प्रिय साहित्यकार
रमा शर्माज्यू,
नमस्कार ।
मान्यवर दिज्यू कुशल छु । कुशलताको कामना गर्दछु । तपाईंको निष्ठापूर्वक सिर्जना र साहित्यिक सङ्गठनबाट म भलिभाँती परिचित छु । अहोरात्र प्राज्ञिक पथमै रहनुहुने तपाईंको गतिशील जीवनको सम्मान गर्न मन लाग्छ ।
समीक्षा–समालोचनामा प्रतिबद्ध रचनाकारिताका निम्ति तपाईंले गरिआएको खटाइ त छ नै, अझ आफ्ना पूज्य एवं प्रात:स्मरणीय पिताको वाङ्मयसेवाको पथ समात्नुहुने तपाईंको हुटहुटी कम लर्तरो छैन । यसैले श्रद्धापूर्वक दुई अक्षर कोर्र्दै छु ।
नेपाली भाषा–साहित्यको फाँटमा गोपाल पाँडे असीमको योगदान ज्यादै नै महिमान्वित छ । विशेषत: अनुसन्धान र विवेचना, व्याकरणको सरलीकरण अनि स्रष्टाहरूको समर्पणलाई अझ बढी विस्तार गराउन स्व. पाँडेले जुन वन्दनीय कार्य गर्नुभयो – त्यही र त्यस्तै दिव्यपथमा तपाईंको लम्काइ निरन्तर छ, अटुट छ र अविश्रान्त छ ।
देशभरि अनेक सङ्घसंस्थाहरू छन् – तिनको गरिमा र महत्ता आफ्नै खालको छ ।
विशेषत: नेपाली शिक्षा परिषद्मार्फत् गरिने साहित्यिक अनुष्ठान र सङ्गोष्ठीहरूको महत्ता आफ्नै खालको छ, उम्दा छ र मानक छ ।
वर्षभरि नेपाली वाङ्मयसेवामा अर्पित स्रष्टाहरूको दिवङ्गत भएको सूचना, सम्झना र श्रद्धाञ्जलि तपाईंकै नेतृत्वमा भइआएको तथ्य एक महŒवपूर्ण कार्य हो । मूलत: स्रष्टाहरूलाई इज्जत, सामाजिक प्रतिष्ठा र सम्मानको पगरी लाइदिएर राष्ट्रको सिर्जनात्मकतालाई होस्टेहैंसे दिने तपाईंको लगाव अनुकरणीय छ ।
सबैतिर आफ्नै भाग गर्ने र दुनो सोझ्याउने प्रतिस्पर्धा चरम देखिएको छ । अनपेक्षित हस्तक्षेप र दबाबले साहित्यिक आँगन पनि निरपेक्ष ठान्ने हृदय मेरो छैन । तर तपाईंको समन्वय र चयनशैली स्मरणीय छ ।
नेपाली शिक्षा परिषद्मार्फत् नेपाली छन्दपरम्परालाई बलियो पुट र टेको दिने तपाईंको ऊर्जाशील र गहन कार्यविधि छ – त्यो नेपाली साहित्यको आउँदो पुस्ताले अवश्यमेव स्मरण गर्ने कुरामा निकै विश्वस्त छु म ।
देशमा अनपेक्षित भाँडभैलो छ ।
सर्वत्र त्यही भाँडभैलोले गालेको छ । समाज, साहित्य, जीवनशैली, अर्थतन्त्र एवं नैतिकताका सबै फाँटहरू थिचोरिएका छन्, दर्फराइएका छन् र गिजोलिएका छन् । सरकारको मात्र मुख ताकेर बसेका संस्थाहरू क्रमश: गतिविधिशून्य र ठप्प हुने स्थितिमा पुग्दा छन् ।
यो परिषद् कसरी तपाईं धानिरहनु भा’छ – सम्झदै अनौठो लाग्छ ।
