बिहानको सात बजिसकेको थियो । तेह्रौ साग गेम काठमाडौँमा चलिरहेको थियो । यसका कारण मङ्सिर एक्काइस गतेको बिहान कलङ्की–कोटेश्वर खण्डमा सार्वजनिक गाडी निषेध थियो । तर समयमा नै खेल सुरु नभएको कारणले हुन सक्छ हाम्रो गाडी बल्खुसम्म सजिलै जान पायो । बल्खुबाट कीर्तिपुरतिर बस सोझिएपछि यात्राले गति लिने कुरा निश्चित भयो । नौबिसे हँुदै चित्लाङ् जाने कुरा भए पनि बाटो ठीक छ यताबाट जाँदा जामको सामना गर्नु पर्दैन भनी ड्राइभरहरुले भनेकोले हामी दक्षिणकाली हुँदै चित्लाङ् यात्राका लागि तयार भएका थियौँ । आदर्श भृकुटी साकोसले तीन वटा बस रिजर्भ गरेको थियो महिला दिदीबहिनीलाई चित्लाङ् घुमाउन ।
बसमा विभिन्न खाले गफहरु चलिरहेका थिए तर म अघिल्लो रात अनिदोजस्तै बसेकी थिएँ । साहित्यिक समूह, आह्वानको संयोजनमा सत्र जना महिला लेखकहरु बूढानीलकण्ठको तपेश रिर्सोटमा हिजो साँझ चार बजे भेला भएका थियौँ । घरको जिम्मेवारी एकदिन भएपनि अरुलाई सुम्पेर साहित्यिक बहसमा उत्रिएका थियौँ । अबको हाम्रो लेखन कस्तो हुनुपर्छ ? हालसम्म लेखन क्षेत्रमा लागेर भोगेका अनुभवहरु के के छन् ? वि.सं २०७२ सालमा स्थापित आव्हान साहित्यिक समूहले हालसम्म २८ औँ श्रृङ्खला पार गरिसकेको छ, यस समूहप्रतिका गुनासो र सुझावहरु के के छन् भन्ने खालका प्रश्नहरुमा हामीले छलफल गरेका थियौँ । यिनै क्षणहरु आँखाभरि नाचिरहेका थिए । पालैपालो साथीहरुका मुखारविन्दबाट निस्केका गहकिला वाणीहरु मनमा झङ्कृत भइरहेका थिए ।
‘छोरी यो ल्याबरोटरी स्कुल काठमाडौंकै पुरानो र अत्यन्त प्रसिद्ध स्कुल हो नि ।’ मैले मेरो सिटमा बसिरहेकी छोरीलाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पसिसरसँग जोडिएको विद्यालय भवन देखाउँदै भनेँ ।
‘हो है मामु, के कुरामा प्रसिद्ध नि ?’
‘पहिला पहिला एसएलसीमा बोर्डमा आउने स्कुल हो रे आजसम्म पनि राम्रो पढाइ हुन्छ यहाँ ।’
‘ए’ छोरीले मेरो कुरा सुनेर आँखा तन्काएर बसको भयाल्बाट स्कुल परिसरमा दृष्टिगोचर गरी । हाम्रो बस रफ्तारमय ढङ्गले अघि बढि नै रह्यो । आव्हान समूहका परिकल्पनाकार डा. अर्चना थापा, उपन्यासकार उमा सुवेदी, निबन्धकार कुमारी लामाले विभिन्न प्रश्नमा हामी सहभागीहरुलाई साहित्यलेखनमा उत्साहित गराइरहनु भयो । डा. गीता त्रिपाठी, विमला तुम्खेवा, ज्ञानु अधिकारी, हरिमाया भेटवाल, गीता रेग्मी, अनुपम रोशी, सविता विमली, बिना थिङ् तामाङ, ज्योति जङ्गल, रञ्जना निरौला, दीप्श शाह, शान्ति गिरी र लक्ष्मी रुम्बाका अनुभवहरु मनभरि गुञ्जिरहे । यति धेरै महिला लेखकहरु शुक्रबारको साँझ रिर्सोटमा भेला भएर शनिबार बिहानसम्म सहभागी हुने कुरा थियो ।
