प्रारम्भ :
नेपाल बाहिर नेपाली साहित्य सिर्जनाको विकास छिमेकी राष्ट्र भारतबाट सुरुभएर आजसम्ममा संसारभर छरिन थालिसकेको छ । भारतको अलावा लाहुरे हुनगएकाहरुले फाट्टफुट्ट बेलायतमा पनि नेपाली साहित्य सिर्जना गरेको पाइन्छ । दार्जीलिङ र देहरादुन त नेपाली भाषा साहित्यको फक्रिएको बगैंचा नै हो भन्न अत्युक्ति नहोला । आज एक्काइसौ शताब्दीको यो मोडमा आएर विश्वव्यापिकरणसँगै नेपालीहरु विश्वका कुनाकुनामा पुगेकाछन् । जहाँ–जहाँ नेपालीहरु पुगेकाछन् त्यहाँ त्यहाँ नेपाली भाषा, संस्कृति र साहित्य फैलिंदै गएको छ।
नेपाली साहित्यका कलमहरु विदेशी भूमिमा व्यस्तताका बाबजुद पनि लागिपरिरहेकै छन् । अहिले आएर देशबाहिर बस्ने साहित्यकर्मीहरुले सृजनाका प्रकाशनहरुको रफ्तार बढाएका छन् । सायद आफ्नो जन्मभूमि पर रहँदा आफन्त र देशको माया झन बढी लाग्ने भएर होला भावनाका शब्दहरु विदेशमा पनि फुर्न थालेका । हुन त प्रकाशन गरेरै मात्रै नेपाली साहित्यको विकासले विदेशी भूमिमा त्यति सारो महत्व त नराख्ला तर पाठकहरु पनि त्यही अनुसार बढिरहेको परिप्रेक्ष्यलाई केलाउने हो भने यस प्रकारको कार्यले पनि साहित्यमा केही टेवा भने अवश्य दिएको छ नै । विशिष्ट सृजनाहरुलाई अंग्रेजी रुपान्तरण गरेर गैर नेपाली भाषीहरुमा समेत नेपाली साहित्यलाई फैलाउन सके भावी सन्ततिहरुमा पनि नेपाली साहित्य र संस्कृतिप्रतिको लगाव बढ्ने र यसको प्रभाव फराकिलो हुने देखिन्छ ।
विषय प्रवेश :
पछिल्लो दुई दशकको अवधिमा संयुक्त राज्य अमेरिकामा नेपालीहरुको बसोबास उल्लेख्य रुपमा बढेको छ । अमेरिकाका पचास राज्यमध्ये नर्थ क्यारोलिना बसोवासका लागि नेपालीहरुको छनोटको राज्यमा पर्छ । जहाँ नेपाली त्यहिँ नेपाल भनेझैं नेपाली मूलका समुदायको संख्यामा बृद्धि हुँदै जाँदा यहाँ सांस्कृतिक र साहित्यिक गतिविधिहरु पनि बढ्न थालेका छन । संयोगले साहित्य सृजनामा लागिपर्ने क्रियाशील समूह यस राज्यले पाएको छ ।
संस्थागत पृष्ठभूमि :
सन् २००२ मा साहित्यकार नगेन्द्र न्यौपानेको अध्यक्षतामा विधिवत रुपमा अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलिना च्याप्टरको स्थापना भएपछि १५ वर्षको अवधिमा क्रमश: मनोज प्रधान र शिखर दुलालले नेतृत्व प्रदान गरी संस्थालाई नयाँ उचाईमा पुर्याउनु भएको छ । संस्थाको विगतलाई हेर्दा २०१२ मा आएर सबैको सहमतिमा मनोज प्रधानको नेतृत्वमा संस्थाले नयाँ गति लियो । जसअन्तर्गत मासिक रुपले नियमित कविता गोष्ठीको सुरुवात भयो २०१४ देखि हरेक ३–३ महिनाको अन्तरालमा ‘बुकक्लब’पनि गर्न थालियो । संस्थागत हुने क्रममा स्थानीय निकायवाट विधिवत रुपले ‘नर्थ क्यारोलिना नेपाली साहित्य समाज’को रुपमा सस्था दर्ता गरी नेपाली भाषा साहित्यलाई उठान गर्ने काम गरेको छ । यसै क्रममा संस्थाको वेबसाइट जततउक।लअलकिधयचमउचभकक।अयm को सञ्चालन गरेको छ । जसमा संस्थाले गर्ने गरेका गतिविधिहरु समेटिएका छन् । यस अवधिमा संस्थाले विविध साहित्यिक कार्यक्रमहरु गरी नयाँ तथा पुराना साहित्य सर्जकहरुलाई सिर्जनामा उत्प्रेरित गरेको छ ।
खुशीको कुरा त नर्थ क्यारोलिनामै बसेर साहित्य लेखनमा क्रियाशील सर्जकहरु जसले राष्ट्रियस्तरका साहित्यिक पुरस्कार समेत हात पार्न सफल हुनुभएको छ ।
गर्वका साथ भन्नुपर्दा ५ एन ९छल्० को अपूर्व संगमले गर्दा पनि यहाँ नेपाली साहित्यको विकासको लहरले नयाँ स्रस्टाहरुलाई समेत सृजनामा प्रोत्साहन मिल्ने गरेको देखिन्छ । यो पाँच येनको संगम याने कि नेपाल – नर्थ क्यारोलिना – नगेन्द्र न्यौपाने – निलम निहारिका र नम्रता । हात्केलाका पाँच औलाहरु मिलेपछि कलम राम्रोसँग चल्छ भनेझै तिनै हातहरुले अरु सर्जकलाई पनि अगाडि बढ्न प्रोत्साहन गरिरहेका छन् ।
