तीजको मौसम बजारभरि नै हरिया, राता झिलिमिली पोते, चुराले बजारै तीजमय भएको छ । सबै महिलाहरू के बाहुन, क्षेत्री, राई, लिम्बु, तीजको उत्साहले किनमेल गर्न व्यस्त छन् । तीज महिलाहरूको मात्र महत्वपूर्ण दिन रे भनी एकले अर्कोलाई चुरा–पोते सौगात दिने चलन पनि आएको छ ।
तीज एक–दुई जातले मात्र नभई अधिराज्यभरिका नारीहरूले उत्साहपूर्वक मनाउने चलन छ । हरेक दिन कहिले कता कहिले कता तीजको मेला लागिरहन्छ ।
त्यस्तै दर खाने र खुवाउनेमा होडबाजी चलिरहेछ । यसपालि विमलाको घरमा तीजको दर खाने कार्यक्रम त्यही टोलका सबै साथीभाइ मिलेर गर्ने रहर गरेका छन् ।
रातभरि मीठामीठा खानेकुरा पकाउँदै, खाँदै, हाँस्दै, नाच्दै रातको बाह्र पनि बज्यो ।
यसपालि त विमलाका श्रीमान् विनोदले उनलाई प्रशस्त खर्च दिए । रातको बाह्र बजेपछि पशुपति जान नुहाइधुवाइ सुरु भयो । दुई बजे नै मादल बजाउँदै, नाच्दै पशुपतिको दर्शन गर्न गए । करिब पाँच बजे बिहान दर्शन गरी फर्किए ।
दिनभरि राता लुगा, झिलिमिली गहना, छड्के पोते लगाएर महादेवका मन्दिरमा रमाइलो गर्दै बिताए । साँझपख घर फर्केर विमलालगायत सबैले आ–आफ्ना घरका देवतालाई पूजा गरे । आ–आफ्ना पतिदेवका गोडा धोई पानी पनि खान गए ।
विमला पनि आफ्नो घर गइन् । विनोद आज घरमै बसे । विमलाले छोरालाई भनिन् –“बाबु ! बुबालाई बोलाऊ, ऊ त्यहाँ कुर्सी पनि राख ।”
विनोद त्यही कुुर्सीमा मुसुमुसु हासेर थपक्क बसे । विमलाले पतिदेवको गोडामुनि बाटा राखिन् । खुट्टा धोई पानी सुरुप सुरुप मुसुमुसु हाँसी खाइन् । लोग्नेलाई गोडामा ढोगीदिएर पूजा समाप्त गरिन् ।
हिजोअस्ति फिल्टरको पानी खाने विमलाले धाराको चोखो पानी गोडा पखालेर मज्जाले खाइन् । सायद उनको मनमा होला यो पानी अमृत हो । यसो गर्दा लोग्नेको आयु बढ्छ भन्ने विश्वास छ अरे ।
आज साथीभाइ मिली पशुपति मन्दिरमा नै जागराम बस्ने भनेर विमला लोग्ने र छोरालाई ल घरमा राम्ररी हेर्नु म भोलि मात्र आउँछु भनेर गइन् ।
विमलाको मन्दिरमा जाने बहाना मात्र हो । उनी त श्यामको कोठामा गइन् । २७÷२८ वर्षको श्याम हेर्दा आकर्षक ठिटो देखिन्छ । विमलाले होटलबाट मीठामीठा खानेकुरा, बियर, वाइन किनेर गइन् । दुईजना बसी हाँस्दै–रमाउँदै बियर, वाइन, सेकुवा, मःम खाए । रातभरि नै उनीहरूले रसरङ्गमा बिताए ।
बिहान उठेपछि श्यामले विमलालाई भने –“विमला ! तिमीले हिजो तिम्रो लोग्नेलाई पूजा गरेर खुट्टाको पानी खायौ कि खाइनौ ?”
“खाएँ नि किन नखाने, व्रत बस्ने बहाना पनि गरेँ । खाइनँ भने आज यहाँ तिमीसँग मोजमस्ती गरेर खान–पिउन पाउँथें र ! पैसा कसले दिन्छ र ! अब त मेरो जिन्दगी नै बहाना भइसक्यो । बहाना नगरी त म बाँच्नै सक्दिनँ ।”
“लोग्नेलाई माया गर्ने, पूजा गर्ने फेरि मलाई पनि माया गछ्र्यौ । यस्तो दोहोरो जीवनले गर्दा तिमीलाई अप्ठ्यारो लाग्दैन ? डर हुँदैन ? अरूले के भन्लान् ? समाजसँग डर लाग्दैन ?”
