गोदामको टिनको छानामा अघिल्लो दिनको जस्तै चराहरुको झगडा सुरु भयो । सायद कौवाले होला छाना नै प्वाल पार्न खोजेको जत्तिकै ठूलठूलो आवाजले गोदामभित्रको मौनतालाई एकाएक खलबल्याई दिएको थियो । किन चराहरु त्यस्तरी रिसाएर आक्रामक भएका होलान् ? मेरो अन्धकार मनमा प्रश्न उठिहाल्यो । चराहरुको पनि आफ्नो–आफ्नो सोच, विचार, रहनसहन, रिस राग र समस्याहरु त हुने नै भयो । तिनीहरुको पनि आफ्नै परिवार, इच्छा, आकाङ्क्षा आदि त हुने नै भयो । हामीले पो बुझ्न सकेनौं चराहरुको बेग्लै संसार । झगडा बढ्दै गइरहेको थियो ।
अचानक घन्टी बज्यो । मेरो ध्यान उतै गयो । आइतबार दिउँसोको पाँच बजेको थियो । ताल्चा खुल्यो । ढोका उघ्य्रो । त्यही चिरपरिचित खानाको नमीठो गन्ध गोदामभित्र व्याप्त भयो । त्यही भाँडामा खुर्केर ल्याएको चिसो भात, त्यही मासको दालको पानी, मुलामा हरिया गोलभेडा मिसाएको तरकारी थियो । त्यहाँ मेरा साथमा थुनिएकाहरुको हत्कडी फुकाली दिए सेनाहरुले । तिनीहरुका अगाडि भातका थालहरु थिए । मेरो झूल बाहिरको भातको थाल मैले झूलभित्र तानेँ । भातमाथि राखेर मासको दालको पानी भएको भात मुछेँ । तरकारी चाखेर हेरेँ । मुलालाई हरियो काँचो गोल्भेडाले जितेकाले अमिलो बढी हुनाको साथै स्वाद पनि अनौठो बेस्वादको लाग्यो मलाई । मैले भात खान सकिनँ । पेटमा त्यस्तो असह्य भोक पनि थिएन । थाल झूलबाहिर राखिदिएँ ।
“दिदी ! तपाईंले भात खानु भएन । तरकारी मीठो लागेन ?”
टाउको उठाएर हेरेँ । झूलमाथि सेनाको टाउको देखेँ । भेन्टिलेटरबाट फालेको उज्यालो पुगेको थिएन । उनको अनुहारको नाक–मुख छुट्याउन मैले यति मात्र अन्दाज गर्न सकेँ कि सेना भर्खरको तन्नेरी थिए हिजोको नभई आज अर्कै जस्तो लाग्यो मलाई । एउटै प्रश्नले दिक्क लागेकाले भित्ता पुग्ने गरी जवाफ दिन मन लागेर पनि म चुपै लागेँ । सोचेँ बिचरा तल्लो तहको सिपाहीलाई झोक देखाएर के फाइदा ? उनले त त्यति भए पनि माया देखाए ।
“भाइ ! तपाईंले दिदी भनेर माया देखाउनुभयो । त्यसका लागि तपाईंलाई धन्यवाद छ । भाइ ! मलाई दुई गाँस भात ल्याइदिने गर्नुस् न । यसरी अन्न फाल्नु हुँदैन । अरु यहाँ राखेका भाइहरुले पनि भात खान नसकेको देखेँ मैले । त्यति तपाईंले भनिदिन सक्नुहुन्छ ?”
