कसले हो कुन्नि याद भएन अहिले । झिनो सम्झना बाँकी छ । नेपालभित्रकै आन्तरिक पर्यटनको एउटा संस्मरण–अनुभूतिको रचना माग्नुभएथ्यो । कसले मागेको, थाहा छैन । तैपनि लेख्ने उत्सुकता जागि नै रह्यो ।
म नेपाली । पचहत्तर वर्ष–बैँसे ठिटो । वर्ष संस्कृतको तद्भव शब्द । बैँस नेपाली तत्सम । जे होस्, मैले आफूलाई पचहत्तर वर्ष–बैँसे ठिटो भन्न मन पराएँ । पचहत्तरवर्षे बुढ्यौली टीको निधारको शोभा बनाउन चाहिनँ । मन लागेन । मन पराइनँ ।
पचहत्तर वर्ष–बँैसे ठिटो बन्नुको रस मधुर लाग्छ । पचहत्तरवर्षे बूढो ठान्नु नितान्त खर्रो, टर्रो हर्रो–बर्रो । यथार्थ त खर्रो, टर्रो हर्रो–बर्रो नै हो । बूढो मन सँगालेर ग्लानि बन्नु बाँच्नुको पर्याय लागेन । बाँच्नुको पर्याय त कर्मशील रहनु लाग्छ मलाई ।
कर्मले खारिएको जीवन अनुभूति बुढ्यौलीको कोसेली लाग्छ मलाई । ‘बूढो मर्छ, कुरो सर्छ’ टुक्काको मर्म यतै कतै झिसमिसिएझैँ भान हुन्छ । बूढो मर्छ । अर्को पुस्ता बूढो बन्न थाल्छ । चक्रपथको यात्रा यसरी नै चल्यो । चल्दैछ । चल्छ पनि यसरी नै । यसको हेक्का सबैकै साझा पुर्पुरे ठेक्का । तर मतलब राख्तैनन् धेरैमा धेरैले यसको ।
बूढो मरेपछि अर्को पुस्ताले खेप्नैपर्छ बुढ्यौली । यो प्रकृतिको शाश्वत उपहार नस्वीकारी सुख छैन । स्वीकार्नैपर्छ । प्राकृत उपहारलाई शाश्वत ठानेर मान्छे जीवनचक्रमा चल्छ, चलिरहन्छ नअत्तालिईकन ।
जीवन अनुभूतिको थुँगो । यी थुँगाहरू सुक्छन्, झर्छन् । फूलदाने शौँकका जिन्दगीमा थुँगाहरूले सजाइरहनैपर्दो रहेछ । यस्तैमा अलमल्ल पर्न थाल्छु म । फूलदान हुँ या थुँगो, सजिलो पर्दैन यही भन्न । जिन्दगी फूलदान पनि, थुँगो पनि । फूलदान नभए फूल केमा सजाउने ? थुँगै नभए फूलदानमा के सजाउने ? घरीको फूलदान, घरीको थुँगो । यात्राहरूका यात्री यी पाइलैपाइलाका जिन्दगी ।
पाइला चाल्दै गर्नुपर्दो रै’छ । पाइलैले कठिनलाई साध्य बनाइदिन्छ । हिँड्दै गर्दा पाइलाहरूले मलाई उचालिदिएझैँ लाग्छ । कहालीलाग्दो भिरालो, उकालो मोहक बन्दो रै’छ । अनकन्टार ढुङ्गेलो उकाली–ओराली जिन्दगीकै क्रम बन्दो रै’छ । आफ्नै यात्राहरूका यात्री यी पाइलाहरूमा पारायण गर्दो हुँ म । पाइलाहरूसितको अन्तक्र्रिया मेरा रचनाको थुँगो बनिदिन्छ । आहा ! क्या मजा !
