‘ओहो, बाह्र पो बजिसकेछ ! साना छोराछोरीको जाँच चलिरहेको छ । साढे बाह्रसम्म त गाडीले गेटमा ओराल्दिसक्छ !’
म हतारहतार निस्कन्छु बागबजारबाट । अनि, मोडिन्छु पुतलीसडक हुँदै कमलादीमोडतिर । सडक खुकुलो छ । स्कुटरसँगसँगै गुड्दै छ मन पनि एकनास ! मन अलि रोमाञ्चित मुद्रामा छ आज । फूलजस्तै हलुङ्गो महसुस हुँदै छ आफ्नै ज्यान आफैँलाई । यही बाटो, यही दृश्य÷परिदृश्यका बीच आफूले भोगेका विविध घटना–परिघटनाका स्मृतिले चारैतिरबाट घेरिन थाल्छ मथिङ्गल । र, म अझै रोमाञ्चित हुँदै जान्छु ।
कति मुस्किलले कटाउने गर्थे यो साढे चार किलोमिटरको दूरी ! बाइक चलाउन नजानेको वा नरुचाएकोमा खाएका खप्की, पाएका हण्डर र सास्तीहरू कुनै फिल्मको दृश्यझैँ मानसपटलमा घुम्न थाल्छन् । रमाइलो मान्दै अघि बढ्दै जान्छु म । अन्तरको पीडित मनले एकाएक धिक्कार्छ आफैँलाई— ‘धत् ! आजभन्दा दश वर्षअगाडि नै गर्नुपर्ने काम म आज बल्ल गर्दै छु !’
कत्ति काँतर बनेछ मन पनि यतिन्जेल ! वर्षौंवर्षसम्म पनि कोही कसरी यति काँतर बनिरहन सक्छ हँ ? चर्को दबाब र बाध्यता नहुँदो हो त म अझै पिलेन राइडर (बाइकको पछाडि बसेर यात्रा गर्ने) नै बनिरहेकी हुन्थेँ होला ।
कहिलेकाहीँ अप्ठ्याराहरूले, बाध्यताहरूले पनि अवसरको खोजी गरिदिँदारहेछन् ।
समयमै घरमा पुग्छु । बच्चालाई कपडा बदलिदिएर खाजा खुवाउँछु । उनीहरू आफ्नो उही नियमित कर्मलाई पुनस्र्थापन गर्छन् । स्कुलबाट आउँदा–आउँदै टिभी खोलेकामा आज यिनलाई कुनै हस्तक्षेप गर्ने मूडमा छुइनँ म । ‘एक घन्टापछि पढ्न सुरु गर्नुपर्छ है !’ भनेर उनीहरूलाई घुक्र्याउन पनि मन छैन ।
हतार–हतार एक कप चिया पिएर कम्प्युटरअगाडि बस्छु । अघि घर आउँदै गर्दाका रोमाञ्चक स्मृतिहरूसँग फेरि जोडिन मन लाग्छ ।
०६८ तिरको कुरो हो— सिनामङ्गलमा बस्न थालेपछिका तीन महिना अप्रत्यासित मेरा लागि निकै कष्टकर बने । बेलुका घर आउने बेलामा मैले निकै सास्ती भोग्ने अवस्था आइलाग्यो । छ महिनाको दूधे बच्चा काखी च्यापेर नियमित रूपमा ‘बागबजार टु सिनामङ्गल’ गर्नु निकै गाह्रो थियो । हिँड्नु त खासै कष्टकर थिएन; घरछेउमै सहजै ट्याम्पो पाइन्थ्यो । तर, बागबजारबाट फर्कंदा त्यही बाटो नपत्याउँदो तरिकाले पीडादायी बन्थ्यो । कार्यालय समयमा बीचको स्टप कमलादीबाट सिट पाइनु लगभग सपनै हुन्थ्यो । घर जाने बेला भयो कि समस्यामा पर्थें म । उनीचाहिँ अकस्मात् भड्किएका थिए । र, एउटै रट लगाइरहेका थिए, “यिनलाई बोकेर अब म जान्नँ । बरु म बाइक चलाउनै छाडिदिन्छु ।”