“यहाँ केही फरक पर्दैन दिदी । अन्न खेर गएकोमा पीर नगर्नुस् । आफ्नो स्वास्थ्यको पीर गर्नुस् दिदी । के गरुँ हामीले बोल्नु हुँदैन । पहिले थाहा थिएन । यस्तो नोकरी गरियो । तपाईंले सरहरुलाई भन्नुस् – “मैले भात खान सकिनँ । मलाई दूध र पाउरोटी दिनुस् ।”
“तपाईं दूध र पाउरोटीको कुरा गर्नुहुन्छ । खान हुने पानी त पाएकी छैन ।”
“ए । पानी त पाइहाल्नुहुन्छ । म मगाइ दिन्छु । मलाई पानी राख्ने भाँडो ऊ त्यो कन्टेनर दिनुस् ।”
सेनालाई पानी राख्ने भाँडो मिनरल वाटरको कन्टेनर दिई म फेरि चित–उत्तानो पल्टेँ । सोचें – मेरो संसार यतिको सानो हुनसक्ने मैले सपनामा पनि देखेकी थिइनँ । मेरो आकाश टिनको छानामा सीमित पृथ्वी फोमको ओछ्यानमा सीमित, तैपनि म नेपालकै नक्सामाथि छु भनेर मैले गौरव गरेँ । म सानो अन्धकार स्थानमा सीमित रही विशाल विश्व चहार्न पुगेँ । अचानक मेरो दृष्टिमा अमेरिकी राष्ट्रपति जर्ज बुसको क्रूर, भावहीन, हिंस्रक जनावरको जस्तो आँखा बस्न आयो । विश्वका सबैभन्दा ठूला तानाशाही–हैकमवादी, आतङ्ककारी, मानव–विनाशका प्रमुख नाइकेले फगत एक जना ओसामा बिन लादेनलाई सुपुर्दगी नगरेको निहुँले अफगानी र अफगानिस्तानमाथि के कस्तो एकतर्फी अनगिन्ति बम, क्षेप्यास्त्र, गोली आदि बर्साइ चकनाचूर पारेका दृश्यहरुले विश्व नै अवाक भई, किंकर्तव्यविमूढ भएको सम्झीसम्झी म लाटी भइरहेकी थिएँ । आफूलाई सुपर–पावर मानेका अमेरिकाका शासक वर्गले के गर्न बाँकी राखेका छन् ? इराकलाई त्यस हालतमा पुर्याएर पनि जैविक हतियार छ भनेर एकतर्फी युद्ध गर्ने धम्की, त्रास, डर आदि दिई लखेट्नसम्म लखेटिरहेका छन् । बाउ र छोरा दुवै अमेरिकाका राष्ट्रपति हुन पाएका बुसहरुले गरेका र गरिरहेका अन्याय, अत्याचार र पापाचारले आकाश छोएर पनि विश्वका अन्य राष्ट्रहरुका शासकवर्गको चेतना खुलेको छैन । योभन्दा ठूलो आपत अरु के हुन सक्छ ?
अचानक ओसामा बिन लादेनको आँखा र बाउ–छोरा दुवै बुसका आँखा तौलिन पुगेँ म । अचम्म लाग्यो । ती दुईथरिका आँखामा आकाश र जमिनको फरक पाएँ । रुपमा नै तुलना छैन । कहाँ बिन लादेन, कहाँ बुस ? बेपत्ताका कुरा । बिन लादेनको रुप, अनुहार, व्यक्तित्व, त्यही दया, त्यही मानव कल्याणको प्रतिरुप मैले ओसामा बिन लादेनमा पाएँ । यी गुणहरुका ठीक विपरीत चरित्रको अनुहार र रुप पाएँ मैले बुसमा । अहिले विश्वका अधिकांश राष्ट्रका शासकवर्ग निकम्मा, दुराचारी, शक्ति, सत्ता र रक्तपिपासु भ्रष्ट भ्रष्टाचारी, नग्न र घृणित छन् । म यस्तै कुरामा हराइरहेकी थिएँ । ढ्वाङ्ग ढोका खोलेको आवाजले म झसङ्ग झस्केँ । मुटुको ढुकढुकी बढिहाल्यो ।
“दिदी ! तपाईं उठ्नुस् । तपाईंलाई बाहिर बोलाउनुभयो ।”
“फेरि किन बोलाएका होलान् ? मलाई किन दु:ख दिनुभएको ?”
