काठमाडौंको गुंबहाः (गुंबिहार) र पाँच योगिनीका विषयमा निर्माण गरिएको वृत्तचित्र ‘द योगिनी’ को प्रोमो र पोस्टर सार्वजनिक गरिएको छ। अस्ट्रेलियाको सिड्नीमा एक कार्यक्रमबीच वृत्तचित्रको प्रोमो र पोस्टर सार्वजनिक गरिएको हो।
अमेरिकाको ह्वाइट फेदर प्रोडक्सनसँगको सहकार्यमा सुभाय् मिडियाले वृत्तचित्र निर्माण गरेको हो। वृत्तचित्रमा ३३ सय वर्षभन्दा पुरानो बज्रयोगिनी क्षेत्र र यसको महत्त्व उजागर गरिएको छ।
प्रोमो तथा पोस्टर सार्वजनिक कार्यक्रमको आयोजक गुथी अस्ट्रेलियाका अध्यक्ष उमेश नापितले ‘द योगिनी’ नेवा संस्कृतिको प्रचारप्रसारका लागि निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे। त्यस्तै, ‘द योगिनी’ नेपालको इतिहास अध्ययन गर्नेहरूका निकै महत्त्वपूर्ण हुने गुथी अस्ट्रेलियाका भाषा संस्कृति अध्ययन समिति संयोजक श्याम सैंजुको भनाइ छ। कार्यक्रममा ‘द योगिनी’ का लेखक/निर्देशक महर्जन रत्नले काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका पाँच योगिनीको महत्त्वबारे चर्चा गरेका थिए।
वृत्तचित्रमा रञ्जु श्रेष्ठले बज्रयोगिनी चर्या नृत्य प्रस्तुत गरेकी छन्। वृत्तचित्रले नेपाली कला संस्कृतिलाई विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी हुने निर्देशक महर्जनको भनाइ छ।