यात्रा गर्दा मनमा उर्जा आउँछ । नयाँ अनुभव हुन्छ । प्रकृतिसँग रमाएपछि फेरि काम गर्ने हौसला मिल्छ । ठाउँ ठाउँका मानिसहरुसँग चिनजान हुन्छ । यात्रा गर्दा कुनै रमाइलो किताब पढेझँै लाग्छ । म जहाँ यात्रा गर्दा पनि आफ्नो अनुभव लेख्ने गर्छु । केही वर्ष अघि केही साथीहरुले मानसरोवरको यात्रा गर्दाकोे आनन्दको वर्णन गरेको थियो । मलाई जाने इच्छा भयो । तर समयको पावन्दीले र मानसरोवर जाँदा आर्थिक रुपमा पनि धेरै नै खर्च हुने भएकोले यात्रा कार्यक्रम पछि पछि धकेलिंदै गएको थियो ।
२०७० साल अगष्ट महिनामा चाहिँ १५ दिनको समय र खर्च दुवै जुटाएर मानसरोवरको यात्रा शुरु गरियो । त्यहाँ कुनै ट्राभल एजेन्सीको माध्यमबाट जान मात्रै सजिलो हुने रहेछ । कैलाश ट्राभल्सबाट यात्राको बन्दोबस्त मिलाइयो ।
४५ जना भारतीय र १३ जना नेपालीसहित हामीले मानवसरोवरको यात्रा बिहान ५ बजे शुरु गरियो ८ अगष्ट, २०१३ मा । दुइटा बसमा बसेर कोदारीतर्फ लागियो । भारतीय पर्यटकहरुमध्ये डाक्टर, व्यापारी, कलेजको प्राध्यापक विद्यार्थी र युवा युवती थिए । भारतका विभिन्न प्रदेशका शहर र मुम्वइबाट आएका थिए । यात्रा काठमाडौंबाट शुरु भएर तिब्वतको न्यालम पुग्दा नै केही साथीसँगै मलाई पनि वाक वाक आउने र टाउको दुख्ने भएको थियो, अर्थात लेक लागेको थियो । न्यालमको होटलमा पुगेपछि तातो दाल, भात तरकारी खाएपछि आराम गरेपछि केही सहज अनुभव भयोे ।
चीन सरकारले मानसरोवर जाने बाटो ३००० देखि ५००० मिटरको उचाइमा पनि धेरै राम्रो बनाएको छ । धेरै वर्षदेखि यात्रा गराइसकेका कैलाश ट्राभलका साथीले भने पहिलेको तुलनामा त मानसरावरको यात्रा धेरै नै सजिलो भएको बताए । पहिले त बाटो पनि राम्रो थिएन, होटल पनि थिएन । पाल आफै ल्याउनुपथ्र्याे । उनको अनुभव सुन्दा हामीलाई कथा सुनेजस्तो लागेको थियो । न्यालममा २ दिन बसियो । उचाइमा बस्दा शरीर अप्ठ्यारो र अभ्यस्त हुने रहेछ । कतै बस्दै नबसी एकैचोटि मानसरोवरसम्म पुग्ने हो भने त लेक लागेर यात्रीहरुको मृत्युसम्म हुन सक्छ भन्ने सुनियो । न्यालम बास बसियो । भोलिपल्ट बिहान होटल नजिक एक सानो पहाड चढियो । शरीरलाई बानी पार्दै लैजानुपर्ने भएकोले उचाईमा योे हिंडाइ महत्वपूर्ण रहेछ ।
यात्रा धेरै रमाइलो भए पनि त्यहाँको समस्या भनेको चर्पीको रहेछ । होटेलमा समेत पनि चर्पीको राम्रो व्यवस्था थिएन । हामी नेपालीहरुले चाहिँ आपसमा हाँसो पनि गर्यौं “नेपालको गाउँघरमा शुरु भएको खुला दिशा मुक्त क्षेत्र कार्यक्रम त यहाँ पनि लागु गर्नुपर्ने हो ।” अब त शायद यो अवधिमा त त्यहाँ चर्पी बनिसक्यो होला ?
