निष्पट अन्धकारभित्र विलिन भएझैं गरी लडिरहेकी थिई ऊ । उसको वरिपरी उसकै तिनजना छोराछोरी झुमिरहेका थिए । यस्तो लाग्दथ्यो ऊनीहरु मात्र त्यस शहरका बासिन्दा हुन् । सबैभन्दा कान्छो शायद उसको छोरा हो । ऊ पुरै नाङ्गै अवस्थामा देखिन्थ्यो । करिब एक वर्षको त्यो बच्चो सडकपेटीको धुलोसँग खेलिरहेको हुन्थ्यो । कालोवर्णका ती केटाकेटीहरु आफ्नै धुनमा यताउता डुलिरहेका हुन्थे । झट्ट हेर्दा यस्तो लाग्दथ्यो ऊनीहरु त्यो शहरका एक्ला बासिन्दा हुन् । घण्टाघरको घण्टीको आवाजसँग पनि ऊनीहरु कयौं दिनदेखि बेखर नै थिए । यत्रतत्र छरिएर गुडिरहेका ट्याम्पो र बसहरुको आवाजले उनीहरुलाई छोएकै थिएन पटक्कै ।
सडकपेटीमा हिँड्ने सयौं मान्छेका आँखाहरु उनीहरुका आँखासँग कहिल्यै जुद्दैनन् । उसले त झनै कसैका आँखासँग आफ्ना आँखा ठोक्किए भने पनि आफ्ना आँखालाई हतपत हटाइहाल्दथी । ती छोराछोरीका पितासमेत उसलाई थाहा थिएन । कहिलेकाही उनीहरुको बाबुको अनुहार सम्झन खोज्दा उसका आँखामा कालै अनुहारको छायाँ छाउँथ्यो अन्धाकारजस्तै ।
अँध्यारोले हैकम जमाएपछि आफ्ना बनेर उसको जवानीसँग भिडन्त खेल्न आउनेहरुको हेक्का पनि उसले कतिको राखोस् । रातेपिच्छे निलाकाला अनुहारहरुको स्मरण गर्न पटक्कै चाहेन उसको मनले ।
सडकको चौबाटोको बिच नितान्त एक्ली महशुश गर्थी ऊ आफूलाई । ऊभित्र अब कुनै भावहरु बाँकी नै थिएनन् । कसैलाई सम्झेर चसक्क घोचोस् उसको मुटु । अब उसलाई मन थिएन, आफ्ना मनका बेदनाहरु अरुसँग पोख्न । चाहन्न थिई उसले कसैसँग कुरा गर्न र गफिन । ऊ अन्जानमै तिनवटा छोराछोरीकी आमा बनिसकेकी थिई । तर एउटा ढुङ्गासरी घण्टाघरको पर्खालमा अडेस लागेर ऊ टाँसिरहेको थिई ।
सडकको छेउ हिँड्ने मान्छेहरुको दयाको भिखबाट उसका ती तिनजना ससाना बच्चाहरु जीवित मात्र थिए । सडकमा हिँड्ने हरकोही मान्छेका मनले भन्थे “कति थेचरो हुँदोरहेछ मान्छेको जात, जस्तो अवस्थामा पनि आफ्नो शरीर धान्न बाध्य हुने ।”
एकदिन उसको चौबिस पच्चिस वर्षे जवानी धरान बजारको सडकको छेउमा लम्पसार परिरहेको थियो । ‘आज कसले पैसा दिएछ मोरीलाई दिउँसै खाइछ’, पहिलो पुरुषले मनमनै भन्यो ।
‘यो यसरी दिनदाहडै सुत्ने आइमाई त होइन’ के भएछ टाढैबाट एकछिन निहालेर हेर्यो र मनमनै भन्यो दोस्रो पुरुषले ।” तेस्रो पुरुष उसको नजिकै आयो । उसका झ्याम्म परेका परेलीभित्रका काला आँखासँग आफ्ना आँखा जुधाउन खोज्यो । उसले नचिनेझैं गरी र कोल्टे फेरी।
बिहानैदेखि आगोको भुङग्रोजस्तो ज्वरोले रन्किरहेको थियो उसको पुरै शरीर । उसको भरपुर जवानीमा डँढेलो सल्केको महशुश गरिरहेकी थिई ऊ ।
रातको सन्नाटाले पूर्णरुपमा आफ्नो अधिकार जमाएपछि ती तिनजना पुरुष त्यहाँ जम्मा भए । कहिल्यै नब्यूँझने गरी मस्त निन्द्रामा थिई ऊ । तिनै जनाले एकैपटक उसको जीउ छामे । ऊ बरफजस्ती चिसी भैसेकेकी रहिछे । थर्कमान हुँदै तिनैजना कुलेलाम ठोेके आफ्नो घरतिर ।