यस लेखमा रमेश विकलका बालनाटकहरुको अध्ययन गरिएको छ । विकलले बालनाटकमा उठाएको बालजीवनले भोगेका समस्या र तिनको समाधानका लागि बालक स्वयंको सक्रियता रहेको विषय उठाइएको छ । विकलका बालनाटकले चित्रण गरेको सामाजिक यथार्थको उद्घाटन भएको छ । समाजले बोकेको छोराछोरी बीचको विभेदको अन्त्य र समताभावको खोजीको अध्ययन गरी प्राज्ञिक निष्कर्ष निकालिएको छ ।
१. विषयप्रवेश
संस्कृत काव्य शास्त्रअनुसार काव्यका श्रव्य र दृश्य दुई भेदमध्ये नाटक दृश्य विधा हो । नाटक अभिनयकलाबाट विषयप्रस्तुति हुने संवादात्मक साहित्यिक अभिव्यक्तिको रुपमा चिनिएर प्रयोगमा आएको पाइन्छ । यो मनोरञ्जनात्मक शैलीले अभिव्यक्त हुने विधा पनि हो । ‘नाटकको कथावस्तुमा वर्णित पात्रहरुको स्वरुप अभिनयकर्तामा आरोपित गरिने हुँदा दृश्य काव्य अन्तर्गतको जेठो विधा रुपककै विकसित रुप नाटक हो’ (प्रसाद, सन् १९७३:पृ.९५) । उपयुक्त मञ्चव्यवस्था सहितको अभिनयात्मक अभिव्यक्ति नाटक विधाको बालसंस्करणलाई बालनाटक मान्नु उपयुक्त हुने देखिन्छ । जीवनसम्बन्धी अध्ययन विश्लेषणको परम्परा अनुसरण तथा लेखपढको अनुभव–अनुभूतिबाट उत्पन्न हुने अवधारणाले कुनै विषयको निश्चित परिभाषा निर्माण गर्छ तर कुनै एक परिभाषामा परिपूर्ण परिचय दिने गरी कैद गर्नु सम्भव देखिँदैन तथापि विषयगत चिनारीका लागि फरक समय सन्दर्भमा तद्विषयक विज्ञहरुबाट व्यक्त हुँदै आएका नाटक–विषयक मान्यताका नजिक रहेर रमेश विकलका बालनाटकको विश्लेषण गरिनु सान्दर्भिक हुन आउँछ ।
२. अध्ययन विधि
प्रस्तुत लेखको शीर्षक ‘रमेश विकलका बालनाटकको अध्ययन’ रहेको छ । ती नाट्यकृतिभित्र सङ्गृहीत प्रत्येक एकाङ्की र तिनमा अन्तर्निहित अन्तर्वस्तुको अध्ययन गरी प्राज्ञिक निरुपण गरिएको छ । यस बालनाटकको कृतिगत अध्ययन क्रममा कृति प्रकाशन र समाविष्ट रचनाक्रमलाई आधार मानी क्रमश: प्रस्तुत गरिएको छ । यो अध्ययनको प्राथमिक सामग्री स्रोतका रुपमा रमेश विकलका सात थुँगा २०३७, अब तिमी नरोऊ किरण २०५९ र हराएको चिठी २०६४ मा सङ्कलित १९ ओटा बालएकाङ्कीहरु रहेका छन् । यी बालनाटकमा अभिव्यक्त अन्तर्वस्तुको खोजी गरिएको छ । प्रस्तुत लेख रमेश विकलका बालनाटकमा अभिव्यक्त बालजीवनको चित्रण गरिएको छ । यस सन्दर्भमा नेपाली बालनाटकको परिचयका लागि आवश्यक सामग्री पुस्तकालयीय विधिबाट सङ्कलन गरिएको छ । यिनै सामग्री सहित विकलका नाटकमा अभिव्यक्त सामाजिक जीवनको अध्ययन गरी प्राज्ञिक निष्कर्ष निकालिएको छ ।
३. सङ्क्षिप्त परिचय
रमेश विकल (१९८५–२०६५) को वास्तविक नाम रामेश्वरप्रसाद चालिसे हो । उनका नेपाली साहित्यमा कथा, उपन्यास, नाटक र बालसाहित्यका पुस्तक प्रकाशित छन् । सिङ्गो नेपाली साहित्यमा आख्यान पुरुषका रुपमा परिचित विकल गीत सङ्गीत, चित्रकारितामा समेत रुचि भएका विशिष्ट प्रतिभा हुन् । विकलका छोराछोरी तथा नातिनातिनाले समेत नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिइरहेका छन् । उनका सात थुँगा (२०३७), अब तिमी नरोऊ किरण (२०५९) र हराएको चिठी (२०६४) तीनवटा बालनाटक सङ्ग्रहहरु प्रकाशित छन् । यहाँ सीमा तोकेर यिनै बालनाट््य कृतिहरुको अध्ययन गरिएको छ ।
नेपाली बालनाटकको औपचारिक इतिहास लामो छैन । यसको लोकपरम्परा भने धेरै अगाडिदेखि जोडिदै आएको पाइन्छ । विद्यालयहरुको स्थापना भएपछि भने नाटक लेखन र मञ्चन पनि भएको देखिन्छ । पाठ्य, श्रव्य र दृश्य विधा नाटक बालसाहित्यको महत्वपूर्ण अङ्गका रुपमा विकसित भए तापनि लिखित ऐतिहासिक दस्तावेजका आधारमा बालनाटक निकैपछि सुरु भएको देखिन्छ । नेपाली बालनाटकको अध्ययन नभइसकेको वर्तमान अवस्थामा यसका लिखित ऐतिहासिक सामग्रीहरु प्राप्त गर्नु आपैmमा चुनौतीपूर्ण रहेको छ । बालसाहित्यका कथा, कविता, उपन्यासलगायतका विधाहरुको आधार लोकजीवन भएजस्तै बालनाटकको जग पनि लोकजीवनका हाउभाउजन्य क्रियाकलापसँग जोडिएको देखिन्छ । बालकले आमाको आवाज चिनेर दायाँबायाँ फकर्नु र आमाले मुखाकृति फेरी फेरी हातको इसारामा लोरी गाउँदा बालक खुसी भएर प्रतिक्रिया जनाउनुलाई नाटकको प्रारुप मान्न सकिन्छ । यहाँ लोकजीवनका सांस्कृतिक सम्पदासित जोडिएर आएका अनुकरणात्मक हाउभाउसित जोडिएर आजको नेपाली बालनाटकको विकासक्रमको रेखा कोरिएको छ ।
