प्रत्येक वर्षको आषाढ शुक्ल पूर्णिमाका दिनलाई विद्याका उपासकहरू आफ्नो ज्ञानका आँखा खोलिदिने गुरुपूजनका दिन मान्दछन् । यस दिन गुरुको महिमा र गरिमाको हार्दिक स्मरण गरिन्छ र श्रद्धापूर्वक नमन गरिन्छ । जन्मेदेखि मृत्युपर्यन्तको जीवनयात्रामा गुरुको मार्गदर्शनको खाँचो सबैलाई परिनैरहन्छ । त्यो खाँचो गुरुबिना अरूबाट पूरा हुनै सक्दैन । आफ्नो अज्ञानताको पर्दा खोलिदिने सबै प्रायः गुरु नै हुन्छन् । हरेक सिकारुले आफ्नो ज्ञानका अग्रजलाई गुरु बनाउँछन् तर हरेक गुरुले शिष्य नबनाई गुरुनै बनाउँछन् ।
‘गुरु’ को वार्णिक अर्थ; ‘गु’ भनेको अन्धकार र ‘रु’ भनेको हटाउनु अथवा प्रकाश हो । समष्टि रूपमा यसको अर्थ अन्धकारबाट प्रकाशमा लैजाने अर्थात् अज्ञानताको अन्धकार नाश गरी ज्ञानको ज्योति भर्ने, बुझिन्छ । सद्गुरुले आफ्ना शिष्यलाई हमेसा जीवनोपयोगी मार्गदर्शन गरी तिनलाई पनि गुरु नै बनाउने गर्छन् । त्यसैले वेदको व्याख्याका रूपमा लेखिएका झण्डै एक सय आठ उपनिषद्, जसको अर्थ हुन्छ “गुरुका चरणमा जाऊ” ले गुरुसँग प्रार्थना गरेको भावमा, “असतोमा सद्गमयः” श्र असत्यबाट सत्यतिर लैजाऊ, “तमसोमा ज्योतिर्गमयः” श्र अन्धकारबाट उज्यालोतिर लैजाऊ, “मृत्योर्मा अमृतं गमयः” श्र मृत्युबाट अमरतातिर लैजाऊ जस्ता गहन भावहरू व्यक्त गरेका छन् । सत्यको बाटो देखाउने भएकाले नै गुरुलाई सद्गुरु भनिएको हो । यसबारे जति गहिरिएर सोच्यो त्यति नै गुरुको महिमा अत्यन्त उच्च पाउन सकिन्छ । जसले दिएका ज्ञानको अवलम्बन गर्दा, जसको आचरण र व्यवहारको अनुशरण गर्दा, जसले देखाएका बाटामा हिंड्दा, जसको चरित्रको अनुकरण गर्दा, जीवन सफल हुन्छ, सबै दुर्गुण हट्छन्, परम सुखको आभास मिल्छ, भावनाको उँचाइ बढ्छ, मानवताको गहिराइमा पुगिन्छ, त्यो नै सद्गुरु हो । त्यसैले गुरु एउटा विश्वास हो, व्यवहार हो, आचरण हो । त्यसैगरी गुरु प्रेरणा हो, अमरज्ञानको स्रोत हो, आत्मबोधको अत्यन्त सहज बाटो हो । मानवीय जीवनमा सबैभन्दा ठूलो गुरु आमा नै हो, किनभने आफ्ना सन्तानको सदा निकट रही अन्तर्आत्माले नै उनीहरूको जीवनयात्राको सही मार्गदर्शन गराउने आमा जति ठूलो गरु अरू कोही हुनै सक्दैन । आमापछिका गुरु बाबु हुन्, किनभने उनी जहिले पनि आफ्ना सन्तानलाई निःस्वार्थ भावले लोककल्याणकारी काममा लगाउँछन् । यसरी नै महŒवपूर्ण मानिएका सात गुरुमध्ये जगत र जीवनसम्बन्धी वास्तविक ज्ञान दिने शिक्षक तेस्रा ठूला गुरु हुन् । त्यसपछि मात्र काल्पनिक संसारका परमश्रद्धेय हस्तीहरू, ब्रम्हा, विष्णु, महेश्वर, गणेश, गोरखनाथ, दत्तात्रेय, व्यास, वृहस्पति आदि पर्दछन् । ती यथार्थ गुरु नभई आदर्श गुरु हुन्, गुरुका प्रतीक मात्र हुन् ।
