अमेरिका !
स्कुलमा पढ्दाखेरिदेखि नै सुनिराखेको देश ! कलेजमा पढ्ता त सधैंजसो काठमाडौंस्थित अमेरिकन लाइब्रेरी नपसीकन त चित्तै बुझ्नदैनथ्यो । त्यहाँ कृत्रिम चन्द्रमा उडाउने योजनाबारे प्रदर्शित सामग्रीहरु देख्दा कलेजको पढाइ समाप्त भएपछि अमेरिकामै पढ्न जाने कल्पना गरिन्थ्यो । तर एक्कासी सन् १९५७ मा सोभियत संघले विश्वमा पहिलो भएर स्फुतनिक (कृत्रिम चन्द्रमा) प्रक्षेपण गरेको सनसनीपूर्ण समाचार रेडियोमा गुञ्जेपछि मेरो व्यक्तिगत योजनाले पनि पल्टा खायो र अध्ययनार्थ मास्को तर्फ प्रस्थान गरियो । यस घटनाको आधा शताब्दीपश्चात् न्यूयोर्कमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको तत्वावधानमा आयोजित प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिने निम्तो पाइएपछि अमेरिका तर्फ उड्ने पुरानो कल्पना साकार हुने लक्षण देखापर्यो । अन्ततोगत्वा १३ अगस्त २००९ (कृष्णजन्माष्टमी, विहिवार) का दिन दिउँसो ठीक ४ बजे मास्कोको शेरेमेत्येभो विमानस्थलबाट ३१५ नम्बरको उडान भर्ने बोइङ्ग विमान अमेरिका तर्फ उड्यो र स्थानीय समयअनुसार त्यसै दिन साँझ साढे ६ बजे न्यूयोर्क जोन केनेडी विमानस्थलमा उत्रियो । यसरी मलाई ‘अढाई घन्टा’ को उडानपछि नै रुसबाट अमेरिका पुगेको आभास भइरहेको थियो ? यद्यपि त्यस दिन आकाशमै साढे ९ घन्टा बिताइएको थियो । विमान बादलपारि १० हजार मिटरभन्दा माथि आकाशमार्गमा पश्चिम हानिएर उडेर फिनल्याण्ड, स्कान्डिनेभिया पार गर्दै आइसल्याण्डको छेउबाट दक्षिणतिर हानियो र ग्रीनल्याण्डको दक्षिणी भागमाथि केही बेर उडेर ऐटलान्टिक महासानर पनि पार गरेर उत्तरी अमेरिकाको भूभागमाथि उड्न थाल्यो । मास्कोबाट सम्भवत: उत्तर–पश्चिम हानिंदै उडेको विमानले भूमण्डलके देशान्तर रेखाहरुबीचको दूरता सकभर छोट्याएको थियो होला । त्यसैले त सूर्यको गतिको हाराहारी उडेर झण्डै अढाई घण्टा जति मात्र पछि परेर त्यसै दिन न्यूयोर्क समयअनुसार साँझपख जमीनमा उत्रियो । त्यतिखेर मेरो नाडीघडीले मास्कोमा रातको २ बजेको समय देखाइरहेको थियो ।
अमेरिका तर्फ उडिरहँदा मनमा नाना थरीका चिन्तन–तरंगहरु चलिरहेका थिए । रुसमा १३ को अङ्कलाई शुभसूचक मानिंदैन, तर आफुले चाहिं अमेरिका यात्राका लागि १३ तारीखकै दिन रोजिएको थियो । हुन त मेरो जीवनमा १३ को अङ्कले कुनै अशुभको संकेत गरेको छैन । रुसको राजधानीमा पनि पहिलोपल्ट म सन्१९६० को १३ जनवरीकै दिन पुगेको हुँ, जतिखेर यहाँ ‘पुरानो’ नयाँ वर्ष मनाइँदै थियो । रुढी र अन्धविश्वासमा विश्वास नगर्ने मेरा लागि १३ को अङ्क तगारो बन्न सक्तैनथ्यो पनि । तर निम्तारुहरुमध्ये