संस्था संरक्षण भूमिका :
सृजनशील व्यक्तित्वहरुलाई हौसला दिनुहुने नेपाली साहित्यका कुशल समीक्षक डाक्टर हरिहर भट्टराई जो हाम्रो डोरीको लगामलाई अझ कसिलो बनाउनका लागि हाम्रा प्रायजसो साहित्यिक गतिविधिमा सहभागी भएर हाम्रो लेखनमा उत्प्रेरणा थप्ने गर्नुहुन्छ । वहाँले जानेका ज्ञानहरु बाँडेर एक कुशल अभिभावकको रुपमा सल्लाह दिने गर्नुहुन्छ । नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीमा आफ्नै पहलमा नेपाली विषय शिक्षण गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । यस कार्यले नेपाली भाषालाई विदेशी समूहमा चिनाउनुका साथै नेपाली भाषा विकासको राम्रो नमुना नै मान्नुपर्छ ।
यसैगरी साहित्यिक परिवारमा जन्मेर सानैदेखि साहित्यिक र सामाजिक भावनाका ईश्वर देवकोटा नर्थ क्यारोलिनाको साहित्यिक तथा सामाजिक संस्थाहरुमा अभिभावकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ यस साहित्यिक संस्थाको सल्लाहकार हुनुहुन्छ । उहाँ उखान टुक्का र जनबोलिका शब्दहरुलाई टिपेर छोटा छरिता खालका साहित्य सिर्जनाहरु खासगरी हाइकु र कविता लेख्नुहुन्छ । अक्सर उहाँ भूमि नेपाली साहित्यिक नाममा लेख्ने गर्नुहुन्छ ।
नर्थ क्यारोलिना साहित्यिक गतिविधिलाई माया गर्नुहुने अर्का व्यक्तित्व डा. नारायण राजभण्डारीको नाम यहाँ छुट्नै हुन्न । विगत तीन दशकदेखि उत्तर अमेरिकामा नेवारी र नेपाली संस्कृति संरक्षण र प्रवर्धनमा सक्रिय डा. नारायण राजभण्डारीले नेपास् पासास् पुचस् अमेरिकाये संस्थाद्वारा प्रकाशित दबू सांस्कृतिक पत्रिकाको एक दशक जति सम्पादन कार्य गर्नुभएको छ । यसका अतिरिक्त ल्ब्क्भब् को वार्षिक प्रकाशन, यति भ्यू को सम्पादन र विभिन्न अवसरमा सांस्कृतिक लेखहरु प्रकाशित गर्दै आउनुभएको छ । संस्कृति संरक्षणमा उहाँको योगदानको कदर गर्दै पासा पुचस् अमेरिकायेले उहाँलाई सन् २००९ मा विशिष्ठ सम्मान प्रदान गरेको छ ।
संस्थागत गतिविधि तथा कार्यक्रम:
नर्थ क्यारोलिना नेपाली साहित्य समाज तथा नेपाली साहित्य समाज नर्थ क्यारोलिनाले मासिक घरदैलो साहित्यिक कार्यक्रम नियमित रुपमा गर्दै आएको छ । घरदैलो कार्यक्रममा रचना वाचन, पुस्तक विमोचन र स्रस्टा परिचय गर्ने गरिन्छ । रचना वाचन कार्यक्रममा स्थानीय स्रष्टाहरु र अतिथिहरुले आ–आफ्ना सिर्जनाहरु वाचन गर्नुका साथै रचनामाथि समीक्षा गर्ने गरिन्छ । यस कार्यक्रमले स्रष्टाहरुलाई लेखनमा ऊर्जा थपेको छ । पुस्तक विवेचना कार्यक्रममा वार्षिक कार्यक्रम अनुसार छनोटमा परेका नेपाली साहित्यका लोकप्रिय कृतिहरु माथि पाठकीय दृष्टिकोण प्रस्तुत गर्ने गरिन्छ । यसले सदस्यहरुमा पठन संस्कृतिको विकास गरेको छ । हालसम्ममा माधवी, अनुराधा, चिरहरण, सेतो धर्ती, प्रश्नहरुको कारखाना, ल्यामपोष्टबाट झरेको जून, एक हातको ताली, नाथिया, ऐना, अतीतका बिस्कुन, गन्तव्य गणवहाल, मनभए तिमीसँग, यात्रा अविरल, दरवार बाहिरकी महारानी लगायतका पुस्तकहरु माथि चर्चापरिचर्चा गरिएको छ । प्रस्तुत परिचर्चाका क्रममा सम्भव भएसम्म पुस्तकका सर्जकसँग प्रत्यक्ष वार्ता गरि पुस्तकसँग सम्बन्धित विषयमा स्रष्टाका विचारहरु सुन्ने गरिन्छ । मासिक रुपमा गरिने स्रष्टा परिचर्चा संस्थाको अर्को महत्वपूर्ण कार्यक्रम हो । यस कार्यक्रममा हालसम्म सत्यमोहन जोशी, सिद्धिचरण श्रेष्ठ, पारसमणि प्रधान, विजय मल्ल, चित्तरञ्जन नेपाली, कमलमणि दीक्षित, माधव घिमिरे, कालीप्रसाद रिजाल, हरिभक्त कटुवाल, सरुभक्त, अगमसिंह गिरी, म.