तरवार हो तिम्रो हेराइ
झिम्कियो परेली कि म छिनिहालें ।
ती स्वप्निल आँखा
जहाँ देख्न सकिन्छ उमेरका नीला सपना
र जीवनका फरकिला अनुभव ।
पहरा दिइरहेका
शालीन शब्द र सुल्झिएका विचारजस्ता
काला बाक्ला तिम्रा परेला
हिमनदीजस्तो कञ्चन अनुहार
गुलावी मुस्कान र वाचाल ओठ
कपालको घना जंगल
र शरीरको सुगन्ध ।
मैले भर्खरै बिर्सिएँ
तिमीले दिएको रातो गुलाफ
कुमारी मन्दिरको घण्ट
आकाशमा टुक्रिएको चन्द्रमा
र, आफ्नै छातीको देब्रे भागमा धड्किरहेको मुटु ।
तरवार हो तिम्रो हेराइ
झिम्कियो परेली कि म छिनिहालें
झुक्किएर पनि नझिम्क्याऊ परेली
मलाई अझै धेरै बाँच्नु छ ।