पूरै रात जागा बन्यो मस्कोमा । दुई साहित्यकार भेटेपछि हुनुपर्ने सबै भयो । नेपाली मन, नेपाली पन र नेपाली बास्ना विश्वका कुनाकुनामा फैलाउन जुटिरहनुभएका डा. मधुकृष्णजी साथी भनेपछि हुरुक्क हुने । रात अलिकति कवितामय, अलिकति हाइकुमय, अलिअलि लघुकथामय र अलि धेरै नियात्रामय बन्यो । निद्राले कसैलाई जित्न सकेन ।
आखिर यात्रा गरेपछि नफर्की धरै नपाइने । भेटेपछि छुट्टिनैपर्ने । छोटो समयमा जोसँग बढी आत्मीयता हुन्छ उति गाह्रो हुन्छ बिछोड सहन । बिदाइका हातहरु मिलाउनैपर्यो, बिछोडका हात जोड्नैपर्यो । जन्मी, हुर्की आफ्नै घर ठानेर रमाइरहेको बोकोलाई बिक्री गरेपछि पराईसँग लुरुलुरु हिँडे झैँ बाहिरिएँ म कुडुजोप्स्कीबाट । डा. मधुकृष्णजी, जीवनजी, नीता भाउज्यू र छोरीहरुबाट भावविभोर भई बिदाइका हात हल्ले । रातको ३ बजेर १३ मिनेट जाँदा डोर्याउनुभयो मस्को अन्तर्राष्ट्रिय विमानस्थलतर्फ रसियाली मित्रहरु गेन्नादि र अलेक्सिले ।
‘कतिबेर सुत्नुभयो रातमा गेन्नादि ?’ – मेरो प्रश्न ।
‘गाडी हाँक्ने मान्छे सुत्नु जरुरी छैन, श्रीमान् दामोदर’ – फिस्स हाँसोसँगै व्यंग्यात्मक जवाफ ।
हिउँ र वैद्युत प्रकाशको संयोजनमा मस्को शहर धपक्कै बलेको छ । चौध पङ्क्तिका सडकहरुमा पङ्क्तिबद्ध बनेर कुदेका सवारी–साधनहरुको प्रकाश हेर्दा त्यहाँ भर्खर सुषुप्त अवस्था समाप्त भई विस्फुटित ज्वालामुखीबाट निस्केको आगोको लाभायुक्त नदी बगिरहेझैँ लागिरहेछ । कुनै लक्ष्य बोक्दै निरन्तर साधनारत मनीषीजस्तो नदी देखिन्छ – मस्को नदी । म यात्राको अन्तिम नमस्कार गर्दछु, मस्को नदीलाई । मेरा लक्ष्यहरु पनि तिमीजस्तै सफा, सुन्दर र सर्वकालिक हुँदै अघि बढुन् भन्ने प्रार्थना गर्दछु मनमनै । आकाशमा ताराहरु छरिएझैं मस्को नदीभर मस्को शहरका विद्युतीय उज्यालोले इन्द्रेनी सजिरहेछ ।
बिहानको चार बजेको समयका हुनाले त्यति भीड थिएन मस्को अन्तर्राष्ट्रिय विमानस्थलमा । अस्ट्रियन एयरको डेस्कमा पुगेर अडे हाम्रा पाइला । चार–पाँचओटा डेस्कमा अधबैँसे थसुल्लीहरु ढसमस्स बसिरहेका थिए । कसैसँग नबोली बस्ने पहाड झैं मूर्तिवत् थिए तिनीहरु । मस्कोबाट भिएना हुँदै काठमाडौँसम्म जाने वायुयानको टिकट तीन नम्बर डेस्ककी थसुल्लीलाई थमाएँ । करीब ६ मिनट टिकटलाई निकै केलाइन् । कम्प्युटरका कुनाकुनामा आँखा लगाइन् । तिनको दिमागमा केही घुसेन । सँगैकी डेस्ककी अर्की थसुल्लीलाई बोलाइन् । तिनको पनि दिमागमा केही खुलेन । आखिर घोषणा गरे तिनीहरुले – ‘यो वास्तविक टिकट होइन । यस्तो टिकटबाट तपार्इंहरु यात्रा गर्न पाउनुहुन्न ।’ – एकाएक झस्केँ म । त्यस्तै टिकटबाट विश्वका धेरै मुलुकमा पाइला हाल्दै फर्कदै गरेकोमा कसरी नक्कली टिकट हुन सक्छ ? त्यही बेहोरा ओकलेँ । ‘यो वैद्युत टिकट हो । त्यसैले अरुभन्दा अलि फरक त छ नै । तपाईंले राम्रोसँग कम्प्युटरमा जाँच गर्नुभयो भने मेरो यात्राका सबै विवरण पाउन सक्नुहुन्छ ।’ – मेरा भनाइमा खासै चासो दिइनन् तिनीले ।
