० अचेल तपाइँ के लेख्तै हुनुहुन्छ ?
जहाँ छन् बुद्धका आँखा गीतिकविता सङ्ग्रह–२०७८ प्रकाशनपछि छत्तीस छन्दको छहरा २०६७ सालदेखि अहिलेसम्म विभिन्न शास्त्रीय छन्दमा रचना गरिएका कविताहरुको सँगालो शास्त्रीय छन्दका छाँगा प्रकाशनको तयारीमा लागेको छु । लेखनाथका रचनाको विवेचना प्रकाशनको चटारो भोगिरहेको छु भने प्रविधिमैत्री कविसम्मेलन तथा साहित्यिक कासही साहित्यले पाठकलाई आनन्द दिन्छ : डा. बमबहादुर थापा ’जिताली“
र्यक्रम र सिर्जनात्मक कार्यमा पनि व्यस्त छु ।
० तपाइँको दृष्टिकोणमा साहित्य के हो ?
समुचित शब्द, सङ्गीत, अर्थ र अनुभूतिको सुन्दर संयोजन तथा कलात्मक सिर्जना कविता हो भने समुचित भाव–विचार तथा भाषिक कला–कौशलद्वारा उत्पन्न आनन्ददायी रचना साहित्य हो । साहित्यमा हितकारी भाव हुनुपर्छ ।
० तपाइँ कस्तो साहित्यलाई सर्वोपरि ठान्नुहुन्छ ?
सही साहित्यले पाठकलाई आनन्द दिन्छ, हितकारी भाव–भूमि दिन्छ, नैतिक चेतना र सकारात्मक सन्देश दिन्छ र सामाजिक, आर्थिक, राजनीतिक सुधारका निम्ति व्यङ्ग्यात्मक दनक पनि दिन्छ । यसो हुनाले नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, वेथिति, विकृति, विसङ्गति र भद्रगोल परिस्थितिप्रति प्रवृत्तिगत नसो पक्रिएर व्यङग्य प्रहारका साथै हास्यरस मिसाएको मार्मिक साहित्य र राष्ट्र, राष्ट्रियता, आफ्नो सनातनी संस्कारसँगै मातृत्व, भ्रातृत्व एवं प्रकृतिप्रेम तथा गौरवमय नेपाली भाषा, संस्कृति, इतिहास, भूगोल र सामाजिक परिवेश समेटिएको भावनात्मक तथा सकारात्मक साहित्यलाई म सर्वोपरि ठान्छु । सकारात्मक सोच–विचारको अभिव्यक्ति, परिस्कृत प्रस्तुति, शैलीगत निजत्व, शिल्पगत परिस्कार तथा सरल, सरस भाषाशैली, उचित विषयवस्तु, विशिष्ट शैली र कलात्मक पक्षको प्रयोग, जीवन–जगत्प्रतिको आस्था, आशा, भरोसा, मानवीयता, राष्ट्रियताप्रतिको विश्वास उजागरका साथ लोक–कल्याणका निम्ति सत्य, शिव र सुन्दर पक्षको प्रकटीकरण गर्न सक्ने विशेषता समावेश भएको साहित्यलाई मैले उत्कृष्ट, कालजयी, हितकारी र सर्वोपरि मान्ने गरेको छु । समुचित शब्द, सङ्गीत र स्वरको सुन्दर संयोजन भएको गीति साहित्यलाई पनि मैले सार्वकालिक मिठासको त्रिवेणी ठानेको छु ।
० तपाईंको विचारमा साहित्यकारहरुको दायित्व कस्तो हुन्छ ?
मेरो विचारमा समाजसुधार तथा राजनीति परिवर्तनका निम्ति साहित्यकारको अग्रगामी दायित्व र भूमिका रहेको हुन्छ । साहित्यले सत्ता समाप्त पार्न सक्छ, वैचारिक प्रभाव पार्न सक्छ, आर्थिक, सामाजिक तथा राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेल्न सक्छ । यसर्थ, साहित्यकारले सकारात्मक भूमिका खेलेर प्रवृत्तिगत नकारात्मक परिदृष्य उजागर गरी वेथितिपूर्ण परिस्थितिलाई सपार्ने प्रयत्न गर्नुपर्छ । बिगार्ने नभएर समाज सपार्ने दायित्व साहित्यकारको हो । यही दायित्व निर्वाह हुन सके मुलुकको मुहार फेरिन सक्छ । निराशावादी विचार प्रवाह गर्नु साहित्यकारको दायित्व र कर्तव्य पनि होइन । जनतालाई सदा जागृत र सचेत गराउन सरकारका प्रवृत्तिगत कमी, कमजोरी, अन्याय, अत्याचार, भ्रष्टाचार, विकृति, विसङ्गति, वेथिति औँल्याएर सही मार्ग देखाउने दायित्व पनि साहित्यकारको हो । साहित्यमा गुणगानको भन्दा जागृतिगानको बढी महत्व हुन्छ । यस्तो महत्वपूर्ण दायित्व प्रत्येक साहित्यकार अन्तर्गत रहेको हुन्छ ।
साहित्यकार सत्य, शिव र सौज्दर्य पक्षको कलाकार वा सिपाही हो तर आफ्ना सिर्जनाद्वारा भ्रमको खेती गरेर कृण्ठित मानसिकता बोकेर विकृत विचार तथा धारणा धकेल्न खोजियो भने त्यस्ता रचनाले समाजलाई समुन्नतिका विरुद्ध अवरोध खडा गरी भयंकर क्षति पुर्याउन सक्छ । यसर्थ कुण्ठा, रोदन र निराशाले भरिएको रचनालाई साहित्य मान्न सकिन्न । यसले पाठकमा भएको आशा, भरोसा, उत्साह र ऊर्जालाई समेत शिथिल बनाउँछ । सामाजिक, आर्थिक आदि विभेद, विकृति, विसङ्गति, विखण्डन, हत्या, हिंसा, बलात्कार, दुराचार तथा यौनविकृतिजस्ता विकृतिलाई प्रोत्साहन दिने किसिमका रचना त झन् घातक हुन्छन् । यसो हुनाले समाजमा देखिएका व्याप्त वेथिति, विकृति, विसङ्गति, अन्याय, अत्याचार, भ्रष्टाचारका विरुद्ध आफ्ना सिर्जनाका प्रबल शब्दशक्तिको माध्यमद्वारा ओजस्वी आवाज उठाउनु आजका साहित्यकारहरुको सर्वोपरि दायित्व हो र हुनुपर्छ । आजको आवश्यकता पनि यही हो ।
राष्ट्रिय गौरव, नेपाली सांस्कृतिक, प्राकृतिक र मौलिक सुन्दरता फैलाएर राष्ट्रको माथा सगरमाथाको चुचुरामा पुर्याउने दायित्व पनि साहित्यकारको हो तर यसका लागि सरकारले सकारात्मक तथा वातावरणीय परिवेश खडा गर्न सक्नुपर्छ । साहित्यकार बिक्नुहुन्न र उसले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य उपदेश सिक्नुपर्छ, बिर्सनुहुन्न । एकताको अभियानलाई साकार पार्नु आजको आवश्यकता हो । राष्ट्रिय एकता, सद्भाव, सत्कर्म र जनताको मर्म बुझेर कलम चलाउनु प्रत्येक साहित्यकारको प्रमुख दायित्व देखिन्छ । आफ्नो धर्म, कर्म, सर्म र मर्म नबुझी अर्काको लहै–लहैमा बहकिनु सात्यिकारको मात्र नभएर कुनै पनि नेपालीको दायित्व र स्थायित्वभित्र पर्दैन । ‘कर्तव्य र अधिकार एउटै सिक्काका दुइटा पाटा हुन्’ भन्ने उक्तिलाई सूक्तिका रुपमा सिद्ध गर्नु पनि साहित्यकारको दायित्व हुन आएको छ ।
० हालसालको साहित्यलाई तपाईंले कसरी हेर्नुभएको छ ?
