बालसाहित्यमा सक्रिय साहित्यकार रामबाबु सुवेदीलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ । भाषासेवी कृष्णप्रसाद पराजुलीको ८९औँ जन्मजयन्तीको अवसर पारेर कृष्ण साहित्य सदनले सो सम्मान प्रदान गरेको हो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले साहित्यकार पराजुलीको महाकाव्य ‘मनमाया’माथि शोध गरी स्नातकोत्तरमा उत्कृष्टता हासिल गर्ने छात्र डिल्ली नेपाललाई समेत सम्मान गरे ।
डा. श्रेष्ठले पराजुलीको सिर्जनात्मक अवशेष अहिले पनि नेपालीमाझ रहेको उल्लेख गरे ।
सम्मानित व्यक्तित्व सुवेदीले साहित्यकार पराजुलीसँगको संगतले नै आफूले बालसाहित्यमा कलम चलाउन सिकेको बताए ।
कार्यक्रममा प्रा. डा. ध्रुवकुमार घिमिरे, प्रा. डा. चूडामणि बन्धु, प्रा. डा. कपिल लामिछाने, शाश्वत पराजुली, शाम्भवी पौडेललगायत व्यक्तिले बोलेका थिए ।