नेपाली बालनाटक आरम्भको इतिहास बाललोक नाट्य परम्परासँगै जोडिएर अघि बढेको देखिन्छ । नेपाली भाषाको बालसाहित्यले निकै पछि लोकव्यवहारजन्य गतिविधि उछिनेर अघि लागेको मौलिक लेखनको ऐतिहासिक परम्परा पाइन्छ । आमाले बच्चा सुताउन लोली मिलाएर लोरी गाउने परम्पराले डोर्याई ल्याएको बाललहरीबाट नेपाली बालनाटक सुरु भएको मान्न सकिन्छ । ‘हजुरबाआमाले नातिनातिनालाई वा अरु कसैले बालकलाई भुलाउन, सुताउन, अथवा रमाइलो गराउन विभिन्न हाउभाउ गरी गीत, कथा आदि सुनाउँदा खुसी हुने शिशुहरु ठूला भएपछि आपैm गुनगुनाउन थाल्छन् । उनीहरु खेल्छन्, कुद्छन्, रमाइलो गर्छन् र ज्ञानगुन व्यवहारका कुरा सिक्छन्, अनुकरण गर्छन् । शिशुगीतले यी दुवैलाई समेट्छ’ (शर्मा र लुइटेल, २०६३, पृ.१०१) । यी र यस्तै लोकजीवन शैलीमा नेपाली बालसाहित्यसँगै बालनाटकको परम्परा पनि हुर्केको पाइन्छ । यसरी हेर्दा सुन्ने/सुनाउने लोकगीत, लोककथा, गाउँखाने कथा परम्पराले बालनाटकलाई गति दिएको देखिन्छ । बालकहरु आपसमा जुटेर खेल्ने पुतलीको बिहे खेलमा पातमा माटो राखेर भोज खान, भाँडाकुटी खेल, ठुूा सदस्यका क्रियाकलापको अनुकरण, ताराबाजी लैलै, इतिहास–पुराण, पञ्चतन्त्र, हितोपदेश मित्रलाभका कथा, वीरसिक्का, मुन्सीका तीन आहान जस्ता कथामा वर्णित पात्रका हाउभाउको अनुकरण गरी बालकलाई सुनाउने चलनले डोर्याई ल्याएको स्थिति जे छ त्यही नै नेपाली बालसाहित्य र नाटकले पनि प्राप्त गरेको आधार हो (न्यौपाने, २०८०,पृ.५) । लोकजीवको कथ्य चलनले हुर्काएको नेपाली बालनाटकको परम्परा लोकजीवनका अभिनययुक्र गतिविधिसँग पुस्तान्तरित हुँदै आएको मान्नुपर्ने देखिन्छ ।
‘नेपाली बालसाहित्यमा मौलिक लेखन/प्रकाशन गंगाधर द्रविडको गोर्खा पहिलो किताब (१९४९) बाट सुरु भएको देखिन्छ’ (प्रधान, २०६१,पृ.४४) । खासगरी यो अवधि बालसाहित्यको लेखन भन्दा पनि बालपाठ्यपुस्तक तयारीमा रहेकाले बालसाहित्यको विधागत चेतना सहितका मौलिक रचनाको प्राप्ति त्यति देखिँदैन । समयक्रममा बालकथा, कविता, जीवनी आदि विधाहरुले गति लिए । यस पृष्ठभूमिमा बालनाटकको अवस्था भने उस्तै लोकपरम्परामै सीमित रह्यो यद्यपि बालकहरुलाई शिक्षा दिने उद्देश्यले स्थापना भएका दरबार हाइस्कुल समेत विभिन्न ‘विद्यालयका वार्षिकोत्सव, सरस्वती पूजा, अभिभावक दिवस आदि अवसरमा बालपात्र समावेश नाटकको मञ्चन गर्ने चलन सुरु भएको थियो तर ती नाटकको विषयवस्तु, पात्र, परिवेश, संवाद, मञ्चव्यवस्था आदिका दृष्टिले बालनाटक थिएनन्’ (यात्री, २०६६ : पृ.५८) । बालसाहित्यका कथा, कविता, जीवनी जस्ता विधाहरु विकसित भए जसरी विकासमा गति लिन बालनाटकले लामो समय पर्खिनु परिरह्यो । अहिलेसम्मको प्राप्त सूचना अनुसार ‘नेपाली बालनाटकको इतिहासले विधाचेतना र संरचनागत स्वरुप सहितको मौलिक बालनाटक श्यामदास वैष्णवको ‘अगुल्टो’ (२०१६) प्रहरी पत्रिकामा प्रकाशित भएपछि मात्रै पाएको हो’ (सापकोटा, २०६८: पृ.१–२) । यसपछि पनि अरु विधाको सापेक्षतामा नेपाली बालनाटकको गति ज्यादै सुस्त रह्यो । ‘फुटकर रचनाका रुपमा ‘अगुल्टो’ आएको केही समयपछि भैरवनाथ भट्टराईको ‘हाम्री आमा’ विजय चालिसेको ‘बुद्धिमान् न्यायाधीश’ जस्ता नाट्यरचनाहरु नै विधा चेतनासहितका नेपाली बालनाटकहरु देखा परेका हुन् जसले नेपाली बालनाटकको परम्परामा नयाँपन दिए । यस परम्परामा श्यामदास वैष्णव, रमेश विकल, जयराज रेग्मी, विजय चालिसे, शान्तदास मानन्धर, मोहनराज शर्मा, कृष्णप्रसाद पराजुली, शारदारमण नेपाल, अशेष मल्ल, सुनिता थापा लगायतका धेरै स्रष्टाहरुको योगदान रहेको पाइन्छ । बालनाटकको आजसम्म प्राप्त तथ्याङ्क हेर्दा बालकहरुको सहभागिता, रुचि, विधागत प्राप्तिका हिसाबले रमेश विकलको सात थुँगा (२०३७) पहिलो पुस्तकाकार कृतिका रुपमा रहेको पाइन्छ’ (घिमिरे, २०७४, पृ.२६२) । यसअघि लोकजीवनका विभिन्न पर्वमहोत्सव मनाउने क्रममा हुने अभिनयात्मक गतिविधि नेपाली बालनाटकको जग मानिएको पाइन्छ । पर्वसम्बन्धी यी गतिविधि एकपन्थ दुई काज पर्व मनाउँदै मनोरञ्जन लिँदै गर्दा सांस्कृतिक व्यावहारिक ज्ञान–सिप पनि नवपुस्तामा पुस्तान्तरण भएको पाइन्छ । यिनै नाचगान आदि क्रियाकलाप नै जग बनेर नेपाली बालनाट्य परम्पराले हुर्काएका अनुकरणात्मक गतिविधिले नेपाली बालनाटकलाई विधागत स्वरुप दिन सघाएको पाइन्छ । नेपाली बालनाटकको यो ऐतिहासिक परम्परामा रमेश विकलका बालनाटकहरुको उपस्थिति पनि महत्त्वपूर्ण रहेको छ ।
