सवेरै जाग्यो वीरगञ्ज ।
हामी पनि ऊसँगै उठ्यौँ र नित्य कर्म सकाउनतिर लाग्यौँ । हामीलाई रक्सौल पुग्नुथियो । सिमसिम पानी पर्दै थियो । वीरगञ्जको तापिलो मौसममा यो पानीले केही राहतको अनुभूित दियो । रिक्सा समायौँ र दशगजा पार गर्यौँ । तर रिक्सावालाले शर्तनामा पालना गरेन, उसले निकैवर रोकिदियो । ठगियौँ र पनि चुपचाप लाग्यौँ पैदलै ।
यात्राका मनोरम तरङ्गहरु मनमा झन्कृत भएर बसेका छन् । म जहाँ गए पनि त्यहाँ घुलमिल हुन चाहने मान्छे । नयाँ वातावरणको चासो र खोजिनीति राख्ने मान्छे । आफू जहाँ उभियो त्यहाँको बारेमा जानकार हुनुपर्छ भन्ने मान्यता छ मेरो । नयाँ ठाउँको यात्रामा भिन्न यात्रा–सौन्दर्यको रस्वादान गर्ने मेरो रहर नै हो । मनमा यो रहर पनि भोकाएर बस्छ सधैं ।
यात्रामा छौँ हामी पाँच– काभे्र पनौतिका केशव दाहाल, कैलालीका भरत न्यौपाने, नवलपरासीका टिकाराम तिमल्सिना, मोरङ्का हिरा पोखरेल र म । हामी इन्डियन नेशनल इन्सिट्युसन अफ रुरल डिभलोमेन्ट एण्ड पंचायतीराज र सेन्टर फर इन्टरनेशनल कोपरेसन एण्ड ट्रेनिङ इन एग्रिकल्चर बैंकिङको आयोजनामा हुने इन्टरनेशनल प्रोग्राम अन् म्यानेजमेन्ट अफ रुरल फाइनान्सिग इन्सिट्यूसन एण्ड कोअपरेटिभ्स फर रुरल डिभलपमेन्टमा भाग लिन भारतको हैदरावाद जाँदै थियौँ । आयोजकहरुको नाम यति लामो थियो कि सम्झनै गाह्रो !
सिमसिमे एकनासको पानीमा हामी लछप्पै भिजियो । करिब १५ मिनेटको हिडाइपछि रेलस्टेशन पुग्यौँ । यति छोटो हिडाइले नै हिजोको उत्साह, कौतुहलता, उमङ्ग सबै सेलाएर पानी पानी भएको थियो । हावा पुरै गन्हाएको छ–डुंगडुंगती । फोहोर उत्तिक्कै । मान्छेहरुको ठगी मनमा हरि भन्ने चिज भए पो । पाइला पाइलामा नजाँनिदो ढंगले मान्छे ठगिँदो रहेछ । मोबाइलमा रिचार्ज हाले साथीले । एक सय रुपैयाँको रिचार्जमा साठी रुपैयाँ ब्यालेन्स । प्रतिवाद गर्दा उल्टो ‘मेसेज देखिए भाइजी आपका नम्बर मे ब्यालेन्स सेन्ट हो चुका है’ को जवाफ आँउछ । घृणा र क्षोभ व्यक्त गर्छ मेरो मनले । मलाई लामो समय प्रवासमा वसेका मेरा गाउँले काका दाइहरुले यस्ता अनुभवहरु सुनाउँदा पूरै पत्यार लाग्दैनथ्यो । आज आएर भोगियो ।
केशव र टिकाजी रेलको बारेमा जानकारी लिन काउन्टर गए । मलाई पिसाबले च्यापेको थियो । म अरु दुई साथीलाई झोलाहरु कुर्न लगाएर शौचालयको खोजीमा हिडँे । वर्दी हेर्दा प्रहरी जस्तोे एउटा मान्छेले आँैल्याइदिएको दिशातर्फ लागेँ म । यामानको ताला लागेको रहेछ कुन्नि किन हो । यसो दाँयाबायाँ हेरेको कतै महिला फरिया सारेर शौच गर्दैछन् त कतै पुरुष उभिएर पिसाब गर्दैछन् । मैले पनि तिनीहरुको सिको गर्दै लामबद्ध भएँ–सिकसिको र धक मान्दै पनि । यत्रो बडो देशको रेल्वे स्टेशनको यो हालत । यहाँनिर मैले काठमाडौँको हालत सम्झिएँ ।
