भारतको बिहार संग्रहालयमा विभिन्न २९ देशका कला संस्कृति झल्काउने कला प्रदर्शनी सोमबारबाट सुरु भएको छ। नेपालका तर्फबाट विभिन्न ६८ कलाकारका २ सय ५ सिर्जना राखिएको छ।
बत्सगोपाल वैद्य, उमाशंकर शाह, रागिनी उपाध्याय, जीवनराज उपाध्याय, भाइराजा डंगोल, आशा डंगोल, एरिना ताम्राकार, संगी श्रेष्ठ, पृथ्वी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठलगायत कलाकारका समसामयिक कला प्रदर्शनीमा राखिएका छन् । दीपेन्द्रवीर शाक्य, दीपेन्द्र शाक्य, नवीन शाक्य, प्रकाश महर्जन, सुरज शाक्य, बिल्लीराज शाक्य, मुविन शाक्य, विनोद कपालीका परम्परागत मूर्ति प्रदर्शनीमा छन्।
त्यस्तै, लोक चित्रकार, मुक्तिसिंह थापा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, उजय बज्राचार्यलगायतका परम्परागत चित्रहरू प्रदर्शनीमा समावेश रहेका आर्ट काउन्सिलकी रजनी सिंख्वालले बताइन्।
नेपाली कलाकारले बनाएका मध्ये पञ्चबुद्ध र अष्ट मंगला मण्डला प्रदर्शनको प्रमुख आकर्षणका रूपमा छन्। कलाकार प्रचण्ड श्रेष्ठको अवधारणामा तयार मण्डला सोनाम तामाङको सहयोगमा रितेश बज्राचार्यले बनाएका हुन्। रजनीका अनुसार प्रदर्शनीमा नेपालका तर्फबाट ‘नेपाल आर्ट काउन्सिल’ का अध्यक्ष सागरशमशेर जबरालगायतको टोली सहभागी भएको छ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्घाटन गरेको प्रदर्शनीमा नेपालसँगै थाइल्यान्ड, पनामा, कोस्टारिका, इटाली, रुस र जी–२० देशका कलाकारका सिर्जना राखिएको छ। प्रदर्शनी अक्टोबर ७ सम्म चल्नेछ।