४. रमेश विकलका बालनाटक
रमेश विकलका सात थुँगा (२०३७), अब तिमी नरोऊ किरण (२०५९) र हराएको चिठी (२०६४) ३ ओटा बालनाटक सङ्ग्रहहरु प्रकाशित छन् । यहाँ उनका यिनै नाट्यकृतिहरुमा सङ्कलित ‘शम्भु दाइ निर्दोष छ, देवदूतको मदत, किसान र बाघ, गीता भेट्टिई, ऊ हाम्रो साथी हो, सिद्धार्थको करुणा, नदेखिने दान, आमा ! मेरी आमा, अब तिमी नरोऊ किरण, माया दी ! मलाई पनि स्कुल लैजानोस् है ! हराएका आमाबाबु, राजाबाबु, एउटा कुरो नि, के ल्याऊँ हजुर ? जेरी, स्वारी, तरकारी ?, ऊ ज्ञानी भैहाल्छ नि, हजुरआमा भन्नुहुन्थ्यो एकादेशमा, हराएको चिठी, राजा हिमवन्तको निसाफ’ र ‘डाक्टर सर्वज्ञमान् एन् के’ गरी जम्मा १९ ओटा बालएकाङ्कीहरुको अध्ययन गरिएको छ । विकलका बालनाटक सामाजिक, शैक्षिक, सांस्कृतिक विषय लिएर रचिएका छन् । बालसमस्याको उठान गरी शिक्षा, स्वास्थ्य, सामाजिक समता, कृषिकर्म आदि सामाजिक जीवनबाट विषयवस्तु लिएर रचिएका उपयुक्त समाधान दिने व्यवहारोपयोगी चेतनामूलक छन् ।
‘शम्भु दाइ निर्दोष छ’ सात थुँगा (२०३७) मा सङ्कलित पहिलो नाटक हो । यो नेपाली समाजको यथार्थ घटनामा आधारित छ । यसको विषय प्रस्तुतिलाई तीन दृश्यमा विभाजन गरिएको छ । माधवका बाले आफ्नो गोजीबाट पाँच रुपियाँ हरायो भनेर घरायसी कामको सहयोगी शम्भुलाई शङ्काको भरमा दण्ड दिन तम्सिन्छन् । उनले विना सोधखोज र सुझबुझ दोषारोपण गर्नुले बालपात्र माधवलाई अनौठो लाग्छ र उनले बाको गोजीबाट पैसा मैले झिकेको हुँ भनेर आफै कबुल गरी शम्भुको निर्दोषपनलाई सम्मान गर्छन् तर माधवका बा र इन्स्पेक्टरको व्यवहार माधव र गीतासँग सोध्नसम्म नसोधी एकोहोरो शम्भुमाथि खनिनु र हातपात समेत गर्नुले आफ्नै आवश्यकताले घरमा राखेका मान्छेप्रतिको तुच्छ व्यवहार गर्ने हाम्रो समाजको कमजोर मनोवृत्ति आंैल्याइएको छ । बालपात्रको सरल स्वाभाविक मनोविज्ञान र असहायमा दोष दिने प्रौढप्रवृत्ति देखाइएको छ । यस विपरीत माधव आपैmले आफ्नो दोष स्वीकार गर्नुले हाम्रो कारण निर्दोषले दण्ड पाउनु हुँदैन भन्ने नैतिक जिम्मेवारी बोध गराएको छ ।
यस बालनाटकमा उपस्थित गीता, माधव र सेवक केटो शम्भु दाइ बालपात्र हुन् । माधव र गीताका बाआमा र इन्स्पेक्टर प्रौढपात्रका रुपमा रहेका छन् । यसमा माधवले आफ्नो शैक्षिक सामग्री रङ किन्न पाँच रुपियाँ आपूmले झिकेको हुँ भनी शम्भु दाइलाई निर्दोष सावित गरेर नाटकको निष्कर्ष दिएकाले मुख्य पात्र पनि यिनै हुन् । यस नाटकको परिवेश माधव, गीताको घरको बैठक कोठा, अगाडिको बगैंचा र दिउँसोको समय रहेकोे छ । यसका तीनवटै दृश्य यसै परिवेशमा मञ्चित छन् । यसको संवाद सरल प्रकृतिको छ । छोटा वाक्यमा सरल र प्रचलित शब्दको प्रयोग गरिएको छ । यसको मञ्चव्यवस्थामा माधव र गीताको पढ्ने कोठा र उनीहरुको घर रहेको छ । माधव र गीता आफ्नो गृहकार्य गर्दै छन् । घरको बैठक र नजिकैको बगैंचालाई नाटकको मञ्च तोकिएको छ । यस नाटकमा बालचरित्रको मनोविज्ञानको चित्रण गरिएको छ । माधव र गीतालाई गृहकार्य सक्ने हतार छ । रङ पेन्सिलको आवश्यकता पर्छ । बाको गोजीबाट पाँच रुपियाँ झिकेर पेन्सिल किन्छन् । पछि बाले पाँच रुपियाँ चोर शम्भु नै हो भनेर प्रहरी बोलाउनु बाह्य द्वन्द्व हो भने निर्दोष शम्भु दाइ दण्डित हुने भए भन्ने कुराले माधव र गीताको मनमा भएको छटपटी आन्तरिक द्वन्द्वका रुपमा रहेको छ । हामीले पैसा झिक्ने शम्भु दाइले सजाय पाउने ? ठीक भएन भनेर माधवले पैसा आपूmले झिकेको कबुल गर्छन् । उनले नैतिक जिम्मेवारी लिन्छन् ।