नेपाली साहित्यको उत्तरोत्तर उन्नति, प्रगति र समुन्नति हुनुपर्नेमा समयसापेक्ष मोबाइल र इन्टरनेटको प्रयोगसँगै झर, छेस्का, सिन्का, बाछिटा, कोपिला, पचाङ्ग, षड्ऋतु, खोरिया, सुसेली, साइनो, एलाक, उदक आदि अनेक कविताका सूक्ष्म उप–विधाहरु आएका छन् । यस्ता झिना, मसिना सुन्दर भाव र अभावमा सिर्जना भएका रचनाले काव्यिक गरिमामय उचाइमा ट्याम्को थपिएको भान भएको छ भने यसको प्रयोग र प्रचार–प्रसारमा यसले झुलो–चक्माको चहक पनि दिएको छ ।
अचेल गुणात्मकभन्दा सङ्ख्यात्मक सिर्जनाको होडबाजी चलेको देखिन्छ तर अहिले पनि कमनीय काव्य, खण्डकाव्य, महाकाव्य, उल्लेखनीय उपन्यास, निबन्ध, कथा, लघुकथा, गीत, गजल र मुक्तक लेखनको परम्परा टुटेको छैन । समग्रमा हेर्दा साहित्यको स्तर गिर्दै गएको अनुभूति हुन्छ । साहित्यले नेपाली धर्म, संस्कृति र सामाजिक परिस्थितिलाई प्रभाव पारेको हुन्छ र साहित्यमा प्रचलित सामाजिक, राजनीतिक र आर्थिक परिवेशले प्रभाव पारेको पनि हुन्छ । यस अर्थमा जस्तो देश उस्तै भेष, जस्तो परिवेश उस्तै साहित्यविशेष भनिएको पनि पाइन्छ । साहित्य घरदेश, परदेश र परिवेशभन्दा टाढा रहेको हुँदैन तापनि साहित्यकारको काल्पनिक शक्तिले साहित्यलाई सुन्दर संसारमा पुर्याएर पाठकलाई स्वर्णिम आनन्द प्रदान गर्न सकेको हुन्छ, जस्तै:
के हो ठूलो जगत्मा पसिना विवेक
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।।
– लक्ष्मीप्रसाद देवकोटा
त्यस्तै,
म खाऊँ मै लाऊँ सुख शयल वा मोज म गरुँ
म बाचूँ मै नाचूँ अरु सब मरुन् दुर्बलहरु ।
भनी दाह्रा घस्ने अबुझ बाठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि ।।
समय र समसामयिक विभिन्न परिस्थितिले कवि–साहित्यकारको कल्पनाशक्ति क्षय भएको अनुभूति हुन थालेको छ । जे होस् साहित्य यथार्थको धरातल वरिपरि घुमेको हुनुपर्छ । साहित्य जीवन–जगत्का लागि, जीवन–जगत्को हितका निम्ति सिर्जना हुन्छ । जुन साहित्य हितकारी तथा लालित्यमय हुँदैन त्यो प्रभावकारी तथा कल्याणकारी हुन सक्दैन । त्यो केवल अर्थहीन प्रयास मात्र हुन्छ । यस्ता प्रयासहरु पनि नेपाली साहित्यमा देखिन थालेका छन् । माधव घिमिरे कवितामा के भन्छन् भने –
आएर कैल्यै ऋतु सिद्धिँदैन
लाएर माया मुटु रित्तिँदैन ।
साहित्यमा प्राकृतिक प्रेम, मौलिक पन, राष्ट्रियता, माया, ममता र समताको भाव अभिधामा भन्दा लक्षणा र व्यञ्जना अर्थमा समाहित हुनु आवश्यक छ तर अचेल रसमय, भावमय, अलंकारमय, ममतामय, आनन्दमय, सौन्दर्यमय साहित्य सिर्जनामा कमी आएको अनुभव हुन्छ ।
० तपाईं आफू कुन–कुन साहित्यकार तथा चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
साहित्यकार तथा चिन्तकहरुमध्ये मलाई प्रभाव पार्ने पहिलो व्यक्ति मेरा पिता प्रेमबहादुर थापा हुनुहुन्छ । यहाँका सुमधुर स्वरमा गाइएका भजन, सिलोक, कविता र लोककथा पनि मैले पिताको काखैमा बसेर सुनेको हुँ, जति बेला मेरो बोली पनि राम्ररी फुटेको थिएन । उहाँका रचना छन्दशास्त्रीय दृष्टिले भन्दा पनि भाषा–शैली र लयात्मक मिठासका आधारमा सुन्दर थिए भने ती रचनात्मक सिलोक दोहोरी गाउँदा हारेको रेकर्ड थिएन । पिताको त्यो चामत्कारिक प्रतिभाबाट म प्रभावित छु । ती रचना अझै पनि सङ्गृहीत छन् । मेरी आमा पनि हातो समाएर जाँतो घुमाउँदा सङ्गीतमय स्वरमा सिलोक गाउनुहुन्थ्यो, जस्तै:
काग् क्वैली वनमा ढुकुर जुरेली पङ्खीमा राम्रो मजुर
फूल फुल्यो गुहेँली सबै वनभरि टिपेर ल्याऊ न हजुर ।।
यसर्थ, मेरी आमा मेरा निम्ति दोस्रो प्रभावकारी प्रेरणाकी परम स्रोत हुनुहुन्छ ।
मेरो गाउँले जीवन र सामाजिक परिवेश पनि प्रभावको थलो बन्यो । बाहुन, क्षत्रीको बालुन, चुड्का, भजन र जिता जामुने तथा जिताकोटको रसिक गुरुङ समाजको ठाडो भाका, सोरठी, मारुनी र झ्याउरे लोकगीत र सङ्गीतले पनि मलाई प्रभाव पार्यो र प्रेरणा पनि दियो । यही लोक–परिवेशमा मेरो किशोर जवानी हुर्कियो ।
२०२९ साल, चैत १२ गते काठमाडौँ आएपछि मेरा प्रेरणादायक प्रतिभाका रुपमा विचारक भीमबहादुर अधिकारी, भाषाशास्त्री गोपाल पाँडे ‘असीम’, राष्ट्रकवि माधव घिमिरे, प्रा.डा. वासुदेव त्रिपाठी, कवि दैवज्ञराज न्यौपाने, प्रा.डा. मोहन हिमांशु थापा रहनुभयो भने साहित्यिक प्रभाव पार्ने कविहरुमा भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ क्रमश: देखिएका छन् । विशेषत: लेखनाथको मर्यादावाद र देवकोटाको उदारतावादको संयुक्त प्रभाव माधव घिमिरेका कवितामा देखिन्छ भने म पनि यही शैली र विचारबाट प्रभावित छु । हास्यव्यङ्ग्यमा भैरव अर्याल, केशवराज पिंडाली, वासुदेव लुइटेल भूतको भिनाजु, श्याम गोतामे र रामकुमार पाँडेको रचनाले प्रभाव पारेका छन् ।
० तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो ? तपाईंको साहित्यिक यात्रा कुन विधाबाट थालियो ? कृपया सबभन्दा पहिलो प्रकाशित कुनै पनि विधाको लेख–रचना उल्लेख गर्नुहोस् ।
मैले ६ वर्षदेखि ६ ओटा गाईगोरु वनमा बगालसँगै चराउन लान्थेँ । त्यतिबेला वनमा पाइने छाँगा, छहरा, लहरा, पहरा, चरा, वृक्ष, वनस्पति, कन्दमूल, वन्यजन्तु, कोइली, लुइँचे, कालिज, ढुकुर, चिबे, कोकले आदि चराको प्राकृतिक सुन्दरतासँग साक्षात्कार हुने मौका मिलेको थियो । म गीति कविता गुन्गुनाउँथेँ र दोहोरी पनि गाउँथेँ तर लेखेको थिइन । म १२ वर्षको हुँदा बिहान पँधेरामा जाँदा धारामाथिको विशाल आँपको रुख ढलेको देखेँ, छरिएका आँप पनि टिपेँ र घर आएर पहिलो पटक सवाई लोकछन्दमा गीतिकविता लेखेँ । रुँदै मनोभावना सवाई लोकछन्दमा पोखेँ अनि कविताको शीर्षक ‘असारे आँप’ राखेँ । त्यो पहिलो पटक आमालाई सुनाएँ । आमाले मुसुक्क हाँसेर समर्थन गर्नुभयो । त्यसपछि मेरा हजुरबुवाले सारेको ठूलो स्वामीको बोट ढल्यो । त्यस विशाल बोटको छहारी सम्झेर रुँदै गीति–कविता रचना गरेँ र सुनाएँ । मेरा बुवाले स्याबासी दिनुभयो । १३–१४ वर्षको उमेरमा जिताकोटको स्कुल र श्री सप्तधारा स्कुलको तुलना गरेर सवाई छन्दमा लेखेको उक्त कविता शुक्रबारे साहित्यिक कार्यक्रमको समयमा सुनाएँ । गुरुहरुले चकित परेर स्याबासी दिनुभयो । त्यहाँदेखि हरेक शुक्रबार हुने साहित्यिक कार्यक्रममा सहभागी भएर कविता, गीत र वक्तृत्व कलामा भाग लिएर आफ्नो प्रतिभा प्रदर्शन गर्न थालेँ । २०२७ सालमा श्री शान्ति हाई स्कुल, कुन्छामा भर्ना भएपछि कक्षा ९ देखि लोककथा र हास्यव्यङ्ग्य कविताले मलाई चिनायो ।
काठमाडौँ आएपछि पनि मैले निरन्तर कविता सिर्जना गर्दै रहेँ । २०३१ सालदेखि नेपाली शिक्षा परिषद्द्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएर कविता सुनाएँ । मधुपर्क, गोरखापत्र, गरिमा, मिर्मिरे आदि राष्ट्रिय पत्रिकालाई धेरै पटक कविता छाप्न दिएँ तर पहिलो पटक प्रकाशित मेरो रचना हो – ‘सृष्टिमा पार्वतीको दृष्टि’, हास्यकथा ‘परिवार’ पत्रिका २०३३ । त्यही वर्षको कम्प्युटर मुखपत्रमा ‘कम्प्युटर गीत’ प्रकाशन भयो । त्यहाँदेखि सबैजसो राष्ट्रिय पत्रिका, पुस्तक र स्मारिकामा मेरा रचनाहरु छापिन थाले ।
० तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनुहुन्छ कि ?
