लैनसिंह वाङदेल (१९८१–२०५९) नेपाली साहित्यका मात्र विशिष्ट प्रतिभा होइनन्, उनी नेपाली कलाजगत्का अद्वितीय व्यक्तित्व पनि हुन् । नेपाली साहित्यमा विशेष गरी यथार्थवादी उपन्यासकारका रूपमा आफ्नो छुट्टै पहिचान बनाएका वाङदेलको जन्म भारत, दार्जिलिङको तकभर चिया बारीमा भए पनि उनी त्यहाँ सीमित भएनन् । अध्ययनका क्रममा उनले कलकत्ता, पेरिस र लन्डनमा लामो समय बिताए तर उनको कर्म क्षेत्र भने काठमाडौँ नै भयो । कला अध्ययनका लागि पेरिस र लन्डन बसेको समयमा उनले कला अध्ययन त गरे नै, त्यस सँगसँगै यात्रा निबन्ध र यात्रा डायरी लेखेर नेपाली साहित्यको यात्रा निबन्ध विधालाई गति दिए । वास्तवमा कला अध्ययनताका पेरिस र लन्डन बस्दाका भ्रमण प्रसङ्ग र डायरी नेपाली साहित्यका विशिष्ट प्राप्तिका रूपमा रहेका छन् ।
उनका यात्रा निबन्धहरु २०१० साल तिरै नेपालबाट प्रकाशित हुने प्रगति र भारत, दार्जिलिङबाट प्रकाशित हुने भारती पत्रिकामा प्रकाशित हुन थालिसकेका थिए । ती यात्रा निबन्धहरु पछि २०१४ सालमा युरोपको चिठी शीर्षकमा पुस्तकाकारका रूपमा प्रकाशित भयो । तर उनका यात्रा निबन्ध कृतिहरु त्यसपछि पनि क्रमशः प्रकाशित भए स्पेनको सम्झना (२०२०), रोमको एउटा क्षण र प्यारिसको एउटा काँडा (२०५७) र मुलुक बाहिर म (२०६७) । मुलुक बाहिर म चाहिँ उनको मृत्युको करिब ८ वर्षपछि प्रकाशित भएको हो । उनको युरोपको चिठी पत्रात्मक शैलीमा र मुलुक बाहिर म डायरी शैलीमा लेखिएको छ । युरोपको चिठीका सात यात्रा निबन्धले जर्मनीका स्टुटगार्ट र म्युनिक, अस्ट्रियाका साल्सवुर्ग, ग्राज, सेन्ट मार्टिन, मेरियाच्जेल, भियना र इन्चबुक र स्विट्जरल्यान्डको चुरिख (जुरिच) लगायतका ठुला–साना सहरको भ्रमण प्रसङ्गलाई समेटेको छ । यस कृतिले भ्रमण गरिएका स्थानहरूको भ्रमण प्रसङ्ग मात्रै नभई त्यहाँको भूगोल र प्रकृति, जीवनशैली र स्थानीय बासिन्दाको आत्मीय व्यवहारलाई पनि अत्यन्त कुशलताका साथ प्रस्तुत गरेको छ । एक विशिष्ट कलाकार भएकाले पनि उनका यात्रा निबन्धमा प्रकृतिको दृश्य चित्रको वर्णन अत्यन्त सूक्ष्म रूपमा भएको पाइन्छ । रेल भ्रमणका क्रममा रेलबाट देखिएका भूदृश्य सँगै उर्वर भूमि र त्यसमा काम गरिरहेका मिहिनेत किसान, ग्रामीण वातावरण र परिवेश अनि रेलको गतिका कारण देखिने प्रभावसमेत जीवन्त रूपमा उनका यी पत्रात्मक निबन्धमा प्रस्तुत भएका छन् । यो कृति पत्रात्मक शैलीमा लेखिएको नेपाली साहित्यकै पहिलो यात्रा निबन्धकृति पनि हो ।