त्यसो त यो त्यति धेरै अप्रत्यासित पनि थिएन । यस विषयमा व्यङ्ग्यवाण सोझिइरहन्थ्यो बेलाबखत मतिर । तर, यस पटक उनले उल्कै गरे । झन्डै तीन महिनासम्म साँच्चै त्यसै गरे।
त्यतिखेर मेरा बुबाआमा बागबजारमै बस्नुहुन्थ्यो । करिब १५ वर्षदेखि हाम्रो गरिखाने उद्यम ‘शब्दघर’ पनि त्यहीँ थियो । घर फर्कने बेला भयो कि मेरो बुबाआमाको अनुहार एउटा कालो, अँध्यारो छायाँले घम्लङ्ग छोपिन पुग्थ्यो ! ‘कठै ! जेठी छोरीले दुःख पाई… !’ यस्तै ठान्थ्यो होला उहाँहरूको मनले ! न ज्वाइँलाई केही भन्नु; न मलाई ! अक्क न बक्क परेर निन्याउरो अनुहार लगाउनुको विकल्प सायदै हुँदो हो ।
‘मलाई नलगे पनि बुबाआमाको अगाडि त त्यसो नभनिदिए हुन्थ्यो नि !’ म मनमनै कामना गर्थेंं । आफ्नो भन्दा बुबाआमाको मन दुखेकोमा बढी दुख्थेँ म; तर पीर गरेर, नमीठो मानेर केही हुनेवाला थिएन । घर जानु नै पथ्र्यो । उनी बोल्यो कि पोल्यो भनेझैँ एउटै रट लगाइरहेका हुन्थे— “बरु म आफू पनि हिँडेरै जान्छु ।”
जेठी छोरी प्रगन्ना पनि भर्खरै नौ÷दश वर्षकी त थिई ! चार बजे ऊ स्कुलबाट आइसकेकी हुन्थी र घरमा एक्लै पर्थी ।
म पनि के कम ! मुखले त केही भन्दिनथेँ । तर, ‘मलाई बोक्नुपर्छ भनेर होला ! के म आफैँ जान सक्दिनँ र ?’ मनमनै दरिली बन्थेँ र पाँच नबज्दै कमलादीमोडतिर हान्निन्थेँ; छ महिनाकी सानी छोरी च्यापेर । बेलुकी अफिस छुट्ने समय अनि चढ्नुपर्ने त्यताहुँदै सिनामङ्गलतिर जाने एकमात्र सवारीसाधन ट्याम्पू ! यो संजोग सजिलै जुर्नु भनेको ठूलै उपलब्धि हात पारेसरह हुन्थ्यो । अहिले भने त्यो बाटोको अवस्था अलिक फेरिएको छ; त्यो रुटमा बस पनि चल्न थालेर । तथापि, मजस्ता गाडी कुर्नेहरूको लाम हुन्छ त्यहाँ अचेल पनि उसैगरी ।
हरे ! दैनिक कार्यालय÷कामबाट फर्कनेहरूको नियति देखेर झनै टीठ लाग्थ्यो । वर्षैभरि यसैगरी यात्रा गर्नुुपरे त कसरी सकिएला र ! मन कहालिन्थ्यो । कहिलेकाहीँ त कुर्दाकुर्दा झमक्कै साँझ परिसक्दा पनि हामी आमाछोरीलाई लाने गरेर कुनै ट्याम्पू आइपुग्दैनथ्यो । आउँथ्यो अर्थात् खालि आउँदैनथ्यो । त्यसो त दश जना मुस्किलले अट्ने ट्याम्पूमा ३–४ जना पछाडि झुन्डिनु कुनै नौलो कुरा हुन्थेन । बच्चा च्यापेको देखेर झुन्डेर जाँदैन भन्ठानेर होला; कुनै पनि ट्याम्पू त्यहाँ रोकिँदैनथे । ट्याम्पूवालाहरूसँग पनि एक किसिमले झोँक चल्थ्यो । कोहीकोही त रत्नपार्कतिरबाट नभरिईकन आए पनि हुने नि ! जहिले पनि यहाँबाट चढ्नेको भीड देखेकै हुन्छन् । तर, के गर्नु ! उनीहरूको स्वार्थ बेग्लै, आफ्नो स्वार्थ बेग्लै ! सबै आ–आफ्नै स्वार्थबीचमा त अड्किएका हुन्छन् नि !
