र त्यही अनुपातमा केही कथामा भाषाले चुस्तता माग्छ जसका कारण सबै कथाहरु शक्तिशाली हुन सकेका छैनन् । तर केही कथाहरुमा भएका छोटा वाक्य विन्यास र सरल शैलीले पाठकलाई तानिरहन्छ । त्यसो त शक्तिशाली के लाई मान्ने भन्ने प्रश्न व्यक्ति र उसले बाँचेको परिवेश अनुसार फरक हुन सक्छ । शान्तिका कथाहरुले जुन विषयलाई समाएका छन् त्यही विषयमा कहिलेकाँही पात्र छनौटमा कमजोरी देखिन्छ । कतै सम्वादमा समस्या छ । तर यसो भनिरहेको केही कथाका सन्दर्भमा हो । अधिकांश कथा अब्बल छन् ।
शान्तिको कथाको ध्येय हो ‘नारी कमजोर छैनन्’ । उनले हरेक कथामा कतै न कतैबाट यही ध्येयलाई उजिल्याएकी छिन् । भन्छिन् – ‘प्रेमका नाममा हुने धोकादेखि लिएर हत्या, हिंसा, बलात्कार, कुप्रथा आदिका विषय त झन् उठाइ नसक्नु छन् । पछिल्लो समय हिंसामा पर्ने मानिसको संख्या हेर्ने हो भने चार भागमा तीन भाग महिलाहरु छन् । बाँकी एक भाग पुरुष हिंसालाई पनि प्रतिनिधित्व गरि कथा लेखेकी छु ।’
शान्तिलाई थाहा छ, समाजका सबै लोग्नेमान्छे खराव छैनन् । र उनलाई यो पनि राम्रोसँग ज्ञान छ, सबै स्वास्नीमान्छे असल छैनन् । ग्रिन टावेलमा पितृसतात्मक सोचले ग्रस्त समाजका अनेकन तस्वीरहरु छन् तर लैङिगक रुपमा कथाकार प्रभावित छैनन् । उनले आफ्ना कथाहरुमा समाजको यथार्थ चरित्रलाई चित्रण गरेकी छिन् । मानिसभित्रका प्रेम, आकर्षण र यौन मात्र होइन रिस, राग, प्रतिशोधलाई पनि कथामा उतारिएको छ । हरेक कथाको शीर्षक प्रिय र सार्थक छन् । फरक र मीठा बिम्बहरु प्रयोग भएका छन् । पाठकलाई सहज बनाउन प्रयोग भएका मिथ र बिम्बहरु हाम्रै चलनचल्तीका छन् । त्यसले पढिरहँदा पाठकलाई रमाइलो बनाउँछ । चितवन र आसपासका परिवेशलाई प्रायःजसो कथामा चित्रण गरिएको छ । कथालाई ‘अति यथार्थ’ बनाउन उनले लेखनमा गरेको मिहिनेत र प्रयास मलाई सर्वथा प्रिय लागेको छ ।
यो शान्तिको दोस्रो कथा सँग्रह हो । यसअघि २०६८ सालमा उनको ‘पहिलो प्रेमिका’ कथासङ्ग्रह सार्वजनिक भएको थियो । अघिल्ला कथाहरुको तुलनामा यस कृतिमा उनले मारेको फड्कोले नेपाली कथामा उनको संभावनाको फराकिलो आकाशलाई प्रष्ट पारेको छ ।
कितावको मुल कथा ‘ग्रिन टावेल’ भिन्न र एकोहोरो प्रेम कथा हो । यसमा एक छात्राको आफ्नै शिक्षकसँगको प्रेमसम्बन्ध पढन सकिन्छ । प्रेम पनि के भन्नु ? गुरुप्रतिको आशक्ति भन्नु पर्ला । छात्राभित्र गुरुप्रति बढेको आकर्षण गुरु शिष्यबीचको सम्मानलाई नाघेर उदात्त प्रेममा परिणत हुन भ्याउदैन । तर चाह छ । छात्रा भन्छिन् – ‘गुरु, गुरु मात्रै रहनु भएन । अव उहाँ त प्रेमी पनि । तर उहाँले नै अघि दिएको गुलाबको फूलजस्तै अप्राकृति ।’ उनले बोलिरहँदा प्रेम र आकर्षणको चरम रुप महशुश हुन्छ । प्रेम पवित्र छ । निस्वार्थ र आदर्शशील छ । पात्रकै मुखबाट कथाकार लेख्छिन्, ‘प्रेमभन्दा शक्तिशाली चिज कुनै नहुँदो रहेछ । मेरो मनमा पनि नजाँनिदो तरिकाले गुरुप्रतिको प्रेमभाव उब्जियो । विशुद्ध प्रेम, जसमा कुनै विकार तत्वको मिसावट नहोस् आखिर मनै त हो कसले बात लगाउन सक्छ र चाहेर पनि…’
संग्रहमा अर्को शक्तिशाली कथा छ – ‘प्रेमातंक’ । म भएको भए कितावको नाम पनि यही राख्थेँ । कथामा एक प्रेमिकाको मनोविज्ञानलाई देखाइएको छ । विवाहका लागि आफ्नो प्रेमीको प्रतिक्षामा बसेकी किशोरी प्रेमिकाको मनोदशा बुझ्न नसक्ने कठोर मन भएको पुरुषको चित्रण गज्जव छ । कथा पढिरहँदा शान्तिले कसरी पुरुष मनोविज्ञानलाई यति दुरुस्त उतार्न सकेकी होलिन् भनेर म हैरान भएँ । कथामा हरेक पुरुषले आफुभित्रको कमजोरीलाई बुझ्न र महशुश गर्न सक्छन् । अथवा पुरुषले ग्रहण गर्न नसकेको प्रेमको भावलाई अनुभूत गर्न सक्छन् । किशोरी चेतना र उत्सुकताको स्तरबाट हेर्दा यो कथा मलाई बेजोड लाग्यो ।
शिखा बुक्सले प्रकाशन गरेको ग्रिन टावेल समग्रमा शैली, भाषा र सन्देशका दृष्टिले पठनीय कथासंग्रह हो । सरल भाषाशैलीका कारण सर्वसाधारण पाठकले पनि सहज बुझ्न सक्ने कृतिको रूपमा यो कथासंग्रह रहेको छ ।
ग्रिन टावेल कथा संग्रह
कथाकार शान्ति शर्मा
प्रकाशक शिखा बुक्स
मूल्य ३००
पृष्ठ १७८