इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीको दिनदेखि आश्विन कृष्ण औँसीको दिनसम्म मनाइन्छ । इन्द्रजात्राको मुख्य विशेषता आठ दिनसम्म विभिन्न देवीदेवताको नाच पनि एक हो । उक्त अवधिमा कतिपय नाच आठै दिन नाचिन्छ भने कुनै कुनै विशेष अवसरमा मात्र नाच्ने गरिन्छ । यी नाचहरू प्रस्तुत गर्न काठमाडौँको हल चोक, किलागल, भक्तपुर लगायत क्षेत्रबाट आउने गर्छन् ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्य का अनुसार अहिले भक्तपुरबाट इन्द्रजात्राको लागि रामचन्द्र प्याखं, कवच प्याखं, वैकाल प्याखं, मार्चु प्याखं, घिन्ताङघिसी प्याखं र अरू दुई किसिमका महाकाली प्याखंहरु गरी सात थरीको नाच आउँछ । रामचन्द्र प्याखं बाहेक भक्तपुरबाट आउने सबै नाचलाई काठमाडौंमा महाकाली नाचको नामले चिनिन्छ । तर भक्तपुर बासीहरूले भने यसलाई पनि दीप्याखं अर्थात् देवी नाच भन्छन् । काठमाडौँबाट आउने नाचमा भने हात्ती प्याखं अर्थात् पुलुकिसी र देवी नाच अर्थात् दीप्याखं किलागलबाट आउने गर्छ। लाखे नाच मजिपा भन्ने ठाउँबाट सुरुवात भएको हो भने दश अवतार नाच त्रिपुरेश्वरबाट आउने गर्छ । यी सबै नाचसँग जोडिएका आस्था र विश्वासले इन्द्रजात्राको महत्त्वलाई झनै बढाएका छन् ।
किलागलको देवी नाच
किलागलबाट सुरु हुने दिप्याखं अर्थात् देवी नाच इन्द्रजात्रामा नाचिने सबैभन्दा पहिलो नाच हो । यही जात्रा सुरु गर्ने य:सीं सँगै उठ्छन् दिप्याखं अर्थात् देवी नाचका पात्रहरू । ध्वजा उठाउने दिन देवी नाचसँगै लाखे, पुलुकिसी, हल चोकको आकाश भैरव र महाकाली नाच नाचिन्छ । यी नाचहरू आठै दिनसम्म निरन्तर नाच्ने गरिन्छ । देवी नाचमा दैत्यबाहेक अरूले मुकुन्डो लगाउँछन् । जनतालाई सधैँभरि दुःख दिइरहने दैत्यलाई मार्न सुरुमा भैरवले प्रयास गर्छन् । तर दैत्य भैरवभन्दा बलियो भएकोले भैरव आफैँ भाग्नुपर्ने हुन्छ । पछि कुमारीले दैत्यलाई पराजित गरेर भगाउँछिन् । यसमा भैरव, कुमारी, चण्डी, दैत्य, कङ्काल, बेताल र ख्याक गरी ७ जना पात्रहरू हुन्छन् । सबै पात्रलाई सात जना गुरुहरूले सिकाउने गर्छन् । यसमा सात वटै तालको बाजा बजाइन्छ । सात ठाउँमा सातै पटक नाच प्रदर्शन गरिन्छ । साथै पूरा देखाउने हो भने यो नाच सातै घण्टासम्म नाच्ने गरिन्छ । अष्टमीको दिन मुकुट र पोसाकसहित किलागलमा सार्वजनिक प्रदर्शनी गरेर तान्त्रिक अनुष्ठानसहित सम्बन्धित पात्रलाई दिएपछि एकै पटक इन्द्रजात्राको दिन नाच नाच्ने गरिन्छ । यो कुमारीको रथयात्रा हुँदा जुन क्षेत्रमा कुमारी लगिन्छ, त्यहीँ भएको डबलीमा देखाउने गरिन्छ ।
महाकाली प्याखंको अनेक प्रकार
भक्तपुरबाट आउने इन्द्रजात्राको महाकाली प्याखं ६ किसिमको हुन्छ । महाकाली नाचको इतिहास खोज्दा यो नाच राजा जनस्थिति मल्लभन्दा अघि नै सुरु भएको पाइन्छ । उनले नाचको संरक्षणको लागि गुठी राखेको अभिलेख पाइएको छ । महाकाली नाचमा मुख्य गरी महाकाली, महालक्ष्मी र कुमारीलाई मुख्य पात्रको रूपमा खेलाउने गरिन्छ । यसमा पनि सात जना पात्रहरू हुन्छन् । जसमा महाकाली, कुमारी, महालक्ष्मी, बेताल, भूत, दुई जना कङ्काल, दुई जना ख्याक, सिंह र मयुरको रूपमा नाचिन्छ । यो नाचको कथा पनि किलागलको देवी नाचसँग मिल्दोजुल्दो छ । लोकमा उपद्रो मच्चाउन थालेका दानवहरूलाई परास्त गर्न महाकाली, महालक्ष्मी र कुमारीले महिषासुर दैत्यको वध गरेको कथाको आधारमा यो नाच नाचिन्छ । यसमा प्रयोग हुने सङ्गीतमा ७ थरीका धुनको संयोजन पाइन्छ ।
रामचन्द्र प्याखं