भिजेको टिसर्ट फेरेँ मैले । हिराले पनि अर्काे टिसर्ट बदले । रेल त ढिला आउँछ रे झण्डै डेढ घण्टा पछिमात्र । बसिरहनुको विकल्प पनि थिएन । मान्छेको भीड बढ्दै गयो । साथीहरु झोला रुँगेर बसे । मचाहिँ यताउति टहलिएर त्यहाँको वातावरण चियो गर्न थाले । जिडिपीमा विश्वको चौथो स्थानमा विराजमान छिमेकी मुलुक भारतको सुरुवाती भूभागमा प्रवेश गर्दा मनमा अनेकौँ प्रश्नहरु उठे । जताततै फोहोरै फोहर । माखा पनि के विधी भन्केका । माग्न वसेकाहरुको घुइँचो उत्तिक्कै । विहार र विहारीको बारेमा सुनेको त थिएँ । भोकले खाना माग्यो । के खाने होला भनेर यताउति हेर्दै थिएँ हेटौडाका एकजना सज्जन भेटिए । ३५ वर्ष नोकरी गरेका रे कलकत्तामा । खाना के पाइएला भनेर सोधेको । लौ आउनुस् परतिर पाइन्छ, म लैजान्छु भनेपछि हामी उनलाई पछ्याउँदै गयौँ । माछा, मासु, मोटो भातका सीता, दाल सबै खुला भाँडोमा राखिएका छन् । छि: लागेको भोक उसै मर्यो । त्यहाँ भुनुनुको सङ्गीत भर्दै माखाहरु भन्किएका छन् । उसै निस्कियौँ । यति फोहोर खाना त मैले कहिल्यै देखेको थिइन । अलिपरको एक दोकानबाट बिस्कुट, कुकिज र पानीका बोतलहरु खरिद गरेर रेलवे स्टेशन लागियो ।
मिथिला एक्सप्रेस आयो साइरन लगाउँदै । भटाभट यात्रुहरु तँछाड मछाड गरेर चढ्दैछन् । केहीबेरपछि कुद्यो रेल आप्mनै गतिमा । लोभलाग्दा धानका बालाहरु भmुलेका रसिला फाँटहरु । बस्तीहरु भने परपर देखिन्छन् । कतै कतै रेलको लिकको दायाँबायाँ रेलको लिकमा प्रयोग भएका पुराना फलाम र काठहरु थुपारिएका छन् । अनि कतै नयाँ लिक बनाउनका लागि थुपारिएका छन् लिक बनाउन कालिगढहरु पनि व्यस्त देखिन्छन् । पानीका चौडिलाहरु उत्तिक्कै छन् । एक हुल स्कुले साना साना नानीवाबुहरु देखिए । हामी पहाडका धनी मान्छे । आँखाले नदेखिने समथर लोभिला फाँटहरु । मन पुलकित बन्यो ।
पहिलो पटक थियो मेरो रेलको यात्रा । छेउमै थिए एक सज्जन राजपुत राजकिशोर राउत । उनी तीसांै वर्षदेखि पोखरामा वसेका रे प्लम्बिङ् गरेर सपरिवार । नेपाली स्पष्ट बोल्दारहेछन् । उनको एउटा छोरोले अघिल्लो वर्ष पोखराबाटै प्लस टु पास गरेको रे । अहिले ऊ उडिसामै छ । २ महिनाको लागि उनी नेपालबाट छुट्टी मनाउन जान लागेका । उनीसँग गफिएँ म । उनमा पुरै झल्किन्थ्यो नेपालीपन ।