अन्ततः निराश–हतास कमलादीदेखि सिनामङ्गलसम्म छोरीलाई घरी यो काँध त घरी त्यो काँध गर्दै ल्याइपु¥याउँथेँ । र, घरको गेटमा आइपुगेपछि बल्ल लामो श्वास फेर्थें ।
हुन त त्यहाँ ट्याक्सी नपाइने होइन । तर, मेरा आफ्नै अहम् पनि थिए— ‘के मलाई मेरो व्यक्तिगत रमाइलोका लागि, मेरा रहर, इच्छा–आकाङ्क्षाहरू पूरा गरिदिनका लागि उनले ल्याइ–पु¥याइदिनुपरेको हो र ?’ आखिर मैले पनि त कामै गर्नका लागि त आउनु–जानुपरेको थियो ।मलाई मात्रै छुट्टै; अलग्गै ठाउँमा पु¥याइदिनुपर्ने पनि त होइन ! जाने ठाउँ उही । पुग्ने गन्तव्य उही । घर उही । काम उही !
छ महिनाकी नानी काखमा च्यापेर हरेक दिन सिनामङ्गल–बागबजार अनि बागबजार–सिनामङ्गल गर्नु मेरो रहर थिएन । र, ‘श्रीमान्ले कमाएर ल्याइहाल्छ, मजाले बसेर खाइदिए त भैहाल्यो नि’ भन्ने सोच राखेको भए त्यतिखेरको जीवन त्यति कष्टकर हुने पनि थिएन । तर, स्वाभिमान भन्ने कुरा पनि त हुन्छ नि जीवनमा ! म त्यसो गर्न सक्दिनथेँ; त्यसो गर्न मेरो आत्मसम्मानले दिँदैनथ्यो । यो उनलाई पनि थाहा हुनुपर्ने हो तर उनी थाहा नपाएझैँ गरिरहन्थे । मेरा दुःख, अप्ठ्याराहरूसँग विल्कुलै अनभिज्ञ भएझैँ लाग्थे उनी ।
म भित्रभित्रै मुर्मुरिन्थेँ र उनीसँग अझै टक्कर गर्न मन लाग्थ्यो— ‘तिम्रो बाइकमा नचढाएर के भयो र ! म तिम्रो पैसा खर्च नगरेरै हिँडेरै पनि आउन–जान सक्छु !’
एक दिनको घटना बिर्सिनसक्नुको छ । ट्याम्पू कुर्दाकुर्दा आजित भएर थाकेपछि र कुनै सम्भावना नदेखेपछि मैले फेरि आफ्नै तरिका अपनाउने निर्णय लिएँ— बलियो बन्ने तरिका ! नहार्ने तरिका ! मनमनै सोचेँ, ‘यत्ति त हिँडेरै पुगिहाल्छु नि !’
छोरी च्यापेर आउँदै थिएँ; मैतिदेवी कटेपछि एक्कासि कटक्क पेट काट्यो । र, यो शृङ्खला बिस्तारै बढ्दै गयो । के गर्ने ! के नगर्ने ! पेट काटिरहेकै छ; म हिँडिरहेकै छु । खपिनसक्नु हुन थाल्यो । छटपटीले पूरै अनुहार सोहोरिएजस्तो अनुभव भयो ।एकातिर आफ्नो त्यस्तो अवस्था; अर्कोतिर काँधमा च्यापिएकी सानी छोरी ! कसलाई भन्नु !
