तम्रा घरका जगै रातो
या हुन्-
बलिवेदी रगतका रङ्ग ती
आँगनको लिपाइ रातो
या हुन्-
रक्ताम्य रेटिएका अङ्ग ती
ढुङ्गामाथि निशानै रातो
या हुन्-
नृशंस नरसंहारका चोट ती
सडकान्त स्तम्भै रातो
या हुन्-
गलेका गुरिल्ला लेखोट ती
घाँसको सिरैसिर रातो
या हुन्-
घाइते बिसाएका छाप ती
झारको झ्याङ्गै रातो
या हुन्-
लट्केका लासका राप ती
बोटको गुराँसै रातो
या हुन्-
आला रगतका डोब ती
तम्रा त डाँडा नै रातो
या हुन्-
रुष्ट प्रकृतिका क्षोभ ती
रात्तै रातो छ प्रात रातो
तैपनि किन आँगन रित्तो, कर्णाली ?
तम्रै दैलोमा अतिथि हम्मी
घरमूली खै ?
सुन्नै आयौं, तम्रा टट्किका बोली खै ?
खै कहाँ छन् चौँरी चराउने गोठालाहरू ?
खै कहाँ छन् हुड्के नाच्ने बालाहरू ?
खै माण्ठा ?
गाउँभरि किन सुनसान ?
लाग्छ मानौं, सभ्यताको भएको होस् अवसान
सूनसान छ शून्यता, शीतलता पनि
हुन्डरी सुनिन्छ सिरसिरे चल्दा पनि
दुख्छ आफ्नै छिनिएको घाँटी, चसक्क
रातै छ मेरो पनि गलबन्दी-
निथ्रुक्क !
“रातो कर्णाली”
– डा. सी.के. राउत (Ck raut)
फेसबुक पेजवाट