काठमाडौंबाट हिंडेको चार दिनमा मानसरोवर पुगियो । लेक लागेर वाकवाक भएको, टाउको दुखेको जिउलाई मानसरोवरको चिसो पानीमा डुवुल्की मारेपछिको आनन्द चाहिँ अवर्णनीय नै थियो । नीलो आकाशमुनि मानसरोवरको पानी त मानौं कुनै समुन्द्रकै झैं लागेको थियो । मानसरोवरको अद्भूत सौन्दर्य हेर्ने लोभ र इच्छा मेरो पूरा भयो ।
यस यात्रामा मानसरोवरको साथै ब्रम्हपुत्र नदीको उद्गम पनि देखियो । आसामको गौहाटीमा देखेको समुन्द्र जस्तो ब्रम्हपुत्रको मुहान त सानो रहेछ । ब्रम्हपुत्रको छेउमा बसेर खाना खाँदा मैले विचार गरें “यो नदी हजारौं वर्षदेखि बगिरहेको छ । हामी मरेर गइसकेपछि पनि हजारौं वर्षसम्म यो यसरी नै बगिरहनेछ । हाम्रो अस्तित्व त स्वयं नदीको विशालता, यो कैलाश पहाड र पठारको अगाडि त केही पनि होइन नि ?”
मानसरोवर र कैलाशका यात्रा सुन्दा रमाइलो भए पनि यात्रा सहज चाहिँ होइन । शारीरिक र मानसिक रुपमा पनि स्वस्थ्य हुनुपर्छ । हामीसँगै गएका ६ जना भारतीयहरु त ३ दिनपछि नै लेक लागेर फर्कनु पर्यो । मानसरोवरसम्म पुग्ने बेलासम्ममा हामी कैलाशको कोरा गर्ने ३ दिन हिँडेर कैलास घुम्ने कि कैलाश दर्शन मात्र गरी फर्कने छलफल गर्यौ । हामीहरुमध्ये केही साथीहरु घोडा लिएर भएपनि कैलाश परिक्रमा गरौं भन्ने मनस्थितिमा थिए, तर शारीरिक रुपमा निकै गाह्रो हुने देखेर केही साथीहरु कैलाशको दर्शन मात्र गर्ने तर कोरा गर्न कोही पनि नजाने विचार गरे ।
यस्तो विचार आउनुको कारण मध्ये एउटा कारण त्यो बेलाको मौसम पनि हो । कहिले पनि पानी नपर्ने मानसरोवरमा त्यो वर्ष झमझम पानीपरिरह्यो । “वातावरणमा जलवायु परिवर्तन भएर यस्तो समस्या हुन पुगेको हो र यसले गर्दा कैलाश मानसरोवर क्षेत्रमा नराम्रो प्रभाव पर्छ” हामीसँगै गएका घनश्याम गुरुङ्गले भने । मुस्ताङ्गमा नै जन्मेर हुर्केका घनश्याम गुरुङलाई यस यात्राभरी लेक लागेन र उनले हामी सबैको खानादेखि औषधि र आरामको पनि ख्याल राखे ।
मानसरोवरबाट कैलाश दर्शन गर्न जाँदा झण्डै १२ किलोमिटर हिँडनुपर्छ । हामीलाई १० घण्टा लाग्यो । कैलाश हिमाल वा देवता देखेर मन आनन्दित भए पनि बसेको ठाउँमा भएको फोहोर वातावरणले मन खिन्न भयोे । चर्पी नभएकोले नदीको किनार र ढुङ्गाको कापमा दिशा जानुपर्ने अवस्था रहेछ । यसले कैलाशको पवित्रतालाई दुर्गन्धित पारेको