अन्योल, छटपटी र हडबडाहटको बीचमै बानेश्वर उकालो आइपुगेछु । अब आफूलाई रोक्नु मेरो क्षमताभन्दा बाहिरको कुरा भैसकेको थियो । मेरो धैर्यताको बाँध टुट्नै लागिसकेको थियो । अकस्मात् बाटो माथ्लापट्टिको एउटा बुटिकजस्तो पसलमा मेरो दृष्टि प¥यो । दुइटी भर्खरकी केटीहरू कपडा पट्याउँदै रहेछन् । ममा आशाको सञ्चार पलायो । बाटो क्रस गरेर म त्यस पसलतर्फ लम्किएँ र उनीहरूको अगाडि पुगेर टक्क रोकिएँ ।
कुनै पनि पीडा वा समस्या आफ्नो सहनशक्तिभन्दा बाहिर गएपछि सङ्कोच आफैँ हट्दोरहेछ सायद । मैले मुख खोलेँ । उनीहरूले सहानुभूतिपूर्वक छोरी समाइदिँदै चाबी मेरो हातमा थमाए । म बिल्कुलै एकसूत्रीय पीडामा थिएँ र मेरो हातमा त्यो पीडाको ओखती थियो । अरू के चाहियो र !
मेरो समस्या समाधान भयो । उनीहरूलाई “धन्यवाद !” भन्दै बिदा भएँ ।
जीवनमा स–साना समस्याहरूले पनि समय र परिस्थितिअनुसार कति विकराल रूप लिँदारहेछन् ! ती दिदीबहिनीलाई म चाहेर पनि बिर्सन सक्दिनँ । बिर्सनु पनि त हुँदैन नि !
०००
न उनी आफ्नो अडानबाट पछि हटे; न मैले त्यसका लागि थप आग्रह नै गरेँ । यस्तैमा दुई महिना बित्यो ।
उनले मलाई ‘पिलेन राइडर’ नबनाउने नै भए भन्नेमा अब शङ्का रहेन । तथापि, साह्रै समस्या परेको देखेर पो हो कि; अर्को जुक्ति निकाले, “तिमी साइकल लिएर जाऊ, म छोरी लिएर आउँछु ।”
उनको कुरा सुनेर मेरो सातोपुत्लो गयो । यो प्रस्ताव केही दिन सुनेको नसुनेझैँ गरेँ; अटेर गरेरै बिताएँ । उनको पछिल्लो व्यवहारले मुटुमा घोचि नै रहेको थियो र नघोचेजस्तो अभिनय पनि जारी नै थियो । यस्तैमा एक दिन उपत्यका बन्दको घोषणा भयो । मैले आफूलाई सम्झिएँ; आफ्नो हालत सम्झिएँ । केटाकेटी बेलामै खल्ट्याक–खल्ट्याक गरेर कैँचीबाट साइकल चलाएको सम्झनाबाहेक अरू अनुभव याद आएन । तैपनि हिम्मत बटुलेँ र प्रेसमा थन्क्याइएको साइकल बाहिर निकालेँ । निकै अप्ठेरो गरेर दुई–चार फन्को शब्दघरअगाडिको गल्लीमा घुमाएँ । अलिअलि आँट आएजस्तो भएपछि सडकतिर बढाएँ । अन्य गाडीको आवतजावत नभएकाले सजिलै भयो । बागबजार, रत्नपार्क, दरबारमार्ग, कमलादी, पुतलीसडक हुँदै एक फन्को लगाएँ । निकै ठूलो पुरुषार्थ गरेँझैँ लाग्यो आफैँलाई ।
गाडी नचलेको बेलामा त चलाएँ; गज्जब गरेँ । तर, अरू बेलाको काठमाडौँको भीडभाड, ठेलमठेल, घच्चाघच्चीमा ? सबैभन्दा सानो सवारी साइकल; त्यसमाथि सिकारू म ! ठूल्ठूला बसदेखि ट्याम्पूवालासम्मको हेपाइ ! बाफ रे बाफ ! कसरी पार गरूँली ? सम्झँदै मन अत्तासिएर आयो । आफ्नै टाउको बोकिनसक्नुको गह्रौँ महसुस भयो । तर, जसले मेरो मनोदशा बुझिदिए क्षणभरमै समस्या दूर हुनेथियो; उनले बुझ्ने कुनै छेकछन्दै थिएन । उनी त आफ्नो अडानमा चट्टानझैँ देखिन्थे । उल्टै भन्थे, “केको डर ! खालि ठाउँमा कुदाउने न हो ! मैले पनि खालि ठाउँमै कुदाउने हो ! गाडी, मान्छेमाथि चढाउने हैन क्यार !”