यात्रीहरू यात्रा गर्छन् । यात्रा पाइलैपाइलामा जुरिन्छन् । पाइलै नभए यात्रा भरिन्छ कहाँ ? जुरिन्छ कसरी होला यात्रा पाइलाबिना ? पाइला त यात्राको पाउभन्दा शिर बन्छ । कहाँ शिर ? कहाँ पाउ ? शिरपाउ ! पाउशिर ! एकै होइन दुई भिन्न वस्तु । भिन्न दुई पदार्थ ! पद + अर्थ : पदार्थ । पद शब्द । सायद पदबाट पाद बन्यो कि ? अनि पादबाट पाइला ! रूपान्तर जीव–जगत्मा रूपान्तरण भइरहँदो रै’छ । हाम्रो सबै यात्रा रूपान्तरणकै प्रक्रिया, क्रिया, गति हुन् । यात्राहरूका यात्री भन्नु नै ती पाइलैपाइलाका यात्रा !
पाइलैपाइलाको मान्छे बनेछु । पाइलाले मलाई म बनाए । पाइलामा निर्मित मान्छे । म पाइलाको मान्छे । मान्छेबिनाको पाइला र पाइलाबिनाको मान्छे के मान्छे ? मान्छेबिनाको पाइलामा अनेक जीवजन्तुका डोबहरू डाबिँदा हुन् ! कुनै डोबमा बाघ । कुनैमा भालू । कुनैमा विषालु साप । तर सापको डोब कहाँ ? डोबबिनाको सापेयात्रा मन पर्दो हुन्न मलाई । डोबबिनाको यात्राबिना चालको यात्रा । यात्रामा पाइला चालिन्छ । पाइला उठाइन्छ यात्रामा । टकटक पाइला । टकटके चाल । टकटके चालका पाइला एउटा बिउँझाइ ! बिउँझनुपर्छ मलाई । बिउँझन्छु म पाइलाहरूका टकटके गतिशील आवाजमा ! गतिशील टकटके आवाजमा बिउँझन्छु । टकटके आवाजका गीतले बिउँझाइदिँदो रै’छ । अनुभूति आफ्नै बनेको छ यो । अनुभूति ओकलिरहेछु अहिले म । टकटक गतिका आवाज ।आवाजसितका टकटक गति ।
त्यसैले नहोस् किन र कसो यात्राहरूका यात्री ती पाइला ? लाग्छ, कठै ! यात्राहरूका यात्री पाइलैपाइला हुन् । पाइलै यात्री हुन्, पाइलामै यात्रा चल्छन् ।भर्छन्, भरिन्छन् यात्रीका यात्राहरू । पाइला नै पहिलो यात्री भएझैँ यात्री पाइलैमा लीन भएझैँ । भावुकताको आवेगमा यात्रा आवेशमय बन्छ । आवेग र आवेश दुवै यात्राहरूका दुई छेउ किनार बनिदिन्छन् । र पो ठान्छु यस्तै–उस्तै, कस्तै–कस्तै । यतिन्जेल झल्याँसिन्छु डोल्पाली यात्राबीच बाँदर फड्के तरेको सम्झनामा । त्यो आवेग थियो । आवेश थियो । एक पाइला खुस्केको भए खुस्किन्थ्यो आफैँ । चिप्लेको भए चोइटिन्थे यात्रामय जीवनका पाइतालाहरू अनि खुट्टाखुट्टीहरू ।
उसबेलाका क्यै न क्यैका कटमिरे यौवन–जोसहरू । आफैँबाट आफैँसित उछिट्टिएका क्षणहरू । होसबिनाका जोसहरू सबै आवेग र आवेशहरू । चारबीसपारिका घाम तापिरहेका पिता निरञ्जन रन्किने रोदनका क्रन्दनमा बेहोसिने थिए । मेरी मनकी तरङ्गिनी उनी हिउँका आवरणमा सेती नै थिइन् । छोरो सञ्जीव एकसरो एक्लो मेरो । पितृशोकमा एकोहोरो–एकोहोरो सुरमा साँघुरो बन्ने थियो । मन्तुना अनि भिन्तुना दुवै मेरी छोरी मेरो वियोग–वेदनाले विह्वलिने थिए । यी सबै सम्भाव्य सम्भावनाहरूका पछिल्ला चोइटाहरू । सायद पहिले उहिले मनमा झुल्किँदो हो त अपसकुनका आभास बन्ने थिए । कबै उठेनन् ती अवसकुनका तरङ्गहरू मनमा ।