अबको समयमा विदेशयात्रा गर्दा पहिलेपहिले भैmँ टिकटका मूठा बोकेर हिँड्ने झन्झट छैन । वैद्युत टिकटको एक पाना भएपछि सबैतिर चलिहाल्छ । यात्राको उद्गम विमानस्थलमा कम्प्युटरको माध्यमबाट यात्रुका आँखा र औठा छापका तस्बीर लिइन्छन् । त्यो तस्बीर यात्रुको यात्रातालिकासँगै विश्वका सबै हवाईकक्षमा प्रक्षिप्त हुन्छ । प्रत्येक यात्रुको उडानअघि यात्रुको राहदानी र प्रवेशाज्ञासँगै तस्वीरको परीक्षण गरेर निर्दिष्ट यात्रुको पहिचान गरी यात्रा सुगम र छरितो बनाइन्छ । यस प्रणालीले गर्दा नक्कली यात्रुले यात्रा गर्नै नपाउने अवस्थाको सिर्जना भएको छ । मैले त्यो सबै बेलिविस्तार लगाएँ । थसुल्ली बूढीको कानबाट छिरेन । उनीले आदेशात्मक शैलीमा ‘होइन, यस टिकटबाट यात्राको अनुमति दिनै सकिँदैन’ भन्ने जबाफ प्रस्तुत गरिन् । मैले आफु कूटनीतिक काममा त्यहाँ पुगेको, यात्रामा अवरोध सिर्जना भएमा त्यसको जिम्मेवार ऊ नै हुनुपर्ने जनाउँदै उनको हाकिमसँग भेट्न चाहेको कुरा ओकलेँ । तिनले मलाई अर्को कोठामा लगिन् । एउटी भद्र महिलाले शिष्टतापूवर्क मेरा भनाइ सुनिन् । उनले कम्प्युटर जाँच गरिन्. । ‘ए हो त नि, वास्तविक यात्रु तपाईं नै हुनुहुन्छ । हाम्रा कर्मचारीले दु:ख दिएकोमा खेद छ’ – उनले थसुल्ली बूढीलाई हवाई प्रवेशको अनुमति दिन अह्राउँदै मसँग माफी मागिन् । थसुल्लीको अनुहार निचरिएको कागती जस्तो देखियो । ‘के गर्नु मलाई यो वैद्युत टिकट–प्रणालीबारे थाहै थिएन’ – बूढीले आफ्नो लाचारी व्यक्त गरिन् । समस्याको समाधान भएकोमा साथीहरु पनि जून जस्तै उज्याला बनेँ । जोरजुलुमसाथ शुरुको जाँचकक्षबाट भित्र घुसियो । भित्र अरु तीन ठाउँमा सुरक्षाजाँच र सामानजाँचको झन्झट–झमेलाले दिमाग हुनसम्म चक्करायो । बिहेको अलमलले केटी माग्न बिर्सियो भनेझैँ वा सामानको जोरजाम गर्दागर्दै श्राद्धको तिथि गुज्र्यो भनेझैँ जाँचबुझको विधिविधान पूरा नहुँदै विमानले जमीन छोड्ला भन्ने डरले म र साथीहरु काला नीला भयौँ । बल्ल ५ बजेर ३६ मिनेट गएपछि एक युवकबाट यात्रा–अनुमति पत्र हात पर्यो । सगरमाथा चढेजस्तो खुशियालीले चुम्यो । तर खुशीले सुस्ताउन कहाँ पाउनु ? आ–आफ्नो ब्रिफकेश बोकेर हुत्तियौँ विमानतर्फ ।
अस्ट्रियन एयरको ओ एस ६०६ नम्वर अंकित बोइङ्ग ७४७ लाउडा विमान गुड्न ठिक्क परिसकेको थियो धावनमार्गमा । सबैजसो यात्रुहरु विमानभित्र आ–आफ्ना स्थान ओगटिरहेका थिए । मानौँ तिनीहरु हामीलाई कुरिरहेका थिए । परिचारिकाहरुले छिटोछिटो हाम्रा सिटहरुमा पुर्याए । आ–आफ्ना सिटमा पेटी बाँधेपछि पाकेर टनक्क टन्केको घाउबाट खिल निकालेपछिको आनन्द प्राप्त भएझैँ भयो । उड्न पाएको खुशियालीको रक्तसञ्चार भयो शरीरभरि ।
बिहान ६ बजे जहाजले जमीन स्पर्श छोड्यो । टेलिभिजनको पर्दामा ‘सेवा नै हाम्रो सफलता हो भन्ने लाउडा विमानको मुख्य भनाइका ठूलाठूला अक्षरहरु घुमिरहेथे । मेरो पल्लो सिटमा बसेका गोरा र कालाका एक जोडी अँगालो मारेर घुर्न थालिसकेका थिए । ‘यिनीहरु राति यसरी नै बसेछन् कि कसो ?’ – मेरो व्यङ्ग्यमा नजिकैका साथीले थप्नुभयो ‘हिजो जहाजबाट ओर्लनै बिर्सेहोलान् ।’
