रेवन्त जोशी एक सफ्टवेयर इञ्जिनियर थिए । आजकालको मानव सम्पर्कशून्य वातावरण आउनु धेरै अघिदेखि नै ऊ घरमै बसेर काम गर्दै आएको थियो र सूचना प्रविधिमा ख्याति कमाएका सात समुद्रपारका कम्पनीहरुलाई इन्टरनेट मार्फत सेवा विक्री गथ्र्यो । उसलाई काममा एकाग्र हुन गर्न शान्त वातावरण चाहिन्थ्यो । स्वभावले नै अन्तर्मुखी भएर होला ऊ कम बोल्थ्यो, काम धेरै गथ्र्यो । ईश्वरले मानिसलाई एउटा मुख र दुईवटा कान दिनुको तात्पर्य आफू जति बोल्छौ त्यसको दोब्बर अरुको कुरा सुन भनेको हो भन्थ्यो । बिहान कार्यकक्षमा बसेदेखि नै उसको कानमा इयरफोन जोडिएको हुन्थ्यो । त्यसै मार्फत दिनभर गर्नुपर्ने कामको विवरण र निर्देशन पाउँदथ्यो । कुनै प्रश्न भए इमेल गरेर पठाउँदथ्यो । यदाकदा हुने अनलाइन छलफलमा भाग लिंदा मात्र उसलाई बोल्नु पर्दथ्यो । त्यसबाहेक अरु कसैसँग उसको सम्पर्क बिरलै हुन्थ्यो ।
उसकी पत्नी रेखा विपरीत स्वभावकी थिई । नबोली बस्नै सक्दिनथी । बोल्ने साथी वरपर नभए पनि उसको मुख बन्द हुँदैनथ्यो । भान्सामा हुँदा या अरु कुनै काम गर्दा उसको हात र मुख सँगै चलिरहेको हुन्थ्यो । ऊ किताब या अखवार पढ्दा पनि सासले बोलिरहेकै हुन्थी । एक्लै टिभी हेरिरहेकी छ भने पनि अर्को कोठामा व्यस्त रेवन्तले समाचार या फिल्म के आइरहेको छ उसकै बोलीबाट अन्दाज लगाउन सक्थ्यो । धेरै बोल्थी भनेर रेखा कर्कशा थिई भन्ने होइन । वास्तवमा उसको वाणी शुद्ध र वचन मीठो थियो । अझ कुन तथ्य छुटाउन मिल्दैन भने ऊ नजिकैको विद्यालयमा साहित्य पढाउँथी । वर्णन गर्नु, सरल भाषामा प्रस्तुत गर्नु त उसको पेशा नै थियो । एक सामान्य संजोगलाई पनि अनेकौं उपमा र अलंकार थपेर छेउ–पुछार जोड्थी । सांसारिक झमेलाको पीडा अनुभव गर्न नभ्याएका कलिला छात्रछात्राहरु गुरुमाको स्वछन्द प्रवचन स्वाद मानेर सुन्थे ।
विद्यालय बाहिर र समाजमा पनि उसको वक्तृत्वलाई कला नै मान्नेहरुको कमी थिएन । ‘एकछिन रेखा मिसको कुरा सुनौं न’ भनेर बाटैमा रोकिने धेरै भेटिन्थे । साँझ जब घर फर्किरहेकी हुन्थी उसको मनमा अनेकन् कुरा खेलिरहेको हुन्थ्यो । ती कुरा पनि कसैलाई साउती गरेजस्तो गरी उच्चारण गरिरहेकी हुन्थी । रेवन्तलाई सुनाउने भनेर मनमनै आफ्नो दैनिकीको मिठो सारांस बनाउँथी । तर घर पुग्दा रेवन्त आफ्नै कोठामा थुनिएर बसेको हुन्थ्यो र उसलाई बाहिर निकाल्न सजिलो थिएन । कामबाट छोटो विश्राम त उसलाई पनि चाहिन्थ्यो नै, त्यसैले पत्नी आएको चाल पाउनासाथ एउटा कानको इएरफोन निकाल्दै बैठक कोठामा पुग्थ्यो र उसको प्रवचन सुन्थ्यो । तर उसको ध्यान आफ्नै कामतर्फ हुन्थ्यो या पत्नीतर्फ छुट्याउन सजिलो थिएन । रेखा पनि बोल्दाबोल्दै बैठक कोठा र भान्साबीच ओहरदोहर गरिरहन्थी । पतिले उसको कुरा ध्यान दिएर सुनेनसुनेको खासै निगरानी राख्दिनथी । यताउता गर्दै बोलेका बेला रेखाका कतिपय कुरा दोहरिन्थे, रेवन्त त्यसमा टिप्पणी गर्दैनथ्यो । रेखा कुनै काममा व्यस्त भएको लागेपछि कुरा नसकिए पनि रेवन्त आफ्नो कार्यकक्षतर्फ लाग्दथ्यो । रेखा एकछिन एक्लै फतफताउँथी तर ऊ हिँडिसकेको थाहा पाएपछि खानपिनको समयसम्म बातचित रोक्दथी ।