वि.वि.शाह, विपी कोइराला, दौलतविक्रम विष्ट, रविन्द्रनाथ टैगोर, अभि सुवेदी, चन्द्रकला नेवार, कुलमणि देवकोटा, गोपालप्रसाद रिमाल, तुलसी दिवस, मोहन कोइराला, राहुल सांकृत्यायन, मोहन दुवाल, विमल भौकाजी लगायत करिव पाँच दर्जन स्रष्टाहरुका बारेमा परिचर्चा गरिएको छ । दिवंगत स्रष्टाका निकटका साथीभाई र आफन्तहरुसँग संवाद गरी उहाँहरुका बारेमा छलफल गर्ने गरिएको छ भने जीवित स्रष्टाहरुलाई प्रत्यक्ष भेटघाट वा विद्युतीय माध्यमबाट सम्पर्क गरी उहाँहरुका जीवनी, साहित्यिक र व्यक्तिगत जीवनका बारेमा छलफल गरी जानकारी लिने गरिन्छ । संस्थाले विशेष अवसरमा नेपालका स्रष्टाहरुलाई नर्थ क्यारोलिनामा आमन्त्रण गरी अन्तरक्रिया तथा सम्मान गर्ने गरेको छ । हालसम्म तुलसी दिवस, धु्रवचन्द्र गौतम, दिनेश अधिकारी, कृष्ण धरावासी, मोदनाथ प्रश्रित, अनिल पौडेल, हरि अधिकारी, बसन्त श्रेष्ठ, एल.बि. क्षेत्री, पुरुषोत्तम शमशेर, गोविन्द गिरी प्रेरणा लगायतका स्रष्टाहरुसँग संस्थाले साक्षात्कार गरी उहाँहरुलाई सम्मान गरेको छ ।
लक्ष्मी जयन्ती, भानु जयन्ती, साहित्यिक वनभोज संस्थाले गर्ने अन्य नियमित वार्षिक कार्यक्रममा पर्दछन् । यी कार्यक्रमहरुमा खुला कविता वाचन, बाल बालिकाहरुलाई समेटेर लेख्ने तथा वक्तृत्वकला, साहित्यिक परिचर्चा गर्ने गरिन्छ । यसका अतिरिक्त अमेरिकामा रहेका नेपालीहरुको दक्षिण भेगीय क्षेत्रीय संस्था ल्ब्क्भब्रब्ल्:ब् को सम्मेलन नर्थ क्यारोलिनामा हुँदा यस संस्थाले कविता प्रतियोगिता, पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, स्रष्टा सम्मान गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
प्रकाशन :
यसैगरी संस्थाले नर्थ क्यारोलिनाका विविध साहित्यिक गतिविधिलाई समेटेर बेलाबेलामा प्रकाशनहरु पनि गर्ने गरेको छ । संयुक्त रुपमा निकालिएको कवितासंग्रह देशभित्र देशबाहिर कवितासंग्रहमा निलम कार्की निहारिका, भूमि नेपाली, मनोज प्रधान, नगेन्द्र न्यौपाने, नम्रता गुरागाई लगायतका १३ जना स्रष्टाहरुका ३९ कविताहरु संग्रहित छन् । वास्तवमा भन्ने हो भने नर्थ क्यारोलिनामा नेपाली भाषा साहित्य विकासका लागि यो नै पहिलो ऐतिहासिक संयुक्त सफल प्रयास मान्नु पर्दछ ।
नर्थ क्यारोलिनामा नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाद्वारा संचालित नेपाली भाषा पाठशालाको पाठ्य सामग्रीको रुपमा बालकथासंग्रह (२०१५) प्रकाशित गरेको छ । यस कथासंग्रहमा निलम कार्की, नगेन्द्र न्यौपाने, नम्रता गुरागाई, शिखर दुलाल, सुजाता ढुंगेल, डा. सुष्मा प्रधान र भगवती न्यौपानेका कुल गरेर १४ वटा बालकथाहरु संग्रहित छन् । यसबाट हाम्रा नेपाली स्कुलका नानीहरुले त लाभ प्राप्त गरिरहेका छन् यसका अलावा अमेरिकामा सञ्चालित अन्य यही उद्देश्यले खोलिएका स्कुलहरुले पनि हाम्रो बालकथासंग्रह प्रयोगमा ल्याउन थालेका छन् ।
नेपालको जेठो साहित्यिक पत्रिका शारदासँगको सहकार्यमा शारदा नर्थ क्यारोलिना विशेषाङ्क(२०१८) प्रकाशित गरिएको छ भने हाल जनमत साहित्यिक मासिक पत्रिकाको नर्थ क्यारोलिना साहित्य विशेष यहाँहरुको हातमा छ । नेपाली साहित्य सृजनाको सुरुवातको श्रेय पाउने नर्थ क्यारोलाइना स्थानीय संस्था नर्थ क्यारोलिना नेपाली समाजले २००१ देखि सँगालो नामक पत्रिकाको वार्षिक प्रकाशन गर्ने गरेको छ । जसमा संस्थाका गतिविधि लगायत स्थानीय स्रष्टाहरुका लेख रचनाहरु समेत समेट्ने गरिन्छ ।