सपना देखूँ भनेर देखिन्न, कविता लेखूँ भनेर लेखिन्न भने झैँ मलाई पहिले आफूभित्रको कविभावना र चेतनाले साहित्य सिर्जनामा लाग्न प्रेरित गर्यो अनि मेरा माता, पिता र जिताको वातावरणीय प्रभाव र प्रेरणाले मलाई कवि बनायो भने विद्यावारिधि उपाधिसम्मको अध्ययन र अभ्यासले समीक्षक र समालोचक पनि बनायो अनि भानु, मोती, लेखनाथ, देवकोटा, सम, सिद्धिचरण, घिमिरेका कृति र कीर्तिले साहित्यमा लाग्ने अठोट जगायो ।
० तपाईंले विविध विधामा कलम चलाउनुभएको छ । कुन विधाको लेखनमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
मैले कविता, बालकविता, हास्यव्यङ्ग्य कविता, कथा, बालकथा, लोककथा, गीतिकथा, लघुकथा, निबन्ध, गीत, गजल, समीक्षा, समालोकचना आदि विभिन्न विधा र उपविधामा कलम चलाएको छु तर मेरो प्रिय विधा कविता हो । कवितामा पनि लोकछन्द र शास्त्रीय छन्दका विभिन्न प्रकारमा कविता रचना गर्न रुचाउँछु । यसैमा म सबैभन्दा सन्तुष्ट छु । गीत, निबन्ध र कथा पनि मेरा सन्तुष्टिका विधा हुन् ।
० साहित्यकारका रुपमा तपाइँको सही मूल्याङ्कन भएको छ कि छैन ?
जनस्तरीय साहित्यिक संस्थाहरुबाट मेरो उचित मूल्याङ्कन भएको छ र चालीसभन्दा बढी सम्मान तथा पुरस्कार पनि प्राप्त भइसकेको छ तर सरकारी तहबाट कम मूल्याङ्कन भएको अनुभूति छ । सरकारलाई घुमाउरो पारामा अर्ती दिँदा जर्ती हुँदोरहेछ । सही मार्ग देखाउने हास्यव्यङ्ग्य साहित्यकार चाकडी, चाप्लुसी गर्न रुचाउँदैनन् । यसर्थ, यस्ता साहित्यकार सरकारी मूल्याङ्कनमा पर्दैनन् भन्ने मेरो धारणा छ । संस्कृति मन्त्रालयद्वारा प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कार यस धारणाको प्रमुख उदाहरण हो । जे होस् सोलोडोलोमा म सन्तुष्ट छु ।
० कृपया तपाइँको साहित्यिक सिर्जनाका जीवन–यात्राहरु बताइदिनुहोस् न ।
कुनै पनि साहित्यकारको जीवन–यात्रा भौतिक, आर्थिक, पारिवारिक, सामाजिक तथा सांस्कृतिक परिस्थिति र अवस्थासँग जोडिएको हुन्छ । मेरो साहित्य–सिर्जनाको जीवन–यात्रा १२–१३ वर्षको उमेरदेखि थालिएको हो तापनि २०३० सालसम्म अभ्यास, अध्ययन र अनुभव बटुल्दैमा र जागिरका निम्ति डुल्दैमा बित्यो ।
२०३० साल, असार ६ गते केन्द्रीय तथ्याङ्क विभागमा नियुक्ति पाएपछि मेरो प्रतिभाले मौलाउने मौका पायो र २०३१ सालदेखि साहित्यमा समर्पित हुँदै अगाडि बढेर २०३३ देखि आफ्नो साहित्यिक जीवन–यात्रामा अनेक उकाली, ओराली र देउराली पार गर्दै २०७९ सालसम्म आएको छु । यसरी चार दशक लामो समयचक्रमा मेरो साहित्यिक जीवन–यात्राले उन्नति, प्रगति र समुन्नतिका पाइला चाल्दै आएको अनुभव गरेको छु । यसबीचमा सिर्जना भएका र लेखिएका धेरैजसो लेख–रचना र सिर्जनाहरु सबैजसो राष्ट्रिय पत्रपत्रिका र पुस्तकहरुमा प्रकाशित छन् ।
आफ्ना प्रथम प्रेरणाका स्रोत माता–पितालाई गुमाउनुपर्दा बडा कडा पीडा हुँदोरहेछ । २०३९ सालमा मेरी ममतामयी माता वसुन्धरा थापा बित्नुभयो । मैले ‘कोराभित्र’ कविता–२०३९ को कारुणिक कविता सुनाउँदा नरुने मानिस भेटिएन । त्यसपछि मेरा विभिन्न रसका रचनाहरु प्रकाशनका लहरमा आउन थालेका हुन् । क्रमश: वसुन्धरा (कवितासङ्ग्रह–२०४५), धोती न टोपी(हास्यव्यङ्ग्य कविता सँगालो–२०४९), जापनी छन्दमा नेपाली कविता (सिद्धन्त र सिर्जना–२०६४), औचित्यवादका आलोकमा लेखनाथ र उनका कविता (समालोचना –२०६६), छत्तीस छन्दको छहरा(कवितासङ्ग्रह –२०६७), छन्दको छहारी (छन्दशास्त्रीय अध्ययन–२०७३), आलु–मुला (१०१ हास्यव्यङ्ग्य कवितासङ्ग्रह– २०७५), आँसुका धारा (प्रतिनिधिमूलक हाइकु/सुसेलीसङ्ग्रह– २०७६), जहाँ छन् बुद्धका आँखा (विविध छन्दका गीति–कवितासङ्ग्रह–२०७८), सुरिला नेपाली सुसेली (१०१ सुसेली सँगालो–२०७८) गरी १० ओटा कृति प्रकाशित छन् भने बाँकी ११ ओटा विभिन्न पुस्तक पनि तयारीमा रहेका छन् । अहिले म मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान र मञ्जुश्री साहित्यिक समाजको अध्यक्ष भएपछि साहित्य सिर्जना तथा सेवामा तल्लीन छु ।
० साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
मेरा कवितामा मानवता, राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता, प्राकृतिक सुन्दरता, स्वावलम्बन र मनोरञ्जनसँगै व्यङ्ग्यवाणको भावभूमि भेटिन्छ । साहित्यकारले राजनीतिभन्दा माथि उठेर व्यङ्ग्य तथा अन्य भावनाका रचनामार्फत नेपाली र विश्व समाजलाई स्वच्छ, स्वस्थ, सुन्दर तथा समृद्ध बनाउन र विकृतिको विनाशबाट बचाउन सुधार सापेक्षित सिर्जनात्मक सन्देश दिन सक्नुपर्छ भन्ने मेरो धारणा छ । यसका निम्ति सोझो अर्ती, उपदेश दिएर होइन, सान्दर्भिक विम्ब–प्रतीक र मिथकको प्रयोग गरी साहित्यभित्र राजनीतिक आग्रह समावेश गर्न सकिन्छ । साहित्यको प्रमुख उद्देश्य उज्यालो, कञ्चन र सौन्दर्यका निम्ति अँध्यारो, कुहिरो, कुरुप, कुशासन, दु:शासन र बेथितिका बिरुद्ध युद्धघोष गर्नु पनि हो ।
साहित्य र राजनीतिका निश्चित सीमा छन् तापनि केही उद्देश्यचाहिँ समान देखिन्छन् । आदर्शमय समाज, असल शासन, सुन्दर संसार रचना गर्नाका लागि खराब पक्षको अन्त्य, मानव जातिको सुख, शान्ति र समृद्धिमा वृद्धि, स्वतन्त्रता, समानता, एकतामूलक प्रजातन्त्रको स्थापना, विश्व मानव–कल्याणको कामना, विकास र निकासको चाहना चाहिँ साहित्य र राजनीति दुवै पक्षका समान उद्देश्यभित्र पर्दछन् । लोककल्याणकारी राज्य तथा समुन्नत समाजको परिकल्पना सिद्धिका निम्ति गरिने प्रयत्नमा पनि समान दायित्व देखिन्छ भने साहित्यका सहायताले ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को भावनालाई मूर्तरुप दिने अभियानमा उत्साह, उमङ्ग उत्पन्न गर्न सकिन्छ । जनचेतना जगाउन र परिस्थितिमा परिवर्तन ल्याउनका लागि साहित्य सशक्त माध्यम बन्न सक्छ तर यसका निम्ति कमनीय कला, कुशल कौशल र प्रतिनिधि प्रतिभाको सुन्दर समन्वय आवश्यक छ ।
० असल लेखक हुन केके गुणहरु आवश्यक हुन्छ ? तपाईंको विचार राख्नुहोस् ।
असल लेखक हुनाका निम्ति विषयवस्तुको गहन अध्ययन, विधागत विविध जानकारी, भाषा र शब्दहरुको भावमूलक ज्ञान, सम्बन्धित इतिहास, भूगोल, संस्कार, संस्कृति, समकालीन परिवेश, परिस्थिति, गतिविधि, साहित्यिक सिद्धान्तको अध्ययन, निरन्तर अभ्यास, साधना, सक्रियता आदि विशेषताहरु आवश्यक हुन्छन् । पाठकको रुचि, मनोदशा र चाहनाको ख्याल राखी धैर्यधारणका साथ समयसापेक्ष मौलिक, नैतिक र औचित्य ठहर गरी साहित्यमा संलग्न हुनु हरेक कवि, लेखक र साहित्यकारहरुको सामुहिक उत्तरदायित्व हो । कुनै पनि विधामा जे जस्ता रचना गरिए तापनि त्यो समयसापेक्ष र समाजसापेक्ष हुनुपर्छ र त्यसले कुनै न कुनै सकारात्मक सन्देश दिएको हुनुपर्छ । त्यसमा आफू बाँचेको जीवन र जगत्को विषयवस्तुका साथै आफ्नो देश, काल परिस्थिति र सामाजिक सेरोफेरो प्रतिविम्बित हुनु आवश्यक छ ।
विभिन्न सामाजिक, आर्थिक राजनीतिक चरित्र तथा मान्छेका प्रवृत्तिगत चरित्रबाट पनि प्रशस्त लेख्य सामग्री प्राप्त गर्न सकिन्छ तर लेखकले सिर्जना गर्दाखेरि उपयोगिता हेरेर भाषिक सरलता, सरसता, सहजताका साथै उचित उद्देश्य, कलात्मक सुन्दरता, यथार्थता र युगसापेक्षतालाई ध्यान दिनुपर्छ । मानवतावादी मान्यता, जीवनमूल्य र जगत्प्रतिको आस्था समावेश भएको साहित्यिक सिर्जना सर्वोपरि ठानिन्छ । आफ्ना गहन विचार, मार्मिक भाव, अनुभव र अनुभूतिलाई शब्दशक्ति, अर्थशक्ति, कल्पनाशक्ति र देशभक्तिसँगै कलात्मक प्रस्तुतीकरणको माध्यमबाट साहित्यकारले पाठक समक्ष परिचित हुने र लोकप्रिय बन्ने मौका पाउँछ । आफ्नो निजात्मक विशिष्ट शैली, भावप्रस्तुति र लेखनकलाको चमत्कारद्वारा लेखकले भिन्न पहिचान बनाएको हुन्छ । यही नै उसको लेखकीय सफल उपलब्धि हो ।
० लेखक स्वतन्त्र हुनुपथ्र्यो, यस भनाइप्रति तपाइँको धारणा के छ ?