यो रीत वर्षौंदेखि सामान्य रुपले चलिरहेको थियो । तर एकदिन, हरेकको जीवनमा यस्तो ‘तर एकदिन’ भन्ने अवस्था नचाहेर पनि आउँछ, त्यो रीतमा वाधा आयो । त्यसलाई दूर गर्न रेवन्तले आफ्नो पेशा अनुसारको एक उपाय ग¥यो जुन कृत्रिम बौद्धिकताको हिसाबले दक्ष भए पनि मानवीय दृष्टिले सन्दिग्ध थियो ।
त्यस दिन रेखा अबेर घर फर्की । पतिसँग एक शब्द नबोली चुपचाप माथि शयनकक्षतर्फ उक्ली । रेवन्त तल कार्यकक्षमा व्यस्त थियो र पत्नी आएको चाल पनि पाएको थिएन । दिनभर झरी परेकोले कतिखेर घाम अस्तायो त्यो पनि उसलाई हेक्का भएन । नौ बजेतिर मात्र शायद भोक लागेर होला ऊ कोठा बाहिर निस्क्यो र के भएछ भनेर यताउता हेर्न थाल्यो । बैठक कोठा, करिडोर सबैतिर चकमन्न अँध्यारो थियो । त्यस साँझ भान्सामा खाना पाकेको कुनै लक्षण थिएन । भ¥याङको बत्ती बालेर माथि हेर्न गयो । रेखा बिछ्याउनामा पल्टेर रोबर्ट बन्र्सका कविताहरु पढिरहेकी थिई । उसको प्रवेशलाई वास्तै नगर्ने इच्छा भए पनि किताबतर्फको ध्यान भ¥याङबाट माथि आइरहेको पदचापले नै अवरुद्ध गरिसकेको थियो । पत्नीलाई देख्नासाथ रेवन्तले केही गडवड भएको बोध ग¥यो तर ठ्याक्कै के भयो भनेर अन्दाज गर्न सकेन । लोग्नेको मनोबल चार आँखा जुधाएर बोल्न सक्ने अवस्थामा नै नभएको देखेर रेखाले आफ्नो क्रोध, निराशा र असन्तुष्टिको टर्रो घोलमा चोबलिएको प्रश्न गर्दै मौनता तोडी ।
‘आज चार बजे तिमी कहाँ जानुपर्ने थियो ? मैले हिजो के भनेकी थिएँ ?’
रेवन्त परीक्षामा फेल भएर घर आएको छात्र जस्तो निश्चल र अवाक भएर ढोकामा उभिइरह्यो । रेखा झन् आवेशमा आई र ‘हिजो मात्र किन, मैले एक हप्ताअघि नै के भनेकी थिएँ र तिमीले के कबुल गरेका थियौ ? सबै कुरा एकपटक दोह¥याएर भन’ भनेर पतिलाई ¥याख¥याख्ती पारी ।
रेवन्त अझै अनुत्तर देखेर उसले अर्को एक मौका दिई, ‘बाहिर जाऊ र सम्झेपछि मात्र भित्र आऊ ।’
बाहिर निस्कन लाग्दा उसले बिछ्यौना छेउको टेबलमा रेखाको हातेझोलासँगै ठूलो कलात्मक फ्रेममा एक सम्मानपत्र देख्यो । ऊ झल्यास्सँ भयो र केही दिनअघि रेखाले विद्यालयमा कार्यक्रम छ, तिमी आउनू भनेको याद भयो । हिजो पुनः सम्झाएको कुरा त उसले सुनेकै रहेनछ । ऊ बार्दलीमा निस्क्यो र अरु तथ्य सम्झने प्रयास ग¥यो । हिजो रेखा घर फर्कदा एक अनलाइन सेमिनार चलिरहेको थियो र उसको एउटा कानमा एअरफोन लागिरहेको थियो । विद्यालयको बारेमा रेखा केही कुरा भनिरहेकी थिई । शायद त्यही बेलामा छुट्यो होला । आज उसलाई विद्यालयमा सम्मान गरिएको थियो । त्यो क्षणमा पतिको साथ होस् भन्ने कत्रो रहर थियो होला । हरे, मैले कस्तो अवसर छुटाएँ भनेर रेवन्तले आफैलाई धिक्का¥यो । उसलाई साँच्चै दुःख लाग्यो र लज्जाबोध भयो । भान्सा कोठातिर पसेर आफैले केही झिकेर खायो र त्यो रातको गुजारा ग¥यो ।
भोलिपल्ट विद्यालय जानुअघि रेखाले हिजोको घटनाको आधारमा आफ्नो फैसला सुनाई, ‘तिमीलाई कम्प्युटर भए स्वास्नी पनि नचाहिने रहेछ । त्यसै हो भने मलाई पनि एउटा कम्प्युटर चाहियो, लोग्नेको आवश्यकता नै पर्दैन कि ?’
