ती बेपत्ता पारिएका जवान युवकहरुका आमाबाबु दिदीबहिनी, दाजुभाइ, श्रीमतीहरुका एकएक अनुहार र आकृतिहरु मेरो अन्धकार आँखामा प्रज्ज्वलित भएको थियो । यो कस्तो पापाचार ? व्यक्त गर्न शब्दले सकिन्न । तिनीहरुको आतंकित मर्माहत विरहभित्र मलाई मुक्त गर्ने सन्देश धुरुधुरु रोएको थियो । मेरो चेतनामा के कुरा पनि बस्न आएको थियो भने मलाई छोडेर मेरो पछाडि सी.आई.डी. लगाई खबर पाउने आशा गरेको होला भनेर मैले निर्णय गरेँ । त्यसमाथि मलाई सुराकी बनाउने कल्पना कसरी गर्न सके ? धेरै सम्भव छ, मलाई छोड्न निहुँ पारेका थिए । जुन सुराकीबाट पाएको इन्फर्मेएसनले मलाई समातेको थियो, त्यो नै गलत भएपछि सेनालाई निकै अप्ठ्यारो परेको कारणले नै मलाई छोड्ने निहुँ खोजिरहेका थिए । सेनालाई खबर गर्नुपर्ने सर्तमा मलाई छोड्ने भनेका थिए । यो त खालि बहाना मात्र हो । तिनीहरुले मलाई राम्ररी चिनेका थिए । तिनीहरुले चपाउन नसक्ने आइमाई भएँ म । त्यसैले तिनीहरु हैरान थिए । भित्रभित्रै लज्जित भइसकेका थिए । मलाई नछोडी नहुने भइसकेका थियो ।
तर कालोपट्टीभित्रको अन्धकार संसार हाम्रो सोचविचारभन्दा बेग्लै खालको अन्यौल शून्य भयग्रस्त दुनियाँ हुने रहेछ । त्यो दुनियाँभित्र मानवीय कमजोरीहरुले बेलाबेलामा सर्प, बिषालु सर्पले जत्तिकै फणा उठाउनु अस्वाभाविक थिएन । त्यहाँबाट फुत्किन चाहने इच्छाले घच्घच्याउने रहेछ । तपाईंलाई छोड्छौं भनेर दिएका अति साधारण आश्वासनको झीनो डोरी पनि मैले मोटो र बलियो देख्न थालेकी थिएँ । त्यही आश्वासनको डोरीमा झुन्डिएर पलपल गन्दै मैले बडो मुस्किलले समय बिताइरहेकी थिएँ । ढोकाको आवाज आयो कि लौ, मलाई छाड्नका लागि लिन आयो भन्ने झझल्को लागिरहेको थियो । जतिजति समय बित्दै गयो, उतिउति मेरो छट्पटी बढ्दै गएको थियो ।
घन्टीमा सोमबार दिनको पाँच हान्यो । ढोका खुल्ने बित्तिकै त्यही अप्रिय अमनको बासले व्याप्त गोदाममा भात भएका थालहरु धमाधम तल ‘फ्लोर’मा राख्तै आएका आवाज आयो । सोचेँ । अब भात घरमा नै गएर खाने । घरको भातको सम्झनाले मेरो मुख रसाएको थियो । मैले भात त्यसै फर्काई दिएकी थिएँ ।
“सर मलाई पनि भात दिनुस् न । अस्तिदेखि मलाई केही खान दिएको छैन ।”
म त झसङ्ग झस्केँ । घाइतेलाई अस्ति कुटेको रातदेखि खान दिएको छैन ? हतारले पर्दाको प्वालबाट चियाएर हेरेँ मैले । कठै ! ती घाइते सकी नसकी, भित्तामा अडेस लगाई बसिरहेका थिए – भात खान पाउने आशाले । टाउको राम्ररी ठाडो पार्न सकेका थिएनन् । नाङ्गो जमिनमाथि टुक्रुक्क बसेको उनको शरीरलाई सुम्सुम्याउने ममतामयी आमाको हातको अत्यन्त आवश्यकता परेको थियो । दगुरेर गई उनको ढलमलिरहेको शरीरलाई टेवा दिन जाऊँ जस्तो लागेको थियो मलाई । पिठ््यँुमा उठेका सुम्लाहरुमा दिदीबहिनीहरुका सुकोमल हातको स्पर्श र सुम्सुम्याइको ठूलो आवश्यकता थियो उनलाई ।
“मलाई भात दिनुस् न ।” मेरो छाती नै फुट्लाजस्तो भएको थियो । तर उनको पुकार सुन्ने को ? धमाधम जुठा थालहरु बटुलेर लगे तर उनी भने भात खान पाउने आशामा बसि नै रहेको देखेर मलाई मन थाम्न सारै नै गाह्रो परेको थियो । ढोकामा ताल्चा मारेपछि बिचरा घाइते घोर निराशाले भोकप्यासले त्यहीँ घुप्लुक्क लडी हाले । पछाडि पारी बाँधिराखेको हातमात्र फुकाली दिन पाएको भए कति आनन्दले पल्टिन पाउने थिए उनले । उनको कष्ट मैले हेर्नै सकिनँ । उनलाई त्यसरी राखेको कति महिना भयो होला ? उनको के अपराध थियो होला ? उनी कसका छोरा हुन् ? आदि प्रश्नैप्रश्नको तीखोतीखो काँढामाथि म पल्टेँ । अचानक कल्पना धमलाको स्वर मेरो कानमा प्रतिध्वनित भयो– “यसरी दालभात तरकारी र अचार खान पाउनु भनेको ठूलो भाग्यको कुरा हो दिदी ! क्रान्तिकारी साथीहरुले भुटेको मकै, पीठोको सुख्खा रोटीले समेत पेट भर्न पाएका छैनन् । दिदीले साथीहरुको अवस्था देख्नुभएको भए तीनछक पर्नुहुनेछ । विश्वास गर्नै गाह«ो पर्छ । मैले देखेको भोगेको एउटा कुरा तपाईंलाई सुनाउन चाहन्छु–