वैद्युत प्रकाशले सयपत्री फूलको डङ्गुर जस्तो बनिरहेथ्यो मस्को शहर, सयपत्री फूलका मालाहरु कुदिरहेझैँ लाग्दैथिए सडकमा गुडेका गाडीको प्रकाशले । शहरको बीचबीचमा रहेका रुखहरु र जङ्गलक्षेत्रमा प्रकाश नपुग्दा ताराहरुको बीचको आकाश जस्तो देखिँदैथ्यो । अग्ला र फराकिला भवनहरु र अन्य सबै भवनहरुलाई आलोकित पार्ने वैद्युत संयोजन अलौकिक लाग्ने । क्षितिज लाली बोकेर मुस्काइरहेको । नीलमणि जस्तो आकाशको मध्यभागमा विचरण गर्दै थियौँ हामी । साँच्चै सुन्दरताको ओइरो लागेको थियो मस्कोमा । ‘जहाजबाट फुत्रुक्क ओर्लेर रसियाका कुनाकुनामा घुम्न पाए कस्तो मजा हुन्थ्यो होला ?’ – मनमनै सोचेँ । त्यहाँ आन्तोन चेखभका कहानीहरु परिमार्जित रुपमा लेखिन्थे होलान्, लियो टाल्सटायका युद्ध र शान्ति र अन्ना क्यारेनिन्नालाई फरक ढङ्गले प्रस्तुत हुन्थे होलान्, निकोलाई अस्त्रोभस्कीको अग्निदीक्षा र म्याक्सिम गोर्कीको आमा उपन्यासका पात्रहरु बेग्लै र समयसापेक्ष ढङ्गले मानव–संवेदना र शान्तिको पक्षमा बोल्न र काममा जुट्न एकत्रित गरिन्थे होलान् । तर ओर्लन कहाँ मिल्नु ! गेन्नादि, कल्याणी र लिलीले बसौँ भन्दा बसोवास गर्न सकिएन । ‘सर, ह्वाट यु लाइक भोद्का, ह्विस्की, वाइन अर अदर ? (श्रीमान् तपाईं भोद्का, ह्विस्की वा अरु के चाहनुहुन्छ ?)’ – अम्किया नामकी भर्खर स्वर्गबाट झरेजस्ती रुपवती परिचारिकाले अघिल्तिर सिटमा टाँसिएको टेबुल मिलाउँदै सोध्दा मेरो मनको उडानमा एक्कासि शान्त तलाउमा ढुङ्गा हानेजस्तो भयो । ‘मलाई त सबैभन्दा बढी सुन्तलाको सर्बत मनपर्छ नि’ – मैले हाँस्दै भनेँ । ‘त्यही त राम्रो नि स्वास्थ्यको लागि, फेरि तपार्इं त शाकाहारी हुनुहुँदो रहेछ, मैले खानाको सूची हेरिसकेकी छु ।’ कुरा गर्दै मेरो अघिल्तिर सर्बत राखिदिइन् तिनले । हरेक यात्रुबारे कति छिट्टो बुझ्छन् ती राता वस्त्र लाउने परिचारिकाहरु । केहीबेरपछि काजु, पेस्ता, पोरिज, मिश्रित फलफूल र आइसक्रिमयुक्त खानेकुराले भरिएको रिकापी थम्याइन् अम्कियाले । ‘मान्छे त शाकाहारी नै हुनुपर्ने रहेछ, धेरैथरी खान पनि पाइने, अरुलाई भन्दा छिटो पनि भेटिने, आफूले त त कुनबेला पाउने हो कुन्नि !’ पेटमा मुसा दगुर्न थालिसके’ – नजिकै सिटमा बस्ने मित्रको मुखमा पानी रसायो क्यारे मेरो लागि ल्याइएको खानाले ।
जहाज जतिजति मस्कोबाट भिएनातर्फ उड्थ्यो उतिउति उज्यालोका सट्टा अँध्यारा प्रदेशहरु देखिन्थे । ‘हैन, जति बिहान भो उति रात पो पर्न थाल्यो’ अर्का मित्र आश्चर्यमिश्रित भावमा कौतूहल जाहेर गर्दै हुनुहुन्थ्यो । मस्कोबाट भिएना पश्चिमतिर पर्ने भएकोले जति पश्चिम गयो उति रातको पन्जामा परिनु स्वाभाविक थियो । उडान अवधिको करीब ७५ प्रतिशत समयसम्म जमीनलाई बादलले ढाकेको थियो । मस्कोबाट ६ बजे उडेको जहाज २ घण्टा २१ मिनेट आकाशमार्गमा हुत्तिँदा पनि भिएना अन्तरराष्ट्रिय विमानस्थलको स्पर्श गर्दा बिहान ६ बजेर २१ मिनट मात्र गएको थियो । त्यसै कारणले मस्कोबाट मिर्मिरे बिहानमा उडेका हामी रातको अँध्यारोमा डुबुल्की मारेर २ घण्टापछि मिर्मिरेमै भिएनामा ओर्लेका थियौँ ।
