केन्द्रीय कारागारमा धेरै विभागहरु हुन्छन् । उदाहरणका लागि कैदीहरुलाई छुट्टाछुट्टै पारेर राखिने कक्षलाई ‘डफ्फा’ भनिन्छ । यसभन्दा तल कारागारमा प्रयोग हुने केही शब्दको चर्चा गरिएको छ :
लेखक डफ्फा : यस्तो कक्षमा ती बस्छन्, जो पढ्न लेख्न जान्दछन्, अफिसमा काम गर्छन्, अरुका लागि चिठी लेखिदिन्छन्, हिसाबकिताब राख्छन्, अरुका लागि अपिल लेखिदिन्छन्, निवेदन लेख्छन् तथा चिठी बाँड्छन् । कुनै पनि कैदीले कारागारमा कति दिन बिताइसक्यो, त्यसको हिसाब राख्छन् । कारागारमा आपूर्ति गरिएको औषधिको अनुपातको पनि लेखाजोखा राख्छन् । एकजना अधिकारीलाई सघाउनका लागि एक वा दुई लेखक खटाइएको हुन सक्छन् । यिनले अधिकारीलाई सघाउनुपर्ने हुन्छ । भण्डारमा मौजुद सामानको हिसाब राख्छन् तथा सम्बन्धित अधिकारीको हस्ताक्षर लिएपछि उक्त सूची ठेकेदारहरुलाई पठाइन्छ । र यहाँ हुने अधिकांश समस्याका लागि जिम्मेवार पनि यिनै व्यक्ति हुने गर्छन् ।
चौकी डफ्फा (भान्सा विभाग) : यो त्यो ठाउँ हो जहाँ कैदीहरुका लागि खाना पकाइन्छ । हिन्दू र मुस्लिम कैदीका लागि छुट्टाछुट्टै भान्साको व्यवस्था हुन्छ । यस कक्षमा पनि धेरै कैदीलाई खटाइएको हुन्छ । उनीहरु पानी ल्याउँछन्, तरकारी र माछा काट्छन्, खुर्सानी पिँध्छन्, खाना बाँड्छन् । समग्रमा, खानासँग सम्बन्धित सबै काम यसै कक्षमा गरिन्छ । तर श्रेणी दिइएका कैदीहरुको भान्सा छुट्टै हुन्छ । यहाँ श्रेणी भन्नाले कारागारबाहिरको संसारको विशिष्ट ओहदा भएका मानिसहरुलाई दिइने दर्जा हो । यस्ता मानिसहरु पढेलेखेका र सबैले मान गर्ने हुने गर्छन् । यस्तालाई मात्रै यस प्रकारको श्रेणी दिइन्छ । अर्को शब्दमा भन्ने हो भने यिनीहरु नै कारागारभित्रका एलिट हुन् । यिनीहरुलाई ‘श्रेणी २’ का पनि भनिन्छ । श्रेणी १ पनि हुन्छ, जसमा मुद्दा विचाराधीन भएका अभियुक्तहरु पर्छन् । त्यसपछि श्रेणी ३ का अभियुक्त रहन्छन्, जुन साधारण कैदीहरु हुन् । यसरी श्रेणी तोकिएका कैदीलाई जुत्ता, कपडा, ओछ्यान र झुल दिइन्छ । कारागारमा हैकम चलाउन खोज्ने यिनीहरु नै हुन् । यो किन भने यी पढेलेखेका र धनीमानी परिवारबाट आएका हुन्छन् अथवा घुसखोरीको अभियोग लागेर जेल परेका सरकारी अधिकारीहरु हुन्छन् । यिनका लागि भोजन छुट्टै स्थानमा बनाइन्छ । उनीहरुलाई आम कैदीलाई दिइने भन्दा माछोको अलि ठूलो गिँड, अलि बढी सब्जी र अन्य परिकार पनि अलि बढी दिइन्छ । एक प्रकारले भन्न सकिन्छ, यी सुखी कैदीहरु हुन् । चौकी डफ्फामा काम गर्न खटाइएका मेट र कैदीले अरुतिर खटाइएका कैदीभन्दा बढी काम गर्नुपर्छ । तर खानका मामलामा उनीहरुले धेरै समस्या भोग्नु पर्दैन । उनीहरु झुक्याएर आफैँ झिकेर खाइरहन्छन्, र कहिलेकाहीँ त्यहाँ पाकेको परिकार बेचेर पनि फाइदा उठाउँछन् । पछि मैले कारागारमा हुने गरेको व्यापारको कुरा गर्नेछु, जसले तपाईंलाई चकित तुल्याउने छ । जेलमा नपाइने भन्ने केही पनि हुँदैन । नपाइने एउटै मात्र चीज भनेको महिला हुन् ।