साहित्यिक समर्पण :
अब यहाँ चर्चा गर्र्नेै पर्दा माथि उल्लेख गरिए अनुसार हत्केलाका पाँच औंलामध्येका स्रष्टाहरुको बारेमा उल्लेख नगरी सुखै पाइन्न । वहाँहरुको साहित्यिक योगदानको यहाँ जति नै चर्चा गरे पनि पुग्दैन ।
२१ सौ शताब्दीकी नेपाली साहित्यकी तारा निलम कार्की निहारिका अमेरिकामा विगत १२ वर्षदेखि आफ्नो परिवारका साथ हुनुहुन्छ । वहाँ नर्थ क्यारोलिनामा विगत ९ वर्षदेखि बसोबास गर्नुहुन्छ । नेपाल पाल्पाकी निहारिकाको पेशा नर्सिङ भए पनि वहाँले लेखनलाई नै पहिलो नम्बरमा राख्नुभएको छ । ६ कक्षा पढ्दादेखि कविता कृतिबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएकी निहारिकाले सम्मानित राष्ट्रिय पुरस्कारहरु क्रमश: मदन पुरस्कार २०७५, पद्मिनी पुरस्कार २०७२ (पदम श्री साधना सम्मान), डायोस्पोरा नारी लेखक २०७०, राष्ट्रिय कविता महोत्सव २०५७, योगमाया स्रस्टा सम्मान २०७४ आदि प्राप्त गरिसक्नुभएको छ । वहाँलाई सबैले नारीवादी हस्ताक्षर भनेर चिन्ने गर्छन । वास्तवमा वहाँका प्रायजसो सिर्जनाहरुमा नारीहरुको आवाज बोलेको पाइन्छ । वहाँका कविताहरुमा पनि नारी शोषण र मुक्तिका फिलिङ्गाहरु पढ्न पाइन्छन् । प्रवासमा बसेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएर सम्मानित पुरस्कार पाउने पहिलो स्रष्टा निहारिका हाल अर्को उपन्यास लेखनको तयारीमा हुनुहुन्छ । नर्थ क्यारोलिना नेपाली साहित्य समाजमा आफूलाई पाउँदा खुसी व्यक्त गर्दै समाजको निरन्तरता र प्रयासले हाम्रा सन्तति लगायत नेपाली साहित्यलाई नै अवश्य केही दिनसक्छ भन्ने कुरामा ढुक्क हुनुहुन्छ । २०१९ अप्रिलमा नर्थ क्यारोलिनामा मनाइएको “नेपाल डे“ कार्यक्रममा उहाँलाई नर्थ क्यारोलिना निवासी नेपालीका तर्फबाट अभिनन्दन गरिएको छ ।
हत्केलाका पाँच औला मध्येका अर्का लोकप्रिय साहित्यकार नगेन्द्र न्यौपाने १९९२ देखि नर्थ क्यारोलिनामा बसोबास गर्नुहुन्छ । वहाँको बुबाले पिढीमा बसेर लेख्ने गरेको देखेर साहित्य लेखनमा प्रवाहित हुनुभएका नगेन्द्र न्यौपानेको पहिलो रचना भने २०३८ सालमा त्रिचन्द्र कलेजको घन्टाघर नामक साहित्यिक पत्रिकामा छापिएको पहिलो कविता थियो । २०४३ सालको पुल्चोक कलेजमा भएको निबन्ध प्रतियोगितामा वहाँको निबन्धले जब पहिलो स्थान हासिल गर्यो । त्यसपछि वहाँको साहित्यिक यात्राले गति लिएको रहेछ ।
हालसम्ममा वहाँका प्रकाशित कृतिहरुमा हराएका कैदीहरु (कवितासंग्रह वि.सं २०६१), यात्राको बंगलादेश (यात्रा संस्मरण विसं २०६३), अन्तिम घुड्को (कथासंग्रह वि.सं २०६४), उल्टो रीस (उपन्यास वि.सं २०६५), कंगो र इथियोपियाको सेरोफेरो (नियात्रा वि.सं २०७३), दरबार बाहिरकी महारानी (उपन्यास वि.सं २०६९) र ब्ल इमथककभथ ष्ल ऋथअयिलभ ९त्चबखभयिमनभ ब्।म्। द्दण्ण्ढ० का साथसाथै फुटकर कविता लेखरचना रहेका छन् । वहाँ नई साहित्यिक पुरस्कार (२०७० वि.सं) र हरि सांस्कृतिक उत्कृष्ट प्रतिभा पुरस्कार (२०७५ वि.सं) का साथै अन्तराष्ट्रिय नेपाली साहित्य समाजद्वारा सम्मानित भई सक्नुभएको छ । वहाँका प्राय सबै कृतिहरु नर्थ क्यारोलाइना मै तयार पारिएका हुन् । वहाँकै शब्दमा ‘प्रवासमा सामाजिक दायित्व कम भएका कारण लेख्ने समय प्रशस्त रहेको तर नेपाली साहित्यका नयाँ पुस्तकहरु पाउन समय कुर्नुपर्ने, सामग्रीहरु सहज नपाइनु नै हामी सर्जकका लागि मुख्य चुनौतीको विषय भएको छ ।’ नर्थ क्यारोलिनाको साहित्य माहोलले आफु उत्साहित भएको कुरा ब्यक्त गर्दै यहाँ नयाँ नयाँ सिर्जनाहरु दिनहुँ भित्रिएका छन् । हरेक महिनामा हुने साहित्यिक जमघटले ऊर्जा थपेको प्रसङ्ग केलाउँदै आफू अब अमेरिका बसेको अनुभव लेखनको तयारीमा लागेको बताउनुहुन्छ । नर्थ क्यारोलिनाको साहित्यको बारेमा वहाँ थप्नुहुन्छ –‘मलाई गर्व छ २००२ सालमा मैले नै सुरुवात गरेको यो संस्था यही जोश जाँगरका साथ निरन्तर लागिपरेमा साहित्यिक फाँटमा निकै राम्रो फड्को मार्ने कुरामा म विस्वस्त छु । साथीहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।’