सबैलाई देश दुखे पो भाषा, संस्कृति र कलाको उत्थानमा नजर फिराउँथे । कुर्सीका किला समातेर बस्नेहरूले मुलुकको वाङ्मयप्रति के वास्ता, चासो र चर्चा लिँदा हुन् र ? फगत बोलिदिए पुग्यो – गर्नु पनि परेन, पुर्याउनु पनि परेन ।
परिषद्लाई स्वावलम्बन तुल्याउन तपाईंले समय खर्चिरहनु भा’छ, कपाल दुखाइरहनु भा’छ, कन्पारा फुलाइरहनु भा’छ – रमा दिदी, मुलुकको मायाले थल्लिइरहनु भा’छ तपाईं ।
नेपाली साहित्यमा थोरै लेखिकाहरूको सबल उपस्थिति छ ।
विशेषत: खोजनीति गर्ने प्रवृत्तिको लेखन त अझ नेपाली महिला साधकहरूमा अभाव नै छ । यही अभावको पूर्ति तपाईंबाट भइरहेको छ ।
नेपाली साहित्यका अनेक प्रसङ्ग र धारहरूको विवेचना गरिरहनुभएको छ तपाईंले । अध्येता र जिज्ञासुले पाएको लाभ उल्लेख्य नै मान्नुपर्छ ।
सुनेको छु – शिक्षा परिषद् अन्यत्रै सारियोस् भनेर काठमाडौं महानगरपालिकाले अनपेक्षित दबाब दिइरहेको छ ।
वास्तवमा स्वर्गीय पाँडेको सतत योगदान र चोखो समर्पणको कारण सबै साहित्यकारहरूको स्मरणस्थल बन्न पुगेको हो – नेपाली शिक्षा परिषद् ।
राजनीतिले सधैं अल्मल्याउने, विखण्डन पार्ने र तलबितल पार्ने गर्छ । ती अप्ठ्यारा र बिब्ल्याँटा स्थितिलाई सपार्दै शिक्षा परिषद्मार्फत् मुलुकको सम्वेद्य सिर्जना, बौद्धिक सम्पदा र भावनात्मक सम्पत्तिको जगेर्नामा तपाईंको लगाव नेपाली विद्वान् समाजले निश्चय नै छातीभरि राख्ने छ ।
शिक्षा परिषद्मार्फत् देशको भाषा, साहित्य, संस्कृति र कलाको अस्तित्वबोध भइरहेको अर्थपूर्ण सत्यतालाई अवज्ञा गर्दै संस्थालाई पर सार् भन्नु निश्चय नै खेदजन्य कुरा हो । निकै दु:खद र चिन्तायोग्य कुरा हो ।
परिषद्लाई बरु अझ सङ्ग्रहणीय र अध्ययनीय संस्था बनाउने वातावरण तपाईंबाटै पहल होस् भन्ने कामना गर्दछु ।
महानगरपालिकाले अनेक सङ्घसंस्था र व्यक्तिविशेषलाई आर्थिक सहायता र आडभरोसा दिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ ।
मुलुकको चिनारी र भाषा–साहित्यको सम्बद्र्धन र संरक्षणका निम्ति अहोरात्र कार्यरत संस्थाहरूलाई मटियामेट पार्न खोज्नु, दुरुत्साहित तुल्याउनु र उपेक्षा गर्नु समग्र नेपाली साहित्यकै घोर अपमान गर्नु हो ।
नेपाली साहित्यको शुभाकाङ्क्षीको नाताले यस कुराप्रति मेरो पनि आपत्ति छ, विमति छ ।
नेपाली वाङ्मयको विशिष्ट पहिचान छन्दपरम्परामा गाँसिएको छ । छन्दलाई बचाउन, प्रेम र प्रोत्साहन दिन, शास्त्रीयताको स्थापित स्थितिलाई गतिशील तुल्याउन परिषद्को योगदानलाई कम आँक्न मिल्दैन ।
