मेरा स्वर्गीय पिता रामप्रसाद मैनाली पनि बराबर कविता लेख्नुहुन्थ्यो । बालककालमा कविता लेख्न उहाँबाट नै प्रेरणा पाएको हुँ । स्कुलमा एक विषय ड्रइङ पनि लिएको थिएँ, तर त्यसमा मैले खास उपलब्धि हासिल गर्न सकेको थिइनँ । बरोदामा कला अध्ययन गर्ने क्रममा रहँदा पनि केही कविता रचेँ । छात्रवृत्ति प्राप्त गर्न सकेको आधारमा बरोदा पुगेपछि ललितकला संकायको कलात्मक वातावरणमा बसेपछि सिक्नुपर्ने विषय नै कला रहेछ भन्ने मलाई लाग्यो । त्यहाँको कलात्मक वातावरण र योग्य प्राध्यापकहरुबाट मैले ठूलो प्रेरणा पाएँ र कलाको राम्रो अध्ययन गर्ने र आफ्नो सम्पूर्ण जीवन कला सृजना गर्नमा लगाउने निश्चय गरी लगन र परिश्रमका साथ योग्य गुरु प्राध्यापक शंखु चौधरीसँग कला अध्ययन गरी स्वदेश फर्किएपछि आजसम्म मैले मेरो जीवन कला सृजना गर्न र कला संस्थाको विकास गर्नमा समय दिइरहेको छु ।
२०१२ सालमा काभ्रे वाल्टिङ गाउँमा पञ्चकन्या स्कुलको काम लिएर स्कुल निरीक्षकलाई भेट्न भनी सिंहदरबार जाँदा एकजना साथीसित भेट भएर उनको करमा परी काष्ठकलामा अध्ययन गर्न जानका लागि कोलम्बो प्लान अन्तर्गत छात्रवृत्ति पाउन शिक्षा मन्त्रालयमा दर्खास्त दिएँ । अनुभव गर्नका लागि अन्तर्वार्ता दिएकोमा पढ्न पठाउनका लागि म छानिएँ । २ वर्ष काष्ठकलाको अध्ययन गर्छु, मुख्य रुपमा भारत भ्रमण गर्छु भनेर बरोदा विश्वविद्यालय भारतमा पुगेँ । ललितकला संकायको काष्ठकला विभागमा पुगेपछि साह्रै छक्क परेँ । कला सिकाउने महाविद्यालयमा अंग्रेजी, हिन्दीको साथमा मनोविज्ञान, पूर्वीय र पश्चिमी सौन्दर्यशास्त्र, विश्वकलाकै इतिहास र कला दर्शनजस्ता सैद्धान्तिक विषय र मूर्तिकला, चित्रकला र व्यावहारिक कलाको प्रयोगात्मकका साथै कैयौं अन्य कलाका विधाको शिक्षा दिने योग्य प्राध्यापक र कलात्मक वातावरण पाएर काष्ठकलाको राम्रो अध्ययन गरी उच्च श्रेणीमा पास गरेर सिफारिश लिई फेरि २०१४ सालमा मूर्तिकला अध्ययन गर्न छात्रवृत्ति पाई बरोदा पुगेँ । सुरुका वर्षमा मेरो प्रगति चित्रकला र व्यावहारिक कलामा राम्रो भएको कारणले मूर्तिकलाको प्राध्यापकले मूर्तिकला नसिकी चित्रकला सिक्न सिफारिश गरेको भए पनि मैले ६ वर्ष मूर्तिकला अध्ययन गर्दा राज्य ललितकला एकेडेमी र कला संकायबाट समेत पुरस्कारहरु प्राप्त गर्न सफल भएँ ।
जुनसुकै व्यक्तिले लगनसाथ कुनै पनि विषय अध्ययन गर्छ भने उसले जीवनमा सफलता प्राप्त गर्छ भन्ने ठूलो विश्वासका साथ मूर्तिकला अध्ययन पूरा गरेर म नेपाल फर्किएँ । स्वदेश फर्किएपछि मैले सृजना गरेका धेरै धातु र केही काठका मूर्तिहरु सबै विदेश गइसकेका हुनाले कुन मूर्ति मैले पहिले सिर्जना गरेँ भन्ने सम्झना छैन । तापनि २०२४ सालमा भृकुटीमण्डप उद्यान, काठमाडौंमा स्थापना गरेको ३५ फिट अग्लो निर्माण नामको मूर्ति बाहिर स्थापना गरेको मूर्तिकलाहरुमा पहिलो मूर्ति हो ।