‘देवदूतको मद्दत’ शीर्षकको बालनाटकमा माधव, गीता, माया, बद्री, प्रीति बालपात्रका रुपमा उपस्थित छन् । शम्भु घरको सहयोगी पात्रका रुपमा छ । घरको बगैंचा यसको परिवेश रहेको छ । साथीहरुबीच संवाद हुन्छ । माधवको भनाइ बाले अराएको काम छोडेर हिँंड्नु हुन्न भन्ने छ भने प्रीतिको भनाइ साथीहरु सँगै हुँदा रमाइलो हुन्छ भन्ने छ । मायाले थप्छिन् साथीहरु छाडेर जाने होइन बरु मिलेर काममा सघाउने र सबै जनासँगै जाने । साथीहरुको उपस्थितिमा भएको संवाद स्वाभाविक छ । उनीहरु आपसी सहमति गर्छन् र त्यही अनुसार मिलेर काम सक्छन् । बाले दिएको काम छाडेर जानुहुँदैन भन्ने माधवको अठोट र माया, प्रीतिको साथीहरुलाई सघाएर सँगै जाने भनेर गरेको निर्णयमा मानवीय सद्भाव अभिव्यक्त भएको छ ।
‘किसान र बाघ’ यस बालनाटकमा राधा बालपात्र हुन्, किसान पुरुष प्रौढपात्र छन् । बाघ र बिरालो पनि मानवीकृत भई संवाद गर्दै छन् । परिवेश एउटा जङ्गल र किसानको खेत रहेको छ । बिरालाले मान्छे बुद्धिको बलियो हुन्छ । यसले अरु प्राणीलाई नियन्त्रण गरिरहेको हुन्छ भनेपछि बाघ मान्छेको तुजुक ठीक पार्ने भनेर जान्छ । मान्छेको चतुर्याइँले गर्दा बाघ बन्धनमा पर्छ । मान्छेबाट कुटाइ खान्छ र अनुनय विनय गरी बाँचेर भागेको छ । यसबाट थाहा हुन्छ कि बलको घमन्डले बुद्धिलाई जित्न सक्तैन । अप्ठेरो पर्दा हडबडाएर होइन, बुद्धिले काम गर्नुपर्छ भन्ने सचेतनामा स्वाभाविक परिवेश, द्वन्द्वको प्रस्तुतिबाट उपयुक्त निष्कर्षमा पुगिएको छ । यही नै यस नाटकको विशेषता रहेको देखिन्छ ।
‘गीता भेटिई’ बालनाटकमा माधव, माया, गीता, प्रीति, बद्री, विक्रम बालपात्रका रुपमा उपस्थित छन् भने करुणा प्रांैढपात्र हुन् । दिउँसोको समय, रमाइलो बगैंचा परिवेशका रुपमा उपस्थित छ । वनभोजमा गएका साथीहरु मिलिजुली खानपिन, घुमफिर गर्दै गर्दा गीता चिप्लिन्छिन् । उनी अलिक तल पुगेर लहरामा अल्झन्छिन् । गीतालाई नदेखेर साथीहरु आत्तिन्छन् । धैर्य गर्न भन्दै माया र विक्रम गएर खोजेर ल्याउँछन् । साथीहरु अप्ठेरो पर्दा आत्तिएर हैन धैर्य र साहसी भएर काम गर्नुपर्छ भन्ने परिणाममा पुर्याउनु र यसै अनुरुपको निष्कर्ष दिनु नै लेखकीय उद्देश्य रहेको देखिन्छ । विक्रमको सहयोगी भावना र उत्साह नाटकको अन्तर्वस्तु बनेर देखापर्छ ।
‘ऊ हाम्रो साथी हो’ नाटकमा विक्रम, गीता, माया, माधव, प्रीति, बालकृष्ण सबै बालपात्रका रुपमा उपस्थित छन् । साँझपखको समय विक्रमको घर अगाडिको बगैंचा परिवेश छ । साथीहरु एक ठाउँमा भेला भएका छन् । साथीहरुबीच संवाद चल्दै गर्दा बद्री र विक्रमबीच झगडा पर्छ र बद्री साथीहरु छाडेर हिँड्छ । केही पर पुग्दानपुग्दै अरु बदमास केटाहरुका फेला परेर कुटाइ खान्छ । विक्रमहरु गएर मद्दत गर्छन् । साथीहरु छाडेर हिँड्नु आपूmले गल्ती गरेको, साथीहरु चिन्न नसकेकोमा बद्रीले पछुतो मान्छन् । उनको आनीबानीमा परिवर्तन आउँछ । साथीहरुसँग सधैं मित्रवत व्यवहार गर्ने वाचा गर्छन् । यसरी बद्रीको स्वभावमा परिवर्तन ल्याउनु नै नाटकको निष्कर्ष रहेको पाइन्छ ।
‘सिद्धार्थको करुणा’ यस बालनाटकमा सिद्धार्थ र देवदत्त बालपात्रका रुपमा छन् । अदृश्य रुपमा शुद्धोधन र मन्त्री पुरोहितहरु प्रौढपात्र छन् । दिउँसोको समय, सुन्दर बगैंचा परिवेशका रुपमा रहेको छ । देवदत्त सिकार खेल्न रुचाउने स्वभावका छन् । उनी वाण चलाउँछन्, हाँस घाइते हुन्छ । त्यसलाई छोपेर सिद्धार्थले बचाउने प्रयत्न गर्छन् । दाजुभाइको संवादमा भाइले हाँस मेरो सिकार हो मलाई देऊ भनेर जति बल गरे पनि अरुको प्राण लिने शत्रु हुन्छ । प्राण बचाउने मित्र हुन्छ ? भनेर सिद्धार्थले गरेको हाँसको प्राणरक्षा नै ठूलो मानवीय संवेदना र प्राणीहितलाई दिइएको उच्च महत्व रहेको छ । यस नाटकमा सरल प्रस्तुतिमा गम्भीर करुणापूर्ण व्यवहारले मानवीय दायित्व निर्वाह गरेको देखिन्छ ।
