– ठीक समय र परिचय भएको घटना त सम्झना छैन, १९९२–९३ सालतिरकै कुरा हुनु पर्छ शारदा प्रकाशनको निम्ति उनले लेखेको माटोको छहरा भन्ने कविता दिन उनी शारदा– कार्यालय, जोर गणेश छापाखाना, पाकोमा आएका थिए । त्यही नै हाम्रो पहिलो भेट भएको हुनुपर्छ । त्यसैताका उनका मेरी बयासी गजल र तर्पण (पिताको मृत्युमा लेखेको शोककाव्य) मैले पढन् पाएँ । अँ ! यसभन्दा पनि अगाडि गोरखापत्रमा कविता हरायो र मनभित्र चित्र भन्ने समस्यापूर्ति दिइएको थियो र समस्यापूर्तिमा उनले लेखेको कविता पढ्न पाएको थिएँ ।
– उनी सुरुदेखि नै परिमार्जित शैलीमा आफ्नो भाव प्रकट गर्थे । १९९५–९६ सालतिर प्रकाशित भएको उनको सहनशील सुशीला नाटक दर्शकहरूले निकै प्रशंसा गर्नुहुन्थ्यो ।
– आफ्ना साहित्यिक कृतिहरूको सही मूल्याङ्कन भएन भनी उनी गुनासो गर्थे । घरेलु अड्डा जागिर खान्थे । सफा, सुग्घर र चिटिक्क परेको लुगा लगाउनु उनका सौख थियो । सधैं उनलाई साइकल चढेर हिँडेको भेटिन्थ्यो र उनी मिलनसार थिए । अरू लेखकका कृति पढ्यो भने आफ्नो मौलिकता रहन्न भनी बाहिरी पुस्तक त्यति अध्ययन गर्दैनथे ।
– हो, भीमनिधिले साहित्यिक पुरस्कार र सम्मान पाएनन्, तर उनका रचना पढ्दा प्रशस्त पाठकहरूले उनलाई सम्मान गर्छन् । समालोचकबाट सही मूल्याङ्कन भएन भन्ने मलाई लाग्छ । साहित्यको मर्यादा र स्तर कायम गरेर लेखकको सही मूल्याङ्कन गर्ने काम समालोचकको हो । पूर्वाग्रह र अनभिज्ञताले गर्दा सही मूल्याङ्कन नभएका अनेकौं दृष्टान्त हामी पाउँछौं ।
– समजी भन्ने गर्नुहुन्थ्यो – एक पटक घन्टाघरनेर साइकलबाट लड्दा पनि उनी हात फैलाएर पोजसाथ लडिरहेका थिए । यो म बराबर सम्झिरहन्छु ।
– उनको जीवनको उत्तराद्र्धतिर निस्केका कृतिहरूमा सामाजिक विसङ्गति र विकृतिलाई प्रहार गरेका व्यङ्ग्यहरू प्रखर रूपमा देखिन्छन् । अर्को रचना वयासी गजलले पनि त्यस बेलाको नेपाली गीतलाई लोकप्रिय बनाउनमा ठूलो मद्दत गर्यो । उनका कथाहरू पनि गाउँघरतिर विशेष चर्चित भएको मैले पाएको छु । नेपाली साहित्यको उत्थानको निम्ति भीमनिधिको ठूलो योगदान छ ।
– साहित्यको अभिप्राय कुनै विषयमा राम्ररी विचार गर्न जान्नु हो । कविता, कथा, नाटक आदि पढेर लिने सार पनि यही हो । जति लेखकले आफूले बुझेर लेखेको हुन्छ, त्यति नै त्यो अरूको निम्ति पनि ग्राह्य हुन्छ । कलाको निम्ति लेख्नुभन्दा जीवनको निम्ति बुझेर लेख्ता त्यो स्वत: कलापूर्र्ण हुन जान्छ ।
इमान्दारी अथवा विवेक र बुद्धिले अह्राए बमोजिम अभिव्यक्ति दिँदा स्वत: कला पनि लाग्छ । जुन ठाउँ र परिस्थितिमा हामी उभिएका हुन्छौ त्यसको उत्तरदायित्व नबिर्सी अभिव्यक्ति गर्नुपर्छ । हामी सबैले अनेक किसिमको सुख–दु:ख भोगेका हुन्छौ । त्यही भोगेका कुरालाई अभिव्यक्ति दिनु साहित्य हो । तर भोगेर मात्र हुँदैन, त्यसलाई द्रष्टाका रूपमा हेर्न सकिएन भने त्यो रोग र दोषको रूपमा रहिरहन्छ । यही रोग र दोषबाट मुक्त हुनु साहित्यको वास्तविक ध्येय हो । काँडाले काँडालाई झिकेका रागात्मक प्रवृत्तिबाट रागलाई झिक्नु पर्छ ।
– जनमत, २०४६ साउन/पूर्णाङ्क ५