शीर्षक विहीन सत्र अध्यायमा विभाजित स्पेनको सम्झना भने आख्यान शैलीमा लेखिएको छ । उनको युरोप बसाइँ कला–अध्ययनकै लागि भएकाले उनका यात्रा निबन्धमा कलासँग सम्बन्धित प्रसङ्ग बढी हुनु स्वाभाविकै हो । स्पेनको सम्झनामा भने कला, कलाकार र कला सङ्ग्रहालयसँग सम्बद्ध घटना, प्रसङ्ग र सन्दर्भहरू नै विशेष रूपमा प्रस्तुत भएका छन् । यसमा जर्मनी र स्विट्जरल्यान्डका कला सङ्ग्रहालयको भ्रमणका अतिरिक्त अल्टामिरा गुफा, प्रादो म्युजियम, न्यासनल म्युजियम र फेरिया मेलाको भ्रमण वर्णन समेटिएका छन् । साथै, विश्व प्रसिद्ध कलाकारहरू एल–गे्र, भेलास्की, गोया, रिबेरा, जुर्बारान, म्युरिल्लो, पिकासो तथा युरोपका कला–आन्दोलनबारे पनि यस कृतिमा प्रशस्त चर्चा गरिएका छन् । यसभित्रका यात्रा निबन्धहरुको विशेषता चित्रात्मकता पनि हो । निम्न उदृतांशलाई यसको नमुनाको रूपमा लिन सकिन्छ ।
साढे सात मात्र भएको छ । रेलको डब्बा खचाखच भरिएको छ । गाडी सान्तान्देतर्फ हिँड्न थाल्छ । प्लेटफार्म छोडेको दुई मिनेटपछि रेल टनेल भित्रभित्रै दगुर्छ । एकदम अँध्यारो हुन्छ । कोइला र ग्याँसको गन्ध आउँछ । विलवाओ सहरको पछिल्तिर ठूलो पहाड रहेछ, त्यही पहाडको छातीभित्र टनेल खनी रेलको बाटो बनाएको छ । करिब दस–बाह्र मिनेटसम्म रेल टनेलभित्र दगुरेपछि अनि एक्कासि बाहिरको उज्यालो र सफा हावामा निस्कन्छ । उज्यालोले आँखा एकछिन तिरिमिरी हुन्छ । ओहो ! त्यहाँबाट अग्लो पिरानिस् पर्वतको लहर कति राम्रो ! (५, स्पेनको सम्झना, दोस्रो संस्करण, २०५८, रत्न पुस्तक भण्डार, पृ. ३९)
तर उनका यात्रानिबन्धमा त्यतिमात्र छैन, उनी आफुले भ्रमण गरेका देशहरुले गरेका विकास देखेर अचम्भित हुन्छन् र आफ्नो देशमा पनि त्यस्तो भएको सपना देख्छन् । सङ्क्षेपमा भन्नुपर्दा, एउटा राष्ट्रपे्रमी नेपालीमा हुनुपर्ने देशपे्रमको भावना उनका यात्रानिबन्धमा अभिव्यक्त भएका छन् ।
रोमको एउटा पूmल र प्यारिसको एउटा काँडा वाङदेलको अर्को महत्वपूर्ण यात्रानिबन्धकृति हो । यसमा भएका नौ वटा यात्रानिबन्ध २०११ देखि २०२५ सालका बीचमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका हुन् । यसमा भएका कतिपय यात्रानिबन्ध भारत, दार्जिलिङको नेपाली साहित्य सम्मेलनको पत्रिका दियालोका सन् १९६९ र सन् १९७० का विभिन्न अङ्कमा प्रकाशित भएका देखिन्छन् । पुस्तकको भूमिकामा सङ्गृहीत यात्रानिबन्धहरुलाई लेखकले यात्रासंस्मरणको ‘सानो सङ्कलन’ मात्र नभएर ‘आत्मकथा’को रुपमा लेखिएको भने पनि हुने उल्लेख गरेका छन् । यसमा सङ्गृहीत यात्रानिबन्धहरु काव्यमय भाषा, रोचक शैली र अनुभूतिको मनोरम प्रस्तुतिका कारण अझ उत्कृष्ट बनेका छन् । आख्यानजस्ता लाग्ने यस कृतिका निबन्धले वाङदेलमा निहित प्रतिभा र सिर्जनात्मक क्षमतालाई प्रमाणित गर्छ । यसमा भ्यानगोगको चिहान, भेरोना, प्यारिस, सुनसान रात, एउटा हरियो बेन्ची, मूर्तिकारको धोको, पेर–लाशेजको एउटा स्मृति, सायद उनले मलाई बिर्सेकी छैनन्…, विलियम वर्डस्वर्थको डोभ कटेज र जामिनी राय ः एक संस्मरणका अतिरिक्त पुस्तककै शीर्षक भएको रोमको एउटा फूल र प्यारिसको एउटा काँडा पनि रहेका छन् । यी सबै उत्तिकै रोचक र मनोरम भए पनि रोमको एउटा पूmल र प्यारिसको एउटा काँडा र सायद उनले मलाई बिर्सेकी छैनन्… तुलनात्मक रुपमा अत्यन्त प्रभावपूर्ण छन् । यी यात्रानिबन्धहरु पढ्न थालेपछि नसकिएसम्म छोड्न सकिँदैन । सायद उनले मलाई बिर्सेकी छैनन्… शीर्षक यात्रानिबन्धमा विश्वप्रसिद्ध सिनेनिर्माता तथा निर्देशक सत्यजीत रायले जब उनलाई ‘प्यारिसकी एउटा युवतीको ठेगाना दिन्छु, तिमी उसलाई प्यारिस पुगेपछि भेट्नु’ भन्छन्, हामीलाई लाग्छ, साँच्चै ती कुनै युवती नै हुन् । यो रहस्य त्यसबेलासम्म रहस्य नै रहन्छ जबसम्म लेखकले अन्त्यमा तिनी त विश्वप्रसिद्ध कलाकृति मोनालिसा भएको स्पष्ट भन्दैनन् । यात्रानिबन्ध प्रस्तुतिको यो शैलीले वाङदेललाई यस क्षेत्रको महत्वपूर्ण लेखक साबित गरेको छ भन्दा अत्युक्ति हुँदैन । रोमको एउटा पूmल र प्यारिसको एउटा काँडा कुनै लघुउपन्यासभैmँ लाग्छ भने सायद उनले मलाई बिर्सेकी छैनन्… कथाजस्तो । यात्रानिबन्धको यो अंशले यस भनाइको पुष्टि गर्छ ः
लीजाको टेबुलमाथि पैmलिएको हात स्नेहले दबाउँछु, मेरो मुखबाट अनायास यी शब्दहरु निस्कन्छन्, हेर लीजा, तिमीले मलाई खुसीको कुरा सुनाएर मेरो ठूलो सत्कार गर्यौ। तिमी सधैँ–सधैँ सुखी रहनेछौँ । तिम्रो यौवन, तिम्रो रुप, तिम्रो त्याग, एन्टोनियोप्रतिको तिम्रो पे्रम देख्ता तिमीप्रति मेरो मनमा ठूलो श्रद्धा जागेर आउँछ । साँचो पे्रम भनेको त्यस्तो हुनुपर्छ । अब तिमीले कहिले पनि रुनु पर्नेछैन, कहिल्यै पश्चातापको आँसु खसाउनु पर्नेछैन, तिमी सधैँ सुखी हुनेछौ भन्ने मलाई एकदम विश्वास छ । आजको हाम्रो भेटमा तिमीलाई मेरो यही शुभकामना छ…।