नेपाली साहित्य समाजकी अर्की साहित्यकार तथा पाँच येनमा पर्ने नम्रता गुरागाईलाई यहाँ ल्याउन चाहन्छु । नेपालको मोरङ्ग जिल्ला सुन्दर दुलारी नपा तीनपैनीकी नम्रता गुरागाई विगत १९ वर्षदेखि आफ्ना परिवारका साथ अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । वहाँले विद्यालय छँदै विविध कविता प्रतियोगितामा भाग लिँदै पुरस्कारहरु हात पार्न सफल हुनुहुन्छ । त्रिविविबाट भूगोल विषयमा स्नातकोत्तर गर्नुभएकी नम्रताको पहिलो प्रकाशित कविता नै चट्याङ भित्तेपत्रिका (धनकुटा बहुमुखी क्याम्पस) को नयाँ वर्ष नामक कविता २०४८ रहेको छ । वहाँको पहिलो प्रकाशित कृति परिवेश र म (कवितासंग्रह २०५५) रहेको छ । नम्रता गुरागाई राष्ट्रिय कविता महोत्सव २०५४ मा तत्कालीन महाराजाधिराज विरेन्द्र वीरविक्रम शाहदेवबाट पुरस्कार थापेर थप चर्चामा आउन थाल्नुभयो । विभिन्न पत्रपत्रिका मार्फत् आफ्ना साहित्यिक पदयात्रा तय गरेकी नम्रता नर्थ क्यारोलाइनामा भने विगत १० वर्षदेखि अनवरत आफ्नो कलम चलाउँदै आउनुभएको छ ।
अमेरिका आएपछि उहाँको कविता कृति मनभए तिमीसँग (कवितासंग्रह २०६५) प्रकाशित भएको हो । वहाँले प्राप्त गर्नुभएका सम्मान र पुरस्कारहरुमा अनलाइन नेपाली लिटरेचर फोरम २००८, अन्तराष्ट्रिय कविता महोत्सब (पहिलो अन्तराष्ट्रिय कन्भेन्सन युएसए २०००), प्रलेश कविता महोत्सब काठमाडौ २०५४, राष्ट्रिय कविता महोत्सव २०५४, बृहत कविता सम्मेलन पोखरा २०५४, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान काठमाडौँ २०५४, प्रलेश वार्षिक कविता महोत्सव काठमाडौं २०५३, राष्ट्रिय साहित्य सम्मेलन तनहुँ २०५३, र युवा कविता महोत्सव २०५२ आदि रहेका छन् । प्रवासमा बसेर साहित्य सिर्जनामा लाग्दा समय र पाठ्य सामग्रीको अभाव हुन्छ नै तर पनि हामीले आफ्नो भाषा साहित्यलाई हामी हुञ्जेल हाम्रा सन्ततिमा पनि बाँड्नु परेको छ । त्यसैले रातको निन्द्रालाई थोरै चोरेर भए पनि आफ्नो लेखनलाई निरन्तरता दिइरहेको बताउनु हुने नम्रता नर्थ क्यारोलिना नेपाली साहित्य समाज वास्तविक उत्प्रेरक भएको कुरामा जोड दिनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आजीवन सदस्य हुनुभएकी नम्रता हाल नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी वरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।
नेपाली साहित्यको उर्बरभूमिको रुपमा चिनिने यस नर्थ क्यारोलिना नेपाली साहित्य समाजलाई सुरुका केही वर्ष नगेन्द्र न्यौपानेले यसलाई संस्थागत गर्नुभएको थियो । उहाँ पश्चात अध्यक्ष मनोज प्रधानले नयाँ स्प्रिटका साथ नर्थ क्यारोलिनामा नेपाली साहित्यिक संस्थालाई संस्थापन गर्नुभयो । नर्थ क्यारोलिना साहित्य समाजका पूर्व अध्यक्ष मनोज प्रधान साहित्यिक संस्थाका कुशल संगठक हुनुका साथै प्रखर कवि पनि हुनुहुन्छ । अध्ययनशील प्रकृतिका प्रधान बौद्धिक र विम्वात्मक कलाले भरिपूर्ण कविताहरु लेख्नुहुन्छ । यस साहित्यिक संस्थालाई संस्थागत गर्न र नेपाल र अमेरिकाका नेपाली साहित्यिक संस्था र व्यक्तित्वहरुसँग सम्पर्क गरी संस्थाका गतिविधिहरुलाई प्रवर्धन गर्न उहाँको विशेष भूमिका रहेको छ । उहाँ हाल यस संस्थाका सल्लाहकार पनि हुनुहुन्छ ।