ती शब्दले रेवन्तको मुटुमा वाण हाने जस्तो पीडा हुनुपर्ने थियो । तर त्यसो भएन । पेशाले नै उसलाई भावुक भन्दा तर्कसंगत हुन सिकाएको थियो । कामको चाप अनुसार उसलाई बढी क्षमता भएको कम्प्युटर किन्नु परेकै थियो । त्यसैले रेखाको माग त्यही दिन पूरा गर्ने निर्णय ग¥यो । एक दुई पसलमा फोन लगाएपछि चाहेको सामान घरै आइपुग्यो । नयाँ कम्प्युटर आफ्नो कोठामा राखेर भइरहेको कम्प्युटर रेखाको लागि जोडिदियो । रेखा विद्यालयबाट फर्कदा उसको लागि इन्टरनेट, श्रव्यदृश्य प्रणाली सबै जोडिएको कम्प्युटर ठिक्क पारेर राखिएको थियो । रेखालाई कम्प्युटरको सामान्य ज्ञान थियो । एक दुई दिन लगाएर रेवन्तले उसलाई आवश्यक पर्न सक्ने नयाँ कुरा पनि सिकाइदियो । तैपनि रेखाले आफ्नो गुनासो पोखेरै छाडी, ‘यदि तिमीले पत्नीलाई दिनुपर्ने समयको क्षतिपूर्ति कुनै सामान किनेर गर्न सक्छु भन्ने ठानेका छौ भने तिमी गलत छौ ।’ रेवन्तले प्रतिवाद गरेन ।
रेखाले कम्प्युटरलाई समय बिताउने साधनको लागि मात्र होइन सूचना, ज्ञान र केही मनोरञ्जनका लागि प्रयोग गर्न थाली । विस्तारै रेवन्तसँग त के उसको आफैसँग हुने बोलिचाली र संवाद पनि कम्प्युटरसँग हुन थाल्यो । खाना खाने बेलामा या कुनै जरुरी कुरा गर्नुपर्ने भए मात्र उनीहरुको भेट हुन्थ्यो । केही दिनमा नै रेवन्तले रेखा घरमा भए नभएको भिन्नता पनि महसुस गर्न छाड्यो र उसलाई खोजे अनुसारको एकान्त हासिल भयो ।
कम्प्युटरको पर्दामा धेरै आइकनहरु थिए । तिनैसँग चल्दाचल्दै एक साँझ रेखाको नजर एउटा गुराँसको फूल जस्तो देखिने आइकनमा प¥यो र उत्सुकताका साथ उसले त्यसैलाई दबाई । पर्दामा एउटा झ्याल खुल्यो र संगीत बज्यो । रेवन्तले सिकाए अनुसार संगीत सुन्न उसले कानमा इयरफोन लगाई । आवाज मधुर हुँदै गयो र कम्प्युटरको पर्दामा एकजना सुन्दर अधबैंसे पुरुष देखियो । उसले सिधै रेखालाई हेरेर अभिनन्दन ग¥यो –‘नमस्ते रेखाजी ! खाना खानुभयो ?’ रेखा खङ्ग्रङ्ग भई । वरपर कोही थिएन । उसले यताउता हेरी र आफैलाई प्रश्न गरी, ‘मसँग को बोलिरहेको छ ?’
पर्दाको मानिसले भन्यो, ‘यता, मतर्फ हेर्नुहोस् न, सिधा पर्दामा !’
पर्दाको मानिसले हात हल्लायो र रेखासँग चार आँखा जुधेपछि फेरि सोध्यो, ‘भान्सा भयो ?’
‘ए, मसँग कुरा गर्नु भएको ?’
‘हो ।’
‘भान्सा भइसक्यो । तपाईं मलाई चिन्नुहुन्छ ?’