‘नदेखिने दान’ बालनाटकमा माया, विक्रम, प्रीति, लक्ष्मी बालपात्रका रुपमा छन् भने आमा, बा प्रौढ पात्र हुन् । दिउँसोको समयमा लक्ष्मी र मायाको कोठा परिवेशका रुपमा रहेको छ । लक्ष्मीकी आमाको लागि औषधी मुख्य कुरा हो । कतिपय काम भोलि गर्न सकिन्छ भनेर स्वास्थ्य जोगाउनु भनेको ठूलो कुरा हो । पहिला मान्छेलाई बचाउनुपर्छ । अरु गर्दै जाऔंला भन्ने निर्णय गरेर मायाले लक्ष्मीकी आमालाई औषधी किन्न वनभोजका लागि उठाएको साथीहरुको पैसा दिएर गरेको सहयोगमा पूर्ण मानवीय संवेदना प्रकट भएको छ । अनुमान गरेभन्दा पहिला वनभोजको पैसा खोजिँदा मायालाई खर्च भएको पैसा जुटाउन गाह्रो पर्नु, घरमा पैसा मासेको भनेर चिठी आउनु, मायाका बा रिसाउनु, लक्ष्मीकी आमा आएर यथार्थ बताएपछि मायाका बाले छोरी मायाप्रति गर्व गर्नुले नाटकको मर्म चित्रणमा मानवीय सद्भाव सशक्त बनेर प्रकट भएको देखिन्छ ।
‘आमा ! मेरी आमा’ बालनाटकमा नौदेखि पचास वर्ष उमेरसम्मका पात्र छन् । तीनवटा दृश्यमा फैलिएको यस नाटकमा घरभित्र, विद्यालय र छात्रावासको परिवेश समेटिएको छ । यसमा पारिवारिक कलह, सासूबुहारीको खटपट देखाइएको छ । विद्यालयमा प्रधानाध्यापकको भूमिकाले सबै बालकले पढ्न पाउनुपर्ने सरकारी नीति भए पनि बालकलाई पढाइका लागि सहज वातावरण मिलाउन आनाकानी गर्ने असहिष्णु, असहयोगी चरित्रको प्रतिनिधित्व गरेको छ । बालपात्र माया र विक्रमले बालकले पढ्न पाउनुपर्छ भनी अठोट गर्छन् । उता आफ्नै गुरुआमा भएको कौशल्याको परिचय पाएपछि बल्ल हेडसर उत्तमलाई भर्ना गरेर पढ्न पाउने वातावरण मिलाउन तयार भएको देखिन्छ । यसैबाट बालकका समस्या समाधानका लागि बालकहरु स्वयंकै भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बुझिएको छ । यसमा बालपात्रहरुको सक्रियतामा उत्तमले पढाइका लागि पाएको अवसर र उनले प्राप्त गरेको सफलता नै बालमैत्री मानवीय सन्देशका रुपमा देखा परेको छ ।
‘अब तिमी नरोऊ किरण’ नाटकमा नौ वर्षदेखि पैतालिस वर्ष उमेर समूहका चौध जना मानव र एउटा कुकुर पात्र छन् । स्कुलका कक्षाकोठा र चौर यसको परिवेश रहेको छ । यसका हरि, गोपी, चम्पाहरुले किरणलाई दु:ख दिने खराब आनीबानी भएका बालकको प्रतिनिधित्व गर्छन् । माया, विक्रम, प्रतिमाहरु दु:ख दिनु हुँदैन भन्ने सकारात्मक सोचबाट प्रेरित र प्रभावित प्रतिनिधि बालपात्र हुन् । यिनीहरु किरणलाई सहयोग गरेर उनको पढाइमा मदत गर्ने अठोट गर्छन् । उनीहरुको यो व्यवहारबाटै देखिन्छ बालकहरु नै बालकलाई दुख दिन्छन् र उनीहरु नै सहयोगी पनि सिद्ध हुन्छन् भन्ने सन्देश हो । यसमा उपस्थित हेडसर र विद्यालय निरीक्षकको उपस्थितिले पनि सकारात्मक सोचलाई उत्पे्ररित गरेको छ । अभिभावकले सकारात्मक भूमिका निर्वाह गरिदिए बालकहरुको पढाइ लेखाइ लगायत गतिविधिमा राम्रो प्रभाव पर्न सक्छ भन्ने नाटकको निष्कर्षले सामाजिक जीवनका पात्रहरुको स्वभाव फरक हुने कुरा जनाएर व्यवहार सकारात्मक सोचबाट अघिबढे सबै समस्याको समाधान हामी आपैmबाट निस्कन्छ । यो नै यस नाटकले व्यक्त गरेको अन्तर्वस्तु र मानवीय सद्भाव पनि रहेको छ ।
मायादी ! मलाई पनि स्कुल लैजानोस् है !’ नाटकमा दसदेखि बाउन्न वर्ष उमेर समूहका पात्र छन् । सामान्य घरको कोठा र रुखमुनिको परिवेश छ । रमोला र रुस्तम खल पात्रका रुपमा छन् । चेतन र धीरेश सामान्य पात्रका रुपमा उपस्थित छन् । पढ्न रहर गर्ने रचनाले पढ्न नपाएको अवस्था बुझेर माया, प्रीति, विक्रम आदि बालपात्रले निर्वाह गरेको भूमिका र चेतनको मद्दतले रचनालाई पढ्ने वातावरण मिलाइएको छ । रमोलाले आफूले गरेको छोराछोरी बीचको भेदभावपूर्ण व्यवहार गर्न नहुने काम रहेछ भनेर विचार व्यवहारमा आएको परिवर्तनले छोरी रचनालाई पनि स्कुल पठाउने सङ्कल्प गराउँछ । यस नाटकले दिएको बालसमस्याको सकारात्मक निकास पहिल्याउन सफल हुनु नै लेखकीय प्राप्ति हो । यसबाट छोराछोरी बीच विभेद होइन समान व्यवहार गरी अभिभावकीय दायित्व भएको निष्कर्षलाई नैतिक जिम्मेवारीबोध गराउन सफल कथ्यका रुपमा लिन सकिन्छ ।