नर्थ क्यारोलिनामा निरन्तर कलम चलाउनुहुने अर्का स्रष्टा शिखर दुलाल जो कविता दैनिकीको रुपमा प्रस्तुत हुने गर्नुहुन्छ जो हाल नर्थ क्यारोलिना नेपाली साहित्य समाज तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलिनाका वर्तमान अध्यक्ष पनि हुनुहुन्छ । वहाँको जन्म पूर्व मोरङस्थित सुन्दरहरैचा नपाको त्रिजुगामा भएको हो । शिखर दुलालको वास्तविक नाम लेखनाथ दुलाल हो । साहित्य लेखनकै क्रममा ‘मेरी प्रिय शिखर’ नामक कविता त्रिचन्द्र क्याम्पसको भित्तेपत्रिकामा छापिएपछि शिखर नामले चर्चामा आउनुभएका दुलालले हालसम्म विरानो आकासबाट (कविता तथा गीतसंग्रह २०७०), पिताश्री पर्मेश्वोर (भजन तथा राष्ट्रिय गीतसंग्रह २०७१) र यात्रा अविरल (कवितासंग्रह २०७३) कृतिहरु प्रकाशित गरिसक्नुभएको छ । विगत १५ वर्षदेखि नर्थ क्यारोलिना बस्दै आउनुभएका शिखर आफ्नो वास्तविक साहित्य लेखन जिन्दगी शीर्षकको कविताले साहित्यसन्ध्या कार्यक्रम २०४३ मा प्रथम स्थान ओगटेपछि सुरु भएको मान्नुहुन्छ । कवि शिखर दुलालले २००५ मा अमेरिकाको क्यालिफोर्नियामा हरेक वर्ष सञ्चालन हुने पोइट्री लेखनमा ‘इडिटर्स चोइस अवार्ड’ प्राप्त गर्नुभएको छ । आफूलाई जुनसुकै अवस्थामा पनि कविता लेख्न तयार पार्ने कवि शिखरका कविताहरुले दैनिक जीवनमा भइरहने दु:ख खुशी मिलन विछोड घटना आदि कुराहरु समेटेका हुन्छन् । वहाँले मुक्तक चुटकिला निवन्ध कथा विविध विधामा कलम चलाउँदै आउनुभएको छ ।
यसैगरी आफ्ना रचनाहरुलाई हँसिलो ढंगले प्रस्तुत गर्नुहुने शिशिर खनाल तानसेन पाल्पा नेपाल निवासी हाल नर्थ क्यारोलिनामा बिगत १६ बर्षदेखि हुनुहुन्छ । वहाँले कविता मात्रै नभएर अनुसन्धानमूलक जीवनउपयोगी दर्शन सम्बन्धी लेखरचना अत्यन्तै मिठो र सरल भाषामा लेख्नुहुन्छ । हाल वहाँ वृक्ष वन्दना नामक एउटा जीवनपयोगी पुस्तकको तयारीमा हुनुहुन्छ । वाल्यकालदेखि नै कविता लेखनमा रुचि राख्नुहुने खनाल स्थानीय कविता प्रतियोगिताहरुमा सानैदेखि भाग लिने गर्नुहुन्थ्यो । उहाँ हाल नर्थ क्यारोलिना नेपाली साहित्य समाजका उपाध्यक्ष हुनुहुन्छ । पछिल्लो समय नर्थ क्यारोलिनामा बसोबास गर्दै आउनुभएका डा. अच्युत शर्मा जीवनप्रेम र मनोभावनापरक कविता र राष्ट्रिय गीतहरु लेख्न रुची राख्नुहुन्छ । नर्थ क्यारोलिनाको साहित्यिक माहोलले आफूलाई साहित्यमा लाग्न पुन: प्रेरित गरेको स्वीकार्ने डा. शर्मा हाल राष्ट्रिय गीतहरु लेख्न र रेकर्ड गर्नमा व्यस्त हुनुहुन्छ । उहाँका गीतहरु नेपालमा चर्चित संगीतकारहरुले संगीतवद्ध गरी नाम चलेका गायकहरु राजेशपायल राई, हिमाल सागर लगायतले गाएका छन् ।
विगत एक दशकदेखि डायस्पोराको नेपाली साहित्य खासगरी उत्तर अमेरिकाको साहित्य सिर्जना र साहित्यिक संगठनमा क्रियाशील ऋषि बस्ताकोटी गत दुई वर्षदेखि नर्थ क्यारोलिनामा रहेर गीत, गजल, कविता, मुक्तक आदि लेखनहरुमा सक्रिय हुनुहुन्छ । प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव (२०५२), सूर्यचन्द्र युवा क्लब पोखरा, द रेयुकाई लमजुङ्ग शाखाद्वारा आयोजित राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा द्वितीय, गजल सन्ध्या पोखराद्वारा गजल प्रतिभा सम्मान (२०६३), विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित खुल्ला विश्वव्यापी मुक्तक प्रतियोगिता (२०१६) मा प्रथम लगायत पुरस्कार र सम्मान प्राप्त बस्ताकोटीको ज्वालाका रापहरु गजलसंग्रह, गजलस्पर्श गजल एल्बम प्रकाशित छन् भने नेपाली साहित्यका पत्रपत्रिकाहरुमा उहाँका कथा, कविता, गजल तथा मुक्तकहरु बारम्बार प्रकाशित हुने गरेका छन् ।