अपसकुनमय तरङ्ग नतरङ्गिनु मनमा ! लामो भविष्यबोकुवा पाइलाहरूका यात्राका पाइले यात्री जीवन–जगत्को जोरजाम बन्दो रै’छ हाम्रो । यस्तो सशङ्कित् शङ्का उठ्तो हो त मनमा खुट्टाहरू गल्ने थिए, लर्बरिने थिए त्यस बेला । गलित खुट्टाहरू अनि लर्खरिने पाइलाका यात्रा दुर्घटनाका अवश्यम्भावी आभास बन्छन् । अनर्गल प्रलाप मनमा उठेन । नउठ्नु त्यस्ता तरङ्ग–तरङ्गहरू, दरो पाइलाको आत्मभरोसा मान्छु अहिले । अनुभूतिले ओतप्रोत यी धारणाहरू साहसिक जीवनका जगत् लाग्छन् मलाई ।
उकालो उक्लेँ । ओरालो ओर्लें । नागबेली छिल्लिएँ । भासमा उफ्रेँ । चिराचिरा धाँजामा तर्किएँ । गोरेटो जीवनयात्रा गाउँ नै गाउँको नेपाली यथार्थ । गाउँठाउँकै अगुवासाथ यात्रामय जीवनयात्राका पोसिला मात्रा । त्यो इमानदारी बेइमानीप्रतिको हाँक रह्यो । कतै असमझदारी र बेइमानीपनको आभास परेन । नेपालको सबैभन्दा बढी क्षेत्रफल ओगट्ने डोल्पा जिल्ला । शीत मरूस्थल (ऋयमि म्भकभचत) । ढुङ्गेलो चट्टानी शिखरवर्ती सानो खाल्डो । छार्घा भोट । पन्ध्र हजार फिट उच्चाटन कुम्लँदो भोट प्रवेश । ‘छार’ भोटे भाषामा ‘नुन’ रै’छ । छा = घर । घर खानीको पर्याय बन्छ । संस्कृत भाषाको क्षार नुनकै पर्याय । संस्कृत क्षार शब्दले सुदूरउत्तरी प्रदेशसम्म यात्रीझैँ यात्रा गर्न पुग्दा छारमा रूपान्तरित हुन पुगेछ । लाग्छ के ? लाग्यो नै सरासर । रूपान्तरण प्रक्रियासित अन्तर्निहित शाश्वत प्रवृत्ति भाषानिर्माणको चालै नपाईंदो यात्रापथ हुँदो रै’छ ।
पन्ध्र हजार फिटमाथिको उपल्लो शिखरवर्ती खाल्डे दून छार्घाभोट रौनक लाग्छ । उचाइ नपचुन्जेल शीतोष्ण औल लाग्दो थियो । शीतोष्ण औलले असह्य कपाल दुखाइदिँदो रै’छ । कपाल ठाडो राख्नै सकिनँ । घुप्लुक्क घोप्टिन पुगेथेँ । यस्तो भान पथ्र्यो कि बन्चरोको प्रहारभन्दा पनि सहिनसक्ने पीडादायक हुँदो रै’छ शीतोष्ण जलवायुको अपचिलो अवस्था । अनेक अनुभूतिको थुँगो पार्दै हिँडेडुलेका अनुभूति आफ्नै यात्राका यात्री बकिरहेझैँ लाग्नु आफूसित आफैँले सिक्ने मेसो बन्दो रै’छ । सिकि नै रहेछु लगातार । मानौँ निरन्तर जीवनमूलक शिक्षा (ऋयलतष्लगष्लन बलम ीषभ ीयलन भ्मगअबतष्यल) का सारश्वत बनिरहेछु अझै पनि ।
