यो, जसको अहिले नामकरण पनि भएको छैन र जो सायद कथा बन्छ, कि अथवा कविता अथवा निबन्ध अथवा प्रबन्ध जेसुकै बनोस् – यो चीज जो म लेखिरहेछु । यो लेखिरहेछु कलमले र मेरो मनमा सम्झना आइरहेछ टाइपराइटरको । टाइपराइटर चीज राम्रो हो र त्यो प्रतीक हो सभ्यताको । र म सभ्य छु – कमसेकम सभ्य बन्न खोज्छु र मेरो प्रयास नै उपलब्धिभन्दा कम महत्त्वपूर्ण कहाँ छ र ? त, अक्षर छन् नि यी टाइपराइटरका ती व्यक्तित्व पूर्ण छन्, सत्य छन्, कारण तिनको Impressionh कागतमा पर्दछन् तिनमा लेश मात्र फरक सम्भव छैन । र मलाई जो टाइपराइटर मन पर्छ सायद त्यो मन पराइको अन्तरिम तथ्यचाहिँ कहिले नबदलिने इम्प्रेसनको एकरूपता होला । मेरो जो कहिले नबदलिने इम्प्रेसनको एकरूपता प्रतिको जुन मोह छ सायद त्यसको कारण होला मेरो वरिपरि सबै थोक बदलिरहन्छ र यो छिनछिनमा रूप फेर्ने हावाबाट म सायद निसास्सिएको छु र सायद त्यसैले प्राणहीन भए पनि अहिले पनि मलाई त्यही टाइपराइटरको किबोर्ड बनूँ र कसैले औँलाले मलाई च्वास्स घोचिदेओस् र त्यस घोचाइबाट मेरो व्यक्तित्व खयाक्क उफ्रेर कागजमा पुगोस् र तोडसाथ उम्रिहालोस् एक अक्षरमा ! मलाई विश्वास छ मेरा इम्प्रेसनहरू सत्य नै उम्रनेछन् चाहे मलाई छोइदिने औँलाले असत्य र झुटको नै प्रचारमा अक्षरहरूको व्यवस्था क्रम मिलाएको होओस् ।
असलमा जे छ व्यवस्था क्रममै छ – अझ प्रस्टसँग भन्ने हो भने मर्यादाक्रममा । नत्र मेरा अक्षरको पनि एक सीमा छ र छ सीमा एक व्याकरणको पनि । त्यस सीमाभित्रकै सत्य स्यानो घेरामा कैयन् प्रकारका असङ्ख्य व्यवस्था क्रम छन् र अलिकति व्याकरणको बोझले त्यसका अर्थमा अनेक खेल उमार्न पाउँछन् । फेरि औँला कति छिटा चल्छन् र कागज यति तहका हुन्छन्, म स्वयं मेरा इम्प्रेसनहरूको महत्त्व बुझन पाउँदिन र पाना समाप्त हुन्छ । मेरो सास फेर्ने ठाउँ सिर्फ एउटै छ Space-bar(स्पेस बार) जसले अक्षरहरूको एक ग्रुपलाई अर्को ग्रुपबाट छुटाएको हुन्छ र त्यो छुटाइमा कागजमा कुनै इम्प्रेसन परेको हुँदैन र कागज अलिकति सरि मात्र दिएको हुन्छ र म एक निमेषलाई बितिसकेको इम्प्रेसनको रूप मात्र पाउँछु – तातो तातो । र मलाई लाग्छ मेरा छापहरूमा, मेरा अक्षरहरूको यो व्यवस्था क्रममा कति असत्य छापे होलान्, कति महान् उक्ति फुटे होलान्, कति सुख दुःख, कति मोह ममता, कति प्रेम घृणा जन्मे होलान् । र मलाई भने निर्मित गरिएको छ यस प्रकारले – मेरा अक्षरहरूको केही सिलसिला छैन, सिर्फ उपयोगिताका ध्येयबाट बढी प्रयोग हुने बिचमा छन् (जसलाई मूला चोर–औँलाले बारबार घोच्न पाओस् ।) र कम प्रयोग हुने