लेखकले आफ्ना विचार, भावना र धारणा स्वतन्त्रतापूर्वक लेख्न, अभिव्यक्त गर्न र प्रकाशन गर्न पाउँछ । ऊ सदा स्वतन्त्र सर्जक पनि हो तर उसले आफ्ना वैचारिक धारणाभित्र बाँधिनुपर्छ । उसको हातमा शक्तिशाली कलम रहेको हुन्छ तर त्यो असत्य, भ्रामक, घातक र विखण्डकारी पक्षमा प्रयोग गर्न स्वतन्त्र हुँदैन किनकि व्यक्ति र सत्ताको प्रशस्तिगान गाउने, कुनै पनि धर्म, संस्कृतिका विरुद्ध बोल्ने र पार्टीका नारा लेख्नेलाई लेखक मान्न सकिन्न । स्वतन्त्रताको नाममा बेथिति, विकृति र विखण्डन निम्त्याउने छुट कसैलाई पनि छैन । आफ्नो साहित्यिक मर्यादामा रहेर कलात्मक पाराले अभिव्यक्ति दिन र कुरीतिप्रति प्रहार गर्न हिजो पनि कवि–लेखकहरु स्वतन्त्र थिए, आज पूर्ण स्वतन्त्र छन् र भोलि पनि स्वतन्त्र रहनेछन् भन्ने मेरो धारणा छ । उदाहरणका निम्ति शहीद–दिवस २०४२ सालमा रचित, वाचित र प्रकाशित तथा २०४५ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहायताद्वारा प्रकाशित मेरो ‘वसुन्धरा’ कविता–सङ्ग्रह, पृष्ठ १५–१६ भित्रको एउटा कवितांश प्रस्तुत गर्छु –
यो निरङ्कुशता माथि म अङ्कुश लगाउँछु
भ्रष्ट शासन गर्नेको सिंहासन डगाउँछु ।
म प्रजातन्त्रका लागि आत्माको दिन्छु आहुति
सल्काई क्रान्तिको राँको शिवको गर्छु आरति ।
हिमाली टाकुराबाट भ्रष्टतन्त्र गिराउँछु
नेपाली जनतालाई सुख–शान्ति दिलाउँछु ।
आमाको पाउमा दिन्छु शान्तिको जल निर्मल
आमाकै हातमा दिन्छु पौरखी कर्मको फल ।।
० तपाईं नेपाली साहित्यका परिचित लेखक तथा चर्चित हास्यव्यङ्ग्य कवि हुनुहुन्छ । राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
प्रकाशित रचनाका आधारमा मेरो साहित्यिक यात्राको थालनी ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यव्यङ्ग्य कथाबाट भएको हो । नेपाली साहित्यमा हास्यव्यङ्ग्य कविता, गीत, गजल, कथा, निबन्ध, नाटक आदि लेख–रचनाको उच्च स्थान छ र सर्वाधिक लोकप्रिय रहेको पनि पाइन्छ । साहित्यमा विभाव, अनुभाव र सञ्चारी भावको संयोजनबाट प्रस्तुत हुने अनुभूतिगत नवरस मिसाएर बाङ्गो शैलीमा सिर्जना गरिने परम आनन्दमय रसभाव हो– हास्यव्यङ्ग्य । पौरस्त्य साहित्यमा ‘हास्य’ रसलाई चौथो कित्तामा र व्यङ्ग्य वा ध्वनिलाई प्रथम दर्जामा राखिएको छ तापनि हास्यरसको वाणीमा व्यङ्ग्यवाणको मात्रा मिलाएपछि सर्वोत्तम रसको सिर्जना हुन्छ । पाश्चात्य साहित्यमा हाँसो (ह्युमर) लाई सर्वोच्च स्थान प्रदान गरिएको पाइन्छ र हाँसने घरको निर्माण भएको देखिन्छ ।
नेपाली साहित्यमा हास्यव्यङ्ग्य कविताको थालनी आदिकवि भानुभक्त आचार्यबाट भएको हो । कुमारीचोक अड्डामा भानुभक्तले जागिर खाँदा ढुङ्गाको हरहिसाब दुरुस्त नराखेको अभियोगमा थुनामा परेका बखतमा राणाजीले के छ ? कस्तो छ ? भनी सोधनी गर्दा यसरी उनले जवाफ दिएका थिए :
रोज्रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छू ।
लाम्खुट्टे, उपियाँ, उडुस सँगी छन् यिन्कै लहड्मा बसी
लाम्खुट्टेहरु गाउँछन् ति उपियाँ नाच्छन् म हेर्छु बसी ।।
राणाकालीन समयमा यसप्रकारले व्यङ्ग्यवाण प्रहार गर्नु नेपाली कविताको प्रथम उपलब्धि हो भने भानुभक्त हास्यव्यङ्ग्य कविताका पनि प्रथम कवि ठहरिन्छन् । भानुभक्तले रामायण लेखनका सिलसिलामा कलियुगको वर्णन गर्दा हास्यव्यङ्ग्य कविताको सिर्जना गरेको भेटिन्छ भने उनका अन्य (फुटकर) कवितामा पनि हास्यव्यङ्ग्यको भाव झल्किएको देखिन्छ ।
यसरी नेपाली साहित्यको प्राथमिक कालमा हास्यव्यङ्ग्य कविताको उत्पत्ति र उल्लेखनीय उपलब्धि प्राप्त भएको पाइन्छ भने माध्यमिक कालमा पनि शृङ्गारिक धारासँगै विकास भएको मोतीरामका कवितामा पनि हास्यव्यङ्ग्य भेटिन्छ । आधुनिक कालमा आएर लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा आदिले हास्यव्यङ्ग्य भावलाई प्राथमिकता दिएको देखिन्छ भने यस क्षेत्रका कवि र कविताको लर्को लागेको छ तर छन्दमा हास्यव्यङ्ग्य कविता रचना गर्ने कम देखिन्छन् । यही कममध्ये मेरो ‘धोती न टोपी’ – २०४९ र ‘आलु–मूला’ – २०७५ देखिएका छन् । मैले १०१ हास्यव्यङ्ग्य कवितामा कुनै पनि नेता, व्यक्ति, पार्टी र देशको नाम उल्लेख गरेको छैन । केवल विकृति, विसङ्गतिगत प्रवृत्तिमाथि प्रहार गरेको छु । यस्ता कविता जहिले पनि समसामयिक र शाश्वत हुँदारहेछन् । वर्तमान परिस्थितिमा हास्यभन्दा व्यङ्ग्यको विकास भएको छ ।
नेपाली हास्यव्यङ्ग्य साहित्यका शिरोमणि भैरव अर्यालसँगै केशवराज पिँडाली, भूतको भिनाजु, श्याम गोतामे, रामकुमार पाँडे आदिले हास्यव्यङ्ग्य साहित्यलाई उचाले । साहित्यका हरेक विधामा हास्यव्यङ्ग्यले नुन, खुर्सानी र अचारको काम गर्छ र विषयवस्तुलाई स्वादिलो बनाउँछ । हास्यव्यङ्ग्य साहित्य ख्यालठट्टा, हाँसो र खेलाँचीको विषय नभएर गम्भीर अभिव्यक्तिको सशक्त माध्यम हो । थोरैमा धेरै गहन भाव व्यक्त गर्न र समेट्न सकिने विशिष्ट सिर्जना हो हास्यव्यङ्ग्य साहित्य । यसको सिर्जना गर्नाका निम्ति अनौठो दृष्टिकोण, गहन चिन्तन, विशिष्ट कलाकौशल र चामत्कारिक प्रतिभाको आवश्यकता पर्दछ । यसर्थ, जो कोहीले यस विषयमा कलम चलाउने आँट गर्दैनन् । साहित्यमा नवै प्रकारका रसको उत्तिकै महत्व हुन्छ तर साहित्यका सबै विधामा हास्यव्यङ्ग्य शैली बढी आकर्षक हुन्छ । आनन्द प्रदान गर्ने, समाजलाई सचेतना दिलाउने, राजनीतिलाई सही बाटोमा हिँडाउने खालका साहित्यको खाँचो, राष्ट्रिय गहनता र आवश्यकतालाई बुझेर मैले कलम चलाएको थिएँ, चलाउँछु र चलाउने छु ।
० नेपालका प्रज्ञा–प्रतिष्ठानहरु लेखक, कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपथ्र्यो तर त्यसो नभई सरकारकोकार्यालयजस्तो भयो । यस भनाइप्रति तपाईंको टिप्पणी के छ ?
