पिता गोपाल पाँडे ‘असीम’कै पदचिह्नहरु पछ्याउँदै निरन्तर साहित्यसाधना र सिर्जनामा तल्लीन भई नेपाली शिक्षा परिषद्मार्फत विभिन्न खालको साहित्यिक समारोह, सम्मान, सम्पादनमा समेत सक्रिय रहँदै आएकी रमा शर्मा नेपाली भाषा र साहित्यक्षेत्रकी विशिष्ट सेविका हुन् । नेपाली साहित्यको अनुसन्धानमा मन लगाइरहने, आफूले अध्ययन गरेका पुस्तक, व्यक्ति, संस्थाबारे समीक्षा र परिचय लेख्न खोजिरहने, गहन कृतिहरुको सम्पादनमा श्रम र समय खर्च गरिरहन खोज्ने भावनाले नै रमा शर्मा सक्षम र सबल बनेकी छन् । साहित्यसिर्जना र साहित्यसेवाको पर्यायवाची नाम बनिसकेकी रमा शर्मा नेपाली भाषासाहित्यको सहप्राध्यापक भई चार दशकभन्दा बढी समयसम्म शिक्षणसेवा गरेको देखिन्छ । वि.सं. २०२१ देखि २०२७ सम्म विद्यालयसम्म शिक्षणसेवा पुर्याइसकेकी यिनी वि.सं. २०२५ सालदेखि २०६२ सालसम्म महाविद्यालयमा प्राध्यापन गरिन् ।
गोपाल पाँडे ‘असीम’ले नेपाली भाषामा पुर्याएका उल्लेखनीय कार्यहरु धेरै छन् । त्यसमध्ये वि.सं. २००८ मा यिनले नेपाली शिक्षा परिषद् स्थापना गरेर नेपाली भाषामा प्रवेशिका परीक्षा दिने व्यवस्था गरेर, नेपालभित्र आदिकवि भानुको प्रतिमा स्थापना गर्न लगाएर, दिवङ्गत भएका अन्य प्रतिष्ठित साहित्यकारहरुको प्रतिमा राख्न लगाएर, जन्मजयन्ती गर्न दिएर, साहित्यकारको स्मृतिसदन बनाउन प्रेरणा दिएर, समस्यापूर्ति–कविगोष्ठी आदि कार्य गरेर आफूलाई उल्लेखनीय साहित्यसेवकका रुपमा चिनाएका हुन् र त्यस्तै कार्यहरु गरेर गोपाल पाँडेले आफूलाई समर्पित तुल्याएका हुन् । गोपाल पाँडेले छोडेर गएका अधुरा कामहरुलाई पूरा गर्न र उनले पछ्याएर गएका राम्रा कार्यहरुलाई पछ्याउँदै सक्रिय रहेर उनकै सुपुत्री रमा शर्माले पिताको बिँडो थाम्ने सह्राहनीय कार्य गरिन् ।
नेपाली भाषासाहित्यकी विदुषी रमा शर्माको जन्म वि.सं. १९९९ साउन ३२ गने प्याफल काठमाडौंमा माता रुपकुमारी पाँडेको कोखबाट भएको हो । नेपाली विषयमा एम.ए. सम्म उत्तीर्ण गर्न पाएकी यिनले वाङ्मयसेवाका लागि आफ्नो जीवनका उत्सर्ग क्षणहरु राष्ट्र र समाजलाई समर्पण गरेर आफूलाई चिनाउन सफल भइन् । ‘हृदयको मार्मिक उच्छ्वास साहित्य हो जो स्वान्तसुखाय र समाजहिताय दुवै हुन सकोस्’ भन्ने सोचलाई नै आफ्नो साहित्यको परिभाषा हो भनी उनी बताउने गर्छिन् । शाकाहारी तथा सात्विक आहारमा आफूलाई सीमित तुल्याउँदै भाषासाहित्यका रसमय कार्यहरुमा आफूलाई लगाउन पाउँदा जीवन सार्थक भएको जस्तो अनुभूत गरेर जीवनपथमा लम्किँदै गरेकी रमा शर्मालाई दामोदर शर्माले निकै हौसला प्रदान गरेर जीवनका प्रिय साथी भएर डोर्याइरहेका छन् ।
मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, गुरुप्रसाद मैनाली, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, भीमनिधि तिवारीका रचनासृष्टिबाट विशेष प्रभावित रहेर साहित्य सिर्जनामा रम्न जानेकी यिनी विदेशी साहित्यकारहरुमा टाल्सटाय र मैथिलीशरण गुप्तालाई मन पराउँछिन् । वि.सं. २०१९ सालमा गोरखापत्रमा एउटा लेख प्रकाशन गरेर साहित्यक्षेत्रमा देखा परेकी रमा शर्माले यस क्षेत्रमा सेवा पुर्याउँदा पाएका विविध सम्मान र पुरस्कारहरुमा विद्या पुरस्कार, रत्न विद्यापदक, रत्नश्री सुवर्ण पदक, क्षे.शि.प. सेवा पदक, झपट पुरस्कार, गुणराज व्याख्यान पुरस्कार, लोकप्रियादेवी पुरस्कार, गद्दी आरोहण रजक पदक, सुप्रबल गोरखादक्षिणबाहु तेस्रा, दीर्घसेवा पदक (त्रिवि) आदि छन् । नेपाली शिक्षा परिषद्की सदस्यसचिव रहेर राष्ट्रमा आफ्नो गहन क्रियाकलापहरु देखाइसकेकी रमा शर्माले प्राध्यापन सेवा गरेर पनि आफ्नो बचेको समयलाई सदुपयोग गरी एक दर्जनभन्दा बढी संस्थामा संलग्न रहेर सेवा पुर्याउँदै छिन् ।
हरियो रङ्गलाई विशेष मन पराउने यिनी नयाँनयाँ नेपाली भाषाका पुस्तक, पत्रिकाहरु पढ्न पाएपछि आफ्नो अम्मल पूर्ति भएको जस्तो ठान्छिन् । पढ्नु र लेख्नु नै यिनी आफ्नो अम्मल सम्झिने गर्छिन् । हालसम्म यिनका प्रकाशित मौलिक कृतिहरुमा मोतीराम महेन्द्रमाला भाग २. (२०२९), मोतीराम भट्टको परिचय र केही कविता (२०४२), केही चिन्तन (खोजी विवेचना– २०४८), मोतीराम परिक्रमा (खोजी र विवेचना– २०५०), महाकवि गुणराजका व्यक्तित्व र कृतिमा पाइने भक्तिका विविध पक्षहरु (समालोचना– २०५०), नेपाली शिक्षा परिषद् संक्षिप्त परिचय (२०५८), भावनाका थुँगाहरु(निजात्मक लेखन २०६२) आदि छन् । उल्लेखयोग्य सम्पादन ग्रन्थहरुमा असीम संस्मरण ग्रन्थ (२०३७), मोतीराम भट्टका गजलहरु (२०३८), समस्यापूर्ति कवितासङ्ग्रह (२०३९), मोती स्मृति ग्रन्थ (२०३९), मोतीमण्डलीका समस्यापूर्तिहरु (२०४४), मोती ग्रन्थावली (२०४५), गहन चिन्तन (२०४६), भानुभक्तप्रति (२०४७), पृथ्वी शतक (२०५४), भक्ति–पुष्प (२०५६), उद्गार(२०५८), कृष्णदेव पन्तका कविताहरु (२०५८), मोतीराम भट्ट र संसर्गी कविहरु (२०६०) र अन्य थुप्रै पत्रपत्रिकाको सम्पादन गरेका छन् । नेपाली शिक्षा परिषद्बाट प्रकाशित राष्ट्रभाषाका सम्पादकसमेत रहेकी रमा शर्माका थुप्रै अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका पुस्तकरु प्रकाशोन्मुख छन् ।
नि:स्वार्थ रुपले कुनै पनि क्षेत्रमा निरन्तर लागिपरिहरन सक्ने मानिसहरुको अर्थ र गरिमा समाज र राष्ट्रमा खुल्दै जान्छन् । आफूलाई समर्पित तुल्याउँदै भाषासाहित्य क्षेत्रमा निरन्तर लागिरहेकी रमा शर्माको आफ्नो अर्थ र गरिमा पनि यसरी नै खुल्दै गएका छन् । समाज र राष्ट्रले पनि उनीभित्रको अर्थलाई पछ्याउँदै गरिमामय योगदानको कदर गर्न सिकोस् । मूल्याङ्कन सही ढङ्गले हुने देशका रुपमा परिचित तुल्याउन सही कार्यको विवेचना गर्ने परिपाटीको विकास गर्ने, लेखरचनाको उचित ढङ्गले विश्लेषण गर्ने परिपाटीको