केही दिनअघि छोडेकोभन्दा बेग्लै भइसकेकी थिई भिएना । हिउँ पग्लने क्रममा थियो । दश बाह्र दिनको अन्तरालमै हरियो चादर ओढिसकेकी थिई उसले । विद्युत् निकाल्ने हावादार यन्त्रहरु पहिलोपटक भेटेका प्रेमी र प्रेमिका निधारमा पसीना निकालेर लामो श्वास फेरेझैँ हावामा छिल्लिरहेथे । खेतका गराहरुमा हिउँको सट्टा हरियाली थियो । मान्छेहरु खुम्चनुको सट्टा तन्कदै थिए । भिएना शहर जागेको जूशजस्तो र बादलविनाको हिमाल जस्तो स्पष्ट अनुहारमा उठ्दै थियो । पारिलो घामको किरण कतैकतै नपग्लेको हिउँका थाप्लामा पर्दा मालीगाई चरेजस्तो देखिइरहेथ्यो । वरिपरिका डाँडाहरु भने सेता बकुल्लाले माछा ढुकेझैँ गरिरहेथे ।
जहाजबाट ओर्लेपछि नशा झैँ लाग्न थाल्यो भिएना । रातभरको निद्रा र थकाइ घामको पहार ताप्न निस्कन थाले । चार घण्टा १९ मिनेट विमानस्थलमै बस्नुपर्ने थियो । हातमुख धोएर ताजा बने पनि शरीरमा आलस्यले डेरा जमाएको थियो । विश्रामकक्षतिर लागियो । त्यहाँ बस्ने र निदाउनेहरुको खचाखच थियो । झ्यालको छेउमा तीनवटा कुर्सीहरु खाली थिए, त्यसमध्ये एउटा कुर्सी सुत्न मिल्ने किसिमको थियो । त्यसैमा आफुलाई बिसाएँ । साथीहरुले एकएकओटा कुर्सी ओगट्नुभयो । ‘अब एक निद्रा मजाले निदाउन पाइने भयो’ – दङ्ग परेर पल्टेँ । पल्लो सिटमा एउटा मोटे, लाहुरी भैँसीले पहार तापेझैँ लडेको रहेछ । ऊ मस्त निद्रामा थियो । तर आरनमा खलाती चलाएझैँ र मोटरसाइकल हुइँक्याएझैँ घुरिरहेको थियो । लामालामा दाह्री जुँगा पालेको त्यो मान्छे ऋषि–मनिषि भैmँ लाग्दथ्यो । तर घुराइ र नाकका पोराफुराइमा उसका दाह्रीजुँगा हुरी चल्ने डाँडामाथिको बरका लहरा बनिरहेका थिए । ‘अब निदाउन नपाइने भइयो’ – नैराश्यमा मडारियो मन । ‘घुच्चुकमा हानेर लडाइदिऊँ कि क्या हो, बडो अर्काको मतलब नै नगरी निदाउने भएको’ – रिस पनि थपियो । ‘विचराको के दोष, उसलाई के थाहा छ र ? केहीबेर पछि आफै ऊ बनिने होला’ – बल्ल बुद्ध बसे मनमा । लडेँ तनक्क खुट्टा तन्काएर । निद्राले ओछ्यान किन हेथ्र्यो । ढल्कनेबित्तिकै एकाएक निद्राको काखमा बेहोश बनेँ, एक घण्टा ५७ मिनटसम्म । आराम थियो, आनन्द थियो र देखिरहेथेँ सगरमाथा वरिपरि चौँरीको हूलमा हराउँदै ‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई’ गीत गाइरहेको सपना । झल्याँस्स ब्यूँझँदा मोटे हिँडिसकेको थियो । तर उसको प्रखर उत्तराधिकारी बनिरहनुभएको थियो जनार्दनजी ।
संसारलाई फरक ढङ्गले चाख्ने र जिन्दगीलाई अलिकति भए पनि उचाइमा थप्ने काममा लाग्दा लाग्दै एक महिना बितेको पत्तै भएन । आँखाहरुले धेरै इन्द्रेनी देखे, कानहरुले असङ्ख्य मूच्र्छनाहरु सुने, पाइतलाहरुले धेरै अग्लाहोचा धरातलको स्पर्श गरे, मन ब्रह्माण्डभन्दा अझ परसम्म फैल्यो । घर र देश भनेको बेग्लै कुरो रहेछ, जति बसे पनि नअघाइने । खुशीमा लहराको मनमा फर्कने खुशी थपिएकोले सुनमाथि सुगन्धको आभास भयो ।
