शून्यबाट शुरु भयो मेरो जीवन
शून्यताबाटै जीवन खोजे
डाँडाकाँडा भीर पाखामा लड्दै
आफ्नो स्वअस्तित्व खोज्दै
रुमलिरहे,
आत्मसम्मानको पहिचान गर्दै
बर्षौ निरन्तर यात्रा गरिरहेँ
फलामे काँडामा टेक्दै
सिन्ने झाडी फाड्दै
म, छोरी हुनुको अस्तित्वसँग
संघर्ष गर्देै थिएँ
जीवनी यात्रामा हिँड्दै गर्दा
दोबाटोमा उनी टुप्लुक्क भेटिए
सँगै जीवनको यात्रा गर्ने तय गर्यौ
दु:ख सुखका सहयात्री बन्दै
जीवन डुङ्गाको नाउँ चलाउँदै थियौ
एउटा उदाहरण बन्यो हाम्रो जोडी
सुनौलो भविष्यको रेखा कोर्दैं
एउटा नौलो इतिहास आरम्भ हँुदै थियो
तर,
विना सङ्केत एक्कासी चट्याङ्ग पर्यो
गुडिरहेको जीवनी रथको एउटा पाङ्ग्रा
उछिटिएर गयो
रथ ढल्मलायो,
म अवाक, स्तव्ध भएँ
जीवनका रङ्गहरू धुमिल भए
म, अत्तालिएँ, संसारै अन्धकार भयो
मेरा सपनाहरू मृत्यवरण गर्दै थिए
उनका दुवै मृगौला फेल भए
मेरो अस्तित्व मलाई गिज्याउँदै,
उपहास गर्दै थियो
उनीसँगको जीवनी यात्रा,
आँसुको सागरमा डुब्यो
भूकम्प गयो हाम्रो जीवनमा
उनलाई बचाउन ठूलो कोशिश गरे
आफन्तको तिरस्कारले म एक्लो भएँ
विपन्नताको गहिरो खाडलभित्र भासिंदै, भासिंदै
गइरहेको थिएँ …..
मसँग कुनै अरु विकल्प थिएन
उनलाई बचाउने
त्यसैले
उनलाई बचाउन संसारै गुहारे
आत्मसम्मानलाई दाउमा राखेर
स्वाभीमानको भीख माग्दै
आँसुको सागरबाट एउटा मोति टिपेँ
उनीप्रतिको मेरो सच्चा प्रेमले
अनि,
उनको अस्तित्वको सम्मानले
पुन: एउटा जीवनको पुर्नजन्म भयो
आज त्यो जीवन जोगाउँदा जोगाउँदै
म, विलय भएछु …..
झल्याँस ब्युँझिएर हेरे !
मेरो अस्तित्वको घाँटी रेटिंदैरहेछ
गुहार ! मागिरहेछ बचाउनलाई
म, मूकदर्शक बन्दै हेरिरहेछु
असफल प्रयासमा लाग्दै गर्दा
स्वाभीमानले गालामा थप्पड हान्यो
म, एकोहोरो हेरि नै रहेँ
अस्तित्व शून्यतामा हराउँदैैछ
म शून्यताको परिधिभित्र निसासिंदै
पुन:
असफल प्रयासमा
उठ्ने साहस गर्दैछु आत्मसम्मानको लागि
दु:ख, पीडा, आक्रान्तबाट
विडम्बना !
उनको अस्तित्वले बाटो छेक्दै खबरदारी गर्छ !
हिजो उनकै अस्तित्व मेरो शक्ति थियो
आज त्यही अस्तित्व कमजोरी बन्दै
अवसरका ढोकाहरु आफसेआफ बन्द हुन्छन्
तर पनि
हिम्मत हार्दिन प्रयास गरिरहन्छु
सम्भावना देखिन्छन्
आश्वासन भेटिन्छन्
फेरि धुमिल हँुदै बिलाउँछन्
मलाई छल गर्दै सूर्यका किरणहरू
अस्ताउँछन्
म क्षितिज पारी हेर्दै कुरिरहेछु
मेरा लागि कहिले सूर्य उदाउँछ
मेरो आत्मसम्मानको रक्षा गर्न
मेरो अस्तित्वको पहिचान गर्न
म प्रतीक्षा गरिहेछु , गरिरहनेछु
युग युगान्तर सम्म …….. ।