संस्थाकी कोषाध्यक्ष सुजाता ढुंगेल प्रवासी जीवनका लेखरचना र कविताहरु लेख्नुहुन्छ । वहाँ हाल नर्थ क्यारोलिनामा सञ्चालित नेपाली स्कुलकी शिक्षिका समेत हुनुहुन्छ । वहाँले बालबालिकाहरुलाई नेपाली भाषा बोल्न र लेख्न सिकाउनैपर्ने कुरामा जोड दिनुहुन्छ । विविध रुपले समाज सेवामा पनि लागिपरेकी सुजाता देश, काल, परिस्थति अनुसारका रचनाहरु बेलाबेलामा विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ ।
नेपालको धरान स्थायी घर भई नर्थ क्यारोलिना बसोबास गर्नुहुने विक्रम गौतम अर्को सक्रिय साहित्यकार हुनुहुन्छ । उहाँ खासगरी गजल, कविता र समिक्षा लेखनमा रमाउनुहुन्छ । उहाँका रचनाहरु अनलाइन साहित्यिक पत्रिकाहरुमा बारम्बार पढ्न पाइन्छ । नर्थ क्यारोलिनामै लेखिएका चीरहरण र यात्रा अविरलको स
मालोचना गरिसक्नु भएको छ । उहाँ स्थानीय ल्ऋल्ऋ को वार्षिक प्रकाशन सँगालोको सम्पादक समेत हुनुहुन्छ ।
विगत ६ वर्षदेखि संस्थामा आबद्ध निर्मला राजभण्डारी प्रवासको भोगाइ सम्बन्धी कविताहरु लेख्न पोख्त हुनुहुन्छ । वहाँका कविताहरुले प्रवासको बसाईको वास्तविक गहिराइ छिचोल्ने गरेको पाइन्छ । आफूलाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजले लेख्नलाई वास्तवमै उत्प्रेरित गरेको र हरेक महिना आफूले नेपाली साहित्य विकासमा लागिपरेका स्रष्टाहरुका बारेमा ज्ञान हासिल गर्ने गरेको मान्नुहुन्छ । वहाँ हाल नर्थ क्यारोलिना नेपाली साहित्य समाजकी महासचिव पनि हुनुहुन्छ ।
संस्थाकी प्रखर लेखिका गीता बस्नेतमा छिनैमा कविता बनाउन सक्ने खुबी छ । यथार्थपरक कविता लेखिका बस्नेत नर्थ क्यारोलिनामा १५ वर्ष देखि आफ्नो कलम चलाउँदै आउनुभएको छ । सबैसँग मिलनसार गीता बस्नेतका रचनाहरु विविध पत्रपत्रिकामा पढ्न पाइन्छ ।
यसैगरी प्रवासको झल्को दिनुहुने कविहरुमा सुवाश ढकाल पनि हुनुहुन्छ । वहाँ गीतकार तथा समाचार संकलक पनि हुनुहुन्छ । वहाँका लेखहरुले मानवीय मनोभावना जागृत गर्ने गर्छन् ।
डा. सुषमा प्रधान नर्थ क्यारोलिनामा हुने साहित्यिक कार्यक्रमहरुमा प्राय देखिने अर्को नाम हो । थोरै लेख्ने तर गम्भीर भावका प्रेमिल र विम्वात्मक कविता लेख्न रुचाउने डा. प्रधानका कविताहरु शारदा लगायतका साहित्यिक पत्रिकाहरुमा बेला बेलामा पढ्न पाइन्छ । उहाँ कथा लेखनमा पनि रुचि राख्नुहुन्छ ।
संस्थागत रुपमा हाम्रो साहित्यिक जमातलाई सहयोग पुर्याउनुहुने डाक्टर बटु शर्मा साहित्य लेखनमा रुचि जाग्न थालेकोमा यो समाजप्रति सधै आभार व्यक्त गर्नुहुन्छ । यसैगरी आफ्ना रचनाहरु सुनाउने हँसिलो र सधैं खुशी देखिनुहुने दधीन पाण्डे प्रायजसो लय हालेर कविता सुनाउन रुचि राख्नुहुन्छ । वहाँजस्तै आफूलाई गीतमा प्रस्तुति गर्नुहुने डा. दिपेन्द्र अर्याल कविता लेखनमा आफूलाई सुरुवात गराएकोमा गर्वका साथ सबैलाई धन्यबाद दिने गर्नुहुन्छ । कवयित्री भगवती न्यौपाने समाजकी अर्की प्रखर स्रष्टा हुनुहुन्छ । वहाँले प्रवासमा बस्नेहरुले दैनिक भोगिरहेका विषयलाई लिएर अत्यन्तै सरल ढंगले शब्दहरुको मिलान गरि कविता लेख्नुहुन्छ । सायरी तथा लेख रचनामा पनि रुचि राख्नुहुने न्यौपाने नर्थ क्यारोलिनामा विगत २० बर्षदेखि नै कलम चलाउँदै आउनु भएको छ । नर्थ क्यारोलिनाका साहित्यिक गतिविधिहरुमा नियमित सहभागी हुनुहुने सुनील ढुंगेल हास्यरसका कविताहरु लेख्न रुचि राख्ने रचनाकार