देवता बलि पाउँदा
खुसी हुन्छन्
लौ, म के सुन्दैछु
देवता बलि नपाउँदा रिसाउँछन्
कैलाशपुरी – लङ्कापुरी
कुन–कुन पुरीमा छन् देवता,
थाहा छैन मलाई
मैले मान्छेले बनाएको
ढुङ्गे–देवता मात्र देखेकी छु
ढुङ्गे–देवता, रातै अक्षता रातै फूल
रातै काँचा रगतले लतपतिएका देवता !
मात्र –
रगत पिउने देवता
र,
मांस लुछ्ने भक्तहरू
सान्दाइले सपनामा
भगवती प्रकट भएको कुरा गर्छन्
आफूलाई बलि दिन छुटाएकोमा
रोष प्रकट गरिन् भन्छन्
सान्दाइ,
आफूले सुमसुम्याएर पालेको पाठोलाई
डोर्याउँदै–डोर्याउँदै
पुग्छन् मन्दिर अघिल्तिर
पुजारीबा,
एक मारमै छप्काउँछ घाँटी
छिचोलिन्छ शरीर
भन्न मन लाग्छ –
लासले बनाएको मन्दिर
लासले बनाएको देवता
थरी–थरी पूजा–सरजाम बोकेर
जाँदैछन् मन्दिरतिर भक्तहरू
अब देवता
आराधना माग्छ
अब देवता दासत्व माग्छ
देवता जे पनि माग्न सक्छ,
विपनामा–सपनामा
मुख बाएका देवता
सुँढ भएका देवता
म भन्छु, मुटुविहीन देवताका लागि
मुटु फुटाएर रगत पोखिरहेछौ
भक्त सोधेर आऊ –
तिम्रो देवतासँग आत्मा छ कि छैन,
भक्त छामेर आऊ,
तिम्रो देवताको छातीमा मुटु छ कि छैन ?
जनमत मासिकको अर्काइभवाट