अस्ट्रियन एयरको स्थानान्तरण डेस्कमा निकै भीडभाड थियो बिहानको ९ बजेर ४५ मिनेट गएदेखि नै । लहरमा केहीबेर उभिएपछि एउटी युवतीेले घडी, सेलफोन, पेटी, सिक्का, साँचो, क्यामेरा सबै राख्न एउटा पोलिथिन् टे« तेर्साइन् । सबै चीज ब्रिफकेशसँगै एक्सरे यन्त्रको गुफा पार गर्दै अर्को दुलोबाट बाहिरिए । कुनै अवैध सामान नदेखेपछि मुस्कुराउँदै यात्रा अनुमति–पत्र तेर्साइन् । ‘अब धेरै समयपछि भेटौँला तपार्इंसँग’ – मेरो भनाइ भुइँमा खस्न नपाउँदै मझ्यौला रेखाजस्ता मसिना ओठबाट जबाफ फक्र्यो – “किन धेरै समय नि ? त्यसो भनेर हामीलाई दु:खी नबनाउनुहोस् है । छिट्टै फर्कनुहोला अस्ट्रियामा ।’ ‘छिट्टै भेट्ने भए तपाईं नै नेपाल आउनुहोस्’ – मेरो आग्रह । ‘ए नेपाल म पनि दुईपटक पुगेकी छु । घोरेपानीमा सेल खाएर नाचेको बिर्सेकी छैन ।’ तिनीले म नै पूरा नेपाल हो ठानिन्, मैले तीन वर्षअघि मुक्तिनाथ पुग्नुअघि एक्लेभट्टीमा कुराकानी गरेकी बेकी झैँ ठानें । ‘हे प्रभु ! हजुरको यहाँ पनि चिनाजानी, कि यतै बस्ने हो’ – मेरो पछिल्तिरका मित्रले अघि बढ्न शब्दले पेल्नुभयो । बिदाईका हातहरु हल्ले । वदनमा बेगमबेली फुलिरह्यो । मान्छेले शब्द निकाल्न कन्जुस्याइँ नगर्ने हो भने मन कति छिटो फरक बन्छ, कति छिट्टो खुल्छन् जीवन र जगत्का यथार्थताहरु । साँच्चै शब्द सिर्जना हो र सम्बन्धको आँकुरा ।
अस्ट्रियन एयर ओ एस ३१ उडान नम्वरको लाउडा विमानमा अम्बाभित्रको गेडा झैँ गुचुमुच्च बसेका थियौँ यात्रुहरु । परिचारिकाहरुको फर्याकफुरुकमा केही कमी थिएन । स्थानीय समय बिहान १० बजेर ४१ मिनेट जाँदा विमान जमीन छोडेर अकासियो । केहीबेर अघिसम्मका सबै अग्लाहरु एकाएक पुड्का देखिन थाले । हिमाच्छादित टाकुराहरु स्वात्तै थेप्चिए । उचाइ बढाउँदै अरुलाई उछिन्न सकियो भने अरु सबै अग्लाहरु पुड्कन थाल्छन्, थेप्चन थाल्छन् । द्रुतगतिमा प्रगतिको उकालो चढ्नेहरुको लागि अवरोध आँसु हुन सक्तैन ।
विमान आकाशमा उड्दा भिएना शहरको छेउमा रेल सर्प झैँ सुलुलुलु घस्रिरहेथ्यो । विमान ३८ हजार फिटभन्दा माथि उक्लेको थियो । भिएना शहरबाट टाढिँदा हिउँको आक्रमणबाट भर्खर बौरेका जङ्गलमा सिर्जनाका पिपिराहरु पलाउँदै थिए । आठ घण्टाभन्दा बढी हुइँकेपछि काठमाडौँ पुगिन्छ भन्ने संकेत दिँदै थियो टेलिभिजनको पर्दा । जङ्गल सकिनासाथ एउटा विशाल ताल तेस्र्याे । कुच्चिएको बाटामा टन्न पानी भरेर दूवोले ढाकिएको चौरमा गाडिएको जस्तो थियो त्यो ताल । जहाज हल्का बादलभन्दा माथि उडिरह्यो । जमीनको सतहमा हत्केलाका रेखाहरु झैँ किरिङमिरिङ गर्दै बगिरहेका थिए धमिला नदीहरु । विमानको रफ्तारले बुडापेष्ट र युक्रेन नाघिसकेको थियो ।