कति निष्ठुर मन ! कति निर्दयी विचार ! कहिलेकाहीँ त मन यस्तरी भाँडिन्थ्यो कि; लाग्थ्यो— ‘यिनी मलाई मर्नका लागि पठाउँदै छन् सडकमा ।’
तथापि, मेरो केही चल्नेवाला थिएन । केही सीप नलाग्ने देखेपछि काँतर मन लिएरै निस्किएँ सडकमा । तर, त्यो सडक भन्ने चिज गज्जबको हुँदोरहेछ । सडकले निर्भय हुन पनि सिकाउँदोरहेछ । छोरी उनैलाई जिम्मा लगाएर म साइकलमा दौडिन थालेँ । एवम् रीतले झन्डै १५–२० दिन बागबजार टु सिनामङ्गल साइकलमा हुइँकिएँ ।
एक दिन शब्दघरबाट हिँड्ने बेलामा निकै अबेर भइसकेको थियो । झन्डै आठ नाघिसकेको हुँदो हो । उनी सानी छोरी बोकेर पैदलै हिँडिसकेका थिए । आँखाको दृष्टि कमजोर भएकी म; त्यसमाथि रातको समय ! कम्ता डर लागेन । यताबाट जाऊँ कि उताबाट गर्दै बागबजारदेखि सिधै डिल्लीबजारतिर हान्निएँ वान वे रोडमा । बाटो पूरै अन्धकार भइसकेको थियो । विपरीत दिशाबाट आउने गाडी ‘हान्दिउँला’झैँ गरी बतासिइरहेका थिए । ‘वान वेमा ल्याउँछेस् !’ भनेर पेल्न पो खोजेका हुन् कि ! कुन हालतले सिनामङ्गल पुगेँ; आफैँलाई थाहा छैन । जे होस्— सिङ्गै पुगेँ, सग्लै पुगेँ ।
पीडादायी तीन महिना बितेरै छाड्यो । लाग्यो— तीन वर्ष बिताएकी छु मैले । तथापि, उनलाई मेरो समस्या, पीडा, मनोदशाको सकेसम्म छनक पर्न दिएकी थिइनँ । खै, उनले थाहै पाएनन् कि वा पाएर पनि नपाएझैँ गरे कुन्नि ! तीन महिना मलाई साँच्चै पिलेन राइडर नबनाएरै टारे । त्यसपछि बल्ल उनको बाइकको पछिल्लो सिट मेरो भागमा प¥यो । लागेको थियो— तीन महिनामात्रै होइन; अब आइन्दा यिनको बाइकमा कहिल्यै चढ्दिनँ !
तर, त्यो दुस्साहस गर्न सकिनँ ।
यत्तिचाहिँ प्रष्टै बुझिसकेकी थिएँ— यो मेरो समस्याको दिगो समाधान होइन ।
०००
त्यसपछिको आधा दशक जिन्दगी जसरी चल्नुपथ्र्यो; त्यसरी नै चल्दै गयो । म फेरि पिलेन राइडरको पिलेन राइडरै रहिरहेँ ।
भन्नेहरूले काँतर भन्लान् ! लाछी भन्लान् ! ‘दुनियाँले हाँकेका छन् बाइक, तैँलेमात्र हो र ?’ पनि भन्लान् ! तर … मनै त हो ! बाइक चलाउने कुरै नगरिदिए पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो जहिल्यै । जब उनी मलाई बाइक चलाउन हौस्याउँथे; म भित्रभित्रै साह्रै डराउँथे । कतिपल्ट त उनको मन बुझाइदिनकै लागि उनीसँगै बाइक सिक्न गइटोपल्थेँ पनि । घरी कीर्तिपुरको चौर त घरी धोबीखोलाको किनार ! कहाँमात्र पु¥याएनन् मलाई ! एक पल्ट त महेन्द्र राजमार्गमा पचासौँ किलोमिटर उनलाई पछाडि राखेर १५० सिसीको पल्सर चलाएको अनुभव पनि सँगाल्न भ्याएकी थिएँ ।
अनेकन् सजिला र अप्ठ्याराहरूसँग एकसाथ जुध्दै हामी जिन्दगी चलाइरहेका थियौँ । त्यतिखेरकी छ महिनाकी छोरी साढे पाँच वर्षकी र त्यतिबेला जन्मिँदै नजन्मेको छोरो एलकेजी पढ्ने भैसकेको थियो । अब भने साँच्चैको समस्या सिर्जना हुन थाल्यो । घर, अफिस र बच्चा एकसाथ सह्माल्न हामीलाई हम्मेहम्मे पर्न थाल्यो । ‘पत्नीलाई ड्राइभर बनाउने’ उनको अदम्य इच्छा जस्ताको तस्तै थाती रहेछ । त्यो रहर पिल्सिएर पीडा नै भएको पनि हुँदो हो । उनी असाध्यै पीडामा झन् मिठो कविता लेख्थे; लेख्छन् । र, यौटा नयाँ कविताको शीर्षक टिपेका थिए, ‘श्रीमतीको ड्राइभिङ लाइसेन्स’ । अलिकति लेखेर रोकेका थिए त्यो कविता । अनि, मसँग गुनासो गर्थे, “मेरो यो कविता कहिल्यै पूरा नहुने भो हगि !”