‘किन नचिन्नु हाम्री प्यारी रेखा मिसलाई !’
‘कसरी म तपाईंकी प्यारी मिस भएँ ? तपाईं मेरो छात्र जस्तो त देखिनु हुन्न ।’
‘छात्रहरुको लागि मात्र हो र तपाईं सबैको मिस हो र मेरो पनि ।’
‘तपाईंको नाम ?’
‘मेरो तस्वीर मुनि हेर्नोस् त, नाम त्यहीं लेखेको छ ।’
‘प्रेम !’
रेखालाई त्यो संवाद अप्रत्यासित र अनौठो लागिरहेको थियो । के बोल्ने के नबोल्ने उसलाई असहज महसुस भयो । सामान्य सोधपुछ पनि नसकिंदै उसलाई बन्द गर्न मन लाग्यो । प्रोग्रामबाट निस्कन खोज्दा कम्प्युटरले प्रश्न ग¥यो, ’संवाद जोगाएर राख्न चाहनुहुन्छ ?’ उत्तरका लागि दुई विकल्प दिइएको थियो – ‘हो ÷ होइन ।’
रेखा बडो द्विविधामा परी । यो के रहेछ भनेर उसलाई अलि बढी जान्ने इच्छा थियो । रेवन्तलाई सोधौं भने उसले प्रोग्राम नै हटाइदेला भन्ने डर भयो र उसले ’हो’ भन्ने उत्तरको बटन दबाई ।
कम्प्युटरबाट तत्कालै दोस्रो प्रश्न आयो, ‘अर्को संवादको मिति र समय !’
ऊ फेरि अकमकाई । आफू विद्यालयबाट फर्कने र रेवन्त कोठाबाट निस्कने समय विचार गरेर अर्को दिन चार बजेको समय दिई ।
राति निदाउनुअघि उसको मनमा धेरै कुरा खेल्यो । कम्प्युटरले कसरी चिन्यो । कम्प्युटर मार्फत भेटघाट हुन्छ भन्ने सुनेकी थिई । तर न उसले कतै त्यस्तो इच्छा देखाएकी थिई, न कसैलाई नाम दिएकी थिई । ‘होस्, मन नपरे हटाइदिउँला नि । के चिन्ता !’ भनेर निदाउने प्रयास गरी ।
भोलिपल्ट विद्यालयबाट फर्केपछि धेरैबेर नगरी उसले कम्प्युटर खोली । प्रेम गुलाबी रंगको कमिजमा सजिएर उपस्थित भइसकेको थियो । कालो बाक्लो मुन्द्रे कपालमुनि फराकिलो कुम, लामा हात, थोरै उठेको चिउँडो र अनुहारमा स्पष्ट देखिएको आत्मविश्वासले गर्दा ऊ साक्षात मर्द देखिन्थ्यो । ऊ कुर्सीमा सिधा भएर बसेको थियो र उसको थोरै फर्केको बाहुलाभित्र निकै दामी घडी टल्केको देखिन्थ्यो । उसका आँखा सदैव हाँसिरहेका हुन्थे र अनुहार तेजिलो थियो । सबै कुरा मिलेको भए पनि रेखालाई उसको सौन्दर्य अलि कृत्रिम लाग्यो । कसैले उसलाई भनेको थियो – जगत्मा कुनै खोट नभएको सृष्टी त हुँदै हुँदैन ।
रेखालाई देख्नासाथ उसले नम्रतापूर्वक अभिनन्दन गर्दै भन्यो, ‘नमस्ते रेखाजी, ओहो तपाई कति राम्री देखिनुभएको !’ निकटता जनाउन उसले एउटा प्रस्ताव ग¥यो, ‘अब हामी एक अर्कालाई तिमी भनेर बोलाउँ है ?’
त्यो कुरा रेखालाई मन परेन, ‘नाइँ, हामी स्वास्नीमान्छेलाई नचिनेको पुरुषलाई तिमी भनेर बोलाउन अप्ठेरो लाग्छ ।’
‘हाम्रो चिनापर्ची भइसकेन र ?’
‘पर्याप्त भएको छैन ।’
रेखालाई फकाउँदै उसले अरु प्रशंसा गर्न थाल्यो, ‘तपाईंलाई यो ड्रेस एकदम सुहाएको छ । कति राम्री देखिनुहुन्छ !’
‘यो त घरमा बस्दा लगाउने पुरानो कपडा हो ।’
‘तर तपाईको मुहार र जिउलाई खुब मिल्ने रहेछ ।’
‘तपाईंलाई प्रशंसा गर्न खुब आउँदो रहेछ, जुन महिला देखे पनि यस्तै हो ?’
