लेकमा चिसो बढ्दै थियो । चिसोचिसो हावा बहेकाले मुटु नै थररर भएर काँप्थ्यो । ‘आच्छु… !’ भन्दै दाँत पनि किटिटिटि गर्दै बज्थ्यो । चराचुरुङ्गीहरू जाडोले गर्दा उड्नै सकिरहेका थिएनन् । भेँडाहरूलाई पनि जाडो अनुभव भएर होला ? एकै ठाउँमा गुजुमुच्च परेर बसिरहेका थिए । बेला बेलामा फुरफुर हिउँ पनि परिहेको थियो ।
गाउँतिरका मान्छेहरू घर बाहिर निस्केका थिएनन् । कति मान्छेहरू त लेक छाडेर बेसीतिर झरिसकेका थिए । बेसीतिर बस्ने ठाउँ नभएकाहरू चाहिँ लेकमै घर भित्रै बसिरहेका थिए ।
यस्तो जाडोमा पनि दाउरे दाजु आफ्नो बन्चरो लिएर घर बाहिर निस्किए । टाउको घुमाउँदै वरिपरि हेरे । ‘जाडो त आसाध्यै छ, के गरेर दाउरा ल्याउने होला ?’ एकछिन सोचमग्न भए । ‘आ जे त होला । दाउरा चिर्न थाले पछि न्यानो हुन थालिहाल्छ नि । एकभारी दाउरा ल्याएर नबेचे त भरे के खानु ? भोकै बस्नु भन्दा …,’ आपूmले ओढेको पछ्यौरा मिलाउँदै मनमनै सोचे । उनी छिटोछिटो जङ्गलतिर हिँडे ।
जङ्गल भित्र पस्दापस्दै एउटा मुढा भेटे । उनलाई मुढा देखेर खुसी लाग्यो । हतारहतार मुढा चिर्न थाले । चिसोले गर्दा दाउरै चिर्न मुस्किल भयो । बल्लतल्ल कप्टेराकप्टेरा पारेर दाउरा चिरे । एकभारी भयो दाउरा । उनले भारी बोके अनि हिँडी पनि हाले । जतिजति हिँड्यो, उतिउति जाडो लाग्न थाल्यो उनलाई ।
‘आच्छु कस्तो जाडो ? पाइलै सार्न कठिन पो हुन थाल्यो ।’ फुर्रर्र धुवाँ जस्तो बाफ निस्कियो उनको मुखबाट । बिस्तारबिस्तार पाइला अगाडि बढाउँदै थिए, त्यही बेलामा चिसो हावा बहन पो थाल्यो ।
‘अब त पाइलै सार्न सक्तिनँ जस्तो छ ।’ जाडोले उनको जिउसमेत थरथर काँम्न थाल्यो । उनलाई झलक्क आगोको सम्झना आयो । ‘दाउरा त छ तर सलाई पो छ कि छैन ?’ उनले आफ्नो पोल्टामा छामे । ‘धन्न, जङ्गल हिँड्ने बेलामा पोल्टामा सलाई हालेछु । नत्र त चिसोले मर्ने थिएँ कि क्या हो ?’ उनले पोल्टाबाट सलाई निकाले ।
दाउराको भारी त्यहीँ बिसाए । दुई कप्टेरा दाउरा भारीबाट झिके । ‘एक भारी दाउरा भएन भने त ! सामल किन्ने पैसा नै आउँदैन नि ।’ एकमनले भन्यो । फेरि अर्को मनले भन्यो ‘आ…एक भारीबाट दुई कप्टेरा झिक्दा के होला र ? मैले आगो तापिनँ भने त, यो भारी बोकेर बेसीसम्म पु¥याउनै सक्तिनँ नि ।’
कप्टेरालाई जोडेर आगो बाले दाउरे दाजुले । दाउरा बल्न थाल्यो । आगोको राप पारिलो भएर तात्न थाल्यो । दाउरे दाजुले केही आनन्द महसुस गरे । आगो बलेको देखेर परबाट भेँडाहरू पनि आगोतिर नै आए । भेडाहरू दाउरे दाजुसँगै टाँसिएर आँखा चिम्म गरेर आगो ताप्न थाले । चिसोले उड्न नसकेका चराहरू पनि बिस्तार हिँड्दै, उड्दै आगो नजिक आए । जङ्गलका जनावरहरू पनि आगोको वरिपरि आएर झुम्मिए ।
