राष्ट्रिय परिचय पत्रको फाराममा
लगाएको ल्याप्चेमा
नभेटिएपछि बुढी-औँठाको चक्र
यतिखेर म
हराएको मेरो औँठाको चक्र खोज्न
राजधानीबाट मेरो गाउँमा आइपुगेकी छु ।
भुइपत्ताल खोज्ने क्रममा
नाङ्गलाका बिटमा खोजेँ
भेटिए
पुरातत्त्वले उत्खनन गरेको जिवांस जस्तै
हत्केलाका पानी फोडा फुटेर टाँसिएका रक्तकोषका केही अवशेष ।
ढिँकीको पुच्छरमा भेटिए
तातो झीरमा टाँसिएका माछाका कत्ला झैँ
मेरा पैतालाका छालाका बाहिरी पत्र।
गुन्द्री बुन्ने हतासोमा
टाँसिएका रहेछन्
राष्ट्रिय योजना आयोगका भित्तामा टाँसिएका
बजेटका टुटेफुटेका नक्सा झैँ
हत्केलाका जीवनरेखाका नक्सा ।
नाम्लाको पातोमा भेटिए
पुरानो चिठीमा टाँसिएको हुलाक-टिकट झैँ
मेरा निधारका भाग्यरेखाका टुक्राटाक्री ।
तर कतै भेटिएन मेरो हराएको औँठाछाप ।
खोजी जारी नै रह्यो ।
सिलौटोदेखि लोहोरोसम्म
मदानीदेखि मझेरीसम्म
हँसियादेखि सन्नासोसम्म
कुचोदेखि कुटोसम्म
सेतीगाईका थुनदेखि मकैका घोगासम्म
बन्चरो देखि खुर्पेटोसम्म।
कसोकसो भाग्यवस भेटियो
शंखमा खिचिएको शंखेकीराको चक्र झैँ
जाँतोको बिँडमा
छापिएको मेरो बुढीऔँठाको चक्र ।
यतिखेर म
खेर गएको सन्तान
अकस्मात् काखमा खेल्न आउँदा झैँ
खै कस्तो अन्यौलपूर्ण खुसीमा छु ।
मेरो खुसीको
कारण यो होइन कि
अब मेरो नागरिकता बन्ने भएको छ
र
बृद्ध- भत्ता पाउनसक्ने भएकी छु।
कारण यो पनि होइन कि
मेरो राहदानी बन्ने भएको छ
र
परदेशिएको छोरो भेट्न जान पाउने भएकी छु
खुसीको मुख्य कारण त यो हो कि
राजधानीको आधुनिक शवदाह गृहमा
शवको परिचय पत्र चाहिने
नयाँ नियम लागु भएको छ
धन्न
अब त मेरो पनि परिचय पत्र बन्ने भएको छ
राधिका कल्पित, राष्ट्रिय कविता महोत्सव २०८० मा परस्कृत