देखियो । “यहाँको प्रशासन र मानिसहरुले चर्पी बनाउन पहल गर्दैनन् । जताततै जमीन छ, पानी छ किन चर्पी बनाउनु पर्यो भन्ने मानसिकता रहेछ ।” – एकजना गाइडले त भने –“पहिलेको भन्दा त राम्रो छ । पहिले त ढोका बाहिर नै दिशा गर्थे अहिले त केही पर गएर दिशा गर्दा रहेछन् ।” अचम्म लागिरह्यो ! यस यात्राभरि नै किन यस्तो पवित्रस्थलमा शौचालय व्यवस्थित छैन ? यात्राको दौरानमा देखिएको अर्को नमज्जालाग्दो पक्षचाहिँ यात्रीहरुले पूजा र यज्ञ गरेपछि सबै फोहोर, खरानी, प्लाष्टिक आदि मानसरोवरको किनारमा त्यसै छोडेर जाने नराम्रो प्रवृत्ति रहेछ ।
हामीसँग दक्षिण भारतका केही व्यक्तिहरु पनि थिए । उनीहरुले यज्ञलाई चाहिने सम्पूर्ण सामग्री आफैसँग लिएर आएका थिए । पवित्र वातावरणमा मानसरोवरको किनारमा बिहानको सूर्यको किरणसँगै मन्त्रहरु पढेर यज्ञको विधि विधान गरे ती यात्रीहरुले यहाँ । हामीले पनि यसमा भाग लियौ । बेलपत्र समेत भारतबाट लिएर आएका भक्तहरुले यज्ञ सिद्धिएपछि सबै फोहोर त्यसै छोडेर हिँडे । “हाम्रो धर्मले किन यज्ञ पछि सफा गर्न सिकाउँदैन्” भन्ने भावना मेरो मनमा आइरहयो ।
कैलाश पर्वत नजिक पुगेपछि फोहोर भए पनि त्यसको भव्यताबाट मुग्ध भइन्छ । हामीहरुले पुराणमा सुनेको “कैलाश यही हो भन्ने” भावनाले मनमा आनन्द दियो । केही साथीहरुले कैलाशमा ‘ऊँ’ लेखेको देखियो भने । कसैले “ऊँ देखें, कसैले शिवजी बसेको देखें, कसैले दरबार नै देखें” भने । मनको भावना अनुसार हरेकले केही न केही देख्दा रहेछन् । कैलाशलाई यति नजिकबाट देख्दा अचम्मको र आनन्दको भाव चाहिँ सबैको मनमा आयो ।
लेक लागेर अस्वस्थ हुँदा आकाश, पहाड हेर्दा पनि केही अर्थ नखुल्ने, सुत्नमात्र पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर फर्किंदा स्वस्थ शरीर र मन भएकोले यात्रा कहिले पनि नसिद्धिए हुने थियो झैं लागिरह्यो । ११ दिनको मानसरोवर कैलाशको यात्रा गरेको पनि ८ वर्ष भन्दा बढी भइसकेको छ । तर आनन्दचाहिँ अहिलेसम्म मनमा छँदैछ । यात्रा गर्दा शान्त रहनु पर्दछ भन्ने भावनालाई केही केही जीवनमा लागु पनि गरेको छु । ब्रम्हपुत्रको बहाव र मानसरोवरको विशालता र कैलाशको उचाइ र सौन्दर्य चाहिँ मनमा टाँसिएको छ । कुनै फोटोजस्तै ।
कैलाशपछि क्यानजिङ