कालो सागर र क्यास्पियन सागर पार गरुन्जेल बादलले दुवैको दर्शन गर्न नपाउने गरि प्रतिबन्ध लगायो । बादलको बीचबाट विमान हुँइकिरहेथ्यो । विमान सागरमा उडेको हो कि सगरमा अत्तोपत्तो थिएन । धरती, आकाश दुवै बादलु रुप धारण गरिरहेथे । कालो सागर, जर्जिया, अजरबैजान, बाकु र क्यास्पियन सागर नाघिएपछि हिमाली शृङ्खलाहरु, घुमाउरा बाटाहरु, नेपालजस्तो अग्लाहोचा पहाडलेयुक्त भू–स्वरुप, भिरालो सतहमा कतैकतै गुचुमुच्च परेका बस्तीहरुको निकै रमाइलो परिवेश झुल्क्यो । त्यो कुन देश हो ठम्याउन गाह्रो पर्यो । ‘यो कुन मुलुक हो ? कृपया बताइदिनुहोस् न मिनियोन ।’ मैले फ्रान्सेली परिचारिकालाई सोधेँ । ‘ओहो’ यो तपाईंकै जस्तो हिमाल र पहाड भएको देश तुर्कमिनिस्तान त हो नि । हेर्नुहोस् त कति सुन्दर छ ।’ ठूलो एकादशीमा तुलसीको मठ सजाउन साँचिएको लालुपाते भैmँ फक्रेर जबाफ दिइन् मिनियोनले । साँच्चै कालो सागर र क्यास्पियन सागर अटाएका थिए उनका नीला र ठूला आँखाभित्र । मिनियोनका नीला आँखा र तुर्कमिनिस्तानका पहाडहरुमा जमेको नीलो हिउँ उस्तैउस्तै बनिरहेथे । घाँसैघाँसले ढाकिएका हरिया पहाड, हिउँले ढाकिएका सेता पहाड र जङ्गलले ढाकिएका नीला पहाडको संयोजनले प्रकतिको कुशल चित्रकारिता प्रकट भइरहेथ्यो । मान्छेको उपस्थितिको छाप जनाउने जोल्टिएका सर्पजस्ता बाटोहरु र मन्दिर बनाउन तहतह पारेर चिनिएका पेटीजस्ता पाटाहरु देख्दा कसरी भ्याए होलान् मान्छेहरुले यति धेरै काम गर्न जस्तो लाग्यो । साँच्चै इन्द्रेनीरङ्गी मजेत्रो सुकाउँदा खजमजिए भैmँं लाग्दैथिए । खोला, ताल, बस्ती र अन्नबालाले सजिसजाउ फाँटहरु देख्दा मजेत्रोका बुट्टाहरु झैँ लाग्दैथिए । कति मेहनतसाथ बनाएछ प्रकृतिले त्यो मजेत्रो, कताकता सिर्जनाको ईष्र्या पनि चढ्छ मान्छेहरुमा ।
तुर्कमिनिस्तानको रुपौलो परिवेशले मन र आँखाहरु अझ तृषित बन्दै थिए । मैले मिनियोनसँग एक गिलास स्याउको सर्बत मागेँ । मुस्ताङ्गमा फलेको रेड डेलिसियस जस्तै गालामा पूर्णिमाको जून फुलाउँदै सद्भाव मिसिएको सर्बत दिइन् तिनीले । दुईजना बस्न हुने सिटमा म एक्लै थिएँ । ‘फुर्सद छ भने केहीबेर मसँगै बस्छ्यौ ?’ – मिनियोनका ओठ र अनुहारमा धपक्क गुराँस फक्रे । केथलेन ९प्भतजभिल० नामकी सङ्गीलाई के–के भनिन् र मसँगैको सिटमा थचक्क बसिन् । ‘तपाईंलाई साँच्चै तुर्कमिनिस्तान मनपर्यो ? मलाई त यहाँ आइपुगेपछि नेपालको खुम्बुतिर पुगेजस्तो लाग्छ ।’ मिनियोनको फरासिलोपन अरु फक्र्यो ।’ ‘प्रकृतिको यो सुन्दर मजेत्रोमा मेरो मन अघिदेखि लुटपुटिइरहेछ । तिमीजस्तै सुन्दर र शान्त लागिरहेछ यहाँको यो भूदृश्य ।’ – मैले मन खोलें । ‘ती नीला दहहरु तिम्रा आँखाजस्ता छन् । सेता हिमालहरु तिम्रा अनुहार भएका छन्् । तहतह परेका पहाड र तहतह परेका बादलका भुल्काहरुको मेल तिमी र हामी यात्रुबीचको सम्बन्ध बनिरहेछ । प्रकृति पनि कहिलेकाहीँ पक्षपात गर्छ र केही ठाउँमा मात्र सुन्दर गहनाहरु वर्साउँछ । त्यो यहीँ बर्साएझैँ लागिरहेछ र त्यो सुन्दरताको एउटै पुञ्ज बनेर तिमी बसेकी छ्यौ मसँग ।’ प्रकृति र प्राकृतिक सुन्दरीको चेपमा केही बहकिएँ म ।’ ‘तपाईं साँच्चै कवि हुनुपर्छ । कविबाहेक प्राकृतिक सौन्दर्यको बयान र पहिचान अरु कमै गर्दछन् जस्तो मलाई लाग्दछ ।’ विश्व सुन्दरी ऐश्वर्या रायका जस्ता नीला आँखा र विश्वप्रसिद्ध सिनेमा टाइटानिककी नायिका केट विन्स्लेटको जस्तो चुलबुले हाँसोको सङ्गमको स्पर्श मेरो अङ्गप्रत्यङ्गमा फैल्यो ।