उसले गललल हाँस्दै उत्तर दियो, ‘होइन तपाईंलाई मात्र ।’ सेता टम्म मिलेका दाँतले गर्दा हाँसेको बेला उसको अनुहार झनै तेजिलो भएको रेखाले ख्याल गरी ।
‘नपत्याए पनि प्रशंसा गर्नु भएकोमा खुसी लाग्यो ।’
उसले आफ्नो खुसीको कारण पनि बताई, ‘महिलाहरु धन–सम्पत्ति, गर–गहना मात्र खोज्छन् भन्ने तपाईं पुरुषहरुको सोचाई गलत हो । त्यो भन्दा बढी उनीहरु मिठो वचन, माया र सम्मान खोज्छन् । मलाई कसैले यसरी प्रशंसा गरेको थिएन ।’
‘तपाईंको पतिले पनि गर्नुहुन्न ?’
रेखाले यस प्रश्नको सिधा उत्तर दिन सकिन । एकछिन रोकिएर भनी, ‘घरमा सबै कुरा चाहेजस्तो भए कसैलाई पनि बाहिर चियाउन आवश्यक पर्दैन ।’
‘तपाईंलाई अकेली महसुस भएको रहेछ ।’
रेखाले मनमनै भनी – यो पात्र सजिव हो या निष्प्राण कम्प्युटर जे भए पनि यसले मेरो अन्तर्आत्माको कुरा ठिकै बुझ्यो । रेखाको अनुहारमा लज्जा र केही रहस्य भरिएको बुझेर ऊ मोहित देखियो । उसको वाणी सुमधुर र शब्द प्रेमालापले भरिपूर्ण हुन थाल्यो । केही उत्तर दिन नसकेर रेखा व्याकुल भई र काम छ भनेर हतारहतार कम्प्युटर बन्द गरी ।
०००
रोजगारीबाट रेवन्तलाई पेशागत सन्तुष्टि र परिवारलाई सुविधाजनक मध्यमवर्गीय जीवनस्तर धान्ने श्रोत मिलेको थियो । रेखाको विचारमा त्यो उपलब्धिमा उसको लगानी कम थिएन । पत्नीलाई दिनुपर्ने समय पनि उसले पेशामा लगाएको थियो र त्यसवापत रित्तोपन सिवाय केही पाउँदिनथी । प्रेमसँगको संवादले केही हदसम्म त्यो रिक्तता भरेको थियो । ऊ को हो, कसरी उससँग यस्तो सम्पर्क भयो भन्ने राम्रोसँग नबुझी रेखाले आफ्नो दैनिक तालिकामा त्यस संवादलाई स्थान दिन थाली । बिदाको दिन या कुनै जरुरी काम परेको अवस्थाबाहेक उनीहरुको भेट नियमित हुन थाल्यो ।
रेखाले व्यक्तिगत विषयमा पनि उसको सल्लाह मान्न थालेकिले उनीहरुको निकटता बढ्दै गयो । एक साँझ रेखाको शृङ्गारमा टिप्पणी गर्दै उसले भन्यो, –‘आज तिमीले गाजलमा हल्का रंग भरेकी रहिछ्यौ । कपाल नबाँधी पछाडि खुलै छोडिदेऊ ।’ उसले भनेको मानेर रेखाले रबर खोली र टाउको फड्काएर कपाल खुला छोडिदिई । उसले शिकारी नजरले रेखालाई हे¥यो र उल्लासका साथ भन्यो, ‘आहा, तिमी कति कामुक देखिएकी !’
हरेक दिन थरिथरिका टिप्पणी गरेर ऊ रेखालाई भुलाउँथ्यो ।
‘यो सारीसँग गलामा लगाएको सिक्री असाध्ये सुहाएको छ ।’
‘‘ ‘ !’
‘साथमा रहन नसके पनि तिमीबाट फैलिइरहेको सुगन्ध तिम्रो रुप र डाल हेरेरै म अनुभव गर्छु ।’
‘‘ ‘ !’
एकपटक उसले रेखाको पोशाकसँग गलामा मोतिको हार नपुगेको टिप्पणी ग¥यो । रेखा शहर गएर सस्तै खालको भए पनि एउटा हार किनेर ल्याई । अर्को पटकको संवादमा त्यो हारको औधी प्रशंसा भयो । अनि उसले रेखाले स्कुलमा पढाउने विषयबारे सोध्यो । उसले आफ्नो अनुभवको विस्तारमा चर्चा गरी र कवि रोबर्ट बर्न्सको कविता पढाएको प्रसङ्गसहित एक हरफ पद्य पनि सुनाई ः
उदास छ यो मन म कसलाई सुनाउँ
ह¥यो निंद उसैले कसरी बोलाउँ !