विकास हुनु अनिवार्य छ । साहित्यमा यस्तै समालोचनाको आवश्यकता महसुस गर्दै साहित्यकार: परिचय र अभिव्यक्तिमा यिनले आफ्नो विचार यसरी राखेका छन् –‘समालोचना सही रुपमा हुनुपर्छ । प्रभाववादी समालोचना भैरहेको देखिन्छ यसले समालोचनाको धर्म छुन सक्तैन । समालोचकको काम होस् वा भनौं न्यायाधीशको जस्तो हो । यिनीहरुले जस्तै समालोचकले लेखकको गुणदोष छुट्याउनु पर्छ । पूर्वाग्रही भएर वा निश्चित विचार लिएर स्वच्छ समालोचना हुन सक्तैन । म गुट, वाद चाहँदिनँ । यसले साहित्यको सच्चा विकास हुन सक्तैन । गुट वा वादले तत्काल फाइदा गरे पनि भविष्यमा त्यसबाट फाइदा लिन सकिन्न ।’
साहित्यिक क्षेत्रमा गुट वा वाद प्रभावित हुन थालेपछि राजनीतिक चलखेलले साहित्य किचिने डर हुन्छ । साहित्यलाई राजनीतिको पूर्वाग्रही आँखाले हेर्न दिनु हुँदैन । यदि गुट, वाद र राजनीतिले मात्र साहित्यको मापदण्ड गर्न दिएको खण्डमा साहित्यको सच्चा विकास हुन सक्दैन भन्ने मान्यता राख्तै आएकी रमा शर्मा आफूसक्दो ढङ्गले कसैप्रति पूवाग्रह नराखी साहित्यसेवा गर्न रुचि राखेको कुरा बताउने गर्छिन् । षड्यन्त्र, चाप्लुसी र जीहजुरीमा व्याप्त राखेर आफूलाई माथि पुर्याउन रुचाउनेहरु बेसी भएको बस्तीमा सही धर्म, सेवा, कर्म फुकाउनेहरु ओझेलमा पर्ने गर्छन् । यस्तै ओझेलभित्रको एकजना सश्क्त साधक तथा प्रतिभा हुन्– रमा शर्मा ।
निरन्तर नेपाली भाषासाहित्यमा स्रष्टा र द्रष्टा भई सेवारत रमा शर्माले निबन्धमा आफ्नैपन छोडेर, बालसाहित्यमा केही खोजेर, सम्पादनमा गहनता कुँदेर, खोज अन्वेषणमा सक्रियता जनाएर, समालोचनाक्षेत्रमा व्यापकता खोजेर आफूलाई चिनाउन सफल भएकी छन् । गोपाल पाँडेले छोडेर गएका डोबहरुलाई पछ्याउँदै त्यही बाटोमा हालसम्म लागिरहेकी रमा शर्माका भावनाहरु साहित्यिक धरातलमा झन्झन् फराकिलो बन्दै गएको देखिन्छ । नपत्याउँदो शैलीमा कार्यहरु खुरुखुरु गर्न पाएपछि खुसी र मस्त हुने, फुर्सदका क्षणहरुमा केही लेख्तै अनुभूति पोख्न पाए रमाउने यिनी आफ्नो जीवनको मर्म र इच्छा यसरी व्यक्त गर्छिन् –‘जीवन छोटो छ । यसको सदुपयोग समयमै गर्नुपर्छ । हामीले आफ्नो जीवनलाई पृथ्वीको भार बनाउनु हुँदैन । बगिरहेको पानीझैँ कर्तव्यपथमा यो सदा बगिरहोस् । यही नै इच्छा छ ।’ नेपाली साहित्यको सृष्टि र विकासमा आफूसक्दो सेवा पुर्याउँदै आएकी रमा शर्माले आफ्नै पिता गोपाल पाँडेले रोपेको विरुवालाई पनि मलजल दिई हरियाली रुखको रुपमा विकसित तुल्याइसकेकी छन् । हिउँदवर्षा, जाडोगर्मी, घामपानी सबै खालका मर्महरु सहन सिकेर भाषासाहित्यको उत्थानका लागि निरन्तर केही गरिरहन खोज्ने स्वभाव र कर्मले नै रमा शर्मा आज सबैको मनमझेरीमा स्थापित हुँदै आएकी हुन् । यिनको सेवा र साहित्यिक कर्म झन्झन् राष्ट्रमा प्रतिष्ठापित हुनाका साथै सुगन्धित फूलझैँ वासनादार हुँदै छ ।