त्यो मेरो काँतर मनमाथिको अर्को नैतिक दबाब थियो ।
तर, उनको एकनासको दबावले म भने आजित भइसकेकी थिएँ । बाइकै नचलाएको त हो नि ! अरू अपराध त के नै गरेकी छु र ! र, निस्फक्री भनिदिन्थेँ— “के फूर्ति लाउनुहुन्छ ! तपाईंले चढेर हिँड्ने बाइकमा मेरो पनि आधा हक लाग्छ; बुझ्नु भो !”
त्यसो त, उनले आफूले जाने जति उपाय अपनाएर मलाई सताएजस्तो गरिरहनुको उद्देश्य एउटै थियो— पत्नीले ड्राइभिङ गरेको हेर्ने । म एउटी स्वतन्त्र र सक्षम स्वास्नीमान्छे बनेको हेर्न चाहन्थे सायद उनी ।
व्यवहार त्यस्तो नगरे पनि उनको ‘कडा ड्राइभरी’ को व्यङ्ग्य–हनाइ भने कायमै थियो । उनको नियत थाहा पाउँदापाउँदै पनि म थाहा नपाएझैँ गरिरहेकी थिएँ । तर, समय र परिस्थितिसँगसँगै म आफैँ फेरिएँ । मेरो मन फेरियो । यतिसम्म कि उनको बाइकको पछाडि बस्दासमेत आफैँलाई अप्ठ्यारो लाग्न थाल्यो । अब त अति नै भयो भनेर एक दिन उनैलाई ट्रायल सेन्टर खोजिदिन आग्रह गरेँ । उनले बडो हर्षका साथ त्यो कार्य गरिदिए । सात–आठ दिनको ट्रायलपछि उनी आफैँले सबै प्रक्रिया पूरा गरेर मलाई लिखित परीक्षा दिने व्यवस्था मिलाइदिए । लिखितमा सबैभन्दा माथि मेरो नाम निस्कियो । त्यसपछि ट्रायल परीक्षाको लागि लिएर गए; यातायात व्यवस्था विभाग, मीनभवन । त्यहाँ जानुअघि मैले एक घन्टाजति फेरि ट्रायल सेन्टरमा बाइक घुमाएँ ।
“दिदी तपैँ नाइन्टी नाइन पर्सेन्ट पास !” ट्रायल सेन्टरका भाइहरूले त्यो त्यत्तिकै भनेका थिएनन् । एक घन्टामा मैले एक पटक पनि खुट्टा टेकेकी थिइनँ । एकदमै सहजै ट्रायल पास गरेकी थिएँ ।
यातायात व्यवस्था विभागको परीक्षा केन्द्रमा हामी पुग्दा ठूलै भीड रहेछ । मसिनो पानी परिरहेको थियो । म लाइनमा बसेँ । उनी पनि मसँगसँगै यताउता गरिरहे । हामी दुवै बिस्तारै भिजिसकेका थियौँ । निकै बेरपछि मेरो पालो आयो । परीक्षाक्षेत्रमा परीक्षार्थीबाहेक अरूलाई पस्न दिइएको थिएन । चिनेका कोही थिए कि वा, कोही ठूलै मान्छे होला भन्ठानेर छाडिदिए कुन्नि ! उनी भने भित्रै छिरेका थिए । ट्रायल दिनुअघि उनले एक पटक मैले बाइक चलाएर पार गर्नुपर्ने ठाउँ घुमाएर देखाइदिए । मेरो पालो आएपछि बाइकसमेत ठिक्क पारिदिए ।