हामी सुगौली पुग्यौँ । त्यहाँबाट दुईजना चढे । सँगैको सिट बुकिंग रहेछ । तीमध्ये एकजना काठमाडाँै आएका रहेछन् । पशुपति र स्वयम्भू घुमेका । अर्काचाहि पोखरा र मनकामना गएका रहेछन् । तिनलाई काठमाडौमा रात्री जीवनको बारेमा उनका साथीहरुले बताएका रे – ‘बहुत रमाइलो हुन्छ’ भनेर । उसले सोल्टी होटलको बारेमा पनि सुनेको छ । अबको छुट्टीमा ऊ त्यहाँ गएर जुवा खेल्न चाहान्छ मज्जाले । उसलाई अझै नेपाली केटीहरुसँग विलासितामा रम्न मन छ रे । मिल्छन् रे काठमाडौमा । यस्तै यस्तै सुनायो उसले । उसका यी कुराले मेरो मन कुडिन्छ । दुख्छ कता कता नमिठासित । मान्छेका रहरहरु पनि वुझिनसक्नुका हुने । म सकेसम्म सन्तुलित बनेर उसका कुराहरुको खण्डन गर्छु । तर ऊ सहमत हँुदैन । ऊ दलिल पेश गर्छ उसका साथीहरुलाई उद्धृत गर्दै । भावनात्मक रुपले नेपाली हुनुको गर्वको उचाई चुलिनुको साटो होचिँदै गएको अनुभूति गर्छु म । म उसको कुराको प्रतिकार गर्दै आफ्नो अस्तित्वलाई फरक हिसाबले प्रस्तुत गर्न खोज्छु । तर ऊ मेरो कुरा सुन्नै चाहदैन । म पराजित र अपमानित भएको महसुुस गर्छु । त्यसैले म चाहन्छु ऊवाट छेलिन । शौच जान परेको नाटक गरेर उन्मुक्ति लिन्छु उबाट ।
केहीबेर शौचालय नजिकको सिसावाट नियाल्छु प्रकृति । बाख्रा र भैंसीहरु चरिरहेका । दाँयाबाँया केराका धेरै धेरै झ्यागहरु । हामी सेमरा, मोतिहारी, चकिया पुग्छौँ । म आफ्नो स्लिपरमा फर्कन्छु । ती विहारी मनुवाहरु घुर्दै रहेछन् । आगोको लप्काले पोलेको दिलमा चिसो मुसलधारे वर्षा हुँदाको जस्तो शितलता महसुस गरेँ मैले ।
मोतिहारी रेल्वे स्टेशन । कति झ्वाम्म परेका रुखहरु । केही यात्रु चढ्छन । ‘खाना अर्डर किजिए’ एक जना क्विटी र डटपेन हातमा लिएर आउँछन् । सादा खाना अर्डर दिन्छौँ हामी । पैसा एक सय रुपैँया । नेपालमा आउने भारतीयहरुले खाना महँगो भएको गुनासो गरेको सुनेको थिएँ । अनि सँँगै भारतमा त सस्तो पो छ भन्ने सुनेको । तर सुनेको सबै साँचो कहाँ हुनु ।
म जीवनमा पहिलो चोटी त्यो पनि लामो दूरीको रेल चढेको । रेलको बारेमा मेरो कल्पना थियो यो त वेगवान हुन्छ । बेतोडले कुद्छ । तर यो कल्पना पनि फेल खायो । लोकल जस्तो पो रहेछ । हरेक स्टेशनमा रोकिने । रमाइला छन् मेरा साथीहरु । टिका र हिरासँग हिजोमात्र परिचय भएको । अनि केशव र भरतसँग फोनमा मात्र कुरा भएको सशरीर भेटेको त हिजोमात्र हो । तर चिनारी हाम्रो धेरै पुरानो लाग्छ । ठट्टामज्जा पनि चल्छ । मलाई बाहिरको दृश्यावलोकन गर्नुथियो । तर मेरो सिट बीचमा थियो । तल ती दुई विहारीजनहरु निन्द्रामा मस्ताराम थिए । रेल र बसको यात्रामा त्यति फरक पाइन मैले । उस्तै छ बाटो । उस्तै छ फराकिलो फाँट । अस्तव्यस्तता उस्तै । रोकिन्छ रेल । सफाइ गर्ने आउँछन् बढार्छन् । बाहिर यसो दृश्यगोचर गर्दैथिएँ म । धूमिल धूमिल भएर साँझ ढल्कँदै थियो । यसो घडी हेरेको साँझको छ बजेछ ।