लीजाका आँखा रसिला भइसकेका छन् । धीमा उज्यालोमा पनि उसका रसिएका आँखा टिलपिल गरिरहेको देख्तछु । उसका कण्ठ भारी भइसकेको छ र गीलो स्वरले भन्छे, धन्यवाद…! (रोमको एउटा पूmल र प्यारिसको एउटा काँडा, रोमको एउटा पूmल र प्यारिसको एउटा काँडा, काठमाडौँ ः रत्न पुस्तक भण्डार, २०५७, पृ.१७) ।
उनको सबभन्दा पछिल्लो यात्राकेन्द्रित कृति मुलुक बाहिर म भने डायरी शैलीमा लेखिएको नेपाली यात्रासाहित्यकै अर्को महत्तम कृति हो । युरोप प्रवासकालमा लेखिएको यस डायरीमा सन् १९५२ फेब्रुअरी १३ देखि १९६१ मार्च १८ सम्मको दैनन्दिनी रहेका छन् । साथै श्रीमती मनु वाङदेल र अन्य विशिष्ट राजनीतिक एवम् साहित्यिक व्यक्तिहरुलाई लेखिएका चिठ्ठीपत्रहरु र केही तस्वीरहरु पनि समाविष्ट छन् । लामो समयसम्म नियमित रुपमा दैनन्दिनी लेख्ने उनको धैर्य र समर्पण आपैmमा महत्वपूर्ण छँदैछ, त्यसका अतिरिक्त इतिहासको एउटा कालखण्ड र उनको जीवनसमेतलाई दर्शाउनसमेत यो कृति सफल छ । यस कृतिले उनको ज्ञान र अध्ययनको विशद् क्षेत्र, बहुर्मुखी चिन्तन, समकालीन कला एवम् साहित्यिक साधकहरुप्रतिको उनको दृष्टिकोण, मानवीय भावना, नेपालप्रतिको असीम पे्रमभाव समेतलाई स्पष्टसँग पाठकसमक्ष राखेको छ । यो डायरी पहिलो दिन जलकीर्ति नामक जहाजबाट यात्रा सुरु गर्नासाथ प्रारम्भ हुन्छ । यसमा यात्राक्रममा भेटिएका विभिन्न व्यक्तिहरुसँगका सद्भावपूर्ण भलाकुसारीमात्र छैन, आपूmले विगतमा भोग्नुपरेका विषाद् र सङ्घर्षपूर्ण दिनका सम्झनाहरु पनि उत्तिकै छन् । जब उनी दुःखका कुरा गर्न थाल्छन्, उनीसँगै हामी पनि विषाद् र पीडाका दलदलमा भासिन्छौँ । सन् १९५२ फेब्रुअरी १६ का दिन लेखिएको डायरीमा उनले आप्mना दुःखपूर्ण जीवनलाई यसरी सम्झेका छन् ः
जीवनमा मैले यहाँसम्मको आनन्द र आराम कहिले पनि पाएको थिइनँ । यतिका वर्ष त मैले सङ्घर्षमै बिताएँ, कुनै दिन मैले यस प्रकारको आराम पाउन सकुँला भन्ने आशा पनि थिएन…। यो जहाजको यस प्रकारको ठाँटसित प्रशस्त राजसी भोजन खान लाग्दा कहिलेकाहीँ मेरो मन झसङ्ग भएर मेरो भोको र गरीब समाजको सम्झना आउँछ । मलाई यस प्रकारको आराम र सुख भोग जाती लाग्दैन । हामीले जति मात्रामा यी सब सुख उपयोग गर्छौँ, ती सबमा गरीब मजदुरहरुको पसिना सिञ्चित भएको छ…। गरीबले आप्mनो हाड घोटेर हाम्रो निम्ति खानेथोकको जोगाड गर्छन्, पकाएर हामीलाई खान दिन्छन्, हाम्रो हृदयहीन जिब्रोले भोजनको स्वादको मात्र कदर गर्न जान्दछ, परन्तु ती भोजको जोगाड गर्ने, ती अन्न उब्जाउने, ती भोजन पकाउने ओसार्ने मजदुर र गरीबहरुको किञ्चित पनि ध्यान गर्दैन । मनुष्य मनुष्यमा यस्तै प्रभेद छ । (मुलुक बाहिर म, २०६७, काठमाडौँ ः रत्न पुस्तक भण्डार, पृ. ७) । वास्तवमा दैनन्दिनीलाई यसरी पनि लेख्न सकिन्छ भन्ने कुरा अहिलेका यात्रालेखकहरुले यस कृतिबाट सिक्न सक्छन् ।