वैदिक कालतिर फर्केर हेर्दा पनि महर्षि अत्रि र सती अनुसूयाका तीन पुत्रहरू, दुर्वासा, चन्द्रमा र दत्तात्रेय मध्ये दत्तात्रेय जसलाई त्रिशिर पनि भनिन्छ किनभने उनका तीन शिर थिए । ब्रम्हा, विष्णु र महेश तीनवटैको एकाकार रूप दत्तात्रेयले आफ्नो जीवनका विविध क्षेत्रमा प्रेरणा दिने कमिला, परेवा आदिका साथै जम्मा चौबीसलाई आफ्ना गुरु बनाएका थिए । महर्षि व्यास (कृष्ण द्वैपायन) ले हिन्दुधर्मकै गुरुग्रन्थ जो ऋषिहरूको धेरै पुस्ता लगाएर झण्डै एक हजार वर्षको अन्तरालमा श्रुतिका रूपमा तयार भएको थियो, त्यस वेदलाई चार भाग र तिनकै प्रासङ्गिक ग्रन्थका रूपमा उत्पन्न पुराणलाई अठार भागमा बाँडी हिन्दुहरूको पाञ्चायन मार्गको आध्यात्म पक्षलाई अत्यन्त सहज एवम् फराकिलो पारेकाले यस दिनलाई व्यासजयन्तीको रूपमा पनि मनाइने परम्परा रहेको छ । वैदिक कालका ऋषिमुनिहरू देवताका पनि गुरु मानिन्थे । तिनको खातिरदारी र पूजा गरिन्थ्यो । तिनको अर्ती, उपदेश र मार्ग अवलम्वनका लागि कठोर मार्ग पनि अपनाइन्थ्यो ।
गुरुनै ज्ञानको गङ्गा एवम् अमरत्वका बाहक भएकाले नै प्राचीन कालमा गुरुकुलमा बसी, गुरुकै सेवा गरी गुरुकै उपदेश र आशीर्वादरूपी विद्या पाई दीक्षित पनि हुन्थे । त्यसका लागि गुरुको सेवा र आज्ञापालनसिवाय अन्य कुनै शुल्क तिर्नुपर्दैनथ्यो । त्यसबेलाको गुरुकुललाई आफ्नै कुल मानिन्थ्यो, तर निरन्तर चलिरहने परिवर्तनको गतिले यस कुललाई भावबाट अभावतिर ठेल्यो, परमार्थबाट स्वार्थतिर लखेट्यो, त्यसको निःस्वार्थताको खिल्ली उडायो र स्कुल बनायो । त्यसैले आजको शिक्षा गुरुकुलमा होइन स्कुलमा लिइन्छ, सेवाले होइन पैसाले पाइन्छ । त्यति भए पनि गुरुको गरिमा र महिमामा कुनै परिवर्तन आएको छैन । गुरुबिना जीवनको अर्थ लाग्दैन । कसैले सही मार्ग पहिल्याउन पनि सक्दैन । त्यसो हँुदा नै देवताले पनि वृहस्पतिलाई आफ्ना गुरु बनाएका थिए । पछि कर्मकाण्डी पण्डाहरूका कारण एक्ला भए, झुठा बने । शुद्ध आचरण, भद्र व्यवहार, उच्च मनोबल, प्रबल इच्छाशक्ति, नैतिक आदर्श, चारित्रिक व्यापकता, सकारात्मक ज्ञानका धनी