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठान र कला प्रतिष्ठान कवि–लेखक, साहित्यकार, गीतकार, सङ्गीतकार, नाट्यकार तथा कलाकारहरुका निम्ति स्वतन्त्र प्रतिष्ठानका रुपमा हुनुपथ्र्यो र हुनुपर्छ तर यसो हुन सकेको छैन । त्यहाँको गतिविधि हेर्दा नेपाल सरकारको कार्यालयजस्तो देखिन्छ । प्रतिष्ठानले साहित्य कला र संस्कृतिको संरक्षण र संवद्र्धनका निम्ति ठोस उपलब्धि हासिल गर्नुपर्ने हो तर नेपाल प्रज्ञा–प्रतिष्ठान स्वतन्त्र छैन र सीमित बजेटका कारण उचित कार्यक्रम सञ्चालन गर्न असमर्थ देखिन्छ । खोज–अनुसन्धान र पुस्तक प्रकाशनको समुचित व्यवस्था गर्न सक्नुपथ्र्यो । राजनीतिकरण गर्नु हुँदैनथ्यो । प्रतिष्ठानहरु स्वायत्त संस्थाका रुपमा विकसित हुनुपर्नेमा सरकारी बजेट कुरेर बस्नुपर्ने अवस्थामा छ । हिजो राजा कुलपति तथा संरक्षक हुन्थे भने आज प्रधानमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको मातहतमा रहेको सरकारी शाखा कार्यालयजस्तो भएको छ र निगाहामा प्रतिष्ठान चलेको छ ।
यसो हुनाले प्रतिष्ठानका कुलपति, उपकुलपति, सचिव र प्राज्ञ सदस्यहरुको नियुक्तिमा समेत राजनीतिक भागबन्डा गरिएको पाइन्छ । यसर्थ, प्राज्ञहरुप्रतिको गरिमा, आस्था, श्रद्धा र विश्वास गिरेको अवस्था छ । धेरैजसो स्वाभिमानी साहित्यकारहरु उपेक्षित छन् । जीवन धान्न धौधौ हुने सक्षम र योग्यता–सम्पन्न साहित्यकार पछाडि परेका छन् भने हामीजस्ता विशुद्ध साहित्यिक प्रतिभा, मध्यमवर्गीय आर्थिक अवस्था भएका सामाजिक मर्यादामा रहेका र स्वाभिमानी साहित्यकाहरुले राजनीतिक पहुँच नहुँदा टुलुटुलु हेरेर बस्नुपर्ने परिस्थिति बनेको छ । जबसम्म प्राज्ञिक प्रतिभा, दक्षता, क्षमता र योग्यतालाई राजनीतिक भागबन्डामा विभाजन गरेर नियुक्त गरिन्छ तबसम्म प्रज्ञा–प्रतिष्ठानको प्रतिष्ठामा आँच आउँछ र भाषा, साहित्य कला, संस्कृति र सङ्गीतको संरक्षण तथा उन्नति, प्रगति र समुन्नति पनि सेलाउँछ भन्ने मेरो ठहर छ ।
० जीवनमा कहिल्यै कठिनाइ अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
सांसारिक चक्रमा जीवन घुमेको हुन्छ र कठिनाइको कठघरामा बाँचेको हुन्छ तापनि मेरो लेखकीय जीवनमा पर्ने समस्यालाई कविताले टारेको छ । साहित्य सिर्जना र समाजसेवामा नलागेका, शैक्षिक योग्यता नभएका र पैत्रिक सम्पति पनि नभएकाले पाएको पगरी, भौतिक प्रगति र आर्थिक उन्नति गरेको देखेपछि कहिलेकाहीँ त ‘लेखेर पो ! हुन्छ के’ भनेजस्तो लाग्छ तर जब आफू ज्ञान र कल्याणको मार्गमा लागेर साहित्यसेवा, सिर्जना र सर्वजनहितायको बाटो समातेको अनुभव हुन्छ तब आफू धेरै अगाडि परेको अनुभूतिले उत्साह थपेको हुन्छ । यसो हुनाले आपद्, विपद् र समस्याग्रस्त समयमा पनि लेखनमा मेरो कलम रोकिएको छैन तर रोकिन सक्ने अवस्थाहरु भने आएका थिए ।
मैले २०५५ सालमा विद्यावारिधिका निम्ति ‘दार्शनिक चिन्तनका कसीमा तरुणतपसी’ विषयमा प्रस्तावना–पत्र तयार पारेँ तर म साहित्यको विद्यार्थी हुनाले दार्शनिक चिन्तन छोडेर ‘लेखनाथका कवितामा नैतिक पक्ष’ पक्रिएँ । नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान शाखामा मेरो प्रस्ताव पारित भयो । यो भवसागर तर्ने बाटो खोज्दै जाँदा नेपालीमा नीतिपरक साहित्यका निम्ति सैद्धान्तिक आधार भेटिएन । म रन्थनमा परेँ । रेडियो नेपालको साहित्य संसार, हाम्रो संस्कृति हाम्रो परम्परा तथा मेचीकाली कार्यक्रम संयोजन र सञ्चालनका साथै ‘झङ्कार’ मुखपत्रको प्रधानसम्पादक र पारिश्रमिक निर्धारण तथा सम्पादन समितिको सचिवको जिम्मेवारीसँगै समग्र लेख–रचना र गीतहरुको पनि सम्पादन र स्वीकृति गर्ने जिम्मेवारी पनि छँदैथियो । थापाथलीमा एउटै घरमा १७ वर्ष बसेको कोठा छोड्नुपर्ने वाध्यता आइलाग्यो । त्यसपछि ३–३ महिनामा डेरा सर्नुपर्ने अवस्था पनि आयो । धैर्यपूर्वक अध्ययन, अनुसन्धान गर्ने समय र अनुकूल वातावरण मैले पाउन सकिन तापनि मेरो मन–मस्तिष्क लेखनाथ र उनका कवितामा तल्लीन थियो । यही सिलसिलामा एक दिन रेडियो नेपालमा प्रा. जगन्नाथ त्रिपाठीसँग भेट भयो । नीतिका विषयमा उहाँसँग मैले अन्तर्वार्ता लिएर ‘झङ्कार’ अर्धवार्षिक मुखपत्रमा प्रकाशन गरेँ ।
त्यसपछि मैले सपनामा लेखनाथ पौड्यालको दर्शन पाएँ । आफ्नो विषयवस्तुको जानकारी दिएँ । उहाँले के भन्नुभयो भने दार्शनिक र नैतिक पक्ष मेरा कविताका दुई पाटा हुन् । त्यसमा एउटा पाटो पक्रिनुभएछ कार्यसिद्धि होस् । मेरो आशीर्वाद छ । त्यहाँदेखि नीतिका सैद्धान्तिक सामग्री फटाफट भेटिन थाले । अध्ययन गर्दै जाँदा नीतिशास्त्रमा के भेटियो भने, मानिस तीन प्रकारका हुन्छन्– असक्षम, मध्यम र उत्तम । असक्षमले कुनै पनि गहन कार्यको थालनी गर्ने आँट गर्दैन । मध्यमले काम गर्ने आँट गर्छ तर बीचमा कुनै बाधा–व्यवधान खडा भयो भने चटक्कै छाडिदिन्छ । उत्तम पुरुषले कुनै पनि उपलब्धिमूलक काम गर्ने आँट गर्छ र आँटेपछि जस्तोसुकै अड्चन, बाधा र व्यवधान खडा भए पनि फत्ते नगरी छोड्दैन । यस नैतिक सन्देशले मलाई परम प्रेरणा प्रदान गर्यो । मैले २–३ पटक पन्छाउन आँटेको अनुसन्धानलाई फत्ते गरेरै छाड्छु भन्ने प्रबल आँट, हौसला र दृढ प्रतिज्ञा जगायो अनि म निरन्तर अध्ययन, अनुसन्धान र लेखनकार्यमा लागेँ, अनुकूल वातावरण पनि बन्दै गयो । विद्यावारिधिको उपाधि पनि प्राप्त गर्न सफल भएँ ।
त्यसपछि मलाई के लाग्न थाल्यो भने म थापा क्षत्रीको छोरा मात्र होइन, उत्तम पुरुष पनि हुँ, सचेत लेखक, कवि र समालोचक पनि हुँ । मसँग शब्दसङ्गीत र कलमको शक्तिशाली औजार छ, जसले युगीन अन्धकारलाई हटाएर धर्तीमा स्वर्णिम बिहानी ओराल्न सक्ने क्षमता राख्छ । यदि मेरो कलम रोकियो भने मलाई सहजरुपमा बाँच्न कठीन हुन्छ । मेरो जीवनबाट सिर्जनात्मक शब्दशक्ति र राष्ट्रभक्तिको भावना अलग गराइदिने हो भने म शून्यमा शून्यसरि बिलाउँछु । मसँग शक्तिशाली कलम छ र त प्रबल आत्मविश्वास पनि छ । मलाई आफू कवि, गीतकार, लेखक र समालोचक भएकामा गौरव छ, दृढ अठोटका साथ अगाडि बढ्ने साहस, उत्साह र उमङ्ग प्राप्त भएको छ र आनन्द पनि मिलेको छ । यसर्थ, लेखकीय जीवनबाट निराश, कुण्ठित र पीडित हुनुपर्ने कुरै छैन । सानैदेखि धैर्यधारण गर्ने अभ्यास, मनलाई केन्द्रित र एकीकृत गर्ने बानी र नीतिपरक साहित्यको अध्ययन, अनुसन्धान र लेखनाथका कविताको प्रभावले गर्दा ज्यान गए पनि आफ्नो अठोट र उद्देश्य नछोड्ने दृढ विश्वास जागेको छ । यो मेरो जीवनको उल्लेखनीय उपलब्धि हो ।
० दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरुबारे केही जानकारी दिनुहुन्छ कि ?