जलभोरी डफ्फा (पानी विभाग) : जलभोरी डफ्फाको कैदीले यस्तो काम गर्छन् भनेर अनुमान लगाउन निश्चय नै सजिलो छ । यी कैदीले पानी तान्छन्, भर्छन् र विभिन्न कक्षहरुमा पानीको आपूर्ति गर्छन् । यो काम शारीरिक रुपले बलिया रहेका कैदीहरुले गर्छन् । प्रत्येक कक्षमा ‘घर’ भनिने, पानी भण्डारणका टेङ्की हुन्छन्, जसमा हरेक बिहान पानी शाखाका कैदीले बाल्टीमा, बाँसको भारले दुईतिर बोकेर पानी भर्ने गर्छन् । यिनले अरु कैदीलेभन्दा बढी काम गर्नुपर्छ, किनकि प्रत्येक बिहान र साँझ तेस्रो तलासम्म पनि पानी बोकेर लानुपर्ने हुन सक्छ । जब संघीय बोर्डका अध्यक्ष, प्रहरी निरीक्षक वा गार्ड अधिकारीहरु पनि अभियुक्त भएर आउँछन्, अन्य कैदीहरु सङ्गठित भएर त्यस्ता व्यक्तिहरुलाई पानी भर्ने काममा प्रयोग गर्छन्, कहिलेकाहीँ भुइँतलादेखि तेस्रो तलासम्म पनि ।
झाडु डफ्फा : यस विभागका कैदीको काम झाडु लाउनु र सरसफाइ गर्नु हो । यसका लागि बूढा र बिरामी परेका कैदीलाई छानिन्छ । दिनभरि उनीहरु पात–पतिङ्गर तथा छरिएको फोहोर सफा गरिरहन्छन्, त्यो फोहोर जति नै सानो किन नहोस् । यी कैदी भाग्यमानी पनि हुन्, किनकि उनीहरुले खासै ठूलो काम गर्नुपर्ने हुँदैन । तर यसबेला, ढाका कारागारमा खटाइएका एकजना सुपरीवेक्षकले उनीहरुलाई खुब दु:ख दिइरहेका छन् र पहिलेभन्दा बढी काम लगाइरहेका छन् । तर यी कैदी पनि बाठा छन् । एकदिन, मैले आफू बसिरहेको ठाउँबाटै एउटा कैदीले अर्कोलाई भनेको सुनेँ, “केटा हो, बढारौँ, बढारौँ । हाकिम आइराको छ ।” मैले कुनचाहिँ हाकिम आइरहेको भनेर तत्काल बुझिनँ । पछि पो थाहा पाएँ, उनीहरुले कुरा गरेका मानिस निकै कडा मिसाजको रहेछ । त्यसैले उनीहरु उसको कुरा गर्दा रहेछन् । यसबारे थप कुरा म पछि भन्ने छु ।
बन्दुक डफ्फा : कारागारमा एउटा लोकप्रिय डफ्फा पनि हुन्छ, जसको नाम कसरी यस्तो भयो भनेर मानिस सजिलै सोच्न सक्दैनन् । त्यो हो बन्दुक डफ्फा । यस डफ्फामा केही कैदी हुन्छन्, जसको काम शौचालय सफा गर्ने हो । यो काम गरेर उनीहरुले उठाउने फाइदा भनेको माछाको अतिरिक्त एक गिँड पाउने हो । अलिकति खाने तेल पाउने हो । चुरोट खानलाई बिँडीका पात पाउने हो, अथवा कहिलकाहीँ साबुन पाउने हो । यी सुविधाका लोभले धेरै कैदी कारागारमा शौचालय सफा गर्ने जिम्मेवारी पाउनका लागि तँछाड मछाड गर्छन् । पहिलेपहिले यो कार्य गराउनका लागि कैदीहरुमाथि बल प्रयोग गरिन्थ्यो । त्यसैले, कैदीहरुमध्ये पनि अरुलाई बलपूर्वक काम गराउन सक्नेलाई प्रशासनको प्रतिनिधिस्वरुप यिनीहरुको सुपरीवेक्षक बनाइन्थ्यो । तपाईं सोध्नुहोला — यस डफ्फालाई किन बन्दुक डफ्फा भनिएको हो भनेर । यसका पछाडि एउटा कथा छ । तोकिएका कैदीले अरुको दिशा एउटा भाँडामा राखेर, बाँसको घोचाको भार लगाएर बोक्छन् र अलि पर रोकेर राखिएको एउटा रातो गाडीमा फाल्छन् । यसरी भार लगाएर दिशा बोकेकोले उनीहरुका काँध पिल्सिने भएछ । एकपल्ट यसैगरी दिशाको भाँडो बोक्ने एक कैदीलाई एकछिनपछि यस्तै भएछ । उसका साथीले काँधका घाउ देखेपछि त्यो के हो र कसरी भयो भनेर सोधेछन् । उसले भनेछ, “म बन्दुक डफ्फामा काम गर्छु, र निगरानीका लागि सधैं काँधमा बन्दुक भिरेर बस्नुपर्छ । त्यसैले यो घाउ भएको हो ।” त्यस बेलादेखि यस डफ्फाको नाम नै बन्दुक डफ्फा हुन पुगेछ ।
बङ्गबन्धु शेख मुजिबुर रहमान
भूतपूर्व राष्ट्रपति : बंगलादेश
(अनुवादक : महेश पौड्याल)
(क्रमश:)