नेपाली एनिमेटेड फिल्म ‘सलीना : योद्धा राजकुमारी’ को टिजर सार्वजनिक भएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित फिल्म नेपालको पहिलो एनिमेटेड फिल्म भनिएको छ ।
धेरै वर्षअघि राक्षसनीको आतंकले मानिसलाई दुःख दिएको र त्यसलाई रोक्न सलीना नामक योद्धा राजकुमारी लडाइँमा उत्रिएको कथावस्तुमा फिल्म आधारित छ । टिजरले फिल्मको यही कथावस्तुलाई एनिमेसनको मद्दतबाट चित्रण गर्ने प्रयत्न गरेको छ ।
७३ सेकेन्ड लामो टिजर एक्सन प्रधान छ । महिला सशक्तीकरणको सन्देश दिने फिल्मलाई ६ वर्ष लगाएर रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले तयार पारेको निर्देशक तेजशराज जोशीले बताए । टिजरमा प्रदर्शन मिति भने उल्लेख छैन । यद्यपि, फिल्म यसै वर्ष नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन गर्ने तयारी गरिएको निर्देशक जोशीले जनाए ।
शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगीन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर ग्राफिक कलाकारका रूपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदीति ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् । फिल्मको निर्माता तेजशराज जोशी र श्रुति श्रेष्ठ हुन् ।