साहित्यकार नारायण ढकालको नवीन निबन्धसंग्रह ‘अन्तिम पात’ पाठकमाझ आएको छ । यो उनको उन्नाइसौं किताब हो । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभाजित निबन्धसंग्रहमा ढकालका विसं २०५७ देखि २०७९ सालसम्मका निबन्ध समेटिएका छन्।
“२२ वर्षभित्र लेखिएका २२ वटै निबन्ध यस संग्रहमा परेका छन्,” साहित्यकार ढकालले भने । पत्रपत्रिकामा पूर्वप्रकाशित र केही नयाँ निबन्ध संगृहीत ‘अन्तिम पात’ले आफ्नो निबन्धलेखनको ‘ट्राजेक्टरी’लाई नक्सांकन गरेको निबन्धकार ढकालले बताए । बेला पब्लिकेसन्सद्वारा प्रकाशित यस संग्रहमा ‘दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो’, ‘प्रज्ञा : पञ्चायतको जुठो टपरी’, ‘हजुरबाको रेड बुक’, ‘शीताङ्ग सहरमा लङ्गडो घोडा’ लगायत पाठकद्वारा अत्यधिक रूचाइएका निबन्ध पनि सङ्कलित छन् ।
आफूलाई ‘काँठको क्लर्क’ भन्ने साहित्यकार ढकालका थुप्रै सिर्जना काँठको परिवेश, मनोविज्ञान र राजनीतिक–सामाजिक आयामले भरिपूर्ण छन् । मूलपानी, काठमाडौंमा विसं २०१० मा जन्मिएका उनी २०२८ सालदेखि निरन्तर लेखनमा सक्रिय छन् । उपन्यास, कथा र निबन्धमा उनको तेजस्वी उपस्थिति छ । उनका सात कथासङ्ग्रह— शहरयन्त्र (विसं २०५०), इरफान अली (२०५१), बहिर्गमन (२०६१), आत्महन्ता (२०६२), इन्द्रजाल (२०७१), नारायण ढकालका कथा (२०७३), तमस (२०७६); पाँच उपन्यास— पीत संवाद (२०५५), दुर्भिक्ष (२०६१), प्रेतकल्प (२०६५), वृषभ वध (२०७१), हजार माइलको बाटो (२०७४); तीन निबन्धसङ्ग्रह तीन संवत्सर (२०५२), शोकमग्न यात्री (२०६९), अन्तिम पात (२०८०), दुई बालकथासङ्ग्रह— मुसेकान्छाको करामत, गोमाको यार्लिङ; कवितासङ्ग्रह नरकको ढोका प्रकाशित छन् । साथै, उनका दुई अनुवाद किताब पनि प्रकाशित छन् ।
विसं २०२७ देखि २०३२ सम्म हङ्ग्री जेनरेसनको ‘समर्पित कार्यकर्ता’रहेका ढकाल मार्क्सवादबाट प्रभावित भएदेखि नेपाली वाम–राजनीतिमा कहिले प्रच्छन्न र कहिले प्रखर रुपमा अविच्छिन्न सक्रिय रहिआएका छन् । मार्क्सवादी धाराभित्र सिर्जन–स्वतन्त्रताका पक्षमा दृढ उनी कम्युनिस्ट आन्दोलनभित्रका जडताविरूद्ध जीवन–व्यवहारमा र रचनामा पनि प्रतिबद्ध लेखक हुन् ।
‘अन्तिम पात’का निबन्धहरुमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत भएका छन् । यो उनको तेस्रो निबन्धसंग्रह हो ।