शनिबार बिहानैबाट गीता रेग्मी दिदी र म मकवानपुरको चित्लाङ् आउने कुरा साथीहरुलाई जानकारी गरायौँ । हाम्रो सहकारीको भ्रमण परेको थियो । तसर्थ बेलुका साहित्य मन्थनमा सहभागी भएर सुत्दा रातको एक बजेको थियो । अर्लाम बिहानको चार बजे लगाएका थियौँ । बिहानै पाँच बजे पठाओमा वनस्थलीसम्म जाऊँ है भनेर गीता दिदीले प्रस्ताव राखे पनि चिसोका कारण ट्याक्सीमा हुँइकिउला भनेर मैले भनेँ । बूढानीलकण्ठ मन्दिरमा आइपुग्दा मन्दिरमा शङ्ख घण्ट बजिरहेका थिए, स्थानीय व्यापारीहरु आ–आफ्नो कर्मक्षेत्रमा लागिसकेका थिए । लहरै माइक्रोबसहरु पनि गाडी स्टार्ट गरेर रत्नपार्क रत्नपार्क भनिरहेका थिए । कलङ्कीसम्म जाने बूढानीलकण्ठ यातायात पनि हिँड्न ठीक्क परेको रहेछ । हामीलाई छ बजेसम्म वनस्थली ढुङ्गेधारा पुग्नु छ भ्याइन्छ भाइ भनेर ड्राइभर भाइलाई सोध्दा हुन्छ दिदी बिहानमा जाम हँुदैन म लगिदिउँला नि भनेपछि हामी ढुक्कले सिटमा बस्यौँ ।
रिर्सोटको भाइले हाम्रो बे्रकफास्ट प्याक गरेर दिएका थिए, अमलेट र ब्रेड अनि फलपूmल रहेछ । मलाई खान मन लागेन, बेलुका यति धेरै मीठो मीठो परिकार खाइएको थियो कि बाह्र बजेसम्म भोक लाग्लाजस्तो थिएन । यात्रामा हिँड्नु छ, पेट खाली गर्न हुँदैन भनेर दिदीले खानुभयो, मैले एक टुक्रा स्याउ मात्र खाएँ ।
बाहिर अँध्यारै भए पनि छ बजेर पाँच मिनेट जाँदा हामी ढुङ्गेधारा ओर्लियौँ । सहकारीका सबै साथी भेला भइसकेका छैनन् भनेपछि घरमै पुग्न सकियो । घरमा गएर लुगा फेरेर, एक कप कफी खाएपछि सात बजे बल्ल हामी चित्लाङ्का लागि रमाना भयौँ । ‘मामु ! दक्षिणकाली जाने बाटो यही है ?’
‘हो छोरी यही हो । लौ यो तातो दुनोट खाऊ ।’ अघिदेखि झोलामा बोकेकी थिएँ, दिन्छु भन्दाभन्दै बिर्सेछु । छोरीले दुनोट हातमा लिएर दृश्यवालोकनमा मग्न हँुदै चपाउन थाली ।
हामी महिलाहरुले लेखन तथा प्रकाशनमा कस्तो समस्या भोगिरहेका छौँ । हाम्रा लेखनबारे कस्ता कस्ता खालका प्रतिक्रिया पाइराखिएको छ भन्ने बारेमा पनि बहस भएको थियो । एउटै विषयलाई पनि पुरुष स्रष्टाहरुले शैली र शिल्प परिवर्तन गरी गरी लेखिरहेका छन् । चिया पसल होस् वा कुनै ठाउँ उनीहरु आफ्नो लेखनको अन्तक्र्रिया गर्छन । प्रकाशन गर्नुपूर्व थुप्रै साथीभाइलाई देखाउँछन् । तर हामी कसलाई देखाउनु ? हामीहरुका कामका अनेक भूमिकाले उसै पनि समयबाट वञ्चित छौँ । पुरुष साथीहरुले यसले के लेखेकी होली र भन्ने हीन भावनाले सकारात्मक देखिदैनन् के गर्नु भनेर दुखेसो पोखेका थिए ।