कैलाशको यात्रापछि धेरै ठाउँको यात्रा गरियो । तर मेरो मनमा छाप बसेको यात्रा त लामटाङको यात्रा थियो । २०७७ सालको दशैमा कोरोनाको बेला लामटाङ घुम्न जाने निर्णय गरियो । काठमाडौंको उकुसमुकुस र धुवाँबाट मुक्त भएर लामटाङ पुग्दा त एकातिरबाट नदीको कलकल आवाज, अर्कोतिर झ्याउँकिरीहरुको आवाज र कहिलेकाहीँ हावा चलेर पातहरुबाट आएको आवाज सुन्दा त मन धेरै नै आनन्दित हुँदोरहेछ । ७ दिनसम्म कहिले ६ घण्टा कहिले १० घण्टा हिँडिरहँदा थकाइको पनि अनुभव भएन, खुट्टा पनि दुखेन ।
स्याफ्र्रोबेसीबाट हिँडेदेखि नै हामी लामटाङको खोलासँगै हिंडिरह्यौं । हिँडाइ गर्नु नै आफैमा एक उद्देश्य थियो । कुनै ठाउँमा पुग्नैपर्ने लक्ष नलिएकोले प्रकृति हेर्दै हिँड्दै जंगल र खोलाको आनन्द लिइयो ।
काठमाडौँबाट ‘कोरोनाको बेला नजाउ’ भन्ने थुप्रै थिए, तर परिवारसँग आफ्नै देशमा घुम्न जाने विचारले लामटाङ यात्रा गर्दा लाग्यो, गएर ठीक गरिएछ । म पहिले २०७० सालमा लामटाङ यात्रा गर्दा यस्तो राम्रो ठाउँमा पुन: परिवारका सदस्यहरु लिएर आउँछु नै भन्ने विचार गरेकी थिएँ । यसपाली परिवारसँगै गएकी थिएँ ।
म ८ वर्षअघि दशैको बेला नै लामटाङ जाँदा पर्यटकहरुको लर्को धेरै थियो । फ्रान्स, अमेरिका, जर्मनी, नेदरल्याण्ड, रसियाका मानिसहरु धेरै थिए । कति जना त पूरा यात्राभरि एक्लै, कतिजना परिवारसहित र कतिजना त ठूलो डफ्फा नै आएका थिए । तर यसपालीको यात्रामा त हाम्रो परिवार मात्र थियो फगत ।
“लकडाउन भएदेखि तपाईंहरु पहिले पर्यटक हो ।” हाम्रा पथप्रदर्शक ‘नेवाङ’ले भनेका थिए । स्याफ्र्रोबेसीदेखि लामटाङ र क्यानजिङ पुग्ने बाटो धेरै गाह्रो नभएकोले शुरुवाती ‘हिडाइ’ गर्नेको लागि लोकप्रिय भयो । यसपालीको यात्रामा कोरोनाको कारणले होटेल धेरै खुलेका थिएनन् । तर यस्तो बेलामा पनि जहाँ बसे पनि साग, अचार र भात खान पाइयो । सबै कुरा तलैबाट बोकाएर ल्याउनुपर्ने भएकोले दालभात खाएको रु ५००।– पर्दोरहेछ । तर यो महँगो लागेन । यस्तो कोरानाको गाह्रो बेलामा पनि त्यहाँका होटेलवालाले देखाएका स्नेहले मन प्रफुल्लित भयो । “आउनुस्, दिदी, दाजु एकछिन् बसेर चिया खाएर जानुस्” भन्छन् । प्रकृतिसँग मन साटेर चिया खाँदा रु. ५०।– तिर्नुपर्यो भनेर चित्त दुखाउनै पर्दैैन । यस्तै ठाउँमा विदेशमा हुँदो हो त यसरी बसेर खाएको चियाको मूल्य ५०।– डलर बराबर हुन्थ्यो होला ?