मुजप्फपुर पुगेर रोकिन्छ रेल । ‘चाय चाय गरम गरम चाय’, ‘लस्सी, कोला…, ‘पानीका वोतल, ‘बढिया साबुन’,…… । डिब्बाभित्र पसेर आफ्ना सामानको विज्ञापन गर्दैछन् व्यापारीहरु । दिउँसो अर्डर गरिएको खाना पनि आउँछ । गतिलो चार गास चामल, एउटा नैवेद्य जत्रो पातलो एक गासे रोटी, तीन चम्चाजति भ्यान्टाको तरकारी, बेसार पानी जस्तो दाल । चामल सम्झँदा पनि उफ् । हामी यहाँ पनि ठगिएको महसुस गर्छौँ ।
समस्तिपुर आउँछ । फेरि रोकिन्छ रेल । यात्रुहरु चढ्ने र उत्रिने क्रम चलिरहेकै छ । रेलको टिकट चेक गर्नेलाई टिटिइ भनिँदो रहेछ । सबैको चेकजाँच हुन्छ । समस्तिपुरबाट चढेको थियो एक परिवार । त्यसमा करिब चौध वर्षकी एक नानीको परिचय खुल्ने केही रहेनछ साथमा । यस्तो यात्रा गैह्र कानूनी रे । आधार कार्ड माग्छ ऊ । ती नानीका अभिभावकले नबनाएको कुरा गर्छन् । तर टिटिइ मान्दैन् । किशोरी रुन्छिन् । तर उनको रुवाईको के अर्थ । अलिक बेसी नै लफडा पर्छ । किन विना परिचय पत्र यात्रा गर्नु ? अनि विना परिचयपत्र टिकट किन बेच्नु त ? टिकट दिइसकेपछि किन द:ुख दिनु । म यी दुई कुराबीचको तारतम्यताको केही भेउ पाउँदिन । सँगैको अर्काे यात्रुलाई सोध्छु । ‘सर ये तोे रोज चल्ता रहता है । टिटिइ कुछ पैसा असुल्ने के लिए ऐसा करता है । ये तो रोजका सिलसिला है सर ।’ मन दु:खी हुन्छ । सर्वसाधारणलाई जहाँ पनि सास्ती । विद्रोह गर्न मनलाग्छ तर अर्काको देशमा पहिलो पटक पाइला राखिएको छ । आफुलाई सम्हाल्छु । यसो यात्रुहरु हेर्छु सवै भारतीय जस्ता लाग्छन् तर कसैले पनि टिटिइको हर्कतको प्रतिवाद गर्दैन मानाँै सब बेखवर छन् ।
ढाड अलिक बढी नै दुख्यो । निन्द्रा त पर्दै परेन । मनमा धेरै कुराहरुले घर बनाउन थाले । मान्छे कति लालची छ है । अरुको सुविस्तासँग बाल मतलब ! आप्mनो लागि दुर्भाव राख्छ मान्छे । ईश्र्या र लालच छ मान्छेमा । स्वार्थको तलाउमा चुर्लुम्म डुबेको छ मान्छे । लोभ र डाहाले अपराधिक प्रवृत्ति घुसेको छ मान्छेको जीवनशैलीमै । अरुको सोझोपनमा अवसर छोपिहाल्छ मान्छे । जहाँ गए पनि यस्तै प्रवृत्ति, यत्र तत्र सर्वत्र ।
मान्छे शक्तिको पुजारी उसै भएको हो र । विचरा तिनीहरुसँग टिटिइले पैसा असुल गरिछाड्यो रे । देश विकसित भएर के भो जिम्मेवार नागरिक नै गैरजिम्मेवार भएपछि । मेरो मनमा त्यो निलोकोट लगाएको टिटिइप्रति घृणाको भाव जागृत भयो । पश्चिम बंगालको आसांगसोल स्टेशन आइपुगिएछ– घडी हेरँे विहानको ५.३० भएछ । अलिक सफा र विकसित भन्ने सुनेको थिए । तर चेतना चाहिँ उही हो । रेलको लिगको दाँयाबाँया एक लस्कर महिला र पुरुष शौच गर्दै रहेछन् धकै नमानी । फेरि विहार सम्झायो यसले मलाई । चेतनामा त हामी भन्दापनि दरिद्र पो मान्यो मेरो मनले यहाँका मान्छे । बस्तीहरु पर पर छन् । त्यत्रो भूभाग खाली छ, एउटा शौचालय पनि वनाएका छैनन् कि । या यो आदतै हो यहाँका मान्छेको । मनले कौतुहल मानिरह्यो तर उत्तर भेटेन ।