मेरो दिनचर्या सामान्य र आनन्दमय छ । पहिलेदेखि अहिलेसम्म बेलुका ९–१० बजे सुत्ने र बिहान ३–४ बजेभित्र उठ्ने तथा खाना खाँदा बिहान ९–१० बजे र बेलुकी ६–७ बजेभित्र चुठ्ने बानी रहेको छ भने दाँत माझेर सुत्ने बानी पनि छ । दिउँसो र बेलुकी प्राय: लेखनमा भन्दा देखनमा रमाउँछु । यदि यो समयमा सिर्जनात्मक लेखन भयो भने त्यसलाई बिहान उठ्नासाथ सम्पादन वा परिमार्जन गर्छु । अधिकांश मेरा सिर्जना र लेख–रचना बिहानको ब्रह्मुहूर्तमा लेखिएका छन् । बिहान ६ देखि ७ बजेसम्म पाञ्चयन, सरस्वतीस्तोत्र, भगवतीस्तोत्र, सूर्यास्टकम र शनिको पाठ गर्छु र सामान्य ध्यान र व्यायाम पनि गर्छु अनि केही खाएर बिहानको डुलाइमा निस्कन्छु । ८ बजे घर आएर केही बेर मोबाइलमा मेसेन्जर, फेसबुक, भाइबर र कम्प्युटर हेर्छु र चलाउँछु । यसरी बिहानको समय बिताउँछु । दिउँसो मञ्जुश्री साहित्यिक समाजको पुस्तकालय तथा वाचनालयमा बसेर पढ्ने, लेख्ने लगायत आवश्यक घरायसी तथा संस्थागत काम गर्छु । कहिले विभिन्न साहित्यिक कार्यक्रमहरुमा संलग्न हुन्छु भने कोभिड–१९ ले भिœयाएको गुगल र जुम प्रविधिमैत्री (भर्चुअल) कार्यक्रममा पनि समावेश हुन्छु । कहिले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको काममा लाग्छु । मौका मिलेसम्म बेलुकी पनि ५–६ बजे रानीवन घुम्न छोड्दिन । यसरी मेरा दिनहरु बितेका छन् ।
० तपाइँको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरु छन् भने कृपया बताइदिनुहोस् न ।
जीवन तीता–मीठा क्षणहरुको मिश्रण हो । त्यसमा कुनै प्रेरणादायक क्षण पनि हुन्छन् । प्रवेशिका परीक्षा उत्तीर्ण हुँदाको क्षण, पहिलो पटक नियुक्तिपत्र प्राप्त गर्दाको क्षण र पहिलो पुरस्कार हात पर्दाको क्षण अविस्मरणीय हुन्छन् । बिर्सेर पनि बिर्सन सकिन्न । त्यस्तै सपनाका क्षणहरु पनि अचम्मका हुन सक्छन् ।
२०३९ सालको सपनामा घुम्दै जाँदा ठूलो स्वामीको रुखमुनि मैले एउटा कालो प्लेट पाएँ (एक्सरेको जस्तो) । प्लेट उठाएर घामतिर फर्काएर हेर्दा मन्दाक्रान्ता छन्दमा पाँचओटा श्लोक संस्कृत भाषामा लेखिएका अहिलेको पावर प्वाइन्टमा जस्तै स्पष्ट देखेँ, सर्सर्ती ती श्लोकहरु पढेर भावग्रहण गरिसकेपछि फेरि अर्का पाँच श्लोक आए । यही रीतले ६ पटकमा ३० ओटा श्लोक पढेपछि अन्त्यमा कविको नाम पनि आयो तर सत्र अक्षरभन्दा बढी अक्षरको नाम भएकाले नाम टिप्न वा सम्झन सकिनँ तर ३० ओटा श्लोकको भाव, सुन्दर अक्षर र शैली अहिले पनि सम्झन्छु । व्यूँझदा २ बजेको रहेछ । ती संस्कृत भाषाका श्लोकहरुलाई नेपाली भाषामा उही छन्द पक्रिएर उतार्न थालेँ । बीस ओटा श्लोक उतार्दा बिहानको बेला बितेछ । हतारहतार खाना तयार गरी खाएर राष्ट्रिय कम्प्युटर केन्द्र, सिंहदरबारमा हाजिर भएँ । बाँकी १० ओटा श्लोकको भावले छाती भारी भएको थियो । कार्यालयमा बसेर कुनै दिन कविता नलेखेको भए तापनि त्यो दिन कौसीमा गएर ती १० ओटा श्लोकलाई पूरा गरी ६ ओटा शीर्षक दिएर विभाजन गरेपछि बल्ल आनन्दको अनुभूति भयो ।
२०४२ साल, फागुन पूर्णिमाको बिहान ३ बजेतिरको सपनामा म तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको ठूलो हलमा पुगेँ । मेरो अगाडि एउटा मात्र खाली सिट रहेछ र त्यसैमा बसेँ । त्यो राष्ट्रिय कविसम्मेलन रहेछ । वाचन गर्दै गरेको कवितापछि मेरो नाम उद्घोष भयो । सरासर गएर माइक समातेर कविताको शीर्षक भनेँ र अनुष्टुप् छन्दमा १० ओटा श्लोक मुखाग्र सुनाएँ । कर्तलध्वनिले हल गुञ्जियो । म झल्याँस्स व्यूँझिएँ र अक्षरस त्यो कविता उतार्छु भनेर कस्सिएँ तर अनुष्टुप् छन्दमा उतार्न अलि कठीन भयो र असारे/झ्याउरे लोकछन्दमा पूरै शब्द र भाव उतारेँ । त्यसलाई ‘वसुन्धरा’ कवितासङ्ग्रह–२०४५ मा ‘मेरो सपना’ शीर्षक दिएर प्रकाशन गरेको छु । उक्त कविताको थालनी यस्तो छ –
बियो र कोल, ढिकुवा, कात्री म आफैँ बन्दछु
पेलिन्छु अनि यै कोलभित्र तेल मै बन्दछु ।
यै तेल घसी आमाको आँत सुधार गर्दछु
नराखी आशा आमाकै सेवा, सुसार गर्दछु ।। – वसुन्धरा, पृष्ठ : ४०
यसरी सपनामा कविता, कथा लेखिएका, देखिएका र परिघटना भोगिएका छन् भने मेरो साहित्यिक जीवनमा यस्ता अविस्मरणीय क्षण धेरै आएका छन् ।
० भविष्यमा तपार्इंको के योजना छ ?
विकसित मोबाइलको आगमनले गर्दा पुस्तक पढ्ने, लेख्ने, पढाउने, पुस्तकालय धाउने परम्परामा पहिरो गएको देखिन्छ तापनि निकट भविष्यमा जहाँ छन् बुद्धका आँखा (गीति कविता–सङ्ग्रह) प्रकाशनपछि लेखनाथका रचनाको विवेचना (समालोचना–प्रबन्ध) दुई सयप्रति आफूले पाउने सर्तमा प्रकाशन गर्न दिने विचारमा छु । त्यसै गरी विवेचनाको बिस्कुन (समालोचना–सङ्ग्रह) पनि दिने सोच आएको छ । शास्त्रीय छन्दका छाँगा कविता–सङ्ग्रह तथा छन्द–शतक (कोशकाव्य) पनि प्रकाशनका लागि उपयोगी हुने ठानेको छु । बाल–कविता र कथासङ्ग्रह पनि प्रकाशनका निम्ति दिन खोजेको छु । क्रमश: आफ्ना पुस्तकहरु प्रकाशन गर्नु, नेपाली शिक्षा परिषद् र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान तथा मञ्जुश्री साहित्यिक समाजको उन्नति, प्रगति र समुन्नतिका निम्ति सक्दो योगदानसँगै नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याएका तर ओझेलमा परेका साहित्यकारहरुको सही मूल्याङ्कन गरी सक्दो सम्मान तथा पुरस्कार प्रदान गर्दै जाने चाहनाबाहेक अरु कुनै योजना छैन ।
० तपाईंको कुनै खास अम्मल छ कि ?
