अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ लोकार्पण भएको छ।
अभिनेता नीर शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महत, निर्देशक मनोज पण्डित, दिपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, ‘पानीफोटो’ का लेखक खगेन्द्र लामिछानेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।
कार्यक्रममा लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन् । चलचित्रका प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको यो पुस्तकले नयाँ किसिमको सन्देश प्रवाह गर्ने शिवानीसिंहको भनाइ छ ।
कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । नेपालमा पहिला भएका कृतिका आधारमा चलचित्र बन्ने गरेको सन्दर्भमा चलचित्र बनिसकेपछि पुस्तकको आवरणमा आएकामा खुसी लागेको उनले जनाए ।
निर्देशक मनोज पण्डितले ‘पानीफोटो’ चलचित्र बन्नु आफैंमा विशेष रहेको र यसरी डकुमेन्टेसन हुनु चलचित्र क्षेत्रका लागि महत्वपूर्ण योगदान रहेको जनाए । चलचित्रमा ब्याकग्राउन्डमा रहेर ककसले के के काम गर्छन् भनेर पुस्तकले प्रस्ट्याएको छ,’ उनले भने, ‘यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्छ ।
‘पानीफोटो’ मा नेपालमा १२ वर्ष चलेको माओवादी जनयुद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो । यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा चलचित्रको स्वरुपमा प्रस्तुत गरेका हुन् । चलचित्र ‘पानीफोटो’ गत वर्ष साउन १३ मा प्रदर्शन भएको थियो ।