मैले ढुक्कले बाइक स्टार्ट गरेँ र घेराभित्र छिराएँ । रातभरि परेको पानीले ट्रायल परीक्षामा पार गर्नुपर्ने अङ्ग्रेजी आठ आकारको रेखा झन्डै आधा छोपिएको थियो । कस्तो, दुर्भाग्य ! मेरा आँखाले त्यतिबेला अङ्ग्रेजी आठको आधा भाग ‘शून्य’मात्र हेर्न भ्याए; आठ त कता हो कता ! आठ नै नदेखेपछि कता घुमाउनु ! गोलोमा छिराउनासाथ अलमल्ल परेर खुट्टा टेकेँ ।
“…सात नम्बरको बाइक फेल ….. !” छेउमा बस्ने ट्राफिकले घोषणा ग¥यो ।
उनी शब्दविहीन भएर मलाई नै हेरिरहेका थिए । उनको आँखा आँसुले भरिएका थिए । जिन्दगीमा मैले पहिलो पटक उनलाई फेल गराएँ ! अत्यन्तै नमिठो पीडाले चिमोट्यो मलाई !!
दोस्रो ट्रायल परीक्षाको दिन तोकियो । सबै व्यवस्था मिलाइदिए पनि उनी ट्रायल दिने ठाउँमा गएनन् । सायद उनलाई जानै मन लागेन । मप्रति विश्वासै लागेन कि ! वा, फेरि दुखित हुन किन जानू भन्ने सोचे ! खालि “तिमी सकिहाल्छौ नि, नभए अर्को एक पल्ट फेरि दिन पाइन्छ अझै …” भनेर अफिसतिर लागे ।
उनी साथमा थिएनन् तर यस पटक अवश्य पनि ट्रायल पास हुन्छु भन्नेमा म ढुक्कै थिएँ । फेल हुन्छु भन्ने त कल्पनै थिएन । तर, अन्तिम स्टपमा साइड बत्ती निभाउन बिर्सनुको परिणति फेरि फेल भएँ । भनूँ, फेरि उनको कवितालाई अधुरै पारिदिएँ ।
जिन्दगीमा फेल हुनु कति गाह्रो कुरा रहेछ ! कति पीडा दिँदोरहेछ यो ‘फेल’ शब्दले । त्यसो त ‘फेल’को सम्बन्ध सिधै मसँगमात्र हुन्थ्यो भने त्यस्ता थुप्रै फेलहरूले मलाई त्यति विचलित बनाउन सक्ने थिएनन् । तर, त्यो परिणाम मेरा लागिमात्रै थिएन । एकैसाथ बुबालाई र उनलाई सम्झिएँ । बुबाको निन्याउरो अनुहारले अझै विक्षिप्त बनायो मेरो हृदयलाई !
‘बुबा, मैले ट्रायल पास गरेँ !’ भनेर बुबालाई सुनाउन पाएको भए….! बुबाले सन्तोषको श्वास फेरेको सुन्न पाए…!
‘लु अब त्यो कविता पूरा गर्नूस्;’ भनेर उनलाई भन्न पाएको भए… ! त्यो क्षण कस्तो हुन्थ्यो होला ?
सोच्दासोच्दै मन झनै भारी भयो । अफिस जानै मन लागेन । उनको अनुहार सम्झिएर झन् आतेस लाग्यो । तर उनीबाट भागेर जानु कहाँ ! ‘घुम्दैफिर्दै रुम्जाटार’ भनेझैँ आखिर जानु त छँदै छ त्यहीँ; जहाँ उनी छन् । निकैबेर सडकतिरै अलमलिएर ढिला गरी अफिस पुगेँ । मेरो अनुहारको नैराश्य पढे क्यार; उनी सान्त्वना दिन थाले, “केही छैन, अझै एक पल्ट दिन पाइन्छ । नभए फेरि लिखित परीक्षा दिउँला; हुन्देऊ !”