गोर्खाको जेल फोडेर बाहिर निस्केका बहिनीहरुको बहादुरी त दिदीले सुन्नुभएकै होला । तिनीहरुले सफलतापूर्वक क्याम्प प्रवेश गरेपछि स्वागत सम्मान गर्ने कार्यक्रम अनुसार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीबाट खटिएर म त्यहाँ गएकी थिएँ । त्यत्रो विकट बाटो हिँडेर पुग्नुपर्ने । मलाई बाटो देखाउन मेरो साथमा दुईजना भाइहरु पनि थिए । म सुत्केरी भएको एक वर्ष पनि भएको थिएन । बिहान सबेरैदेखि हिँडेको हिँड्यै गरेकी थिएँ । बाटोमा कतै केही खानेकुरा पनि भेटिएन । बल्ल १२ बजेतिर एउटा सानो बस्तीजस्तो यताउता घर त के भनूँ ? छाप्राहरु भएको स्थानमा पुग्यौँ । एउटा छाप्रोबाट आएकी आइमाईले दुई माना जति खस्रो पीठो ल्याएर दिइन् । भोक असाध्य नै लागेको थियो । त्यहीको बारीको डीलमा ढुङ्गाहरु तेर्साई छेस्काहरु बाली पीठो मुछी, रोटीहरु सेक्न थालेँ मैले । रोटी पाकेको मात्र थियो । भीर–पाखाबाट १७–१८ जना सशस्त्र साथीहरु पसिनाले नुहाइ खुइँयय खुइँयय गर्दै त्यही बाटो भई लाइन कसेर आइपुगे । गर्मी र भोकले सबैका अनुहार नीलो थियो । मैले सकेका जति रोटी भाग लगाउँदा एक जनालाई एउटा रोटी पनि परेन । मैले जति दिएँ, त्यति नै सन्तोषले खाई सरासर आफ्नो बाटो लागे । एक शब्द पनि तिनीहरुले बोलेनन् । म पनि चुपै लागेकी थिएँ । तिनीहरुको अवस्था देखेर मैले आँसु थाम्न सकिनँ । त्यही स्थानमा अर्का भाइहरु आइपुगे मलाई गन्तव्य स्थानमा लान । बाटो यति बिकट र खराब थियो कि दिदीले भए एक पाइला सार्न सक्नुहुन्नथ्यो होला । मेरो त उमेर थियो मनमा जोश थियो । शरीरमा स्फूर्ति थियो । तैपनि मलाई धेरै नै गाह«ो परेको थियो । तर म त्यो स्थानमा पुगी ती साहसी बहिनीहरुको हार्दिक स्वागत गरेँ । मेरो निधारमाथिको खत दिदीले देख्नुभएको छैन क्यारे । हेर्नुस् त । अहिले यत्रो खत छ । यो घाउ निकै ठूलो थियो ।”
निधारसम्म लत्रेको केस यसो माथि सारी मलाई खत देखाइन् कल्पनाले । खत अलि ठूलै थियो । उनले फेरि भनिन् –“बाटो यस्तो चिप्लो थियो कि मैले बच्न खोज्दा खोज्दै पनि एक स्थानमा चिप्लेर लड्दा ढुङ्गामा परेर मेरो टाउको फुट्नाको साथै नली र खुट्टामा पनि ठूलै घाउ भएको थियो । रगत धेरै बगेको थियो । ओढ्नी च्यातेर खुट्टा र टाउकोमा बाँधिदिए । तैपनि टाउकोबाट त रगत बगिरहेकै थियो । रगत थाम्ने कुनै उपाय नै भएन । त्यहाँ कुनै बस्ती नै थिएन । फेरि कतै रोक्नु पनि जनावर, हिंस्रक सेना र प्रहरीको खतराबाट खाली थिएन । गन्तव्य स्थानमा पुगेपछि त मलाई राम्ररी होसै पनि थिएन ।
हेर्नुस् ! त्यतिबेला म १० महिनाको सुत्केरी थिएँ । मेरा घाउहरु निको पार्न निकै समय लागेको थियो । अझै पनि म औषधि खाँदैछु । अलि बेर पढ्यो भने टाउको दुख्छ । मेरा आँखालाई त्यसले नराम्रो असर पारेको छ । त्यस्तो दुःख र कष्टले हार्दिक स्वागत गरेकी बहिनीहरुमा दुई जनालाई मारी मुठभेडमा मरेको भनी सार्वजनिक गरेको छ । ती बहिनीहरु यति गतिला, फूर्तिला, इमान्दार र समर्पित थिए कि म के भनूँ ? क्याम्पस पढ्नेहरु । जेलबाट सफलतापूर्वक बाहिर आई ३ महिना पनि बाँच्न पाएनन् । अब बाँकी छन् दुई जना, तिनीहरुलाई पनि कुन बेला मारिने हो ठेगान छैन ।”