कुरा काट्न त कहाँ मिल्छ र आफ्नै बाको
उमेर पचास कटेर अलि माथि गाको
म पनि के कम अब,जवान भइसकेको
स्कूल सकेर कलेज गइसकेको
तै पनि बा मलाई बालकै ठान्नुहुन्छ
बेलाबेलै हातमा समातेर आफू तिरै तान्नु हुन्छ
सम्झाइ रहनुहुन्छ मलाई घरी घरी
कथा सुनाइ रहनुहुन्छ मलाई थरिथरि
बच्चै हुँदा हामी यस्ता थियौँ भन्नुहुन्छ
तेरो उमेरमा हामी उस्ता थियौँ भन्नुहुन्छ–
स्कूल जानु अघि घाँस काट्नु हुन्थ्यो अरे
भुँडी दुख्यो भनेर कहिले काहीँ
त्यतिकै ढाँट्नु हुन्थ्यो अरे
बाँदर खेद्नु हुन्थ्यो अरे हलो जोत्नु हुन्थ्यो अरे
हातैले गोबर मुछेर खलो पोत्नु हुन्थ्यो अरे
घिन पनि नलागेको
–भैंसीका डाडाल्नामा बसेर चराउनु हुन्थ्यो अरे
कत्रो आँट,
आमाले लुकाएका कनिका लुसुक्क बेचेर
दार्जिलिङ तिर हराउनु हुन्थो अरे ।
खालि खुट्टै पैदल स्कूल जान्थ्यौँ भन्नुहुन्छ बा
खाजाका नाममा बासी भात मात्रै खान्थ्यौँ भन्नुहुन्छ बा
ठूलै हुन्जेल लुगैन लगाई गाउँ चहार्नु हुन्थ्यो अरे
बैनीका भागको घिऊ
सुटुक्क आफ्नामा सार्नु हुन्थ्यो अरे
दौराका बाहुलाले सिँगान पुस्नु हुन्थ्यो अरे
दुम्सी लुक्ने दुलाहरूमा घुस्नु हुन्थ्यो अरे
जुम्राले टोकेर बा बेलाबेलै रुनुहुन्थ्यो अरे
तीन तीन महिनामा पानी तताएर घाँटी धुनुहुन्थ्यो अरे
यी रमाइला कुरा कथा हुन् कि व्यथा हुन् बाका !
–म छुट्याउन सक्दिनँ
यी कथाबाट मैले सिक्नु पर्ने पाठ के हो,
–म खुट्याउन सक्दिनँ ।
तर पनि साथी हो, बा भनेको बा नै हो
बालाई हामीले मान्नै पर्छ
बाको कदर गर्न सबैले जान्नै पर्छ ।
धेरै संघर्ष गरेको अरे बाले मलाई हुर्काउन बढाउन
यो शहरमा अड्याउन, लेखाउन,पढाउन
त्यहीभएर होला–
बिहान बेलुकै बा मलाई अघि बढ् बढ् भन्नु हुन्छ
सास भोलि पर्सि फेर्नू,अहिले पढ् पढ् भन्नुहुन्छ
कलेज जाने छोरालाई
‘आज इस्कुल जाँदैनस् ?’ भन्नु हुन्छ बा
दिनको तीन पटक‘तैंले गरि खाँदैनस्’भन्नु हुन्छ बा
नपढेको बेला‘ पढिस् ?’भन्नुहुन्छ
–‘पढेँ’भन्छु, पत्याउनुहुन्छ
बेस्सरी पढेको बेला, ‘पढ्दैछस्?’भन्नुहुन्छ
–‘पढ्दैछु ’भन्छु, पत्याउ नुहुन्न
बेलुका दसै बजे आधारात भयो सुत् भन्नु हुन्छ
बिहान पाँचै बजे सात बजिसक्यो उठ् भन्नु हुन्छ
शङ्का लाग्छ, मेरा बाकि त मलाई ढाँट्नु हुन्छ
कि घडी हेर्नै जान्नु हुन्न?
घडी मिलाउनोस्न बा भन्दा मान्दै मान्नु हुन्न
तर पनि साथीहो, बाभनेको बा नै हो
हामी सबैले यति कुरा जान्नुपर्छ
बाले भनेको मान्नुपर्छ ।
मेरा बा जान्दिनँ केही भन्नुहुन्न
हामीले भनेका कुरालाई खासै गन्नुहुन्न
ब्लुलाई हरियो भन्नुहुन्छ,
पिंकलाई पहेँलो ठान्नुहुन्छ
डेटालाई डाटा भन्नुहुन्छ
तँलाई केही आउँदैन लाटा भन्नुहुन्छ ।
मैले दिनको दुईचार घण्टा गेम खेल्दा रिसाउनुहुन्छ
आफू चाहिँ निन्द्रामा मात्रै फेसबुक बिसाउनुहुन्छ
छोरालाई होमवर्क एउटा सघाउनुहुन्न
इन्जिनियर बन् भन्नुहुन्छ
बाइलोली विषय सम्झिँदै आफूलाई ज्वरो आउँछ
डाक्टर बन् भन्नुहुन्छ
बन् भन्दैमाबन्ने भए
बाकिन वैज्ञानिक नबनेको भनेर सोधौँ कि भन्छु,सोध्दिनँ
बाकिन करोडपति नबनेको भनेर सोधौँ कि भन्छु,सोध्दिनँ
धेरै सोधखोज गर्दा मुखमुखै लागेको बात लाग्न सक्छ
अर्तिउपदेश र गुनासाको खात लाग्छ सक्छ
बात लागे पनि लागोस्,
एउटा प्रश्न अवश्य सोध्नु छ
बाकै मुखबाट जवाफ खोज्नु छ
बा भन्नु हुन्छ ठूलो भए पछि बाबु आमाको हेरचाह गर्नुपर्छ
उसो भए मेरा बा कहिले ठूलो हुनुहुन्छ?
नब्बे वर्ष कटेका बा आमालाई हेरचाह गर्न
बा कहिले गाउँ जानु हुन्छ?
तर जे भए पनि साथी हो
बाको एउटा बानी चाहिँ मलाई ताज्जुप लाग्छ
मैले परीक्षामा थोरै राम्रो गर्दा बा किन मात्तिनु हुन्छ?
मअलिकति बिरामी हुँदा बा किन आत्तिनु हुन्छ?
म घर नफर्कुन्जेल बा किन बाटो तिरै फर्कि रहनु हुन्छ?
मैले खाना नखाउन्जेल बा किन पर्खिरहनु हुन्छ?
मैले घुर्की देखाउन घर छाडेर जान्छु भन्दा
बाकिन रुनु हुन्छ?
मैले नुहाएर छाडेका लुगा बा किन धुनुहुन्छ?
यस्ता कुरा सम्झे पछि साथी हो
थाहा भो बाका कुरा काटेर कविता लेख्नु मूर्खता हो
यस्तो कविता सुन्नु र मन पराउनु झन् महामूर्खता हो
त्यसैले अब देखि यस्ता कविता नलेख्ने वाचा गर्छु
र यो कविता पनि अहिल्यै फिर्तागर्छु ।