दाउरे दाजु जाडोमा आगो पाएकोले उँघ्न थालेका थिए । आफ्नो वरिपरि धेरै जन्तु जनावरहरू आएका छन् भन्ने पनि थाहा पाएनन् । जब दाउरा सिधिँदै गयो । आगो मधुरो बल्न थाल्यो ।उनीनिद्राबाट झसङ्ग बिउँझिए झै भए । आखाँ खोल्दा त उनलाई अचम्म लाग्यो । आफ्नो वरिपरि बसेर थुप्रै जन्तुजनावरहरूले पो आगो तापिरहेका थिए । अरू बेलामा मान्छे देखेर भाग्ने जन्तुहरूसमेत आज नडराइकन मान्छेसँगै बसिरहेका छन् । देख्दै अनौठो लाग्यो उनलाई ।
उनी दाउराको भारी बोकेर हिँड्न थाले । जनावरहरू झनै आगोको नजिक गए । आगो बिस्तार निभ्दै थियो । जति आगोको तातो कम भयो । उति ती जन्तुजनावरहरू थरथर काँम्दै खरानी भित्रै घुस्रदै थिए । तिनीहरूको अवस्था देखेर दाउरे दाजुको मनै पग्लियो ।
‘विचराहरू ! जाडोले मर्न थालेका छन् । अब पनि तातो पाएनन् भने त भुतुभुतु मर्छन् कि क्या हो ?’ उभिएरै यसो सोचे, ‘यो एक भारी दाउरा लगेर म एकछाक त टार्छु नि । एकछाक खान नपाएर त म अवश्य पनि मर्दिनँ । तर यिनीहरू त… ? आ होस् ! सबै दाउराहरू यहीँ बालेर ताप्छु ।’ दाउरे दाजुले एकएक कप्टेरा थप्दै ठुलो आगो बाले । आगोको राप परपरसम्म पुग्दै थियो । सबै जन्तुजनावरहरू आनन्दले आगो ताप्दैथिए । न्यानो जिउ भए पछि भेँडाहरू आङ तन्काउँदै थिए । चराहरू भुर्रभुर्र उड्दै थिए । अन्य जनावरहरू पनि उफ्रदै, एक अर्कालाई धकेल्दै चल्दै थिए । यी सवै जन्तुजनावरहरूको चाला देखेर दाउरे दाजु पनि मुसुक्क मुस्कुराउँदै थिए ।
दाउरा सिधिदै गयो । आगोको राप पनि कम हुँदै आयो । यहीबेला आकाशमा सूर्य पनि देखापर्दै गए । धत्र्ती वरिपरि लागेको हुस्सु विस्तार फाट्दै गयो । चिसो हावा पनि वहन छाड्यो । आगोको रापभन्दा पनि पारिलो घाम झलमल्ल भएर धत्र्तीभरि छायो । अब त भेँडाहरू चौरभरि उफ्रन थाले । जनावरहरू पनि दौडदै जङ्गलतिर पसे । चराहरू भुरुरुभुरुरु उड्दै रुखका टुप्पाटुप्पामा गएर कराउन थाले ।
दाउर दाजु पनि जुरुक्क उठे । बन्चरो काँधमा हाले । खुसी हुँदै दाउराको खोजीमा फेरि जङ्गलतिर पसे । त्यस बेलामा चराहरू रुखमा बसेर जोडजोडले कराइरहेका थिए । जङ्गली जनावरहरू पनि कराँउदै, उफ्रदै जङ्गलजङ्गल डुल्दै थिए ।भेँडाहरू पनि भ्या… …. भ्या… …. गर्दै थिए । यिनीहरूको चाला देखेर दाउरे दाजुको मन मक्ख थियो । उनी सोच्दै थिए, ‘आज यिनीहरूले मनैदेखि खुसी भएर मलाई जङ्गलमा स्वागत गरिरहेका छन् ।’