फोक्सुन्डो ताल । शिखरे ताल । नीलो गाढारङ्गे पानी । हिमवत प्रदेश । ढुङ्गेलो पर्वत चारैतिर चाक्लिएर गोलो वृत्त बनेको । गोलो वृत्तभरिका हिँउका मटुके शृङ्खला । सेतो मलमलको फेटा गुँथी सम्मानित व्यक्तिहरूको गोलो ताँती कसेझैँ । त्यो हिमचुली त फोक्सुन्डो तालको प्राण–टाउको रहेछ । फोक्सुन्डो तालमा आकाश चुर्लूम्मिएझैँ थियो । आकाश नीलो । फोक्सुन्डो नीलो । पानीको गहिराइ नीलो । आकाशको उचाइ नीलो । आकाशको असीमित आयाम नीलो । नीलो रङ्गले छोयो मलाई । नीलो रङ्गलाई मन पराएँ । फोक्सुन्डोको सेरोफेरोमा नीलिमासित स्वयम्वर गरेँ । त्यही बेला मैले मेरै मनकी उनीसित शयनागारमा अँगाल्दै चुस्केको चुम्बनको मोहक स्वाद सम्झेथेँ । यात्रीहरूका यात्रा ती पाइलासित चुक्क चुम्बनका चुस्कीहरू पनि पाइलिँदा रै’छन् । यात्रीहरूका यात्रा ती पाइलाहरूसित जीवनमोहको महकिँदो मह काढिरहे लाग्छ अझै पनि । सधैँभरि ।
प्रकृति यति प्यारी मायालु बनिदिन्छिन् । प्रकृति उति नै ममतालु माता बनिदिन्छिन् । प्यारी मायालुसित सरोबर फोक्सुन्डो परिसरमा रातहरू बिताएँ । ममतालु माताबाटै सरोबर चौँँरीको स्तनपान गरेथेँ मैले । म त चौँरीको बाछो बनेथेँ त्यसताका । म कहाँ थिएँ ? थाहै भएन ! भक्तपुरे घरमा या फोक्सुन्डे डीलका स्वर्गमा ? झुमझुम झुमिरहेँ । चुमचुम चुमिरहेँ । छमछम नाचिरहेँ । रमरम रमाइरहेँ । त्यो भयङ्कर चिस्यानमा न्यानो अँगालो मारिरहेँ मेरी फोक्सुन्डो प्यारी मनकी महधारीलाई ! क्या न्यानो अँगालो ! कति मीठो चुम्बन चुस्की ! कति रसिलो अनारे ओठ तिनको ! कति मीठो मुस्कान ओठभरि उनको ! डोल्पाली फोक्सुन्डी तरूणतरूणी । नेपाली छोरी ! नेपाली चेली ! मेरै स्नेहमा लपेटिँदै आमा बनेकी उनी ! फोक्सुन्डो ताल ! पूज्या माताजी !
बरालिँदै–बरालिँदै फोक्सुन्डो । फोक्सुन्डोको ताल पानी बग्दै बरालिन्छ । बरालिँदो पानी चुचुरोबाट हाम्फाल्छ । झन्डै विक्षिप्त पानी ।आफूमा सम्हालिन्न । फाल्हान्छे फोक्सुन्डो ! अनकन्टार उचाइबाट फाल्हाल्दी फोक्सुन्डो अट्टहास हाँसो हाँसेझैँ लाग्न थाल्छ । उत्ताउली पानी ! फोक्सुन्डी उत्ताउली । उसकै उत्ताउलोपन त झर्दो रहेछ झर्ना बनेर । झर्ना त फोक्सुन्डोको अट्टहास रहेछ । झर्न उत्ताउलिन सक्नुपर्दो रै’छ । उत्ताउलिएपछि अट्टहास हाँसिदो रै’छ । मसित झर्ना हाँस्छे । ऊसित म । बौलाएझैँ सोच्छु । मौलाएझैँ नि गर्छु । उतारचढावको पानी–जीवन तालमा जम्मा हुन्छु । हिउँमा जम्छु । तालमै थुनिन्छु । तालबाट निस्कँदै झर्नामा झर्छु । झर्ना झर्दै झरझर उन्मुक्त हाँसो हाँस्छु । मानौँ म पानी जम्ने हिउँ हुँ । थुनिने पानी फोक्सुन्डो हुँ । ताल बाहिरिँदै बग्ने गति हुँ — यात्रीहरूका यात्री पाइला म ।फोक्सुन्डो पानी झर्नामा बत्तीस दन्त देखाउँछे । झर्नाका लहरे पानीहरूका लहरे मालाहरूले जापानको गिन्जामा किनेको मोतीको मालाकै झझल्को दिइरहेथ्यो । मोतीमाला जुन स्वयम्वरमा पहिर्याइदिएथेँ यी हातहरूका मनले । यिनै मनका हातहरूले । यात्रीहरूका यात्रा यी पाइला हिँडिरै’छु मन लगाएर ! आफूलाई आफैँले बहाएर !