रानीगञ्ज आइपुग्यो । अण्डाल पनि कटियो । उज्यालोले धर्ति पोतिँदैथियो । ठाउँ ठाउँमा रेल्वे सुरक्षावल तैनाथ गरिएको हुँदोरहेछ । सानासाना छाप्राहरु थुप्रै भेटिए । तिनका छानामा माटाको टायल लगाइएका र एकनासका थिए । हेर्दा मनले ठम्यायो सुकुम्बासीको बस्ती होला । जहाँपनि छ है वर्गीयता समाजमा । अलिपर गगनचुम्वी महल देखिन्थे । मन अशान्त भो । एकातिर गगनचुम्वी महलमा वसेर वैभवपूर्ण विलाशी जीवन बिताइरहेछन् मान्छेहरु । अर्काेतिर छाप्रोमा दिन र रातको दुखद अभावका त्रासदीमा घिटिघिटी वाँच्न विवश छन् मान्छेहरु । लोकतन्त्रको पर्याय मानिने मुलुकको नागरिकको अवस्थाले विचलित वनाउँछ मलाई ।
जंगल, बुट्यानबाहेक अब केही देखिन्न । अलिक पर पुगेपछि औद्योगिक क्षेत्र जस्तो देखियो रेलबाट । दुर्गापुर आयो । ठुलै स्टेशन रहेछ । त्यहाँ आइरन प्लान्ट उघोग पनि रहेछ । खजुर उत्पादन धेरै हुँदोरहेछ ,यो वरिपरिका खजुरका बोटहरुले वताइरहेका थिए । कृषियोग्य भूमि पनि कति हो कति । धानका लहलह बाला झुलेका हरियाली फाँटहरुको त कुरै नगरुँ । धन्न नदेओस् भारतले चामल हामीलाई । यसो हेर्दा धेरै उर्वरयोग्य भूमी उत्तिक्कै खेर भएको पनि देखिन्छ ।
पाराज हुँदै गलजी पुग्छ र रोकिन्छ रेल । ढाकरमा चटपटे वोकेका मान्छे देखिए ।
‘आठाना, एक रुपिँया ,अन्धाको दया करे ।’ एक वृद्ध रेलमा चढेर माग्दै थिए । मैले साथमा करिब एकसय जति चानचुन एकदुई र पाँचदशका सिक्का हालेको थिए । मलाई लामो समय भारत प्रवासमा रहेका गाउँले काकाले सानो पैसा साथमा लाग्न सुझाएका थिए । मैले गोजीबाट एउटा पाँचको सिक्का झिकेर ती वृद्धतिर तेस्र्याएँ । सजिलै मेरो हात नजिक हात ल्याएर सिक्का लिए । काकाले भनेको सही रहेछ । कोही के वहाना गरेर ठग्छन् त कोही के । हो रहेछ । यसो चियाएर हेरे त ती बूढा बाहिर निस्केपछि त आम आँखा भएका मान्छेमा पो परिणत भए त । बाँच्ने वहानामा कति ठग्छ है मान्छे ।
तालित स्टेशन । अलिअलि बस्ती देखियो । बर्दमान भव्य रेलस्टेशन । गंगापुर, शक्तिगढ, रसुलपुर, निमो आदि नामका स्टेशनहरु पार गरियो । कतै कतै बस्ती नत्र धानको विशाल फाँट । बैची पुगियो । घ्याच्च रोकियो रेल । जुत्ता पालिस, चाय, कफीवालाहरु क्याविनमै पसेर सेवा दिन आतुर देखिन्छन् । शिमलागढ, पाण्डुया । कफी बेच्नेको डब्बाभित्र ओहरदोहर देखिएपछि कफी पिउन मन लाग्यो । दश रुपैयाँ कप, कप पनि के भन्ने दुई सुरुपमै खलास सब । धित मरेन ।
खँन्यान, तालाण्डु, आदिसप्तग्राम यी ठाँउहरुमा नरिवल र केराको खेती प्रशस्तै हुँदोरहेछ । आँपको वगान उत्तिकै । निर्यात गर्छन रे यहाँबाट अन्यत्र । वैण्डल, चन्द्रनगर, व्यापारीहरुको कस्तो हाटबजार लागेको रेलकै डिब्वाभित्र । नेलकटर, साबुन, झोलादेखि खाने विभिन्न परिकारसम्म । भद्रेश्वरतिर त सबैको घरको अगाडि पानीको पोखरी । साना ठूला आप्mना गच्छेअनुसारका । माछा पालन गरिएको पो रहेछ ।