वाङदेलका यात्रानिबन्धहरुको महत्वपूर्ण विशेषता आख्यानात्मक र मनोरम शैली नै हो । त्यससँगै उनका यात्रानिबन्धहरुमा भावुकता र अनुभूतिको तीव्रतम आवेग पनि पाइन्छ । विशेष गरेर उनका सबै यात्रानिबन्धका कृतिहरुमा कलासाधकहरुले भोग्नुपरेको दुःख र पीडाको यस्तो पीडादायी प्रस्तुति पाइन्छ, तिनले पाठकलाई अभिभूत बनाउँछ । बाँचुञ्जेल अत्यन्त दयनीय अवस्था भोग्नुपर्ने नियति भएका कलाकारहरुका कलाकृतिहरु उनीहरुको मृत्युपछि लाखौँ डलरमा बिक्री हुने विडम्बनापूर्ण स्थितिप्रति उनी कठोर व्यङ्ग्य गर्छन्, त्यस्तो स्थितिप्रति पाठकसमेत आक्रोशित हुनपुग्छन् । साथै, कमजोर आर्थिक अवस्थाका कारण जीवनमा भोग्नुपरेका असीमित दुःख र सङ्घर्षका कारणले हुनसक्छ उनका यात्रानिबन्धहरुमा दुःख, आर्थिक अभाव र पीडामा परेका व्यक्तिहरुप्रति सहानुभूतिको भाव व्यक्त भएका पाइन्छन् ।
वाङदेलको व्यक्तित्व चित्रकार र उपन्यासकार दुई महत्वपूर्ण क्षेत्रमा फैलिएको छ । त्यसैले उनका सबै यात्रानिबन्धहरुमा दुवै व्यक्तित्वको समन्वित प्रतिविम्ब पाइनु स्वाभाविक हो । एकातिर कथात्मकता र औपन्यासिकता अनि अर्कोतिर दृश्य, घटना र परिवेशको मिहीन चित्रण उनका यात्रानिबन्धका विशेषता हुन् । उनका कतिपय यात्रानिबन्ध पढ्दा उनकै कुनै ल्याण्डस्केप कलाकृति हेरिरहेजस्तो लाग्छ । उनका यात्रानिबन्धको भाषा सरल, सरस र स्वाभाषिक भए पनि दार्जिलिङ र कलकत्तामा बसेर पढेका कारण हिन्दी र बङ्गाली भाषाको प्रभाव भने स्पष्टसँग देखिन्छ । इन्तजाम, ताजुप, किरानी, मुसाफिर, अनाडी, कब्रस्तान, लडका–लडकी, इमारत, नौजवान, बडाबडाजस्ता हिन्दी शब्दहरु तथा अरिजिनल, कमान्डजस्ता अङ्गे्रजी शब्दहरुको प्रयोग पनि ठाउँठाउँमा भेटिन्छन् । उनका यात्रानिबन्धबारे भिक्टर प्रधानको निम्न भनाइ सान्दर्भिक देखिन्छ ः बाङदेलका यात्रारचनाहरुमा पश्चिमी चित्रकलागत विविध पक्षको वस्तुपरक विवरणको बढी बोझ भए पनि त्यहाँ अल्प रुपमै अङ्कित प्रकृति आदिको चित्रण र रागात्मक पक्षले नेपाली यात्रासाहित्यलाई आधुनिक साहित्यिक परिवेश उपलब्ध भएको छ । (यात्रासाहित्य, नेपाली साहित्यकोश, सम्पादक ईश्वर बराल, काठमाडोँ ः नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५५, पृ.)