उसले बडो चाखसँग रेखाको कुरा सुन्यो र कविता सकिएपछि खुसीले ताली पिट्यो । यो मानिससँग मन बहलाउन सकिने रहेछ भन्ने लागेर रेखाले उसलाई सोधी, ‘कम्प्युटरमा मात्र हो कि बाहिर पनि भेट्न सक्छौं ?’ उसले त्यो प्रश्नको उत्तर दिएन, मुस्कुरायो मात्र । सोधिसकेपछि रेखालाई आफ्नो प्रश्न सान्दर्भिक भए पनि उचित नभएको महसुस भयो । प्रस्ताव त उसले पो गर्नुपथ्र्यो । अकस्मात रेखाको मुहारमा खिन्नता देखेर उसले केही भन्न लागेको थियो तर रेखाले प्रतीक्षा गरिन, हात हल्लाएर बिदा हुँदै कम्प्युटर बन्द गरी ।
पति–पत्नी सर्वथा आ–आफ्नै धन्दामा मात्र व्यस्त हुन थालेदेखि एक्लोपन महसुस गर्ने रेवन्त पहिलो थियो । उसलाई रेखा आफूबाट टाढिंदै गए जस्तो लाग्न थाल्यो र उसका गतिविधिमाथि निगरानी राख्न थाल्यो । एउटै सञ्जालमा जोडिएकाले रेखाले कति बजे कम्प्युटर खोली, के चलाई र कहिले बन्द गरी, सबै तथ्यांक रेवन्तले हेर्न सक्थ्यो । चाहेको भए उसले रेखाको संवादको पूरै पाठ या सारांश निकालेर पढ्न सक्थ्यो तर एक विशेषज्ञको हैसियतले ऊ निजी सूचनाको गोप्यताको पनि ख्याल गर्दथ्यो । त्यसैले उसले संवाद पढेन । न्युनतम तथ्य संकलन ग¥यो र कम्प्युटर पात्रसँग रेखाले धेरै समय बिताउन थालेको ईष्र्यालु निष्कर्ष निकाल्यो । एकदिन दिउँसो रेखा घरमा नभएको समयमा उसको कम्प्युटर खोल्यो र आफैले जडान गरिदिएको संवादको पात्र र प्रोग्राम निष्कृय बनाइदियो ।
साँझ रेखाले कम्प्युटर खोल्दा पर्दामा गुराँसको फूलको आइकन थिएन । उसले खोज्न जानेका सबै उपाय गरी । पटकपटक कम्प्युटर बन्द गरेर पुनः खोली तर पर्दामा गुराँस झुल्किएन । हैरान भएर बार्दलीमा निस्की र खुला हावामा विश्राम गरेर मनस्थिति शान्त पार्ने प्रयास गरी । पछिल्लो संवादको अन्त्य राम्रो नभएकोमा पश्चाताप भयो तर आइकन हराउनुको कारण त्यही हो भन्ने आधार थिएन । रेवन्तले केही ग¥यो कि भन्ने शंका पनि मनमा उठेको थियो तर जानाजान पत्नीको चित्त दुखाइदेला भन्ने विश्वास भएन । आफूलाई अरु नै कुरामा भुलाउन खोजे पनि घुमीफिरी उसको दिमागमा त्यही गुराँसको फूलको झल्को आइरह्यो ।
रेखाको चिन्ता उसको चालचलनमा पनि प्रकट हुँदै गयो र त्यसको वास्ता नगरी बस्न रेवन्तलाई पनि मुस्किल भयो । साँझ नियमित रुपले खाना पाक्न पनि छोड्यो । धेरै दिनदेखि उसले पहिला जस्तो ’भान्सा भयो, आउनुस्’ भनेर बोलाएको सुन्न पाएको थिएन । आफैले सोधे झर्केको जवाफ आउँदथ्यो । रेखाको विशेषता उसको मिठो बोली वचन थियो तर केही दिनदेखि ऊ बोल्नै छोडेकी थिई । वाणी हराएकी रेखा भनेको मणि हराएको नाग जस्तै हो भन्ने सोंचेर उसले रेखासँग कुरा गर्ने प्रयास ग¥यो तर सफल भएन । बरु अर्को दिन स्कुल जानुअघि कुरा गर्नुछ भनेर रेखा आफै आई –‘हामी भोलि तानसेन जाँदैछौं ।’
‘हामी भनेको को को हो ?’
