हरेक बिहानीसँग चहर्याउँछ
खाटा लागेका मेरा घाउहरु !!
जब घर सलाबलाउँछ
मेरा आकांक्षाका लहरहरु
सुस्तरी सुस्तरी बिलाउँदै जान्छ
म शून्यवत जड बन्छु
बाध्य छु, विवश छु
भोग्नैपर्ने विडम्वना भोगीदिन्छु नियति सम्झी !!
एक प्याला चियाको वाफसँगै
लगाउँदै निकम्मा व्यक्तिको ताज
अटेसमटेस पस्छ ढोकाको च्यापबाट
अनुहारमा निर्लज्जताको बाक्लो घुम्टो ओढेर
चुपचाप पिइदिन्छु
चियाको तातो चुस्कीसँगै
मनमा उर्लेका पीडाका छालहरु !!
भातका सितासँग पत्रपत्र
चाङ्ग लागेर बसेका गुनासाहरु
कृत्रिम मुस्कान भोग्नुको नियतिमा
रक्ताम्य छटपटाई रहेछ
चिरा चिरा फाटेको धर्तीमा अनुदित मुटु !!
एक अन्जुली ओइलिएको मुस्कानसँग
त्रसित लज्जित विश्वास
खोकिलाको च्यापमा लुकाएर
मरुभूमि मनहरुका बीच
एक थोपा मात्र एक थोपा
आद्रताको आश मनमा जन्मेको बेला
परास्त समय आफ्नै अन्यौलतामा झुल्कन्छ !!
कुनै आँखाहरुमा अटाउन नसकेको
म एउटा रित्तो आकाश
संगीतको अनन्त नादबाट उठेको
एक बेरसिलो गायन म
समयको साँगुरो धारबाट बगेको
कुनै क्यानभाषमा नसुहाउने
रंगहरुको चोट
वर्तमानको उराठिलो आरनमा गाल्दै
साँझ खसेर अलिकति अँध्यारिएको
संघारमा बिसाउँछु जीवन !!!!