‘हराएका आमाबाबु’ नाटकमा सिरोज, रमोला प्रौढ र रेमन्ड, डेजी बालपात्रका रुपमा छन् । धनाढ्य व्यक्तिको घर परिवेशका रुपमा छ । यसमा बाआमा आफ्नो व्यवसायमा व्यस्त छन् । छोरालाई छात्रावासमा राखेका छन् । घर आउँदा पनि उसलाई सहयोगीको भरमा छाडिदिन्छन् । बाआमा छोरो रेमन्डसँगै बस्ने, गफ गर्ने, उसका कुरा सुन्ने फुर्सद निकाल्दैनन् । यसबाट उत्पन्न समस्याले लागुपदार्थ सेवनमा लागेको बालकको स्वभाव सन्दर्भ जोड्छ । यसमा किशोरावस्थाका केटाकेटीको बाआमासँगै बस्ने गफ गर्ने मनोकाङ्क्षा हुने मनोविज्ञानको सन्दर्भ देखाइएको छ । यसमा छोराछोरी जन्माउनु र भौतिक सुविधाको छेलोखेलोमा छाडिदिनु मात्रले बालकको मन खुसी रहन सक्दैन र आवश्यकता पनि पूरा हुँदैन । बालकलाई मातृस्नेह र पितृनिरीक्षणको आवश्यकता हुन्छ । त्यो पूरा नगरिदिँदा के कस्ता समस्या आइपर्छन् भन्ने कुरा औल्याइएको छ । यसमा बाआमालाई छोराछोरीप्रतिको दायित्वबोध गराउनु नै नाटकले व्यक्त गरेको व्यावहारिक पक्ष रहेको छ ।
‘राजाबाबू’ नाटक गाउँले घरको परिवेशमा रचिएको छ । आमा, करुणा, राजाबाबू, माया, विक्रम, गीता, प्रतिमा, अमर अन्जना पात्र छन् । यसमा राजाबाबूको मनोविज्ञानको चित्रण गरिएको छ । जाडो हुन्छ भनेर नुहाउन नमानेको बालकलाई आमाले कुटेर तर्साएर तहमा ल्याउँछु भनेर कस्सिनुभएको छ । करुणा, माया, प्रतिमाहरु फकाई फुल्याई सहमत गराएर नुहाउने बानी बसाउन सकिन्छ भनेर त्यसै अनुसार व्यवहार गर्न सफल हुन्छन् । नाटकमा बालकलाई तर्साएर होइन सम्झाएर अघि बढ्नुपर्ने बालमनोविज्ञान अनुकूल व्यवहार गर्नुपर्ने अभिभावको कर्तव्य हुन्छ भन्ने सन्देश मुखरित भएको छ ।
‘एउटा कुरो नि !’ नाटकमा गीता, प्रतिमा, प्रीति, राधा, हरि, श्याम बालपात्रहरुको उपस्थित छ । यसको परिवेश गीताको कोठा रहेको छ । यसमा केटाकेटीहरु पढाइको विषयमा गफ गरिरहेका छन् । यिनीहरु बाआमाले अराएको मान्नुपर्ने तर्क गर्छन् । केटाकेटी भने पाका मान्छेहरुले हेपेर व्यवहार गरेकोमा असन्तुष्ट हुँदै आफूहरुलाई ठूला मान्छेका कुरा सुनेर सामाजिक व्यवहारबारे थाहा पाउने अवसर दिनुपर्ने आग्रह गर्छन् । हरिको संवादबाट बालकहरुलाई एकोहोरो पढ–पढ मात्र होइन उनीहरुको रुचि र व्यावहारिक जीवनको आवश्यकता समेतमा ध्यान दिई शिक्षित हुने अवसर दिनुपर्ने आग्रह गरिएको छ । यसले बालकहरु कुरा बुझ्दैनन् भन्ने सोचमा परिवर्तनको आवश्यकता औल्याइएको छ । यसैलाई यस नाटकले दिने सामाजिक सन्देशका रुपमा लिन सकिन्छ ।
‘के ल्याऊँ हजुर, जेरी, स्वारी, तरकारी ?’ नाटक बिहानको समयमा चमेनागृहको परिवेशमा रचिएको छ । ग्राहक, साहुनी, साहु प्रौढपात्रका रुपमा छन् भने बालकृष्ण, माया, विक्रम, काले बालपात्रका रुपमा छन् । यसमा बालकहरुको आर्थिक विपन्नताबाट उत्पन्न समस्यालाई विषय बनाइएको छ । खाजा पसलका साहु साहुनीले बालश्रम शोषण गरेको सन्दर्भ छ । यस्तो गर्नु अन्याय हो भनी माया र विक्रमले बालक बालकृष्णलाई जथाभावी कुटपिट नगर्न गरेको आग्रहले पाका मान्छेको व्यवहार बालमैत्री हुनुपर्ने कुरामा जोड दिन्छ । होटेलका साहु साहुनीको थिचोमिचोलाई प्रमुख समस्याको रुपमा उठाइएर बालकसँग पाका मान्छेबाट गरिने सबै व्यवहार न्यायोचित होऊन् भन्ने मागलाई यस कृतिले नाटकीय शैलीमा प्रस्तुत गरेको यथार्थ सन्देश बनेर प्रकट भएको देखिन्छ ।
‘ऊ ज्ञानी भैहाल्छ नि’ नाटकमा राजाबाबु, गीता, माया, अमर, करुणा बालपात्रका दभस्रुपमा उपस्थित छन् भने बजारमा भाडाकँुडा बजिरहेको परिवेश छ । प्रौढपात्रका रुपमा आमा छन् । यसमा राजाबाबूको मनोविज्ञानको चित्रण गरिएको छ । जाडो हुन्छ भनेर नुहाउन नमानेको बालकलाई आमाले कुटेर तर्साएर तहमा ल्याउँछु भनेर कस्सिनुभएको छ । करुणा, माया, प्रतिमाहरु फकाई फुल्याई सहमत गराएर नुहाउने बानी बसाउन सकिन्छ भनेर त्यसैअनुसार व्यवहार गर्न सफल हुन्छन् । नाटकमा बालकलाई तर्साएर होइन सम्झाई बुझाई अघि बढेर बालमनोविज्ञान अनुकूल व्यवहार गर्नुपर्ने अभिभावकको जिम्मेवारी रहेको सन्देश मुखरित भएको छ ।
‘हजुरआमा भन्नुहुन्थ्यो एकादेशमा’ नाटकमा अनङ्ग बालपात्रका रुपमा उपस्थित छन् । हजुरआमा, विक्रमदेव, हिमाली, दुर्जनसिंह प्रौढपात्र हुन् । घरको पिडीमा बसेर हजुरआमा नाति अनङ्गलाई कथा सुनाउँदै हुनुहुन्छ । कथामा दुर्जनसिंहको अमानवीय व्यवहार गर्ने स्वभावलाई राजकुमार विक्रमसिंंहले तहलाउने काम गरेको सन्दर्भ आउँछ । लोककथामा आधारित यो नाटक मनोरञ्जन प्रधान छ । दुर्जनसिंहको प्राण माछामा छ भन्ने पत्ता लगाउनु र मूर्ति बनेका राजकुमारलाई पुन: मान्छे बनाई हिमानीलाई सुरक्षित फिर्ता ल्याउन सफल हुनु राजकुमार विक्रमसिंहको सुर्याइँपूर्ण व्यवहारले मानवीय महिमा गान गरेको छ । यसरी उत्साहपूर्वक मानवीय अस्तित्व जोगाउन सफल हुनु नै यस नाटकले दिएको सन्देश पनि हो ।