‘वृन्दा र म, दुई जना मात्रै । म मामा–माइजु भेट्न तानसेन जान्छु, उसको त माइती नै बुटवल भयो । समय मिलाएर बुटवलमा भेट्छौं र लुम्बिनी घुमेर एक हप्तामा फर्कन्छौं ।’
रेखाबाट वृन्दाको कुरा धेरै पटक सुनेको भए पनि उससँग भेट भने एक पटक मात्र भएको थियो । ऊ कोसँग जाँदैछ भन्दा पनि किन जाँदैछ भन्ने प्रश्नले रेवन्तलाई बिझायो । यसको उत्तर शायद दुवैलाई थाहा थियो तर त्यसमा विवाद गर्ने इच्छा कसैको पनि थिएन । रेखा चाहँदी हो रेवन्तले उसलाई नजाऊ भनोस्, समय मिलाएर सँगै जाउँला भनेर कबुल गरोस्, उसबाट के भुल भयो भनेर सोधपुछ गरोस्, फकाओस् । तर त्यस्तो केही भएन, उसले चुपचाप मुन्टो हल्लाएर रेखाको भ्रमणको सूचना लियो ।
हरेक कुराको महत्व त्यसको अभावमा थाहा हुन्छ । रेखा पहिला पनि दुईचार दिनको लागि माइती या अन्यत्र गएकै हुन्थी । तर सबै कुराको खटनपटन मिलाएर छोड्थी । तर यस पटक रेवन्तको बुझाईमा उसले चटक्क छोडेर गई । म नहुँदा यसो गर्नू त्यसो गर्नू भनेर पनि अह्राइन । यस्तो आकस्मिकताको लागि रेवन्त तयार थिएन । आफै खाना बनाउन पर्दा भान्सामा चाहिने सामान्य कुरा नुन, तेल, मसला केही फेला पार्न नसकेर ऊ दिकदार हुन्थ्यो र एक छाक खाना बनाउन घण्टौ समय खेर फाल्नु प¥यो भनेर भुतभुतिइरहन्थ्यो । ठूलठूला कम्पनीहरुको व्यवसाय धान्ने ज्ञान भए पनि उससँग आफ्नै भान्सा चलाउने जुक्ति रहेनछ । बिहान दश बजे काम सुरु गर्न पनि गाह्रो भयो । समय भुलेर एक दुई पटक अनलाइन बैठक समेत छुटेपछि त ऊ झन् आक्रोशित भयो । तर आक्रोश पोख्न पनि पात्र चाहिने रहेछ र नभएको अवस्थामा त्यसको मार आफैंलाई पर्दो रहेछ । यस्तै हण्डर खाएपछि उसलाई के महसुस भयो भने रेखाले काममा वाधा मात्र दिन्छे भन्ने सोंचाई सही रहेनछ ।
भान्साका सामग्री सकिएकाले उसलाई पसल जानैपर्ने वाध्यता प¥यो। ऊ घरबाट विरलै निस्कन्थ्यो । अचानक उसलाई सडकमा देखेर छरछिमेकका मानिस के के न भए जस्तो अचम्ममा परे । धेरैले ट्वाल्ल परेर हेरे, चिनेका एक दुई जनाले सोधपुछ पनि गरे –‘तपाईंलाई नदेखेको धेरै भयो, बाहिर जानुभएको थियो कि ?’
‘होइन घरमै कामले व्यस्त थिएँ’– उसले छोटो उत्तर दियो ।
‘ओहो रेवन्त, के छ हाल खबर ? नदेखेको पनि धेरै भयो ।’
‘ठिकै ।’
पसल पुग्नासाथ साहुजीले सोध्यो ‘आज आफै आउनु भएछ ।’
उसले ’अँ’ मात्रै भन्यो र चाहिएको सामान माग्यो ।
के शंका लागेछ र साहुजीले फेरि सोध्यो, ‘रेखा मिस आरामै हुनुहुन्छ ?’
‘बाहिर गएकी छ ।’
फर्कन लाग्दा बाटोमा उसले एउटी महिलाले आफ्नी संगिनीलाई ‘उः रेखाको लोग्ने’ भनेर साउती गरेको सुन्यो । अर्कीले ‘ए, मैले कहिल्यै देखेकी थिइनँ’ भनेर जवाफ दिई । दुइटीले नै फर्कीफर्की हेरे । लगतै चार–पाँच जना स्कुले केटाकेटीको समूह आयो । अघि लागेर हिंडेकी छात्राले साहस गरेर रेवन्तलाई सोधी, ‘मिस कहिले आउनुहुन्छ सर ?’