सेउडाफुली, श्रीरामपुर, उत्तरपाडा, बालिखालको खोलाको पुल तरेपछि बाली स्टेशन । विहानको साँढे नौ भएछ । एकहुल स्कुले नानीहरु देखिए । बेलुंगमा अफिस जान अटेसमटेस गरेर स्थानीय रेल चढ्नेको भिड उत्तिकै बाक्लो थियो । मैले काठमाडौका लोकल गाडी र अफिस टाइममा आफुले कोचिएर त्यसमा चढेर यात्रा गरिरहेको दैनिक नियति सम्झिएँ । बस्ती अलि बाक्लिदै गएको छ । घडीले विहानको दश वजेको संकेत गरेसँगै हामी हौडा रेलवे स्टेशनमा आफ्ना झोला च्यापेर उत्रियौँ । यसरी रक्सौलदेखि हौडासम्मको ६९४ किमी यात्रा पार गरियो ।
भोक लागेको थियो । राम्रो खाना खाने होटलको खोजीमा हामी यताउता भौतारियौँ । एक उतिसारो राम्रो त होइन ठिकैकोमा पस्यौँ । खानाको रेट सोध्यौँ । सादा दाल चामल र सब्जीको एकसय बीस र माछा या चिकेन खाने भए एकसय पचास रुपैँया । सबैले माछासँग भात खाने विचारले अर्डर पनि गरियो । त्यति साह्रो भोक दुई गाँस खानाले मर्यो । पैसा तिर्न जाँदा अघि एकसय पचास भन्ने मान्छे गायब थियो काउन्टरवाट । अहिले त एकसय असी पो भएछ । मैले आक्रोशित मुद्रामा अघि एकसय पचास भनिएको भएर हामीले खाना खाएको भनेँ । ‘अरे वो भाइसाप । आपको किसने बोला रे एकसौ पचास ? मैनै बोला ? शर्म नहिँ आते खानेके वाद ऐसा बात करना ?ु यसरी प्रस्तुत भयो कि काउन्टरमा वसेको मान्छे मानौं हामीले मुफ्तमा पो खायौ उसको खाना । अनि हामी पो उसलाई ठग्दैछौँ । टीकाजीले पनि प्रतिवाद गर्नुभयो । तर विवाद धेर गर्न उचित पनि लागेन हामीलाई किनकि केहीबेरमै हैदरवादको लागि रेल चढ्नु थियो । त्यसैले हामीले उसले भनेकै दरमा पैसा तिर्यौँ ।
साथीहरुलाई फोनमा रिचार्ज गर्नुथियो । स्टेशनको आडैमा रहेछ । गयौँ पहिले रिचार्ज हिराजीले गर्नुभयो एकसय रुपैयाँ । तर ब्यालेन्स असी रुपैयाँ देखायो । अनि उनले सोधे एकसयको कसरी सत्तरी मात्र हुन्छ । ‘देखो भाइ और बात मेरेको मालुम नही । यहाँ देखो रकम ट्रान्सफर हुआ है मेसेज देखो’ यति भनेर ऊ आफ्नो काममा व्यस्त भएर हामीलाई ‘इग्नोर’ गरिरह्यो । कहाँ प्रतिवाद गर्नु कुन विषयमा प्रतिवाद गर्नु छि: । हामी अरु कोही पनि ब्यालेन्स नहाली स्टेशनको भित्र प्रवेश गर्यौँ । हाम्रो यात्रा अझै बाँकी थियो । मैले मनमनै सोचे हामी त केही भएपनि पढालेखा मान्छे , हिन्दी अंग्रेजी पनि बोल्न सक्छौ त यो हाल भयो भने अरु नेपालीको के होला । मन नै तितो भयो मेरो । यो नियती रोक्न के गर्नुपर्लाको उत्तर पनि छैन मसँग । यत्तिक्कैमा रेल आएको जानकारी भयो र हामी पस्यौँ रेलमा तय गर्दै हैदरावादको यात्रा ।