हुन पनि एकले अर्काको रचना पढिदिने, सच्चाइदिने, सुझाव दिने हो भने महिला लेखनको स्तर पनि कति परिष्कृत हुँदै जाने थियो होला जस्तो लाग्यो । अबदेखि भने हामी महिला लेखकहरुले एक अर्कालाई सघाउ पुर्याउने कुरामा पनि जोड दिइयो । धेरै अर्थमा हाम्रो कार्यक्रम सफल भएको सन्तुष्टि बोकेर हामी बाहिरियौँ । साथीहरु सबैसँग बेलुकै बिदाबारी भइएकोले बिहान कसैलाई बाधा पुर्याएनौ । शनिबारको दिन भएकोले दक्षिणकाली जानेको भीडले बाटो जाम हुन्छ कि भन्ने लागे पनि बाटो खाली थियो । ड्राइभर दाइले गाडी बेतोडसँग कुदाइरहेका थिए । खाली पेटमा चिसो स्याउ, घर आएर एक गिलास तातोपानी र ठूलो एक मग कफी खाएकीले अहिले अत्यन्तै पिसाबले च्याप्न लाग्यो । “ए दाइ कतै सार्वजनिक शौचालय देख्नु भयो भने रोकिदिनु है ?” ड्राइभरलाई भने ।ँ तर उनले सुनेको नसुनै गरे । एक ठाउँमा सार्वजनिक शौचालय देखेँ ।
“ऊ त्यहाँ रहेछ शौचालय रोकिदिनुस न” भन्दा पनि उनले सुनेको नसुनै गरेर गाडी कुदाएँ । मैले साह्रै नै जोड दिएर उनलाई बेला बेलामा गाडी रोकिदिनुस भनेको भन्यै गरेकी थिएँ । बल्ल उनलाई मेरो समस्याले छोएछ कि सडकका दायाँबायाँ शौचालय हेर्दै हिँड्न थाले ।
अहँ कतै देखिएन सार्वजनिक शौचालय । व्यक्तिका घरमा कसैले प्रवेश दिने खासै चलन छैन हाम्रो देशमा । “लौ अब यही झर्नुस तल गहिरो जस्तो छ ।” ड्राइभरले भने । आजभोलि खुला दिसामुक्त क्षेत्र भन्छन् जहाँ पायो त्यही कहाँ बस्नु भनेर सडकको छेउमै रहेको सानो पसलमा गएर “शौचालय प्रयोग गर्नु दिनुस न दिदी” भनेर अनुरोध गरेँ । एकदम पिसाबले च्याप्यो भन्ने अनुहारको भावभंगिमाले बुझिछन् कि गाह्रो मानी मानी भित्र जानुस भनिन् । मसँग पछि लागेर आठ दस जना दिदीबहिनी झरेछन् । ती सबै यहीको शौचालयमा आए । मैले दिदीको पसलमा केही सामान किनिदिन साथीहरुलाई पनि अनुरोध गरेँ । दिदीले शौचालय प्रयोग गर्यौं भन्दैमा आवश्यक परेको छैन भने सामान किन्न पर्दैन बहिनी भनिन् । उनले त्यसो भने पनि हामीले गाडीमा खाने केही खित्रिकमित्रिक सामान किन्यौ । सामान दिँदादिदै दिदीले भनिन्, “मलाई पनि एकपल्ट रत्नपार्कमा यस्तै अप्ठेरो परेको थियो । वरिपरि जताजतै शौचालय हेरेँ देखिनँ । अनि छाता बोकेकी थिएँ । एउटा कुना खोजेर टाउको निहुराएँ अनि त्यही छाता ओझेल पारेर हलुङ्गो भएँ । पिसाबले च्यापेको साह्रो अनुभव मलाई पनि छ उनले तीतो अनुभव बताइन् । शायद भुक्तभोगी अनुभवले नै आज हामीले शौचालय पाएका थियौं । उनलाई धेरै धेरै धन्यवाद दिएर गाडीमा फर्कियौं ।
दक्षिणकाली मन्दिरको पश्चिमपट्टिबाट चित्लाङतिर जाने बाटो छुट्टिंदो रहेछ । बाहिरबाटै देवीको दर्शन गरेर माथि उक्लियौँ ।
“गुलाफको पूmल छैन बोटमा
तिम्रै नाम छ मेरो ओठमा” नामक लोकगीत गाडीमा घन्किरहेको थियो । साग्ाँुरा मोडहरु छिचोल्दै गाडी अघि बढिरहेको थियो । ‘लामागाउ’ँ भन्ने साइनबोर्ड देखेपछि मैले ड्राइभर दाइलाई सोधेँ, “दाइ अब यहाँबाट कति समय लाग्छ ?”