‘ए को हुन् हँ तिनी तपाईंकी ? हुँदाहुँदै सँगै बस्न थालिसकिन् । हैन, कहिलेको चिनजान जोडियो ? तपाईंको नातागोता नै हो भने हामीलाई अलिकति नशादार जलसिञ्चन गर्न भनिदिनुहोस् ।’ तीन सिटअगाडि बस्नुभएका जनार्दनजी न्वारानदेखिको बल निकालेर बम्कन थाल्नुभयो । मिनियोन र केथलेनबाट प्राप्त रातो रातो पानीले जनार्दनजीको सर्वाङ्ग तातोतातो भैसकेको थियो, बोलीमा वक्रता र स्वरमा नागबेली पलाइसकेको थियो । उहाँसँगै अमेरिकी वैज्ञानिक संस्था (नासा)का इञ्जिनियर नगेन्द्र पौडेल बस्नुभएको थियो । दुवैले वरिपरि अरु पनि छन् भन्ने बिर्सिसक्नुभएको थियो । रातो झोलले बाघ बन्दै हुनुहुन्थ्यो उहाँहरु । मिनियोनले अनुनय–विनय गरिन् । अरुलाई हल्ला गर्दा आघात पर्ने कुरा बताइन् । अलिकति बिजुली पानी थपिदिन अनुरोध गरेँ मिनियोनलाई । थपिदिइन् । गाडीको तातेको इन्जिनमा पानी हाल्दा झ्वाइयँ गरेझैँ एक निमेषमै घुट्क्याएपछि पहारिलो घाममा लडेका बङ्गुर बन्नुभयो उहाँहरु ।
युरोपलाई छाडेर एसियातिर वायुवेगमा हुत्तिँदा एउटा नीलो नदी सर्प बनेर उडानको समानान्तर दूरीमा बगिरह्यो । धरतीलाई बेलाबेलामा बादलले छोप्थ्यो, मलाई भने निद्राले । मिनियोन र केथलेनबाट अन्न, फलफूल र सर्बत पाउँदा र मनै हल्का पार्ने बोली सुन्दा थकित शरीरमा जाँगर थपिन्थ्यो । बीचबीचमा सुन्दर शहर स–साना गाउँहरु, सम्म मैदान र खजमजिएका भू–धरातल सिनेमाका दृश्यहरु झैँ आउँदै बिलाउँदै गर्थे । एउटा ठूलो भू–भाग खल्वाट टाउकोजस्तो देखियो । हावा र धूलो झुत्तिएर खेले पनि वैकल्या र व्यभिचारीको छिल्लाहरु जस्तो लाग्दै थियो तिनीहरुको हाउभाउ । पानीको नामोनिशान कतै देखिएन । शायद त्यो अफगानिस्तान हुनुपर्छ । युद्धको चपेटा र तालेबानीहरुको रुढिवाढी संस्कारले युद्धमा हारेका सिपाहीजस्तो लाग्दै थियो त्यो क्षेत्र । बीचबीचमा हाम्रो गाउँघरमा माटोको डल्लाले बनाइएका जस्ता फुस्रा र खजमजिएका घरहरु देखिन्थे ।
भिएनाबाट ५ घण्टा १३ मिनेट पूर्वतिर हानिएपछि बादलबाहेक केही देखिएन । फैलेको बादल र लुकेको धरती दुवैलाई आफ्नो पन्जामा पार्यो आकाशबाट उब्जेको अँध्यारोले । त्यतातिर धरती थियो वा पानी । आँखाले ठम्याउन सकेनन् । त्यहाँ कति उत्साहका आँकुराहरु झाङ्गिँदै होलान्, कति सिर्जनाहरु फक्रँदै होलान्, कति प्राणीहरु अँध्यारोको बिरोध इन्क्लाब ओकल्दै होलान् हाम्रा आँखाका नानीमा कैद गर्ने सामथ्र्य भएन ।