प्रागऐतिहासिक र ऐतिहासिक कालको नेपाली समाजले र ऐतिहासिक राजाहरुले पनि धर्मका लागि बहुमूल्य कला सृजना गर्न ठूलो सहयोग दिएको भए पनि बहुमूल्य कलाकृति सृजना गर्ने कलाकारहरुको मूल्यांकन राम्रोसँग भएको पाइएको छैन । राणाकालको १०४ वर्षमा विदेशी स्थापत्य कलाका नक्कल गरी दरबार बनाउने र दरबार वरिपरि राख्न विदेशी कलाकारका प्रतिकृति मूर्तिहरु केही ल्याउने र आफ्नो प्रभुत्व देखाउने गरी आफ्नो सालिक बनाउने र राख्नुभन्दा बढी देशको कलाविकास, संरक्षण र प्रबद्र्धनमा खास उल्लेखनीय कुनै योगदान पुर्याइएन ।
२००७ सालदेखि हालसम्म भएका सरकारले र नेपाली समाजले पनि समग्रमा कला र कलाकारको हितका लागि उल्लेखनीय योगदान दिएको छैन । सरकार तथा कला, साहित्य, संगीतको विकास गर्न स्थापना भएको सम्बन्धित प्रतिष्ठान र नेपाली जनताको तर्फबाट पनि भएको छैन । तापनि सुनकोसी साहित्य प्रतिष्ठान काभ्रेबाट प्रतिभा पुरस्कार मलाई पनि प्रदान गरेकोमा उक्त संस्थाप्रति म साह्रै कृतज्ञ छु ।
राणाहरुको एकतन्त्रीय शासन १०४ वर्षसम्म रहँदा सृजना भएका कलाकृति र २००७ सालमा प्रजातन्त्र प्राप्त भएपछि सृजना भएका कला अध्ययन गर्ने व्यक्तिले प्रष्टसँग राणाकाल र प्रजातन्त्र उदय भएपछिको कलामा भएको फरक देख्न सक्छ । हरेक देश र समयको राजनीतिले त्यस देश र समाजको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पार्ने भएकोले र कलाकार पनि त्यही समाजको एक सदस्य हुने भएकोले कला क्षेत्र पनि कहिले त्यस समयको राजनीतिको समानतामा रहेको हुन्छ भने कहिले धेरै असमानताको धरातलमा अगाडि बढिरहेको देखिएको छ ।
राष्ट्र, राष्ट्रिय एकताको साथमा जुनसुकै व्यक्तिले खान, लाउन, बस्न पाई मनमा लागेका विचार बोल्न, लेख्न र छाप्न पाई मौलिक हकको पूर्ण रुपमा उपयोग गर्न पाउने राजनीतिकवाद मलाई मनपर्छ । म राजनेता र राजनीतिशास्त्रको ज्ञाता नभएकोले मलाई मन परेको वादको व्याख्या गर्न र नामकरण गर्न असमर्थ छु । विशेषत: म कुनै राजनीतिक पार्टीको सदस्य भएको छैन । कुनै पनि विषयको विकासक्रममा त्यस देशको राजनीति, आर्थिक, धार्मिक, सामाजिक, सांस्कृतिक नीतिको प्रभाव परेको देखिएको छ । तर कुनै पनि सिर्जनशील व्यक्तिले कुनै व्यक्तिविशेष वा वादको प्रचारप्रसार गर्नका लागि मात्र सृजना गर्छ भने त्यो सृजना मौलिक ललितकला क्षेत्रभित्र नपरी विज्ञापन कला वा व्यापारिक कला हुन जान्छ ।