कसैलाई पनि व्यक्तिगत रुपमा मैले चिनेको थिइनँ । राजभण्डारी वा रिमाल के हो कुन्नि परिता नामकी महिलाले आफ्ना पति प्रभातको साथमा विमानस्थलमा मलाई लिन आउने ईमेल पठाएर मेरो हुलिया र फोटो मागेर पठाएकी थिइन् । त्यसैले उनकै रुपरंगको कल्पना गरिरहेको थिएँ । हिसिला, मञ्जुला आदिजस्तै परिता पनि नेवारी नाम हुनुपर्छ भन्ने अठोट गरेर उनलाई विमानस्थलमा तडकारै चिन्ने कल्पना गर्दै निम्न एउटा सानो श्लोक समेत गुनगुनाउन पुगेको थिएँ :
परी बन्दछिन् अन्त्य काटिंदा,
आदि काटिंदा बन्छिन् रीता ।
नेपाली हो नाम परीता,
अन्तर्राष्ट्रिय नाम हो रीता ।।
न्यूयोर्क विमानस्थलमा पुगेपछि रातो रंगका सुटकेसहरु मसँग मात्र नभएको एकीन भएपछि मलाई चिन्न सक्ने छैनन् भन्ने विचार आए तापनि सुटकेस अगिल्तिर घिसार्दै आफन्तहरुलाई पर्खिरहेका मानिसहरुको पंक्तिमा चारैतिर नेवार बान्कीको अनुहार भएकी महिलाको खोजी गर्न थालें । अन्त्यमा दायाँ र बायाँ दुईतिर लाग्ने ठाउँमा पुग्नासाथ म ‘अब कतातिर जाने होला श्रीमती परितालाई नलिएरै प्रभात एक्लै आएका रहेछन् र परिता नेवार्नी नभई बाहुनी (रिमाल) भएको पनि बल्ल चाल पाएँ । न्यूयोर्क पुगेको त्यस पहिलो साँझ म प्रभातजीको गाडीमा न्यूयोर्कसँग पनि परिचित हुँदै मेरो स्वागतार्थ खटिएका परिता र प्रभात दुवैको थर राजभण्डारी वा रिमाल जे भए तापनि अंग्रेजीको आद्याक्षरमा दुवैको नाम ‘पी.आर.’ हुने भएकाले नै न्यूयोर्कमा साहित्य भेलाका आयोजकहरुले पब्लिक रिलेशनको कार्यभार उनीहरुलाई नै सुम्पेको हुनुपर्दछ भन्ने मनमनै सोच्दै थिएँ । दोस्रो दिन परितासँग भेट हुँदा मैले यसको चर्चा गर्दै उपरोक्त श्लोक पनि उनलाई सुनाएर एकछिन हँसीठटृा गर्ने मौका पाएँ ।
जे होस्, न्यूयोर्क पुगेको पहिलो साँझ पेशाले इन्जिनियर प्रभातजीले आफ्नो कारमा हालेर मलाई मेरो वासस्थानतिर दौडाइहाले । यसरी म साँझको न्यूयोर्कमा म न्यूयोर्कका सडकहरुमा गुड्दै यस नौलो तर मास्कोजस्तै लाग्ने महानगरीको दृश्यावलोकन गरिरहेको थिएँ र त्यो न्यूयोर्कको केन्द्रीय इलाका नभएको अनुमान लगाउँदै थिएँ । यत्तिकैमा एउटा तीनतले घरको अगिल्तिर गाडी रोकेर त्यहाँ मलाई मूलढोकामै उभिइरहेका तीनजना नेपालीहरुको जिम्मा लगाएर प्रभातजी प्रतीक्षारत आफ्नी श्रीमती परितालाई लिएर घरतर्पm जान भनी हतारिएर हिंडिहाल्नुभयो । मेरै प्रतीक्षा गरिरहेका तीनजनासँग ठाडो चिनापर्ची भयो : शेर्पा, तामाङ र श्रेष्ठ भन्ने मात्र सम्झना रह्यो, नाम त पछि बेलिबिस्तार लगाउने सोचले तत्कालै बिर्सिहालें । उनीहरुले सुटकेस बोकेर मलाई एक तलामाथि लिएर एउटा बैठक कोठामा पुर्याए ।
क्रमश