‘हराएको चिठी’ यस नाटकको पहिलो दृश्यमा राजाको कार्यालय परिवेशको रुपमा रहेको पाइन्छ । पात्रहरुमा शैलेन्द्रकुमार, विक्रम, चतुरसिंह, चतुरमति, वृजेन्द्र, अरु केही मान्छे पात्रका रुपमा उपस्थित छन् । यो नाटक पाँच दृश्यमा फैलिएको छ । यसमा बृजेन्द्रको बैठक, वनकोबाटो अनि बुढी आमैको झोपडी घर परिवेशका रुपमा रहेको छ । बृजेन्द्रबाट वास्तविक कुरा चतुरसिंहले देशका निम्ति महत्वपूर्ण चिठी चोरेर देशलाई नै घात गरेको खबर पाएपछि बुढी आमैले आफ्नै देशलाई घात गर्ने छोरालाई दण्डित गरेर सबक सिकाउनुपर्ने आग्रह गरेपछि चतुरसिंहले माफी मागेको सन्दर्भ छ । बुढीआमैले चतुरसिंहले गरको गोप्य चिठी चोर्नु देशघाती काम हो, बेठीक हो भनी उसको सोचमा ल्याएको परिवर्तन नै यस नाटकले दिएको देशप्रेमपूर्ण सन्देश रहेको पाइन्छ ।
‘राजा हिमवन्तको निसाफ’ यस नाटकमा राजा हिमवन्त, देवयानी, कनकलता, यशोधरा, मन्त्री, पहरेदार पात्रका रुपमा छन् । तीन दृश्यमा फैलिएको यस नाटकमा मातृवात्सल्यको उचित मूल्याङ्कन गरिएको छ । छिमेकी यशोधराले देवयानीको बच्चा चोरेर मेरो हो भन्ने दावी गरेपछि वास्तवमै बच्चा कसको हो त भनेर पत्ता लगाउन राजा हिमवन्तले अपनाएको परीक्षणकला र निकालेको निष्कर्षले आमा हृदयको उच्चादर्श स्थापित गरेको छ । साँच्चैकी आमाले बच्चाको प्राण हर्ने कुरा स्वीकार गर्न सक्दैनन् भन्ने प्रमाण देवयानीको प्रतिक्रियाबाट प्राप्त भएको तथ्य नै यस नाटकले दिएको आमा हृदयको उच्च आदर्श हो भन्ने विश्वास गर्न सकिन्छ ।
‘डाक्टर सर्वज्ञमान एन्.के.’ नाटकमा गँगटो, सुन्तली, प्रभुनारायण, भद्र मानिस, नोकर, १,२,३ पात्रहरु छन् । परिवेश घरछेउको सडक, सामान्य घरको कोठामा बिरामी हेर्ने डाक्टरको कार्यकक्षको सजावट रहेको र भलादमी मान्छेको घरमा खाना खाने समय भएको अवस्था परिवेशका रुपमा रहेको पाइन्छ । तीन दृश्य र ठट्यौली शैलीमा रचिएको यस नाटकका सर्वज्ञमान आफ्नी श्रीमतीसँग कुरा गरिरहेका हुन्छन् । यता गहना लुकाउने नोकरले आफ्नो कर्तुत थाहा पाए भन्ने बुझ्छन् । भद्र मानिसको प्रश्नको उत्तर मिल्छ । शौचालय जाने निउले नोकरसँग बाचा गरेर गहना फेला पार्छन् । कामदारले आ–आफ्नो गल्ती महसुस गर्छन् । उनले ती कामदारको मान पनि बचाइदिए । भद्रले गहना पनि पाए नोकरहरुको जागिर पनि गएन । सर्वज्ञमानले पनि पर्याप्त पैसा पाएर खुसी भए, सर्प मर्यो लौरो भाँचिएन । यही नै यस नाटकले दिएको मनोरञ्जन प्रधान सन्देश मानिन्छ ।
रमेश विकल नेपाली बालनाटकलाई पहिलो पुस्तकाकार कृति दिने स्रष्टा हुन् । उनलाई बालसमस्यामा आधारित विषयवस्तु चयन गर्ने बालनाटककार रुपमा लिन सकिन्छ । उनका सात थुँगा, अब तिमी नरोऊ किरण र हराएको चिठी बालनाटक सङ्ग्रहहरुमा सङ्कलित नाटकहरुमा माया विक्रम, माधव, गीता जस्ता पात्रहरु पटकपटक दोहोरिएका छन् । यी पात्रको पुनर्पुन: उपस्थितिले असल चरित्रको प्रभाव बालकहरुमा परोस् सच्चरित्रमा निर्माणमा सघाउ पुगोस् भन्ने लेखकको विशेष उद्देश्य रहेको देखिन्छ । यी सात थुँगा, अब तिमी नरोऊ किरण र हराएको चिठी तीनवटा सङ्ग्रमा सङ्कलित बालनाटक क्रमश: सात, पाँच, सात गरी जम्मा उन्नाइसवटा छन् । विषयवस्तुका दृष्टिले हजुरआमा भन्नुहुन्थ्यो एका देशमा, हराएको चिठी राजा हिमवन्तको निसाफबाहेक सबैजसो बालसमस्यामा केन्द्रित रहेको पाइन्छ । शिक्षा, स्वास्थ्य, न्याय निसाफ, सामाजिक विभेद, बालश्रम, छोराछोरी बिच फरक व्यवहार जस्ता कुरा उठाएर छोरीले पनि छोरासरह पढाइलेखाइ समेत अन्य अवसर पनि पाउनुपर्ने पक्षमा बालकहरुकै सक्रियताम जोडदार आह्वान् गरेका छन् । बाल जीवनमा बालकहरुले भोग्नुपरेका समस्या, पठन पाठनका अप्ठेरा, आर्थिक अप्ठेरो, सौतेनी आमाबाट ताडित हुनुपरेको बेथाजस्ता कठिनाइहरुबाट निकास पहिल्याउने उपायको खोजी आमा ! मेरी आमा, माया दी ! मलाई पनि स्कुल लैजानोस् है ! के ल्याऊ ? हजुर जेरी, स्वारी, तरकारी ? यी नाटकहरुका बालपात्रकै पहलमा गरिएको छ । बालकहरु स्वयम्को सक्रियताले निकास पहिल्याएर सकारात्मक परिणाममा पुर्याउन सक्नु नै यी नाटकहरुको सन्देश तथा नाटककार विकलको सफलता पनि हो । विकल कमजोरलाई हेला गरी हेपेर व्यवहार गर्ने प्रवृत्तिसँग तीव्र असहमति जनाउँछन् । उनका नाटकमा समावेश पात्रहरुकै सक्रियता सामाजिक न्याय पहिल्याउन बल गर्छन् । परिवारले गर्ने छोराछोरीबिचको भेदभाव र बालश्रमको अन्त्यका लागि सशक्त आह्वान गरेका छन् ।