एवम् मानवतावादी व्यक्तिलाई गुरु बनाउँदानै लोककल्याणकारी ‘शिव’ बन्न सक्छौँ । गलत चरित्र जसको भावनामा खोट छ, मानवीय सोच शून्य छ, सामाजिक धारणा अल्प छ, जसको हृदयमा उदारता नभई सङ्कीर्णता व्याप्त छ, जसका सम्पूर्ण क्रियाकलापहरू नकारात्मक छन् त्यस्तो व्यक्तिलाई गुरुवरण गरी अन्धभक्त बन्दा लोककल्याणकारी ‘शिव’ त होइन मानवताबिरोधी ‘शव’ मात्र बन्न पुग्छौँ ।
प्राचीन ग्रन्थहरूमा ज्ञानका स्रोतलाई दुई भागमा बाँडिएका थिए । ती हुन् पराविद्या र अपराविद्या । पराविद्याले यस संसारभन्दा बाहिरको स्थान प्राप्तिको सङ्केत दिन्छ । यसले मानिसमा सदाचार, सद्भाव, नैतिक आदर्श एवम् चारित्रिक विकास गरी मोक्षको बाटो पहिल्याउँछ । त्यस्तो पराविद्याका बाहक आचार्य अथवा असल आचरण भएका गुरु हुन्थे । तर अहिले पराविद्या क्रमशः ओझेलमा पर्दै गएको छ । आज अपराविद्यानै फस्टाउँदो छ । अपराविद्याले यसै संसारमा आवश्यक पर्ने तमाम भौतिकवस्तुहरूको उत्पादन, वितरण, उपभोग र सञ्चयन गरी भौतिक सुखको मार्ग प्रशस्त गर्नेतर्पm बढी जोड दिन्छ । त्यस्तो अपरा ज्ञानबाहकलाई शिक्षक भनिन्छ । त्यसैले तिनमा सदाचार, सद्भाव, समभाव, नैतिक आदर्श र चरित्रभन्दा यथार्थ र स्वार्थले महŒवपूर्ण स्थान लिएको हुन्छ । तिनीहरू विवेकलाई भन्दा स्वार्थलाई महŒव दिन्छन् । आपूmले जे सिकेका छन् त्यसकै पुनरावृत्ति गर्छन् । वौद्धिक पक्षलाईभन्दा ज्ञानपक्षलाई मात्र सर्वोपरि ठान्छन् । जस्तो पैसा पायो त्यस्तै सिकाउँछन् । त्यसैले बढी ज्ञानका लागि नै सस्ता विद्यालयमा नभई महँगा स्कुलमा पढाउने प्रवृत्तिनै बढी पाइन्छ । आज विद्या दिने आचार्यहरू विस्थापित हुँदैछन् । शिक्षा दिने शिक्षकहरूकै बोलबाला बढिरहेको छ ।
मानवजीवनका विविध पक्षलाई केलाइहेर्दा हरेक क्षेत्र, विचार, भावना, गुण, धर्म एवम् स्वार्थ अनुसारका गुरुहरू सबैका हुन्छन् । समाजको आर्थिक, सामाजिक, राजनैतिक, वैज्ञानिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यजस्ता सम्पूर्ण क्षेत्रका मार्गदर्शक कुनै न कुनै रूपमा गुरुहरूनै हुन्छन् । बिनागुरु कुनै पनि क्षेत्रले आशातीत गति लिन सक्दैन । विज्ञान र दर्शनकै क्षेत्रलाई हेर्दा, अल्बर्ट आइन्स्टाइन (सन् १८७९–१९५५–विज्ञानका पिता) ले न्यूटन (सन् १६४२–१७२७–गुरुत्वाकर्षण सिद्धान्तका प्रवर्तक) लाई गुरु मानेका थिए भने स्टेफेन हकिङ्स (आधुनिक विज्ञानको विकासमा ठूलो भूमिका खेल्ने) ले अल्बर्ट आइन्स्टाइनलाई । त्यसै गरी प्लेटोले (ई.पू. ३२७–७४–समाजवादी विचारका) सुकरातलाई गुरु मानेका थिए भने अरस्तु (ई.पू. ३८४–३२२–राजनैतिक चेतना भएका) ले प्लेटोलाई आफ्ना गुरु मानेको पाइन्छ ।