रमा शर्मा र नेपाली शिक्षा परिषद् एक अर्काको पूरक बनिसकेको परिचय हो । यही पूरकभित्र थुपै्र छन्दस्रष्टाहरूको स्नेह र भरथेग भएको प्रसङ्ग त मैले चिठीको माथिल्लै खण्डमा उठाइसकेको छु ।
आफ्नै सिर्जनासंसारमा समेत तपाईंको विशेष महत्ता छँदै छ । साहित्यिक सङ्गठन र भाषासेवाले तपाईंको परिचय हामी वाङ्मय अनुरागीले सधैं पाएकै छौं ।
तपाईंद्वारा लेखिएका पुस्तकहरू यस घडी सम्झिरहेको छु –
१. असीम संस्मरणग्रन्थ (२०३६, सं.), २. समस्यापूर्ति (कवितासङ्ग्रह, २०३८, सं.), ३. मोतीराम भट्टका गजलहरू (२०३८), ४. गहन चिन्तन (२०४६, सं.), ५. मोतीराम भट्टको परिचय र केही कविता (२०४२), ६. महेन्द्रमाला भाग –२, ७. खाद्यविज्ञान (२०३२), ८. मोती स्मृतिग्रन्थ (२०३९, सं.), ९. मोती ग्रन्थावली (२०४६, सं.), १०. मोतीमण्डलीका समस्यापूर्तिहरू (२०४४ सं.),। ११. भानुभक्तप्रति (२०४७, सं.), १२. मोतीराम परिक्रमा (समालोचनात्मक कृति), १३. केही चिन्तन (समालोचनात्मक कृति), १४. राष्ट्रभाषा (सम्पादन) आदि ।
ओझेलमा परेका प्रतिभा र नेपाली भाषासाहित्यको उन्नतिका निम्ति तपाईंको मरिमेट्याइँ वास्तवमा नवीन पुस्ताका लागि एउटा ठूलै शिक्षाप्रद छ । महान् प्रतिभा लेखनाथ पौड्यालको कीर्तिकला व्युँझाउन र जीवन्त राख्न लेखनाथ साहित्य सदनमार्फत् भइआएको रचनात्मक कार्य पनि लर्तरो छैन । सृजनात्मक वातावरण बनाउन तपाईंले लेखिरहनुभएको भूमिका पनि त्यत्तिकै महकयुक्त, महिमायुक्त र महŒवपूर्ण छ । प्रतिभाहरूलाई सधैं उत्साह, उत्प्रेरणा र उमङ्ग दिने तपाईको प्रेरणात्मक स्वभावबाट नेपाली साहित्यकारहरू सदा लाभान्वित छन्, पुलकित छन् ।
जीवनका अरू थुप्रै आकाङ्क्षा र रहरलाई चटक्कै थाँती राखेर नेपाली साहित्यको, नेपाली भाषाको र नेपाली संस्कृतिको वटवृक्षको स्याहार–सम्भार गराउन निष्ठापूर्वक तपाईंको कर्मगराइ देखेर हामी उत्साहितै छौं ।
यस्तै आदर्श, मूल्य र मान्यताहरूले नेपाली समाजले भोलिको बिहानी अरू बढी रचनात्मक, अरू बढी सुखद र अरू बढी उल्लसित हुने कुरामा म आशावादी छु ।
नेपाली समाजमा अनपेक्षित प्रचार र प्रसारको रङ्गरोगनले व्यक्तित्व बन्ने–बनाउने होडबाजी भइरहेको स्थितिमा विनाप्रचार, विनाहोहल्ला एकनासले समर्पण गरिरहनुभएको छ तपाईं । राष्ट्रले कृतज्ञता नदेखाउला ! यही चोखो भावनाका साथ बिदा हुन्छु ।
तपाईंको शुभाकाङ्क्षी
नयाँघरे