रामचन्द्र नाच पनि भक्तपुरबाट आउने नाच हो । सीतालाई रावणले हरण गरेर लगेपछि वानर सेनाहरूले उनलाई छुटाउन खेलेको भूमिकालाई जोडेर यो नाच देखाउने गरिन्छ । यो समूहमा नाचिने नाच हो । यसको तयारी घण्टाकर्ण चतुर्दशीको दिनदेखि थालिन्छ । सो दिन भक्तपुरमा नै नास: द्य: स्थापना गरिन्छगाईजात्राको दिन भक्तपुरको विभिन्न डबली र बजारमा रामचन्द्र प्याखंका पात्रहरूलाई मुकुट लगाएर घुमाउने गरिन्छ । इन्द्रजात्राको लागि पनि एक हप्ताअघि नै यो नाचको प्रक्रिया सुरु हुन्छ । यसलाई हनुमान ढोका दरबारअघिको डबलीमा देखाउने गरिन्छ ।
पुलुकिसी
इन्द्रजात्राको आसपासमा किलागल क्षेत्रतिर सेतो ऐरावत हात्तीको स्वरूपमा नाच नचाइन्छ । पुलुकिसी इन्द्रकी आमा वसुन्धराले इन्द्रलाई फूल टिप्न पठाउँदा यहाँका स्थानीयले इन्द्रलाई पक्राउ गरी राखेपछि उनलाई छुटाउन आएको हात्तीको कथासँग सम्बन्धित छ । अर्को किंवदन्ती अनुसार हालको किलागल क्षेत्रमा पहिले घना जङ्गल थियो । त्यहाँ बनेपाका राजा सिकार खेल्न आउँथे । एक दिन हात्तीको ठुलो बथानले उनलाई आक्रमण गर्न लागेपछि उनले श्वेत कालीको आराधना गरे । श्वेत कालीले सेतो हात्तीको भेषमा हात्तीको बथानमा छिरेर राजाको ज्यान जोगाएपछि यो नाचको सुरुवात भयो भन्ने मान्यता पनि छ । पुलुकिसी निकाल्दा चिराग अनिवार्य हुन्छ । पुलुकिसी ऐरावत हात्तीको प्रतीक हो । हात्ती इन्द्रलाई खोज्दै आउँदा ताङताङ आवाज आउने भएकोले सोही आवाजको तालको आधारमा पुलुकिसी नाच नाच्ने गरिन्छ । पुलुकिसी बनाउँदा एउटा बाँसको कङ्कालभित्र दुई जना अड्ने खाली ठाउँ राखिन्छ । त्यसबाहिर सेतो कपडाले बेरिन्छ । द्वादशीको दिन इन्द्रको मूर्ति प्रदर्शन गर्ने दिन नै पुलुकिसीलाई समेत बाहिर निकालिन्छ ।
हल चोकको आकाश भैरव
हल चोकको आकाश भैरवलाई स्थानीय भाषामा सब : द्य: वा सब भक्कु भनिन्छ । सब : भक्कु नाच हल चोकका पुतुवार जातिले निकाल्ने नाच हो । आकाश भैरव गुठीमा १२ जना देवगण हुन्छ । तीमध्ये ३ देवता (भैरव, कुमारी र चण्डी) मात्रै इन्द्रजात्रामा निकाल्ने गरिन्छ । यो नाचमा इन्द्रजात्राको अघिल्लो दिन अर्थात् एकादशीको दिन हल्चोक स्थित आकाश भैरवको द्य: छेँमा पूजा गर्छन् । भाद्र शुक्ल द्वादशीदेखि नाच आरम्भ हुन्छ । यो नाच नचाउँदा एउटा मौलिक धुन बजाउने गरिन्छ ।
मजिपा लाखे
इन्द्रजात्रामा नाचिने लाखे नाचलाई मजिपा लाखे पनि भनिन्छ । मजिपा भन्ने ठाउँबाट निकालिने भएकोले यसको नाम नै मजिपा लाखे राखिएको काठमाडौँ महानगरपालिकाले प्रकाशित गरेको ‘इन्द्रजात्रा’ मा उल्लेख गरेका छन् ।इन्द्रजात्रामा नाचिने लाखे नाचको तयारी १५ दिन अघिदेखि हुन्छ । भाद्र कृष्ण एकादशीको दिन लाखे आजुको मुकुट निकालिन्छ । मुकुन्डो निकालेपछि त्यसलाई तान्त्रिक विधिबाट पूजा गरेपछि न्यास (प्राण तत्व) निकाल्ने गरिन्छ । एकादशीका दिन मुकुटमा पुन: प्राण प्रतिष्ठा गरेपछि मुकुन्डोलाई द्वादशीको दिन रातो रङ्गको कपाल जोडेर आसनमा राखिन्छ । लाखे पोसाकमा रातो चोला, जामा, हातमा रुमाल र कम्मरमा घंघला बाँधिएको हुन्छ । लाखे चिकंमुगल दोबाटोबाट जैशीदेवल, हुँदै यंगाल टोलमा एक स्थानीय राज भण्डारीको घरमा गएर पूजा थाप्छन् । लाखेलाई जिस्काउँदै नाच्ने सानो पात्रलाई झ्यालिन्चा भनिन्छ ।
दश अवतार नाच
दश अवतार नाच विष्णुको दश अवतारको स्वरूपलाई झाँकीको रूपमा प्रस्तुत गर्ने नाच हो । वसन्तपुर स्थित कुमारी घरको सम्मुखमा रहेको त्रैलोक्य मोहन नारायणको मन्दिरको पाँच खुड्किलोको पेटीमा दश अवतारको मुकुट प्रदर्शन गरिन्छ ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यसँगको कुराकानीमा आधारित