हनुहुन्छ । गीत गाउन रुचाउने सुनीलका केही कविताहरु देशभित्र देश बाहिरमा संकलित छन् ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईलिनोई च्याप्टरकी पूर्व अध्यक्ष राधा पौडेल सामाजिक र साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ । हाल नर्थ क्यारोलिनाको मोरिसभिल निवासी पौडेल खासगरी छन्द र लयमा कविता लेख्न रुचि राख्नुहुन्छ । यो अनुसन्धानकर्ताले थाहा पाएसम्म नर्थ क्यारोलिनामा आएर कलम चलाउनुहुने केही हस्तीहरुको नाम छुटाउनै हुन्न । पारिवारिक भेटघाटको क्रममा नर्थ क्यारोलिना आई केही समय बसोबास गर्नुहुने साहित्यकारहरुले पनि यहाँको साहित्यिक महोत्सवमा योगदान दिनुभएको छ । यस क्रममा विभिन्न समयमा स्व. राजेश्वर देवकोटा, सुधा ओझा, उषा शेरचन लगायतका साहित्यकारहरुको योगदान उल्लेख्य छ । पछिल्लो समय स्थानीय साहित्यकारहरुसँग अन्तरक्रिया गरी उत्साही बनाउने क्रममा साहित्यकार उषा शेरचनको भूमिका निकै प्रशंसनीय छ ।
यसैगरी देशविदेश घर परिवार साथीसँगी आदि समसामयिक विषयमा हसिलो पाराले व्यङ्ग्यात्मक शैलीमा उखान टुक्का, चुट्किला, कविता, मुक्तक लेख्न अब्बल स्रष्टा जयराज जोशीलाई नर्थ क्यारोलिनाले बिर्सनै सक्दैन । जसरी वहाँ गफगाफ गर्नुहुन्छ वहाँका रचनाहरु पनि त्यसरी नै प्रस्तुत हुन्छन् । वहाँले लेखेको पढ्दा लाग्छ वहासँगै हामी गफ गरिरहेका छौं । सुरेस भट्ट सरल सहज र हाइकुका ज्ञातालाई यो अनुसन्धान लेखमा राख्नैपर्छ । वहाँ समयसापेक्ष हाइकुहरु लेख्नुहुन्छ । वहाँका हाइकुहरु मुक्तक जस्ता लामा पनि होइनन् र हाइकु जस्ता छोटा पनि हुन्नन् । त्यसैले होला वहाँले आफ्ना हाइकुलाई ‘उक्तक’ नामले संज्ञा दिनु भएको छ । चाहे जे होस् वहाँ ‘उक्तक’हरु लेख्न जुनसुकै समयलाई पनि आफूलाई तयार पार्नसक्ने उहाँको खुबी नै छ । अर्का प्रखर लेखक डा. चिरन्जीवी भट्टराई जसले बडो तार्किक ढङ्गले शब्दहरुको मिलान गर्नुहुन्छ । वहाँमा मनपरेको र समसामयिक विषयमा धारावाहिक लेख्न सक्ने खुवी छ ।
उपसंहार :
नर्थ क्यारोलिनामा हाल देखिएका मध्ये कतिपय नेपालदेखि नै लेखन कर्ममा लागेर निश्चित पहिचान बनाइसकेका स्रष्टाहरु भेटियो भने कतिपय यहाँ बसाइ सरेर आएपछि यहाको माहोलबाट उत्प्रेरणा पाएर लेख्नेहरु छन् । यहाँ हुने गरेका साहित्यिक कार्यक्रम तथा स्थानीय प्रकाशित पत्रिकामा लेख रचना प्रकाशित गरेको आधारमा नर्थ क्यारोलिना निवासी नाम छुटाउन नहुने रचनाकारहरुमा सानुबाबु सिलवाल, चेत भट्टराई, अमृता अधिकारी, अरुण धिताल, भीम तिमल्सेना, मोहन पहाडी, डा. पदम पौडेल, शैलेन्द्र देवकोटा, जितमान बस्नेत, सबिता विष्ट, ठाकुर पन्त, मिना श्रेष्ठ, कमल थापा, उमा शर्मा, दिपेन्द्र विष्ट, विशाल भारती, प्रल्हाद साह, शिव पलाँस, निल खड्का, डा. ठाकुर कार्की, डा. सुमनलाल श्रेष्ठ, डा चन्द्र गिरी, गीता कँडेल आदि रहेका छन् । यीमध्येका अरुण धिताल, चेत भट्टराई, अमृता अधिकारी, शैलेन्द्र देवकोटा, दिपेन्द्र विष्टहरु भने कविता प्रतियोगितामा सहभागी भएर पुरस्कार समेत हात पार्ने सफल स्रष्टाहरु हुनुहुन्छ ।
यसरी नर्थ क्यारोलिना नेपाली साहित्य समाज तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलिनाले नेपाली साहित्यिक फाँटमा उर्वरता ल्याउने क्रममा यस पटक प्रकाशक तथा सम्पादक मोहन दुवालज्यूको विशेष सहयोगमा जनमत पत्रिकामा नर्थ क्यारोलिना विशेषाङ्क अंक प्रकाशनमा ल्याउने जमर्को गरिएको छ । आशा गरौं नर्थ क्यारोलिना साहित्य र जनमतको साहित्यिक यात्रा अझ फराकिलो हुँदै जाने छ ।