“अब एक घण्टा ?” ड्राइभरले भनेँ ।
ठाउँ ठाउँमा तोरी फुलेर पँहेलै भएको मनमोहक दृश्य देखेर आँखा रमाइरहेको थियो । सयपत्रीका झ्याङहरु उस्तै बाक्ला देखिन्थे । पूmलले मानिसलाई कति आनन्द दिने रहेछ भन्ने कुरा प्रमाणित भइरहेको थियो । फर्पिङ नासपातीका लागि प्रसिद्ध ठाउँ भएकोले होला नासपातीका बोटहरु पनि बाक्लै देखिन्थे । मकवानपुर सुमो सेवा लगायतका अन्य गाडीहरु पनि प्रशस्तै गुडिरहेका थिए । ‘हुमाने’ भन्ने ठाउँबाट इन्द्रसरोवर भन्दा अलि माथि चित्लाङ रहेछ । हिजो गुगलभाइसँग केहीबेर संवाद गरेर आएकी थिएँ । पारिलो घाम लागेर दिनै उज्यालो भएकोले मनै उज्यालो भएको थियो । राकसखोलालाई पनि काट्यौँ । अलिकति माथि हिँडेपछि हाम्रो अगाडि हिँडेका दुई वटा गाडीबाट धमाधम दिदीबहिनीहरु झरेर स्थानीय तरकारी बजारमा तरकारी, लप्सी र अकबरे खुर्सानी किनिरहेका रहेछन् ।
स्थानीय मुला, बरेला, स्कुस र लप्सीको भाउ सोधेँ तर किन्न बरेला मात्र दुई केजी मात्रै किनेँ । यतिबेला काठमाडौंमा तरकारीको भाउ आकाशिएको छ । केजीको एक सय पचासदेखि दुई सय रुपियाँसम्म भन्दछन् । बिचौलियाहरु अझ किलो भन्दा तर्सिएलान् भनेर पचास रुपिँयाँ पाउ, चालीस रुपिँया पाउ भन्दछन् । अझ प्याजको मूल्य बढेर एक केजीको दुई सय पचास पुगेको छ । भारतसँग परनिर्भर हँुदा हाम्रो गति हेर्न लायक बनेको छ । यही पीडाले प्याजमा कसरी आत्मनिर्भर हुने भनेर न सरकार तातेको छ न कृषि विज्ञहरु । यति चर्को मूल्य वृद्धिमा उपभोक्ताबाहेक जिम्मेवार निकायमा बसेका सरोकारवालाहरु कोही बोलेका छैनन् । उदेकलाग्दो छ परिस्थिति ।
यहाँका स्थानीय उत्पादन बरेलाको प्रतिकेजी चालीस रुपियाँ मात्र रहेछ । लप्सी एक पाथीको डेढसय भन्थे । आ–आफ्नो खाँचो अनुसार सबैले किनमेल गरे । अलिकति भए पनि आन्तरिक पर्यटनलाई प्रर्वधन गरियो । ‘फाखेल’ भन्ने स्थान कटेपछि ‘सल्ले’ भन्ने स्थान आइपुग्यौँ । ‘सल्ले’ कटेपछि ‘कुलेखानी कलंकी’ आइयो । काठमाडौँको कलंकी त यता पनि रहेछ भन्ने लाग्यो । थरिथरिका रिर्सोटका नामका विज्ञापन बाटाभरि थिए । लाग्यो स्थानीय व्यक्तिहरुले पर्यटकहरुलाई सुविधा दिन प्रशस्त रिर्सोट खोलेका हुन् । बाटो चाक्लो बनाउन र ठाउँ ठाउँमा भीर ताछिएको थियो । यही धुलौटे र जोखिमपूर्ण बाटो छिचोल्दै मार्खु पुग्यौँ । मार्खुको बाटोबाट पश्चिमतिर हेर्दा हरियो रङमा इन्द्रसरोवर ताल मुसुक्क हाँसेको रहेछ । छेउ छेउमा प्रशस्त डुङ्गाहरु किनारीकृत थिए । वरिपरि हरिया डाँडाको अति नै लोभलाग्दो दृश्य लाग्यो । आहा ! मनले अप्रत्याशित रुपमा सौन्दर्यको स्तुति गायो । फर्कदा यहाँ झरेर बोटिङ गर्ने है ? कसैले भनेको सुनियो । गाडीबाट संयुक्त आवाज घन्कियो “हस् ।”