लामटाङमा पुग्यौं र एकछिन बस्यौं । अर्को ३ घण्टामा हामी क्यानजिङ पुग्यौ । झन्डै १० घण्टा नै हिँडियो । दश घण्टाको यात्रा गर्दा मलाई केही लेक लागे जस्तो भएको थियो । बेलुका अँध्यारो भयो । बाटोमा हिँड्दा नजिकै चौरीहरु चरिरहेका र एउटा माउ चौरीले आफ्नो बच्चालाई दुध चुसाएको रमाइला पलहरु क्यामेरामा कैद गरियो । क्याङजिङमा पुगेपछि तीनतिरबाट हिमालले घेरेको, चाँदनी रात, पहाड भएको दृश्य त साह्रै लोभलाग्दो पो हुँदो रहेछ ।
“यहाँ मानिसहरु आउँछन् र आनन्दसँग बस्छन्। गुम्बामा पुग्छन्, माथि माथि चुचुरामा जान्छन् । मनोरम रहेकोले २–३ चोटिसम्म पनि आएका छन् ।” त्यहाँ चिया दिंदै एकजना शेर्पिनी दिदीले भनिन् –“तर यसपाली कोरानाले गर्र्दा सबै बन्दजस्तो छ ।” केही छिन बसेर चौरीको दूधको चिया खाइयो । ७४ वर्षीय हजुरआमाले चौरीको दूधले बनाएको चिया खायौं र आनन्द लियौं । हजुरआमाको फूर्तिलो सक्रियताले हामीलाई छक्क तुल्यायो ।
क्यानजिङमा बेलुका नेवाङको घरमा उनकी आमासँग नजिकै बसेर हामीले आगो ताप्यौं । उनीहरुले के खान्छन् भनेर सोधेको अगेनामा राखेको चम्पा (सात्तु) देखाउँदै भनिन् –“यो चम्पा, आलु र चौरीको दूध नै मेरो भोजन हो ।” भोलिपल्ट मेरा परिवारका सदस्यहरुले ३८०० मिटर उचाइमा रहेको क्यानजिङ पर्वत ३ घण्टा लगाएर उकालो चढ्यो । म थाकेकोले चढिनँ । सफा आकाश, बिहान दश बजेको न्यानो घाम र सरर हावा चलेको बेलामा मनमा लाग्यो, यही सौन्दर्यमा लोभिएर त आउँछन् होला नि बारम्बार पर्यटकहरु । तर कोरोनाले यसपाली यो आनन्द पनि खोस्यो । एकदिन त्यहाँ बास बस्दा बेलुकाको खानामा हामीले “फापर वा कोदोको मीठो सुप बनाइदिनुस्” भन्यौ । अनि पिठो, आलु र सागको मिश्रणबाट बनाएको सुप, ‘हेराल्डु’ खाएपछि म आनन्दले निदाएँ ।
२०७२ साल भूकम्प अघिको लामटाङ र भूकम्प पछिको लामटाङमा धेरै परिवर्तन देखें । बाटो धेरै गाह्रो छ । तर भूकम्पले सोतर पारेको गाउँघर चाहिँ बनेछ । “सरकारले दिएको पैसा, मेरो विदेशी साथीले पनि मद्दत गरेकोले हामीले घर बनायौंं । बाहिर सिमेन्ट र भित्र पट्टि काठ हालेको घरहरुमै होटेल पनि छ । भूकम्पमा यहाँ धेरै मान्छे मरे, मेरो बुबाको पनि खोलामा काम गर्दा मृत्यु भयो । आमालाई त यस्तो ‘झट्का’ लागेको थियो कि केही समय त वहाँ मानसिक रुपमा अस्वस्थ नै बन्नुभयो । हाम्रो गाउँमा मात्र २५० मान्छे मरे । धेरैको लास नै पाइएन । यही बालुवामा पुरियो” नेवाङले भने । मन दुख्यो, वेदना सुन्दा ।
भूकम्प हुँदा लामटाङमा हिउँको पहिरो आएको थियो । त्यसले कति घरका छाना उडायो हिसाब छैन । गुम्बाको पनि छाना उडाएको रहेछ ।
