एउटा खोला
अनवरत सुसाउँदै
ठोक्किंदै बयली खेल्दै
बगरका बाहुलीहरूमा सल्बलाउँदै
हुन्डरी खेल्दै, छेकिंदै, चुहिंदै
अनवरत संघर्ष गर्दै
आफ्नो गन्तव्य चुम्न
लगनशील छ ।
यदि खोलाको जति अठोट
समुद्रप्रतिको अनवरत माया
हज्जारौ बाधा अड्चनहरूको बेपर्वाह
दुनियाका गराहरू सिञ्चित गर्दै
आफू सक्किएर
निस्प्राण प्राय हुँदा पनि
अदम्य साहास र अविरल यात्रा
मर्मस्पर्सी छ किनभने
ऊ उस्को गन्तव्य
समुद्र भेट्न आतुर छ ।
भोक प्यास सहेर
नाली फोहोरसँगै बगेर
फोहोर र नालीलाई पन्छाउँदै
अविरल बहेर
फोहोर सफा गर्दै छान्दै
स्वच्छ बनाउँदै संघर्ष गर्दै
सारा गाउँघरका सिनो बोक्दै
पात पतिङ्गर बोक्दै
ती सबैलाई किनारा लगाउँदै
अविरल बगिरहेछ
केवल आफ्नो गन्तव्य चुम्न
आफ्नो प्यारो समुद्र भेट्न
हामी मनुष्यले
केवल एउटा खोला हेरे हुन्छ
त्यस्को संघर्षको कथा मनन गरे हुन्छ
सफल कसरी हुने हो ?
गन्तव्यमा कसरी पुग्ने हो ?
आफ्नो प्रेमको इज्जत कसरी गर्ने हो ?
प्रेमी र प्रेमिकाको सम्बन्धका
उतारचढावहरूलाई
कसरी पार लगाउने हो ?
यो सब कुरा त्यही खोलाले सिकाउँछ
अनि लाखौं खोलाहरू
मिसिएर बनेको समुन्द्र
कसरी स्थिर हुन्छ ?
कसरी स्वच्छ हुन्छ
बस त्यत्ति बुझे हुन्छ ।
केवल खोला !
अरू केही होइन । – मण्डन देउपुर– ८ काभ्रे