वरिपरिका हरिया डाँडा, नीला आकाश, आकाशमाथि सेता बादलका टुक्राटाक्री ढाकिएको चित्लाङ उपत्यकाको निकै लोभलाग्दो परिवेश देखा पर्यो । नेवारहरुको पुरानो बस्ती रहेको यो ठाउँमा अलिकति अगाडि ‘लामा गाउँ’ देखियो । पुराना पुराना घरले निकै प्राचीन ग्रामीण बस्ती भन्ने कुरा अनुमान गर्न गाह्रो थिएन । जाडोको मौसम भएकोले बारीमा त्यति धेरै तरकारीको हरियाली नभए पनि हरिया मटरकोसा र बरेला भने लपक्कै फलेका थिए । गहुँ भर्खर उम्रिएका रहेछन् । असंख्य घुम्तीहरु छिचोल्दै बिहानको एघार बजे हामी चित्लाङ पुग्यौँ । थाहा नगरपालिका रहेछ यो क्षेत्र । रुपचन्द्र विष्टलाई झलक्क सम्झिएँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको निर्माणाधीन क्षेत्र पनि रहेछ । साइनबोर्डले हामीलाई विभिन्न कुराको जानकारी दिइरहेको थियो । रमणीय भेडा फाराम अवलोकन गर्नु होला भन्ने साइनबोर्ड पनि आँखामै ठोकियो । बाख्राको चीज उत्पादन गर्ने ठाउँ पनि छ हेर्नु है भन्ने साथीहरुको अनुरोध पनि यही आएपछि सम्झिएँ । मङ्सिरको छोटो दिनमा के के हेर्न भ्याइने हो जस्तो लाग्यो ।
सर्वप्रथम त भोकलाई शान्त पार्नु थियो । काठमाडौँदेखि नै ‘चित्लाङ हटस्पट कटेज’मा खानाको अर्डर गरेका थियौं । खाना खाएर मात्रै गन्तव्यलाई अघि बढाउने ध्येयले हाम्रो गाडी त्यही पुगेर मात्र रोकियो । अग्लो ठाउँमा रहेछ हामीले खाना खाने कटेज । वरिपरि अति नै सुरम्य वातावरण थियो । टाढा टाढा हरिया डाँडाका थुम्काहरु देखिने । तल हेर्दा चित्लाङको पुरानो नेवारी बस्ती देखिने । ठाउँ ठाउँमा फुलेका सयपत्रीका थुम्का । निकै मनमोहक वातावरण । बसेर हेरिरहूँ जस्तो । ऊ त्यो परको सुन्दर घर दरबार हो । तलको फाँटमा रहेको बंगला देखाउँदै स्थानीय भाइले भने । “पहिला पहिला राजाहरु आउँदा त्यही बस्थे ।”
“यहाँ हेर्न लायक अरु के के छन् भाइ ?” मैले सोधेँ ।
“महाकवि लक्ष्मीप्रसाद देवकोटाले धाराको डिलमा बसेर यात्री कविता लेखेको ठाउँ गुर्जुधारा छ । ऊ त्यो जङ्गलभित्र सातधारा छ । सातधाराभन्दा अलिकति माथि बाटोमा अशोक चैत्य छ । यिनै हुन् यहाँको आर्कषण । मुख्यत: यहाँको शान्त, सुरम्य प्राचीन बस्ती, चित्लाङ उपत्यका र हरियाली भौगोलिक भूबनोट नै प्रमुख आकर्षण हो ।