लामटाङमा एक अर्काबीचमा मद्दत गरेर घरहरु बनाए । लामटाङमा यहाँ केही स्थानीय व्यक्तिहरुले अझ होटेल बनाउँदैछन् । यहाँका मानिसहरु बाहिरको लागि जग्गा नबेच्ने नीति रहेछ । “हामीहरु पछिका हाम्रा सन्तानहरुले यहाँ होटेल चलाउँदैनन् होला, सबैजना काठमाडौंमा पढ्छन्, ठूलो भएपछि यहाँ आएर कसले यस्तो दु:ख गर्ला र ?” एकजना व्यक्तिले भनेका थिए ।
लामटाङका व्यक्तिहरुले आफ्नो थर तामाङ लेख्दा रहेछन् तर उनीहरुको भाषा, भेषभूषा संस्कृति केही पनि तामाङसँग मिल्दैन । “हामीहरुका पूर्खा तिब्बतबाट आएका हुन् । शेर्पा वा तिब्बतको मान्छेको थर लेख्यो भने सबैले तिब्बतियन भनेर हेप्छ कि भनेर हामीले तामाङ थर त राख्यौ, तर अब त थर फेर्न चाहेको र आफ्नो पहिचान राख्न चाहेको तर होला जस्तो छैन ।” नेवाङले दुखेसो पोखेका थिए ।
लामटाङमा अष्टमीको दिनमा ठूलो मेला लाग्दो रहेछ । “नेपालका विभिन्न ठाउँमा काटेका जनावरहरुको आत्माको शान्तिको लागि गुम्बामा प्रार्थना गरिदों रहेछ ।” लामटाङ निकुञ्जमा जनावर, खसी, कुखुरा काट्न नपाइने रहेछ । त्यसैले स्याफ्रेबेसीबाट नै मासु ल्याउँदा रहेछन् र यहाँको वासिन्दाले किन्दा रहेछन् ।
लामटाङमा जाँदा थाहा भयो – झरना, नदीहरु बगेको हेर्नलाई मात्र होइन सुन्न पनि हो भनेर । दृष्टिविहीनहरु पनि विदेशबाट आउँदा रहेछन् ।
लामटाङ निकुञ्जमा तितेपाती र सिस्नु धेरै फल्दो रहेछ, तर कसैले प्रयोग गरेको देखिएन । तितेपातीको औषधीय महत्व मैले नेवाङलाई बुझाएँ । सिस्नोको कस्तो परिकार बन्छ, सिस्नो खाँदा स्वास्थ्यमा कति फाइदा हुन्छ भनेर बुझाएँ । फर्केर आउँदा हामी ‘शेर्पा गाउँमा’ खाना खायौ र ‘सुर्खा’ भन्ने ठाउँमा रात बिताउन पुग्यौ । विदेशीहरु धेरै जाने, तर कमै नेपाली पुग्ने सुर्खा गाउँ अति राम्रो रहेछ । ‘शेर्पा गाउँ’ मा चाहिँ शेर्पा थिएनन् । “किन यसको नाम शेर्पा राखेको भन्दा, यो ठाउँ वास्तवमा ‘स्याप्रो’ हो अर्थात धेरै घाम लाग्ने ठाउँ, तर अपभं्रश भएर शेर्पा गाउँ भएको रहेछ पहिले । लामटाङ जाँदा छुटेको सुर्खा गाउँ धेरै रमाइलो लाग्यो ।
लामटाङमा जाँदा रमाइलो त हुन्छ । तर त्यहाँका बासिन्दाको जीवन चाहिँ गाह्रो छ । “कोरोनाको बेला सरकारले विभिन्न ठाउँमा चामल, दाल दियो रे । हामीकहाँ त केही पनि दिएन ।’ हाम्रो त भर नै पर्यटक हो, यसपाली त त्यो पनि छैन”, नेवाङले भनेका थिए ।
हामी लामटाङबाट फर्केर आएपछि सुनियो, ‘कोरोनाको कारणले’ लामटाङ बन्द नै रह्यो । मलाई चाहिँ “कोरोनाको बेला लामटाङको भेला” याद आइरहन्छ । तर २०७८ सालमा फेरि लाङटाङ जान मानिसहरुको घुइँचो लागिरहेको छ । खुशी लायो मलाई, ४–५ वर्ष पछि पुन: जान्छु ।