राजनीतिकै क्षेत्रमा पनि कार्लमाक्र्स (सन् १८१८–१८८३–द्वन्द्ववादी दार्शनिक) ले हेगेल (द्वन्द्वान्तम भौतिकवादका प्रणेता) लाई आफ्ना गुरु मानेका थिए भने फ्रेडरिक एङ्गेल (माक्र्सकै सहकर्मी) ले माक्र्सलाई गुरु माने । माओत्सेतुङ् (आधुनिक चीनका निर्माता) ले कार्लमाक्र्स, फ्रेडरिक एङ्गेल, भ्लादिमिर इलिच, लेनिन (सन् १८७०–१९२४–आधुनिक समाजवादी) जोसेक स्टालिन (सन् १८९९–१९५३–रूसी क्रान्तिका अगुवा) लाई गुरु मानेका थिए । जिन ज्याक रूसो (सन् १७१२–१७८८) ले थोमस हब्स (सामाजिक सम्झौता सिद्धान्तका प्रणेता) लाई आफ्ना राजनैतिक गुरु माने ।
यसैगरी गुरु र चेलाको नालीबेली गर्दै जाँदा मानिसका गुण, धर्म, विचार, संस्कार, स्वभाव आदिसँग मेल खाने आफ्नै किसिमका गुणहरू पाइन्छन् । कोही बुद्धलाई गुरु मान्छन् त कोही बुखारिनलाई, कोही रामलाई गुरु मान्छन् त कोही रावणलाई, कोही कृष्णलाई त कोही क्राइस्टलाई, कोही दाँतेलाई त कोही देवकोटालाई, कोही समलाई त कोही सेक्सपियरलाई, कोही तुलसीदासलाई त कोही कालिदासलाई, त्यसैगरी कोही लिङ्कनलाई आफ्ना गुरु मान्छन् भने कोही लालकृष्णलाई, कोही माओलाई त कोही मनमोहन सिंहलाई, कोही माक्र्सलाई त कोही मार्गरेट थ्याच्चरलाई । यस्तै कोही ओसामालाई आफ्नो गुरु बनाउँछन् त कोही ओबामालाई, कोही चाउसरलाई त कोही चाउचेस्कुलाई, कोही हिटलरलाई त कोही हनिम्यानलाई, कोही चोरलाई त कोही चर्चिललाई, कोही अगस्त काम्तेलाई त कोही लकाम्तेलाई, कोही जर्ज वासिङ्टनलाई त कोही जोनाथन स्वीफ्टलाई, कोही निकोलो मैकाबेलीलाई त कोही लियोनार्दो दा भिन्चीलाई आफ्ना गुरु बनाएका छन् । यसरी खोतल्दै जाने हो भने गुरु मानवजीवनका हरेक पक्षमा सर्वत्र व्याप्त पाइन्छ । गुरु सबैका अगुवा हुन् । त्यसैले गुरुको निर्देशन र सहयोगबिना एउटा सिन्कोसम्म भाँचिदैन । गुरुबिना सम्पूर्ण जीवन नै अपाङ्गप्रायः हुन्छ । गुरुबिना मानवजीवन गन्तव्यशून्य हुन्छ । सद्गुरुको अभावमा सही आत्मबोध सम्भव छैन । सद्गुरुको अभावमा लोक कल्याणकारी ‘शिव’ नभई ‘शव’ बनिन्छ । तसर्थ मानवीय जीवनको हरेक सफलताका निम्ति सद्गुरुप्रेरणा अपरिहार्य छ ।