अब खाना खाएपछि यी सबै ठाउँमा हामी जानेछौँ । तीन वटा गाडीभरि गएका पचास साठी जना यात्रुलाई खान तयार पार्नु सामान्य कुरा थिएन । पालैपालो खाना खाइयो । स्थानीय तरकारी र स्थानीय चामलको भात निकै मीठो थियो । थपीथपी खाइयो । खाना खाएर साथीहरुलाई कुर्नै पर्यो । घामको पहारमा बसेर सयपत्री पूmलको मगमग बास्ना लिइयो धेरैबेर । वरिपरिको पर्यावरण आँखामा सजाइयो भित्रैसम्म अघाउने गरी । घाम छोडेर हिँड्न मन त थिएन तर एक दिनका पर्यटक हामी उठ्न करै लाग्यो । उठेर पहिले गुर्जुधारा जाने कुरा भयो । एउटा पुरानो ढुङ्गेधाराबाट पानी छङछङ गरेर बगिरहेको थियो । त्यो पानी अँजुलीमा थापेर कलकल खाइयो । शिलालेख पुरानो भइसकेको रहेछ । अक्षर बुभ्mनै गाह्रो पर्यो । तैपनि इति सम्वत् १८८४, यात्री भन्ने अक्षर चाहिँ मज्जाले बुझियो । यही धारामा बसेर पानी खाएर सुस्ताइरहेको बेला दक्षिण दिशाबाट एकजना मानिस अर्को मानिसको काँधमा चढेर आएका थिए रे । देवकोटाले कहाँ जानुहुन्छ भनेर सोधीखोजी गरेछन् । पशुपतिनाथ दर्शन गर्न जान लागेको भनेछन् । त्यसरी अर्काको काँधमा चढेर भगवान्लाई दर्शन गर्न जान लागेको भन्ने थाहा पाएपछि उनलाई यात्री कविता फुरेको भन्ने किवंदन्ती सुनियो ।
जे भए पनि काठमाडौँमा जन्मिएका देवकोटालाई चित्लाङमा आएर यात्री कविता फुरेछ भन्ने लाग्यो । साहित्यमा रुचि नराख्नेले पनि देवकोटाको नाम सुनेका भएकोले बडो अभिरुचिपूर्वक शिलालेखको फोटो खिचेका थिए । यात्री कविताको रचना गर्भभूमिमा पाइला टेक्न पाउँदा मलाई पनि बडो खुसी लाग्यो । साहित्यका विद्यार्थीलाई यस्ता कुराले अझ बढी खुसी तुल्याउँदो रहेछ कि जस्तो लाग्यो । गुर्जुधारापछि स्थानीय गाइडलाई लिएर हामी सातधारा भन्ने ठाउँमा जान लाग्यौँ । खेतको आली आली टेकेर एउटा जंगलभित्र हामी पुग्यौँ । सिमसार जस्तो ओसिलो ठाउँमा सात वटा ढुङ्गेधारा थिए । ती धाराबाट छङछङ पानी बगिरहेका थिए । मरुभूमिजस्तो ठाउँबाट गएका हामीलाई ती धाराबाट पानी खेर गएको देख्दा पनि मन चुकचुक भयो । आडैमा रहेछ गणेश, शिव, कृष्ण लगायतका देवताहरुका ढुङ्गामा कँुदिएका मूर्ति । ती मूर्तिहरुमा स्थानीयहरुले नियमित पूजा अर्चना गर्दा रहेछन् भन्ने कुरा मूर्तिमा लागेका राता अविरले जनाउँथे । जङ्गलभित्र मन्दिर र धाराको संयोजनले एउटा अपूर्व दृश्य सञ्चार भइरहेको थियो । तर