झन्डै एक महिनापछि होला, तेस्रो अर्थात् अन्तिम ट्रायलको पनि सबै प्रक्रिया पूरा गरिदिइसकेका रहेछन् उनले । परीक्षा दिने दिन आयो । उनी मसँगै गए । मेरो पालो आयो । यस पटक भने निकै सतर्कताका साथ मैले आठको घेरो कटाएँ । र, कटाएँ पूरै परीक्षा ।
“५ नम्बरको बाइक पास …..!” ट्राफिकले घोषणा ग¥यो ।
तर, मेरा लागि त्यो सामान्य घोषणामात्र थिएन । त्यो साधारण वाक्य मेरा लागि अनेकौँ रिजल्टभन्दा विशिष्ट थियो । जिन्दगीका अनेकन् परीक्षाहरूभन्दा नितान्त फरक थियो त्यो परीक्षा ।
‘यत्ति खुसी त आफैँले ट्रायल पास गर्दा पनि लागेको थिएन !’ उनले शब्दमा भनेनन् तर उनको मुहारको रङ चिच्याई–चिच्याई त्यही भनिरहेको थियो । मैले उनलाई यत्तिको खुसी सायदै देखेको थिएँ, त्यसअघि ।
यतिखेर म उनले मलाई दिन चाहेको त्यो ‘स्वतन्त्रता’ महसुस गरिरहेकी छु । एउटा मिठो स्वनिर्भरता ! उनले पन्ध्र वर्षअगाडि नै मेरो नाम गरिदिन चाहेको उन्मुक्ति ! तर, यसका लागि मेरो मन कति डरायो; कति तर्सियो; त्यसको सीमै छैन ।
कसैले भित्रै; आत्मैदेखि नचाहीकन वा त्यसप्रति पूर्ण रूपमा समर्पित नभईकन कुनै कुराको प्राप्ति खोज्नु फलदायी हुँदोरहेनछ । दृढ चाहना र दरिलो आत्मविश्वासविना प्राप्ति कहाँ सम्भव हुँदोरहेछ र ! त्यो आत्मविश्वास; जो मसँग छँदै थिएन । मात्र एउटा भयङ्कर त्रासले डेरा जमाएको थियो मनमस्तिष्क, मुटुमा— मृत्युत्रास !
जब बाइकको प्रसङ्ग उठ्थ्यो, मेरा छोराछोरी आँखाअगाडि आइदिन्थे; अनि म लल्याकलुलुक हुन पुग्थेँ । उनको जबरजस्तीले जेनतेन चलाउन सक्ने त भइसकेकी थिएँ; तर सडकको भीडभाड सम्झेपछि जानेको स्वाट्टै बिर्सिएजस्तो हुन्थ्यो । मेरा हातगोडाका सबै नशा ढिला भएजस्ता लाग्थे । लाग्थ्यो— बाइक चलाउनु भनेको सीधै मृत्युको मुखमा हामफाल्न खोज्नु हो । र, यिनी मलाई त्यही गर्न बाध्य गराउँदै छन् !
अचेल स्कुटर एउटा अनिवार्य आवश्यकता; नियमित कर्मसमान भएको छ मेरा लागि । मेरा गोडाहरू बन्धनमुक्तझैँ भएका छन् । मनमस्तिष्क स्वतन्त्र भएको छ । उनले आफ्नो कविता पूरा गरेका छन्—
‘अचेल कस्तोकस्तो
बेरोजगारजस्तो भएको छु ।’
(‘जन्मजात बाहुनको विज्ञप्ति’, प्रोल्लास सिन्धुलीय)
अचेल मन्दमन्द मुस्काउँदै उनी मलाई जिस्क्याउँछन्, “तिम्रो स्कुटरमा मेरो पनि आधा हक लाग्छ होला नि है !”
म उनलाई होइन; उनको बडेमानको मोटरसाइकलतिर हेर्दै भन्छु, “मेरो खुट्टा पुग्दोरै’छ नि त्यसमा पनि !”