त्यसकै वरिपरि एक घेरामा । यो सब निर्माणमा अनिश्चित एक निश्चितता छ (मलाई बालकृष्ण समज्यूको सम्झना आयो, उहाँको नियमित आकस्मिकताको) – को मूर्खले भन्यो मलाई टाइपराइटर इम्प्रेसनको एकरूपताका निमित्त मन पर्छ भनी ? मलाई टाइपराइटर त यही अनिश्चित निश्चितताकै निमित्त मन पर्छ । एउटा अन्योल एउटा गज्याङगुजुङ, एउटा टर्र टर्र, ट्वाक ट्वाक, टिन्न टिन्न, क्वारक्वार ! यही त जीवन हो । यही अन्योल त साहित्यमा उम्रिरहेछ, यही अन्योल त समाजमा उत्रिरहेछ । यही अन्योल इतिहासमा, धर्ममा, राष्ट्रहरूमा, विश्वहरूमा प्रस्टसँग देखा परिरहेछ । यही अन्योल आकाशका ताराहरूमा–कुन चाहिँले हो कहाँ कुन्नि लेखेको छ ‘ताराहरू अन्धाका निमित्त निर्मित ब्रेलका अक्षर हुन् रे ।’
र मेरो भनाइ चाहिँ ‘टाइपराइटर दिव्य दृष्टिवाला नयन स्वामीका ब्रेली ।’ छामि हेर, छामि हेर, यो कागजमा परेको चोट सुमसुम्याएर थाहा पाऊँ औँलाका चोटको तीव्रता ! थाहा पाऊँ प्रत्येक ठोकारको उद्गम–स्रोत । थाहा पाउन नसकिने त सिर्फ एउटै कुरा छ – जसले चोट हिर्काएको छ त्यसका मनको तीव्रता र त्यसका औँलाका तीव्रतामा कत्तिको सामञ्जस्य छ ! औँलाको प्रत्येक चोटले के मनको चोटको तीव्रता उत्तिकै मात्रामा ओसार्छ ? त्यसरी नै जसरी प्रत्येक शब्दले भावनाको तीव्रता र वास्तविक अनुभव अवतरित गर्छ ? आह ! अवतरणमा मूलको रूप, मूलको सौन्दर्य, मूलको सत्यता रहन्छ र ? अवतरणमा, जो शब्दको माध्यम छ, जो एक घेरा छ, के त्यसले अन्तरद्वन्द्वीय र अनेक शक्तिका सङ्घर्षयुक्त व्यक्तित्व पक्डिन सक्छ र ? भावनाको र अनुभवको जो जन्म हुन्छ एक चतुर्थ आयाममा, के अक्षर, शब्द र भाषाका दुई आयामे माध्यमबाट ती डोहोराइन सक्छन् र ? खै कुन्नि ! मैले त अनुभव गरेको कुरा व्यक्त गर्न चाहेको कुरा कहिले पनि व्यक्त गर्न सकिनँ – ती जहिले पनि पङ्गु भई जन्मेका छन् ! र अङ्गभङ्ग भएको टेढो बाङ्गो अस्पष्ट वस्तु मलाई मन पर्दैन । मलाई प्रस्ट, सोझ, सिलिक्क परेका, एकनासे – आह, त्यसैले त भनेको मलाई टाइपराइटर मन पर्छ । मलाई मन नपर्ने त औँला हुन जसले त्यसका अक्षरहरूलाई घोच्छन्, मलाई मन नपर्ने भाषा हुन् जसले भावनालाई व्यक्त गर्न सक्दैनन् (कमसेकम भाषालाई त्यति शक्ति वान बनाउन सकियोस् त्यो, त्यो कार्बन पेपर बनिदे ओस !) मलाई मन नपर्ने साहित्य हुन् जसमा लेखक कविले वास्तविकता भन्न आँटेको र विकृति गरेको हुन्छ । वास्तविकता के भने संसार टाइपराइटर हो र टाइपिस्ट सिर्फ कम्पोजिटर हुन्छ, अनाडी हुन्छ, जो टाइप गर्दागर्दै समाप्त हुन्छ । यो मैले भन्न खोजेको थिएँ र के भन्न पुगेँ । असलमा म भन्न चाहिरहेको थिएँ – वास्तविकता के भने संसार टाइपराइटर जस्तै त्यान्द्रै त्यान्द्राले (कि आन्द्रै आन्द्राले ?) भरिएको पेट हो र हामी भने त्यसलाई खोज्दा खोज्दै समाप्त हुन्छौँ । टाइपराइटर प्रतिको यो मेरो मोह छ नि ! त्यसको सच्चा कारण के भने त्यसमा आन्द्राको रिक्तता छ र छ भोजनको मिठास, र म अनेक प्रयास गर्छु, अनेक चोट दिन्छु र भाषा फुटाउन खोज्छु, साहित्य निर्माण गर्न खोज्छु – सिर्फ आन्द्रा रसाउन, सिर्फ अलि अरू बढी बाँच्न खोज्न । सिर्फ अझ अलि आफूलाई अलमल्याउन खोज्न ! किनभने आजसम्म सब अलमल नै त गरिरहेँ । केही पनि नबुझने अबूझ् छु तर अनुहार यस्तो लाउँछु मानौं म सब जान्दछु । नबुझेको बेला बुझेको अनुहार, बुझेको बेला नबुझेको अनुहार, अकल गुम भएको बेला एकदम गाम्भीर्य र गम्भीरता चाहिएको बेला मुस्कानको चिप्लिने काई ! जस्तै …. म चाहिरहेथेँ आन्द्रा र भोकको सम्बन्धमा लेख लेख्न र लेख्न पुगेँ टाइपराइटरमाथि । असलमा, टाइपराइटर मलाई पटक्कै मन पर्दैन, म त्यसलाई हृदयदेखि नै घृणा गर्दछु (मलाई टाइपराइटर मन पर्छ भन्ने मान्छे, लेख्ने मान्छे, सुन्ने मान्छे र बुझने मान्छे सबै एक नम्बरका मूर्ख हुन् !) असलमा मलाई अक्षरै मन पर्दैन, साहित्य नै मन पर्दैन !। (सायद साहित्य मन पर्दैन भन्ने कुरा माथि कतै भनिसकेँ, भनिसकेर के त, म यसलाई फेरि दोहोराउन चाहन्छु ।) साहित्यले के कहिले निर्माण गर्दछ ? साहित्यले के कहिले बच्चा पाउँछ ? त्यसरी नै जसरी आन्द्रा भरिएको बेला मानिसको पौरुष सगबगाउन थाल्छ र सन्तान उत्पत्तिको शक्ति आउँछ ? साहित्य, कविता सत्यं, शिवं, सुन्दरम् यी के हुन् ?, सब अक्षरका खेल मात्र हुन्, अक्षरको एक विशेष मर्यादा क्रम हुन् ! आजको भोलि नै यिनलाई बदल्न सकिन्छ, यिनलाई म अहिले नै बदलिदिन सक्दछु ! (यो अर्कै कुरा मेरो अवशेष रहन गएको सभ्यताले मलाई छेकोस् ! सभ्यता ? सभ्यता ? सभ्यता भन्दा मलाई श्राद्ध तर्पण गरेको सम्झना आउँछ – सव्य आचमन असभ्य आचमन ! बस यताको जनै उता) म सब कुरा बदलिन सक्छु, मैले बदल्न नसक्ने, शायद कसैले पनि बदल्न नसक्ने एउटै कुरा छ – आन्द्रा ! र आन्द्राको तेजबाट बारम्बार उम्री आउने सृष्टिको क्रिम !
म त्यस कारण यो लेखिरहेको चीजलाई आन्द्रा भन्ने नामकरण गर्दछु । र यसैलाई म सत्यं, शिवं, सुन्दरम् उपाधिले विभूषित गर्दछु । यो मेरो निर्माण हो, यो मेरो उपज हो, यो मभित्र छ, यो मेरो आफ्नै सन्तान हो !
कि आन्द्राको सन्तान म हुँ ?
मलाई थाहा छैन ।
म केही पनि जान्दिनँ ।
(वि.सं. १९८४ चैत्र – २०३२ माघ)
(आब्स्ट्रयाक्ट चिन्तन प्याजबाट)