सरसफाइ र संरक्षणको भने अभाव नै रहेको देखेँ मैले । एक्लै आउँदा पनि डर लाग्ने जस्तो ठाउँ रहेछ यो । सातधारा अवलोकनपछि पुन मूल बाटोमा आइयो । चित्लाङको उत्तरमा थानकोट र नौबिसे पर्ने रहेछ । दक्षिणमा मार्खु, पूर्वमा फाखेल र पश्चिममा बज्रबाराही पर्ने रहेछ । नेवारी संस्कृतिमा अत्यन्तै धनी यो क्षेत्र समुन्द्र सतहबाट १९५० मिटरको उचाइमा रहेछ ।
हामी यहाँबाट अलिक अगाडि बढेर अशोक चैत्य हेर्नका लागि झर्यौं । काठमाडौँको स्वयम्भूनाथ र बौद्ध परिसरमा कति ठूला ठूला चैत्य हेरेको बानी त्यहाँको सानो चैत्य हेर्दा केही नौलो लागेन र पनि अत्यन्त पुरानो चैत्य भनेर यसलाई भनिंदो रहेछ । चैत्यको आडैमा पनि ढुङ्गेधारा रहेछ । स्थानीय मानिसहरु जीउ माडी माडी नुहाउँदै थिए । महिला पर्यटकको धुइरो देख्दा अलिकति लाज मानेजस्तो अनुभव गरेँ मैले । फटाफट हेरेर म बाटोमा निस्किएर एउटा पसलमा बसेर साथीहरुलाई कुर्न थालेँ । पसलमा एउटी बहिनी थिइन् । “बहिनी चित्लाङ घुम्न आएका हामीहरुले के कोसेली लैजाने होला त ?”
“फर्सी, बरेला, अकबरे खुर्सानी र अन्य मौसमी तरकारीहरु नै लैजान्छन् दिदी यहाँबाट ।” उनले भनिन् । यहाँको मुख्य पेसा भनेकै कृषि र व्यापार हो । बाख्राको दुधबाट बन्ने चीज कारखाना र रमणीय भेडा फाराम हेर्न जान भने हामीले भ्याएनौँ । बरु छिटोछिटो इन्द्रसरोवर तालमा गएर डुङ्गा चढ्ने कुरा साथीहरुले गर्नुभयो । नेपालको त्रिभुवन राजपथ खुल्नु अघिसम्म काठमाडौँलाई तराईसँग जोड्ने प्राचीन नाका भएकोले यो प्रमुख मार्ग थियो । अहिले पनि उत्तिकै महत्वपूर्ण नै थियो यो बाटो ।
हामी दिउँसोको दुई बजे इन्द्रसरोवर ताल आइपुग्यौं । पिकनिक खानेहरुको ठूलो भीडभाड रहेछ । संगीतका सुमधूर स्वरहरु स्पीकरमा गुञ्जिरहेका थिए । हामी पनि तालकिनारामा पुग्यौँ । तालको सौन्दर्य हेर्न लायक थियो । फेवाताल र वेगनासताल सँगसँगै आँखामा नाच्न थाले । डुङ्गा चढ्न रहर गर्नेहरुले डुङ्गाको आनन्द लिए । फेवातालको छेउमा माइती भएकी म कयौँ पटक डुङ्गा शयर गरेकीले यहाँ डुङ्गा चढ्ने जोश लागेन । छोरी र म फोटोसेसनमै रमायौँ । तीन बजे काठमाडौँका लागि हामीले मार्खुलाई बाइबाई गर्दै अगाडि बढ्यौँ । देवकोटालाई यात्री कविता लेख्न प्रोत्साहित गर्ने यो सुन्दर उपत्यका चित्लाङ मेरो आँखाभरि झलझली नाचिरह्यो । एकैदिनमा काठमाडौँ–चित्लाङ गर्न सकिने सुन्दर ठाउँमा पाइला राख्न पाएकोमा आपूmलाई धन्य ठानेँ ।