“के गरुँ दिदी ? हामीले त अर्डर मात्र मान्ने न हो ? उठ्नुस् । किन रिसाउन दिने ? बिस्तारै डोर्याएर लान्छु, म तपाईंलाई ।”
मलाई भने पटक्कै जान मन थिएन । आफै भुतभुताउदै उठेँ म । सल ओढेँ । नकाव राम्ररी मिलाएँ । जुत्ता लगाई सेनाको सहारामा म बाहिर पुगेँ । खुला स्थलको स्वच्छ हावाले मलाई स्पर्श गरिहाल्यो । चम्किलो घामको प्रकाश नकाबभित्रसम्म चुहिएकाले बाहिरको दृश्य अलि छुट्याउन नसकिने भए पनि देखिएको थियो । मेरो अगाडि तीनजना सिभिल ड्रेसका मान्छेहरु कुर्सीमा बसिरहेका देखेँ मैले । अरु मेरो दायाँबायाँ र पछाडि कति जना थिए ? मैले देख्ने कुरै भएन । मेरो सेलाएको शरीरमा घाम सरसर्ति पोतिंदै आएकोले मलाई अनौठोको आनन्द लागिरहेको थियो ।
“शान्ता दिदी ! तपाईंले खाना खानुभयो ?”
व्यङ्ग्यले मुस्काए मात्र । मैले केही जवाफ दिइनँ ।
“भात खान सक्नु भएन रे । अहिले तपाईं के खानुहुन्छ ? चिया कफी या अरु केही ? तपाईं भन्नुस् । म मगाई दिन्छु ।”
“किन दु:ख गर्नुहुन्छ ? पर्दैन पर्दैन । बरु सक्नुहुन्छ भने ब्यागमा निद्रालाग्ने ओषधि कम्पोज छ दुई चक्की मात्र भए पनि लिन पठाइ दिनुस् न । यहाँ आएदेखि सुत्न सकेकी छैन ।”
“ठीक छ । लिन पठाइदिन्छु । अरु केही ?”
“अरु ब्यागमा टुथब्रस, पेस्ट र रुमाल छ । त्यो पनि भए हुने ।”
“ल ठीक छ । लिन पठाइ दिन्छु ।”
“तपाईंले फेरि मलाई लिन पठाउनुभयो । किन ? कुनै खास काम आइपर्यो कि ?”
“तपाईंले फेरि झूट बोल्नुभयो । आज मैले तपाईंसित भेटेकै छैन । पहिलोपल्ट भेट्दै छु म तपाईंसित ।”
“किन ठट्टा गर्नुभएको ? तपाईंलाई आँखाले नदेखे पनि कानले त देखेकी छु । एकपल्ट सुनेको आवाज म हत्तपत्त बिर्सन सक्दिनँ । तपाईं त्यही भाइ हुनुहुन्छ जसले मध्यरातमा मलाई मेरो घरबाट उठाएर ल्याउनुभएको थियो ।”
“तपाईं जे भन्नुस् अघि तपाईंसित बयान लिने म हुँदै होइन ।”
“तपाईंले नचाहिने कुरामा किन जिद्दी गर्नुहुन्छ ? ३५ वर्षसम्म सयौं स्वरसित खेलेको मान्छे हुँ म । एकपल्ट मेरो कानमा परेको स्वर चिन्ने मेरो क्षमता छ । मसित ठट्टा नगर्नुस् । मेरो नाति भन्न सुहाउनेहरुसित म कुरा गर्दिनँ । कृपया मलाई भित्र पुर्याइदिनुस् ।”
म रिसले जुरुक्क उठिहालेँ । दुवै हात फैलाएर मलाई डोर्याएर ल्याएका सेनालाई बोलाएँ । उनले इसारा पाएर होला, मलाई समातेर भित्र लाँदै गर्दा, मेरो काननिर थुतुनो ल्याई मसिनो स्वरले भनेको सुनेँ –“दिदी ! तपाईं शान्ता श्रेष्ठ हो ?”