तर देश, काल र परिस्थितिबाट कलाकार स्वयं प्रभावित भएर त्यसबाट उसमा शुद्ध भावना जागृत भई उक्त भावनालाई अभिव्यक्ति दिन मात्र सृजना गर्छ भने त्यो सृजना ललितकला हुन्छ ।
अर्काले भनेको आधारमा अरुले चाहेजस्तो अरुको इच्छापूर्ति गर्न मात्र कलाकृति सृजना गर्छ भने त्यस्तो कलाकारितामा कलाकारको शुद्ध भावनाको अभिव्यक्ति नभई कसैले खेस्रा गरेको रचनालाई राम्रो अक्षर भएको व्यक्तिले राम्रोसँग सारिदिएको जस्तो मात्र हुन्छ ।
कुनै पनि विषय, वादबाट व्यक्ति प्रभावित हुन सक्छ, यो स्वाभाविक प्रक्रिया हो । तर सृजनालाई कुनै विषयवादको उद्देश्यको प्रचार गर्ने कार्यमा उपयोग गर्न पाइँदैन, गर्न हुँदैन भन्ने विचार मेरो हो । कुनै वस्तु वा सिद्धान्तको प्रचार गर्न उपयोग हुने कला व्यावहारिक या व्यापारिक कला मात्र हुन्छ ।
००
दुई हजार वर्षभन्दा पुराना प्राचीन मूर्तिकलाको आधारशीला धर्म हो । हिन्दू र बौद्ध धर्ममा आधारित देव र देवीसँग सम्बन्धित ढुङ्गा, धातु, काठ र माटोको मूर्ति बनाई पोलेर तयार पारेका माटोका मूर्तिहरुसमेत हजारौंको संख्यामा मन्दिर, स्तुप, गुम्बा, बहाल, घर र सडकमा समेत स्थापना गरेको देख्न पाइन्छ । देवदेवीको मूर्ति स्थापना गर्न नै मन्दिर, स्तुप, गुम्बा आदिको निर्माण भएको हो ।
कलाका इतिहासकारहरुले काठमाडौं उपत्यकालाई कला नै कलाको शहर समेत भनेका छन । यी सबै मूर्तिलाई पूजाअर्चना आराधना गर्दा यस लोकमा सुख, शान्ति, शक्ति र समृद्धि प्राप्त भई मरेपछि परम्गति पाइन्छ भन्ने ठूलो विश्वासका साथ हजारौं वर्षदेखि परम्परागत धार्मिक मूर्तिहरुको रचना र स्थापना भइरहेको हो ।
प्राचीनकालमा सृजना गरिएका मूर्तिहरु उत्कृष्ट भएर नै विश्वका ख्यातिप्राप्त म्युजियमहरुमा र कलासङ्ग्रह गर्ने ख्यातिप्राप्त व्यक्तिहरुका निजी सङ्ग्रहमा समेत विशेष स्थान पाएका छन् । विश्वका कला इतिहासकारहरुले प्राचीन नेपाली मूर्तिकलामा भएको कलात्मक उच्च गुणको प्रशंसा गरेका छन् । प्राचीन नेपाली मूर्तिकलामा भएको उत्कृष्ट तत्वले गर्दा नै देशबाट बहुसंख्यक मूर्तिहरु गैरकानुनी ढंगबाट विदेशिएका छन् । हाम्रो देशको गौरव, सभ्यता र संस्कृति नेपालीको प्रत्येक नेपाली मूर्तिकलालाई चोर्नबाट बचाई यसलाई बिग्रन र नाशिन नदिई सुरक्षित ढङ्गबाट सरकार र नेपाली समाजले राख्न नसक्नु राष्ट्रका लागि ठूलो दुर्भाग्यको कुरा हो ।
००
कलाक्षेत्रमा प्रवेश गरेपछि आर्थिक र शारीरिक रुपमा कठिनाई अनुभव गरेजस्तो भए पनि कला सिक्दा र पछि कला सृजना गर्दा मनले कहिल्यै कठिनाई अनुभव गरिनँ । हरेक नयाँ कृति सृजना गर्दा र सृजना भएको नयाँ कृति देख्दा म खुसी हुन्छु ।