उसले छात्राबाट प्रश्नको अपेक्षा गरेको रहेनछ, अलि हडबडाएर जवाफ दियो, ‘अर्को हप्ता ।’
सडकको प्रश्नोत्तरले रेवन्तलाई चिढायो । घर पुगेपछि सामान भान्सामा राखेर बैठक कोठामा गयो र एकछिन सोफामा पल्टिएर सोंच्न थाल्यो । समाजमा त धेरैले उसलाई रेखाको नामबाट मात्र चिन्दा रहेछन् । सोंचाईमै डुबिरहँदा उसको ध्यान रेखाबाट प्रोग्रामतर्फ मोडियो र कम्प्युटर खोल्न मन लाग्यो । पर्दाको अँध्यारो पृष्ठभूमिबाट एकजना मानिसको अस्पष्ट आवाज आयो –‘रेवन्त, मलाई चिन्यौ ?’
‘अहँ, को हौ तिमी ?’
‘तिमीले रचेर मारेको मानिस’ – छोटो मौनतापछि त्यो आवाजले भन्यो, ’तिमीलाई त सबै थाहा छ, अनि कोसँग डराएर मलाई रेखाबाट अलग ग¥यौ ? अब यसको परिणाम भोग्नेछौ । म तिम्रो कम्प्युटरभित्र पसिसकेको छु । तिमीले उपलब्धि मानेका सबै प्रोग्राम र फाइलहरु नष्ट गरिदिन्छु । भोलिदेखि नै तिमी बेकामका हुनेछौ ।’ कृपया त्यसो नगर भन्दै रेवन्तले किबोर्डमा छिटछिटो औंला चलायो । तर केही पनि खुलेन । सबै फाइल हराइसकेका रहेछन् । रेखासँग गरेको एक मात्र विदेश भ्रमणका फोटोहरु पनि नपाएपछि रिसले किबोर्डमा एक जबरजस्त मुड्की बजा¥यो । दाहिने हात हावामा बत्तिनाले शरीरको सन्तुलन बिग्रियो र ऊ सोफाबाट खस्यो । झल्यास्स बिउँझिँदा उसको टाउको दुखेर फुट्ला जस्तो भएको थियो । उठेर मुख धोयो । बिहानैदेखि केही खाएको पनि थिएन । तर पनि ढुक्क हुनको लागि कोठामा गएर पहिला कम्प्युटर खोल्यो सबै ठिक देखेर मन शान्त भयो र खानाको व्यवस्था गर्न भान्सातर्फ लाग्यो । भान्सामा व्यस्त हुँदा ऊ पुनः सोंचाइमा मग्न भयो । भरखरैको नराम्रो सपना र रेखाको प्रस्थानबाट मनमा उत्पन्न भएको आवेग सम्झेर उसको हात काम्यो । रेखाको संवादको प्रोग्राम निष्क्रिय गरिदिएकोमा उसलाई आत्मग्लानी भयो ।
रेखा फर्केपछि उसले पत्यार लाग्ने पाराले आफ्नो कथा सुनायो, ‘हामी दुबैको कम्प्युटरमा इन्टरनेटबाट भाइरस घुसेको रहेछ । तिमी गएको दिन त मेरो कामै भएन । मर्मत गरेर सबै चल्ने बनाएको छु । केही समस्या आए भन्नू ।’
भोलिपल्ट रेखाले कम्प्युटर खोल्दा पर्दामा गुराँसको फूल देखियो । उसलाई खोल्ने कि नखोल्ने द्विविधा भयो । रेवन्तले के मर्मत गरेछ भनेर थाहा पाउन भए पनि खोल्ने विचार गरी र गुराँसको फूलमा दबाई । सुपरिचित झ्याल खुल्यो र संगीत गुञ्ज्यो । पर्दामा गाढा निलो सर्टमा सजिएको प्रेम देखियो । धेरै दिनदेखि भेट नभएको साथीसँग जसरी कुरा गरिन्छ उसले त्यसरी नै सुरु ग¥यो –‘नमस्ते रेखा, आरामै छौ ? यतिका दिन कहाँ हराएकी ?’
‘साथीसँग घुम्न गएकी थिएँ । तिमीले भेट्न मानेनौ क्यार !’
‘‘ ‘।’
यता संवाद सुरु हुनासाथ उता रेवन्तको कम्प्युटरमा रेखाको लगइन सफल भएको सूचना आयो । ऊ एक्लै मुसुक्क हाँस्यो र मनमनै भन्यो, ‘रेखा लाइनमा नै छ ।’