‘बाबु विराट ! त्यो बहिनीलाई नपिटन । बहिनीलाई त दाजुले माया गर्नुपर्छ ।’ आमाले छोरो विराटलाई भनिन् ।
‘मैले पढ्नुपर्छ । उसले किताब चलाएर हैरान बनाउँछे । मैले पिटेको छैन । किताब पनि च्यात्छे अनि छुन नपाउँदा यो यसै चिच्याउँछे ।’ विराटले भन्यो ।
आमाले हल्का रूपमा भनिन् –‘विनु ! दादाको किताब नचलाउनु है । दादाले धेरै पढ्नुपर्छ । बरु आउ तिमी र म सुतौं ।’
आमाको कुरा सुनेर विराटले भन्यो –‘मम्मी भोलि शनिवार हो । मेरो स्कूल विदा छ । अब म पनि सुत्छु । आज यौटा कथा भन्नुस् है ।’
छोराको कुरा सुनेर विराटले आमाले भनिन् –‘हुन्छ, आउ । आज म कविताबाट यौटा कथा शुरु गर्छु, हुन्छ ?’
‘तपाईंलाई कविता आउँदैन । कथा नै भन्नु न ।’
‘ल विराट ! तिमी सुन न अहिले, म कविताबाट राम कथा शुरु गर्दै भन्छु ।’ आमाले कथा यसरी शुरु गरिन् –
‘अए जानकी उर्मिले
आजसम्म
तिमेरु यहिँ खेल्दथेऊ
छम्म छम्म ।
अए श्रौतिके माण्डवी
सानी, छोरी
सबै छोरी हो
आजदेखि गयौ नि ।’
‘के छन्द न बन्दको कविता भन्नु भएको मम्मी तपाईंले ?’
‘हैन छोरा, यो कविता मैले बनाएको हुँदै होइन ।’
‘जनकपुरमा रामचन्द्रसँग विवाह गरेर अयोध्यामा छोरी पठाउँदा सीताका आमाहरूले यी माथिका हरफहरू भन्दै आँशु झारेका गीत हुन् यी’ – आमाले भनिन् ।
‘अनि कसरी शिक्षित थिए त पहिलेका मान्छे ?’ विराटले सोध्यो ।
‘राजाहरू र ठूलाबडाले आफ्नै गुरुहरूद्वारा आफ्ना छोराहरूलाई पढाउँथे । त्यसै गरेर राजा दशरथले पनि विश्वामित्र नाम भएका विद्वान गुरुलाई विद्या आर्जनको लागि आफ्ना चार भाइ छोरा सुम्पिदिए ।’ आमाले भनिन् ।
‘त्यो बेलामा हाम्रो जस्तो शैक्षिक भ्रमण हुँदैनथ्यो होला होगि मम्मी ?’
‘किन नहुनु ! म भन्दैछु । तिमी सुन्दै जाऊ न ।श्रीरामको विवाह शैक्षिक भ्रमणमा जाँदा भएको हो ।’
‘कसरी मम्मी ? गजब लाग्यो मलाई । म राम्रो मन लगाएर सुन्छु । ल भन्नुहोस् । अब सबै कुरा ।’
एकदिन विश्वामित्रले राम, लक्ष्मण र अरूलाई लिएर जनकपुर गए । जनकपुरमा जनकले राजर्षी ठाँटले उनीहरूको स्वागत सत्कार गरे । राम्रो स्वागत सत्कार पाएर विश्वामित्रले खुसी हुँदै भने – महाराज ! मसँग आएका दुवै क्षेत्रीय वीरहरू हुन् ।
तिनले तपाईंको धनु हेर्न चाहन्छन् ।
विश्वामित्रका कुरा सुनेर राजाले त्यो धनु राजसभामा ल्याउन आदेश दिए । उनको आदेश पालना गर्दै तुरुन्तै धनु त्यहाँ आयो । धनु देखेर विश्वामित्रले भने –‘बाबु श्रीराम, जाऊ त्यो धनु हेर ।’
आफ्ना गुरुको आज्ञापालन गर्दै राम त्यहाँ गए र त्यो धनुलाई सुकेको यौटा पात उठाएझैं जुरुक्क उठाए । ताँदो चढाई धनु खिच्न लाग्दा ठूलो चट्याङ् परे जस्तो आवाज पनि आयो । आवाजको डरले धेरै मान्छेहरू मुर्छा परे । त्यो
दृश्य राजा जनकले हेरिरहेका थिए । विश्वामित्रलाई जनकले भने – ओहो क्या पराक्रमी यी श्रीराम कसैले हलचल गर्न नसकेको ठूलो धनु श्रीरामले उठाई भाँचेको देख्ता म छक्क परें ।
‘अब म सीताको विवाह यिनै श्रीरामसँग गराउने छु । तपाईंको के विचार छ मुनिवर !’ राजा जनकले सोधे ।
‘महाराज ! तपाईंको मनोकामना पूरा होस् ।’ विश्वामित्रले भने ।
‘त्यो के भनेको मम्मी ?’
‘अब पक्कै सीतासँग रामको विवाह हुन्छ भन्ने आशयले भनेको ।’
‘राजा दशरथले थाहा नपाई कसरी विश्वामित्रले रामको विवाह गरिदिन्छन् त ? यस्तो नचाहिने कुरा हुनै सक्दैन ।’ विराटले भन्यो ।
छोराको कुरा सुनेर आमाले सम्झाउँदै भनिन् –‘पहिलेका गुरुहरूले बोलेका कुरा राजाहरूले पनि काट्दैनथे । त्यै पनि जनकपुरबाट अयोध्यामा विवाह सम्बन्धी कुराको खवर गयो । दशरथले त्यो कुराको समर्थन गरे र बडो खुसीयालीपूर्वक राम सीताको विवाह गर्न अयोध्यावासी यही जनकपुरमै आए र विहे भयो । कथा त सकियो – तिमीलाई कस्तो लाग्यो ?’ आमाले कथा पूरा गरिन् ।
‘ठीकै छ मम्मी, अब मलाई पनि निद्रा लाग्यो । भोलि अर्को यौटा कथा म आफैं भन्छु है’– विराटले भन्यो र सुत्न गयो ।