पाकिस्तानमा प्रवेश गरेपछि आकाशका तारा धरतीमा छरिएझैं उज्यालोका झिल्काहरु छताछुल्ल छरिएको थियो । कयौँ समय खर्चेर उज्यालोले कायम गरेको साम्राज्यलाई उज्यालोले एक निमेषमै गल्र्याम्गुर्लुम् ढालिदिन्छ । उज्यालोको उपस्थिति नै अँध्यारोको अन्त पनि हो, अँध्यारो, अन्यौल, असन्तुष्टि, अतृप्ति र अमेलको सङ्गम समेत हो । त्यसै भएर नै प्राणीहरु उज्यालोको पूजा गर्दछन् र आलोकित आयामको पक्षमा रहन्छन् । तर अँध्यारो भएन भने उज्यालोको पनि कुनै अस्तित्व हुँदैन । उज्यालो चित्र हो भने अँध्यारो त्यस चित्रको पृष्ठभूमि । अँध्यारा गल्छेडा र उज्याला टाकुराहरु दुवैलाई संयोजन गरेर अघि नबढ्ने हो भने मानव–जीवनमा हुन्डरीको सिर्जना हुन्छ, मात र दम्भले संसार सखाप हुन बेर लाग्दैन ।
थकाइ, आलस्य र एकै ठाउँमा कँुजो भएर बस्नुपर्ने बाध्यताले विमानका यात्रुहरुका मुहार अलिअलि ओझेल पर्न थाले । बसीबसी शरीर तन्याकतुनुक पार्दै ताजा बन्ने उपायहरु टेलिभिजन पर्दामा ओइरिरहेथे । मेरो बायाँतिरको सिटमा बस्ने एउटा अन्दाजी आठफिटे लम्बुले हात तन्काउँदा बीचको बाटो नाघेर मेरा कान कानसम्म आइपुग्थ्यो । बिचरा सकीनसकी हात र खुट्टामा ताजापन भर्दै थियो । मेरा नजर परे, उ फिस्स हाँस्यो । केही महिलाहरु सिटबीचका पथहरुमा पाइलाहरु गनिरहेथे । एक सिटअघिल्तिर बायाँपट्टि एउटा सत्तरीवर्षे गोरो बूढाले सोह्रबर्षे थाइ नानीलाई खानेकुरा खुवाउने र नशादार तरल पटाउने काम मात्रै गर्यो । उ भने त्यही चिम्से आँखा चिम्लेर षोडसीको गाला चाटेरै तृप्त बनिरह्यो । ती शिवभट्ट ब्राह्मण र पिलन्धरे गोमालाई देख्दा पैसाले जस्तोसुकै उमेरबीच पनि सम्झौता गराउँछ भन्ने लाग्यो । माउ गाईले बाच्छा–बाच्छीलाई चाटेजस्तो गर्ने बूढाले मैनको पुतली जस्तीको गालै उडाइदिने सम्भावना पनि कम थिएन । अलिकपर एक हूल ठिटा–ठिटीहरु ठट्टा र छेडखानामै जिन्दगीको उडानलाई सहज र रसपूर्ण बनाइरहेथे । साँच्चै एउटा सिङ्गो संसारकै प्रतिनिधित्व गरिरहेथे विमानभित्रका दृश्यपरिदृश्यहरु ।
पाकिस्तानमा प्रवेश गरेपछि विमान ४० हजार फिट माथि उचालियो । शायद अग्ला पहाडहरुको बाहुल्यले गर्दा उचाइको वृद्धि गर्नुपरेको हुनुपर्छ । भारतका विभिन्न शहर र बस्तीहरु नाघ्दा कतैकतै आकाशका ताराहरु जमीनको सतहमा ओर्लेझैँ लाग्थ्यो । कतैकतै त खली ख्वाउने बेलामा आगोको थुपारिएको चित्र झैं बनेर उभिइरहेथे शहरहरु ।
कमलापुलबाट कोसी ब्यारेजतिर जाँदै गरेको बस फिक्कलतिर उकालो लागेझैँ पाकिस्तानबाट सीधै सुइँकिएको हवाइजहाज भारतको कानपुरबाट नेपालतिर मोडियो । नेपालतिर हान्निएको ७ मिनेट हुनेबित्तिकै विमान त धुगूति पो खेल्न थाल्यो अनायास । कहिले टुप्पो नाघ्ने सुरमा चुलिने, कहिले जमीन छुने हाउभाउमा फाल हाल्ने । यात्रुहरु ‘आन्द्रा लागे छुत्ती खेल्न तिघ्रा लागे काम्न’को स्थितिमा अनूदित हुन पुगे । कुन गत हुने हो जिन्दगीको भन्ने भयले सबैको अनुहारबाट उत्तिनखेरै पसीनाका धारा छुटे । केहीबेरपछि स्थिति साम्य भयो । सन्तोषको लामो श्वास फेरियो । अब त जिन्दगी जाँदैन भन्ने आशामा अलिकति अडेस लागियो । हावाको चापको प्रतिकूलता सहन नसकेर विमान खतरापूर्ण परिहासमा लागेको रहेछ । मिनयोनले भनेपछि पो थाहा लाग्यो । त्र