सृजना गरिसकेको केही समयपछि आफ्ना सन्तानमा आफूले चाहेको गुण र काम नदेखेपछि निराश भएझैं म पनि मेरो सृजना मैले चाहेजस्तो सृजना नभएको सम्झी निराश हुन्छु । तर कला सिक्न पाउँदा र मेरो जीवनको ४०सौं वर्ष कला सृजना गर्नमा नै व्यथित गर्न पाउँदा म साह्रै खुसी छु ।
हरेक देशको राजनीतिक, आर्थिक र सामाजिक संरचना र मूल्यमा परिवर्तन भएका छन् । आदिकालको सुरुमा कलाको सृजना जीवनको रक्षा गर्नका लागि भएको थियो । पछि दैवी प्राकृतिक र दुरात्माको कुदृष्टि आदिबाट समाजलाई बचाउन धार्मिक आस्थाका कला सृजना हुन सुरु भयो । त्यसपछि बिस्तारै ठूला ठूला समाजको संरचना भई विभिन्न राष्ट्र, राजा र धर्मगुरुहरु भए । बलिया व्यक्ति राजा भए, राजाहरुले पछि गएर आफ्नो ख्याति बढाउन आफ्नो र परिवारका व्यक्ति मूर्तिहरु र त्यसपछि आफू संलग्न भएर गरेका महत्वपूर्ण कार्यहरुसमेत बचाउन र प्रचार गर्न भित्ते मूर्तिहरुसमेत सृजना गर्न लगाए ।
त्यसपछिको विश्वमा राजनीतिक, आर्थिक, सामाजिक क्रान्ति भई समाजका व्यक्तिको मूल्य बढेर गयो । हरेक पेसामा लागेका व्यक्ति, गरीब व्यक्तिहरु, जनावरहरु र अन्य जुनसुकै प्राकृतिक वस्तुका साथै निर्जीव वस्तुको विषयमा पनि कला सृजना हुन थाल्यो ।
विभिन्न क्षेत्रमा क्रान्ति भएर समाजमा परिवर्तन भएझैं विज्ञानको क्षेत्रमा पनि ठूला ठूला उपलब्धि भई हरेक देश एक अर्कोसँग नजिक हुन पुगे । एक देशको प्रभाव अर्को देशमा पर्न थाल्यो ।
कुनै व्यक्ति या कुनै ठाउँको हुबहु कला सृजना गर्ने कार्यलाई क्यामराले केही सेकेन्डमै कैद गरिदिन थाल्यो । विश्वमा नयाँ कला दर्शन, मनोविज्ञान र सौन्दर्यशास्त्रको विकास भई कलाको सृजना भनेको प्रकृति या व्यक्तिको हुबहु नक्कल गर्ने कार्य मात्र होइन । व्यक्ति प्रकृति र समाजमा देखिने या भोगिने बाह्य रुप मात्र कला नभई त्यसको भित्री रुप अथवा त्यो व्यक्ति, त्यो प्रकृति र त्यो समाजको कार्य र धार्मिक, ऐतिहासिक संस्कृतिबाट समेत कलाकारलाई परेको आन्तरिक प्रभावलाई नयाँ कला दर्शन, कलातत्वलाई विचार गरेर माध्यमको स्वतन्त्र अस्तित्वगुणलाई विचार गरेर माध्यमको स्वतन्त्र अस्तित्वगुणलाई आत्मसात गरी कलामा प्रयोग गर्ने सिद्धान्तलाई आत्मसात गरी नयाँ रुप दिनु नै आधुनिकता हो ।
नयाँ मूल्य र मान्यताको आधारमा राजनैतिक, आर्थिक, वैज्ञानिक र सांस्कृतिक आदि सिद्धान्तलाई आधुनिक मानेझैं नयाँ दर्शनको आधारमा सृजना भएको मौलिक कलाकृति पनि आधुनिक हुन्छ । आज आधुनिक मानिएको जुनसुकै सिद्धान्त, आविष्कार, सृजनाहरु, वर्षहरु बित्दै गएपछि विस्तारै पुरानो हुँदै जान्छ । र, चेतनशील मानव जातिले खोज्दै जाँदा, सृजना गर्दै जाँदा फेरि नयाँ सिद्धान्त, नयाँ दर्शनको प्रादुर्भाव भई पुन: नयाँ सिद्धान्त, आविष्कार र नयाँ सृजना भई फेरि आधुनिक कहलाउँछ ।