५. निष्कर्ष
रमेश विकलका यी बालनाटकहरु हाम्रै समाजका बालजीवनले भोगेका समस्याजन्य गतिविधिबाट विषयवस्तु लिएर स्वयं बालपात्रहरु समेतको उपस्थितिमा रचिएका अभिनयात्मक प्रस्तुति हुन् । बालकहरुकै समुपस्थितिमा शैक्षिक चेतना र सामजिक जीवनका समस्याको निकासका लागि बालपात्रकै सक्रियतालाई महत्त्व दिइएको छ । बालक स्वयंले भोगेका विभेद उनीहरुकै सक्रियतामा समाधान खोजेर सकारात्मक परिणाम पहिल्याउने उत्सुकता जगाई नाटकलाई अर्थपूर्ण तुल्याइएको छ । शम्भुदाइ निर्दोष छ माध्यमबाट अति हुनु हुँदैन, शङ्काको भरमा दोष दिनु बालहित र मानवीय संवेदनाका लागि घातक हुन्छ भन्ने कुरा घरपरिवारको विषयलाई लिएर प्रस्ट्याउने गरी यथार्थ प्रस्तुति दिइएको छ । छोटा छोटा आयाम भएका यी नाटकको भाषा सरल र स्वाभाविक छन् । नाटकहरु विषयवस्तु पात्रचयन, परिवेश संयोजन, संवादादिको प्रस्तुतिले बालमैत्री बनेका छन् । समग्रमा यी बालनाटकले बालमन मस्तिष्क चलाई छोराछोरी बिच हुने गरेका विभेदको अन्त्यका लागि सशक्त शैलीले व्यवहारोपयोगी सन्देश सम्प्रेषण गरेका छन् ।
नेपाली बालसाहित्यमा बालमन बुझेर उनीहरुकै हितमा प्रस्तुति दिने अगुवा विकलले नेपाली बालनाटकको इतिहासमै पहिलो पुस्तकाकार कृति दिएर उच्च योगदान गरेका छन् । उनले बालशिक्षा, सामजिक न्याय, सांस्कृतिक सचेतता, कृषिकर्म, स्वास्थ्य क्षेत्र, पारिवारिक मेल, देशप्रेमजस्ता विषय विविधताको चयन गरी व्यावहारिक ज्ञानसँगै नैतिक जिम्मेवारीले बालकहरुमा मानवीय चेतना सम्प्रेषणमा चासो दिएका छन् । विकलका बालनाटक विषय चयनमा विविधता खोज्नु, समयसापेक्ष बालोपयोगी प्रस्तुति दिनु, सरल भाषा प्रयोग हुनु, बालपात्रहरुकै सक्रियतामा द्वन्द्व सिर्जना गरी समुचित निकास पहिल्याउनु, बालकहरुबाटै छोराछोरीबीच समताभावको आवश्यकता र महत्त्व दर्शाउनु, बालमनको विश्लेषण गर्नु, अनुकूल विषय चयन, पात्र खोजी, परिवेश मिलान, संवाद आदिको स्वाभाविक संयोजन गरी बालमैत्री बालनाटक सिर्जना गर्नुजस्ता विशेषतासँगै उभिएका विकल कुशल नेपाली बालनाककार हुन् ।
सन्दर्भ ग्रन्थसूची
– घिमिरे, ध्रुवकुमारी (२०७४). बालसाहित्यको विधागत सिद्धान्त र नेपाली बालसाहित्य, काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान ।
–चालिसे, विजय (२०७०). नेपाली बालनाटक : सङ्क्षिप्त अध्ययन नवप्रज्ञापन त्रैमासिक, अङ्क–७०, बालसाहित्य विशेष पृ. ११–२५ ।
–न्यौपाने, छायादत्त (२०८०). बालसाहित्यको सैद्धान्तिक स्वरुप. कल्पलता त्रैमासिक,वर्ष–१, अङ्क–३, पृ.१–२४ ।
–प्रधान, प्रमोद (२०६१). नेपाली बालसाहित्यको इतिहास, काठमाडौंं : विवेक सिर्जनशील प्रकाशन ।
–प्रसाद, विश्वनाथ (सन् १९७३).कला एवं साहित्य प्रवृत्ति और परंपरा, पटना–३: विहार हिन्दी ग्रन्थ अकादमी सम्मेलन भवन ।
–यात्री,कृष्ण शाह (२०६६).नेपाली बालनाटकको विकास प्रवृत्ति.गरिमा मासिक अङ्क–८,वर्ष–२६, पूर्णाङ्क–३२० पृ. ५८–६३ ।
–यात्री, कृष्ण शाह (२०६३). बालसाहित्यको विकासक्रम त्यति निराश लाग्दो छैन, काठमाडौंं ।
–विकल, रमेश (२०३७). सात थुँगा, साझा प्रकाशन, ललितपुर ।
–विकल, रमेश (२०५९). अब तिमी नरोऊ किरण, साझा प्रकाशन, ललितपुर ।
–विकल, रमेश (२०६४). हराएको चिठी, विवेकसिर्जनशील प्रकाशन, काठमाडौं ।
–शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद लुइटेल (२०६३).लोकवार्ताविज्ञान र लोकसाहित्य, काठमाडौं : विद्यार्थी प्रकाशन ।
–सापकोटा, प्रभात (२०६८).नेपाली बालनाटकको ऐतिहासिक अध्ययन, काठमाडौं : स्वदेश प्रकाशन प्रालि.।