कार चलाएर बालुवाटार पुग्दै गर्दा एक जना हट्टाकट्टा देखिने अधबैँसे मानिस बाटोमा ड्याम्म लडेको देखेर रिमाले गाडी बाटो छेउमा रोकीमानिस ढलेको ठाउँमा पुगिन् । एक छिनमा त्यहाँ मानिसहरू जम्मा हुन थाले। बिहानको आठ मात्र बजेको भए पनि वैशाखको महिना भएको हुँदा बिहानै पनि घाम कडा भइसकेको महसुस हुन्थ्यो। गर्मीले ढलेको होला भन्ने सबैको मनमा लाग्यो। सडकको पेटीमा ढलेका व्यक्ति लगभग ५५–६० वर्षको जस्तो देखिन्छन् । ट्रयाकसुट र ट्रयाकसुज र हातमा पनि महँगो खालको घडी लगाएका थिए । लवाइबाटै उक्त व्यक्ति सम्भ्रान्त परिवारकै होला भनी रिमाले अड्कल लगाइन् । त्यहाँ जम्मा भएका र वरिपरि पसल र घरहरूमा बसेका कसैले पनि पहिले तिनलाई नदेखेको हुँदा सो व्यक्ति को, कहाँको हो भन्नेबारे सबै अनभिज्ञ थिए । बेहोस भएको व्यक्तिलाई छिटै नजिकको अस्पताल पुर्याउन आवश्यक भएको र त्यहाँ कुनै अरू गाडी नभएको हुँदा उपस्थित मानिसहरूको सहायताले रीमाकै गाडीमा राखियो। त्यति नै बेला एउटा मोटरसाइकलमा सवार केटोले बेहोस व्यक्तिलाई देखेर केशव अङ्कललाई के भयो भनी सोधे। त्यहाँ उपस्थित सबैले कौतुहलता पूर्वक केटोबाट बेहोस व्यक्तिबारे जानकारी लिई वहाँको परिवारलाई फोनबाट खबर गर्न लगाए । बेहोस व्यक्तिलाई रिमाको गाडीमा राखी त्यहाँ उपस्थित मध्ये दुई जना मानिस पनि रिमाकै गाडीमा बसी टिचिङ अस्पताल पुगे। बाइकमा आएका केटा पनि गाडी पछि पछि गए ।
अस्पताल पुगेपछि बेहोस व्यक्तिलाई इमरजेन्सी वार्डमा लगी रिमा र साथै गएका दुई जना व्यक्तिहरू र बाइकमा आएका केटा पनि बेहोस व्यक्तिको परिवार आइपुग्ने प्रतीक्षामा बसे। वहाँको घर महाराजगन्ज मै भएको हुँदा परिवारका मानिसहरू पनि तुरुन्त त्यहाँ आइपुगे। अपर्झट भएको घटनाले परिवारका सबै जना निकै चिन्तित हुनु स्वाभाविक नै हो । डाक्टरले बेहोस व्यक्तिलाई हर्ट अट्याक भएको र होसमा आउन समय लाग्ने कुरा परिवारका सबैलाई सुनाए । डाक्टर सहित परिवारका उपस्थित सबैले समयमा अस्पताल पुर्याई ज्यान बचाई दिएकोमा रिमालाई निकै धन्यवाद दिए । त्यहाँ भइरहेका कुरा अनुसार बेहोस व्यक्ति नियमित मर्निङवाक गर्ने रहेछन् । छोराको दुई दिनपछि हुने विवाहको तयारीमा सपरिवार जुटिरहेका थिए र आज पनि मर्निङ्गवाक बाट फर्कने क्रममा एउटा कामको लागि बालुवाटार तिर हिँड्दाहिँड्दै बाटोमा बेहोस भईलडेको कुरा रीमालाई थाहा भयो।
बिरामीको होस आएपछि खबर पाउँ भनी आफ्नो मोबाइल नम्बर परिवारका व्यक्तिलाई दिएर अस्पतालबाट रीमा बाहिरिइन् । रीमा आफ्नो व्यापारिक मलको शाखा विस्तार गर्ने सिलसिलामा जग्गाको बैना दिने कामले बिहान घरबाट निस्केकी थिइन् । जग्गा बेच्ने व्यक्ति नेपालगन्ज तुरुन्तै फर्कनुपर्ने हुँदा बिहानै भेट्ने गरी समय मिलाएका थिए । अपर्झट आई परेको घटनामा मानवताको हैसियतले साथ दिनु पर्दा भेट्ने समयमा पुग्न नसकिने कुरा अस्पतालबाटै रिमाले उक्त व्यक्तिलाई खबर गरिसकेकी थिइन् । त्यसैले अस्पतालबाटै घर फर्कन गाडी घर तर्फ मोडिन् । घर नपुगुन्जेल रिमाको मनमा धेरै कुराले हलचल मच्चाई रह्यो। रीमाको धेरै ठाउँमा व्यापारिक मलका शाखाहरू विस्तार भइसकेका छन् । आजको घटनाले नयाँ ठाउँमा फेरि शाखा विस्तार गर्ने औचित्य बारे सोच्न थालिन् । दुई छोरीहरू सानै हुँदा जवानीमै श्रीमान् गुमाउँदाको दुःखलाई भुल्न श्रीमानले सुरु गरेका व्यवसाय रिमाले विस्तार गरिन् । छोरीहरू दुवै बोर्डिङ स्कुलमै पढिरहेका हुँदा रीमा व्यापारमै तल्लीन थिइन् । अब त रिमालाई पैसा कमाउने लत नै लागिसकेको छ । दुई छोरीहरूलाई राम्रो शिक्षा दिई योग्य बनाउन उनीसँग चाहिने भन्दा बढी धन–सम्पत्ति भइसकेको छ । आजको घटनाले रिमाको सोचमा बदलाव ल्यायो। उनी सोचमा डुब्न थालिन् । दुई छोरीलाई पढाइको साथै राम्रो संस्कार दिई आत्मनिर्भर बनाउन सक्यो भने थप सम्पत्ति आवश्यकता नै पर्दैन, आफै सब कुराको व्यवस्था गर्न सक्छन् । उनीहरूलाई परिवारको मोरल सपोर्टको मात्र आवश्यक पर्ने हुन्छ । शिक्षाको सार राम्रो हुन नसक्दा अहिलेको जस्तै केही डाक्टरहरूका कारणले बिरामी मर्नु, इन्जिनियरले बनाएका संरचनाहरू छिट्टै बिग्रिनु, कर्मचारीहरूको योग्यता नपुग्दा सरकारी कामहरूमा ढिलाइ हुनु जस्ता स्थिति आइरहेको छन् । यी सबै कुरा लगायत आज घटेका घटनाले मनमा आँधी हुरी चले जस्तै बिचरी रिमाको मनमा उथलपुथल भइरहेको छ ।
जीवन छोटो छ । केबल पैसाले मात्र सबै थोक नहुने रहेछ । छोटो जीवनमा आत्मसन्तुष्टि पाउन सकिएन भने पैसाको के अर्थ? व्यापार विस्तार गर्नुको सट्टा आफूलाई चाहिने जति राखी बढी भएको सम्पत्तिलाई परोपकारी काममा लगाउनु सही हुन्थ्यो कि भन्ने विचार रिमाको मनमा आइरह्यो। आजको घटनाले रीमाको जीवनलाई हेर्ने दृष्टिकोणमा नै बदलाव आयो।लगातार तिन–चार दिनको सोचविचार पछि उनले एउटा राम्रो काम गरिरहेको सरकारी अस्पतालसँग समन्वय गरी दुर्घटनामा परेकाहरूको उपचारको लागि छुट्टै ट्रमा युनिट बनाई उक्त युनिटको लागि आवश्यक जनशक्तिको व्यवस्था सरकारी स्तरबाटै गराउने गरी काम अघि सार्ने सोच बनाइन् ।
सो विषयमा सासू र ससुराज्यूको पनि राय लिन उपयुक्त ठानिन् । उहाँहरूको लागि पुग्ने यथेष्ट पुर्खौली सम्पत्ति भएको हुँदा रिमाको मेहनतबाट जोडेको सम्पत्ति रिमाले चाहे अनुसार राम्रो कामको लागि खर्च गर्न सक्ने भनी उहाँहरूले भन्नु भएकोमा रिमा निकै खुसी भइन् । रिमाले अस्पतालसित समन्वय गरी विज्ञको समेत राय लिई काम अघि बढाउन थालिन् । इस्टिमेट पछि उक्त कामको लागि रिमासँग भएको पैसाले पुग्ने देखिएकोले कामको कार्यान्वयन तर्फ पाइला चालिन् । उक्त ट्रमा युनिटको शिलान्यास ससुराज्यूबाट गराइन् । नामकरण आफ्ना श्रीमान्को नामबाट गराइन् । काम सम्पन्न भई भवनको उद्घाटन गर्ने दिनसम्ममा छोरीहरू पनि ग्र्याजुएसन सकाई नेपाल फर्किसकेका थिए । भवनको उद्घाटनमा बिहान बाटोमा हिँड्दा हिँड्दै बेहोस भई ढलेका व्यक्ति स्वस्थ भई त्यहाँ उपस्थित हुनु भएकोमा रीमालाई निकै खुसी लाग्यो । जीवनलाई हेर्ने दृष्टिकोणमा आएको बदलाव उहाँकै कारणले भएको हुँदा रिमा वहाँप्रति निकै आभारी थिइन् । ट्रमा युनिटको उद्घाटन गरी अस्पताललाई हस्तान्तरण गर्दा रीमाको आँखा खुसीले रसाए ।