“हो ।”
“तपाईंको रिहाइको माग विभिन्न पत्रपत्रिकामा निस्केको छ । तपाईंले पीर नगर्नुस् । तपाईंलाई छिट्टै छोड्ने छन् ।”
गोदामभित्र पाइला पर्ने बित्तिकै चिसो, नमीठो गन्धले मलाई समातिहाल्यो । उत्तानो पल्टिने बित्तिकै कृष्णसेन इच्छुकको पूर्ण कद मेरो आँखामा उभिन आयो । दिन दहाडै उनलाई समातेर लैजाँदा सयौं आँखाले देखेका थिए । उनको रिहाइको माग गरी धेरै पत्र पत्रिकाहरुमा प्रकाशित समाचारले मेरो मुटु नै समातेको थियो । जन–आवाजको कदर गर्ने सरकार भइदिएको भए, आजको भयावह स्थिति आउने नै थिएन । कृष्णसेनलाई समातेको हो भनेर सकार्ने नैतिकतासम्म पनि श्री ५ को सरकारमा भएन । हजारौं अनगिन्ती मानिसहरुलाई समातेका छन् । तर समातेँ भनेर सकार्नुपर्ने आवश्यकता देखेका छैनन् । यो कस्तो विडम्बना हो ? शासक वर्गले आफ्नो नाङ्गो चरित्र घृणित व्यवहारलाई छोप्ने एउटै मात्र साधन पाएका छन्–निर्दोष मान्छेको रगत, घाउ र लास । बस्, यसैमा टिकेको छ सत्ता ।
म कसरी बिर्सन सक्छु ? कृष्णसेन ‘इच्छुक’लाई । जसले नजिकबाट भेट नहुँदै मलाई चिनेका थिए । जेलमा छँदै उनले एउटा कविता लेखेका थिए –
दिदी शान्तालाई
दिदी म पढिरहेको छु
तपाईंका कविताहरुलाई
तपाईंका शब्दहरुलाई
तपाईंका अनुभूतिहरु
र तपाईंका भावाभिव्यक्तिहरुलाई
म पढिरहेको छु
म पढिरहेको छु
झन्डै सात दशक लामो
तपाईंको जीवनको
आरोह अवरोहहरुलाई
तपाईंको लामो यात्रा
र, त्यसका घुम्ती गौंडा र गल्छेडाहरुलाई
म पढिरहेको छु ।
दिदी, यसरी म कविता होइन बगिरहेको नदीजस्तै
निरन्तर गतिशील
तपाईंको क्रियाशीलतालाई पढिरहेको छु ।
तपाईंको आस्था
तपाईंको विचार
र, तपाईंको आत्मसङ्घर्षलाई पढिरहेको छु
नयाँ आयामको स्वागतमा
हर्षले कस्सिरहनुभएका
तपाईंका मुठीहरु
र नयाँ जीवनको उल्लासमा
तपाईंका आँखाभित्र गर्वले चम्किरहेका
सुन्दर, सुकोमल र सजीव
सपनाहरुलाई म पढिरहेको छु ।
– ‘इच्छुक’, २३ मंसिर २०५६
प्रकाशित चैत्र २४/२०५७, ‘जनआह्वान’
यो हो इच्छुक कृष्णसेनले मलाई दिएका मेरै सङ्घर्षशील जीवनको मेट्नै नसकिने तस्वीर । तस्वीरमा मैले आफ्नो अस्तित्व पाएकी छु । मेरो आफ्नो परिचय पाएकी छु । मेरो आफ्नो भविष्य पाएकी छु । कविता पढ्दा म रोएकी थिएँ । जुन पार्टीलाई मैले ४० औं वर्षसम्म सपोर्ट र सहयोग गरेकी थिएँ, त्यस पार्टीका नेताहरुले मलाई चिन्न सकेनन् । तर एउटा युवक जसको अनुहारसम्म पनि मैले देखेकी छैन, उनले मलाई सम्बोधन गरी कविता लेख्नु ? अनि प्रकाशित गरी मेरो परिचय दिनु ? कति नि:स्वार्थ भावना ?! निस्वार्थ विचार ?! निस्वार्थ सिद्धान्त ?! मेरो ६९ वर्षको जीवनमा इच्छुक पहिलो व्यक्ति हुन् जसलाई भेट्ने र कुरा गर्ने ठूलो इच्छाले म प्रतीक्षारत थिएँ । (क्रमश:)