१३–१४ वर्षको उमेरदेखि बिहान–बेलुका तमाखु खाने बानी मेरा बुबाले बसाइदिनुभयो । तमाखु भरेर बुवालाई टक्र्याएपछि आफैँले तानेर पगार्न पथ्र्यो अनि बुबाको धित मरेपछि मैले त्यो तमाखु निखार्ने गर्थेँ । बुबाको र मेरो तमाखु खाने नली छुट्टाछुट्टै थिए । नली लगाएर तमाखु तानेपछि अति आनन्द आउथ्यो अनि विचार पनि फुथ्र्यो । २०२९ साल, चैत १२ गते काठमाडौँ आएपछि चुरोट खाने बानी बस्यो । दिनको ५–६ खिली चुरोट नियमित थियो । २०३२ साल, साउन १ गतेदेखि चुरोटको भाउ चुलिने छ भनी बजेट भाषण आयो । मैले उक्त मितिदेखि चुरोट नखाने प्रतिज्ञा गरेँ । दृढ सङ्कल्प गरेको हुनाले त्यहाँदेखि आजसम्म मैले चुरोट तानेको छैन । साहित्य सिर्जना गर्ने र साहित्यिक रचना पढ्नेबाहेक अन्य मेरो खास अम्मल छैन ।
० तपाइँको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथी–सङ्गति सम्बन्धमा ।
मलाई बोकाको मासु मनपर्छ । घैयाको भात, मासको दाल, बकेर्नो भैँसीको दूध, घिराम्लाको तरकारी र तिलको अचार ज्यादै स्वादिलो लाग्छ र फापरको ढिँडोसँग मह मिलाएर खाँदा औधी मीठो लाग्छ तर भान्छामा पाकेको जे पनि मीठो लाग्ने हुनाले खानाको शौखिन म होइन । मौकामा लौका र बन्दा मेरो रोजाइमा पर्छन् । मैदा र त्यसबाट बनेका परिकारदेखि म टाढा रहन्छु । मिठाइमा मेरो मन जाँदैन । सबैजसो साग, सलाद र फापरको ढिँडो पाए पुग्छ । खानका निम्ति म श्रीस्वस्थानीको नवराज मानिएको छु ।
पहिलेदेखि अहिलेसम्मका मेरा धेरै साथी छन् तर अन्तरङ्ग साथी थोरै छन् । प्रल्हाद पोखरेल, श्रीरामसिंह बस्नेत, सीताराम अधिकारी, भुवनहरि सिग्देल, कृष्णप्रसाद दाहाल, शैलेन्दु प्रकाश नेपाल, श्रीहरि फुयाँल जस्ता केही आत्मीय सहकर्मी साथी छन् तर दैनिक भेटघाट हुँदैन । सानादेखि ठूलासम्मका सबैसँग घुलमिल हुने र ख्यालठट्टा गर्ने मेरो स्वभाव भएकाले आफन्त, दाजुभाइ, दिदीबहिनी सबैसित मित्रता राख्छु । विशेष गरी साहित्यकार मित्रहरुसित साहित्यका सम्बन्धमा छलफल गर्न रुचाउँछु । विभिन्न साहित्यिक कार्यक्रमहरु, भेटघाट र भलाकुसारीको अवसरलाई सकेसम्म समय दिन मन लाग्छ । खानपिनका लागि परको भन्दा घरको परिकार खान आनन्द लाग्छ । अचेल त मोबाइल पनि प्रिय साथी बनेको छ ।
० रोगव्याधीले कत्तिको सताउने गर्छ ?
मैले २०५८ सालदेखि मधुमेहरुपी सुगर, २०६८ देखि रक्तचापमय प्रेसर, पोस्टेड र बोसोरुपी कोलेस्ट्रोलजस्ता घातक पाहुनालाई ओखतीका गोली खुवाएर पालेको छु । यी सबै आगन्तुकलाई सन्तुलनमा पनि राखेको छु । अलिकति मात्रा मिलेन भने मधुमेहका मुखियाले सताउन थाल्छन् । २०७५ सालमा उक्त मुखियालाई नियन्त्रण गर्न सकिएन र सैनिक हस्पिटल, छाउनीमा शरण लिन पुगेँ । पाँच दिन त्यहाँ बसेर इन्सुलिनको सुइराले घोचेपछि मधुमेहको मुखिया तहमा ल्याएको छु । रोगरुपी पाहुनाहरु खुशी राख्न सकिएन भने कहिले देब्रे पातो, कहिले दाहिने पातो पक्रिएर सातो लिन्छन् । पथपरेजमा रहेर अणु, परमाणु र जीवाणुसँग भिडेको हुनाले सबैलाई पछारेको छु । कोभिड–१९ का पल्टन तीन पल्ट आउँदा पनि म जोगिएको छु । डेंगुले पनि मलाई डेग चलाउन सकेन । मेरो नामै बम त्यसमाथि बहादुर त्यसमा पनि जिताली भएर हो कि अहिलेसम्म रोग, भोक र शोक बोकेर आएका सिपाहीलाई गोली र पेस्तोल पेलेर परास्त गर्न सफल भएको छु । मेरो नाम सुन्दैमा मलाई सताउनेहरुको सातो गएजस्तो लाग्छ ।
० अन्तमा, जनमत र पाठकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
जनमत पत्रिका पहिले पन्ध्र दिने थियो भने अहिले २०४५ साल, माघदेखि मासिक रुपमा निजीस्तरबाट निरन्तर प्रकाशन हुँदै ३०० भन्दा बढी अंक बजारमा आउनु भनेको चानेचुने कुरा होइन । साहित्य सिर्जनासँगै समग्र वाङ्मयको संरक्षण, संवद्र्धन, प्रकाशन, पठनीय सामग्री संकलन गर्नु भारेभुरे कार्य होइन र सानोतिनो परिश्रमबाट सम्भव पनि छैन । यसका निम्ति प्रधान सम्पादकलाई सबै साहित्यकार तथा सरकारले सलाम गर्नैपर्ने देखिन्छ ।
उत्कृष्ट लेख–रचना संकलनको समस्या र विज्ञापनको अभाव हुनाले प्रकाशनमा व्यक्तिगत समय र आर्थिक लगानी गर्नुपर्ने बाध्यता, भोग्नुपर्ने सकस र बिक्री–वितारणको झमेला खेपेर वर्तमान अवस्थामा निजी संस्थाबाट नियमित साहित्यिक पत्रिका चलाउने प्राय: सबैजसो सम्पादक वा प्रकाशकको साझा समस्या हो । यस्तो परिस्थितिमा पनि साहित्यिक पत्रकार, लेखक, कवि, सम्पादक तथा प्रकाशक मोहन दुवाल निरन्तर ४० वर्षसम्म खटेर, डटेर चार दशकभन्दा बढी समय खटेर प्रकाशन गर्ने क्षमता, दक्षता, योग्यता र धैर्य राखेर सबैजसो साहित्यकारको जनमत, समर्थन र सम्मान प्राप्त गर्न सफल भए तापनि सरकारी स्तरबाट उहाँको सही मूल्यांकन भएको देखिन्न ।
नेपाली साहित्यको सेवामा समर्पित मोहन दुवालजस्ता साधक श्रद्धाका पात्र हुन् । निष्ठापूर्वक सादा जीवन उच्च विचारका साथ जनहितमा खटेर, डटेर सदा सेवा, साधना, सम्पादन, सम्मान र प्रकाशनमा निरन्तर लागेकै हुनाले जनमत मासिकले नेपालका सबैजसो जिल्ला, अञ्चलका साथै विश्व नेपाली साहित्यका क्षेत्रमा फैलिने मौका पाएको हो । नवोदितदेखि प्रतिष्ठित साहित्यकारसम्मका लेख–रचना र सिर्जनात्मक विचार समेटेर पाठकसमक्ष जनमत पुर्याउन सक्नु उल्लेखनीय उपलब्धि हो । यसर्थ, प्रस्तुत पत्रिका र यसका प्रधान सम्पादकलाई हार्दिक बधाई दिन्छु । युगयुगसम्म सम्पादकीय कीर्ति फैलिरहोस् ! म यही शुभकामना व्यक्त गर्दछु ।