“केको डर र अप्ठ्यारो लाग्ने ? यस्तो लोकलाज मैले पचाइसकेँ । तिमीसँगको सम्बन्ध मेरो जिउने बहाना मात्र हो । मैले आफ्नो धर्म भनेको परिआएको सम्झौता हो भन्ने ठानिसकेँ ।
“यसो हेर्दा त तिम्रो श्रीमान् विनोद ठीकैजस्तो लाग्छ ।”
“हेर्दा त ठीकै जस्तो लाग्छ । मेरो अतीतको सत्यकथा भनेकै छैन । तिमीलाई थाहा नै छैन लौ सुन – विनोद र मेरो प्रेमविवाह भएको हो । मैले पनि एम.ए. पास गरेकी हुँ । हामी दुई मिली एउटा सानो स्कुल खोलेका थियौं । मैले धेरै दुःख गरी त्यस स्कुललाई फलाएँ, फुलाएँ । चारजना बोर्डर्स र २० जना विद्यार्थीबाट सुरु गरिएको थियो । दुवैजनाको धेरै मिहिनतपछि पाँच वर्षमा नै पाँच कक्षासम्म पु¥यायौं । विद्यार्थीहरू पनि बढ्दै गए । दस वर्षपछि एउटा राम्रो स्कुलमा परिणत भयो । विनोद प्रिन्सिपल र म भाइस प्रिन्सिपल भएँ । एउटा राम्रो होस्टेल वार्डेनको आवश्यकता भयो । त्यसका लागि नीलिमा राई आइन् । उनी लोग्नेसँग डिभोर्स गरेर आएकी हुनाले ढुक्कसँग स्कुलमा बसी बच्चाहरूको राम्रो रेखदेख गर्थिन् ।
स्कुलको आफ्नै भवन बन्यो । बाहिर पनि घर बनायौं । हाम्रा पनि दुईवटा छोरा भए । यस्तै व्यस्तताबीच नीलिमा र विनोदको सम्बन्ध बढेछ । मैले त्यो सहन सकिनँ र उनलाई भनेँ – तिम्रो नीलिमासँगको लसपस राम्रो भएन । उसलाई स्कुलबाट निकालिदिऊँ ।
यो कुरा सुनी विनोदले भने – म नीलिमालाई निकाल्न सक्दिनँ, बरु तिमी नै निस्क । धेरै सहेर सम्झौता गर्न खोजँे तर मैले सकिनँ । रिसको झोंकमा तिमीसँग बस्दै बस्दिनँ भनेर दुईवटा छोरा लिएर निस्केँ । तर कहाँ जाने ? एक्ली आइमाई, जाने ठाउँ कतै छैन । एक–दुई हप्ता यताउता साथीभाइकहाँ बसें । अरूले कतिन्जेल राम्रो गर्छन् र ? तल्लो जातकोसँग विवाह गरी भनेर माइतीको ढोका त पहिले नै बन्द भइसकेको थियो । पछि नाकाचालले विनोदकै शरणमा जानुप¥यो किनभने बच्चाहरूको भविष्य पनि हेर्नु थियो । अनि म आफ्नो परिस्थितिसँग सम्झौता गर्न बाध्य भएँ ।
आफ्नो लोग्ने अरू आइमाईसँग लागेको सहन धेरै गा¥हो हुँदो रहेछ । त्यसैले म घरमै बसेँ । स्कुलमा जानै छाडेँ । विनोदलाई पनि घरमै बोलाई माया गरेको अभिनय गर्न थालेँ । माथिल्लो तला आफूलाई राखी तल्लो तला बहालमा दिएँ । त्यही पैसाले मलाई खर्च पुगिहाल्थ्यो । विनोदले पनि माया गर्न थाल्यो । अझ खर्च दिन थाल्यो ।
तर मेरो मनभित्रको डाह–जलन त छँदै थियो । त्यसै बेला तिमी मेरो घरमा बस्न आयौ । गाउँबाट आएको एक्लो केटो तिमीलाई सहयोग चाहिएको थियो । म पनि मायाको अभावमा भित्रभित्रै भौतारिरहेकी थिएँ । तिमीले मायाको आभास दियौ । मनै त रहेछ आखिरमा । समयले हामी दुवैलाई पगाल्यो । एक–अर्काको अभाव पूरा गर्ने हाम्रो सम्बन्ध नियति भयो । यसैलाई हामीले निरन्तरता दिन थाल्यौ । अब तिमी मेरो जीवनको एक हिस्सा नै भयौ भनेर विमलाले श्यामको नाक तानिदिइन् ।
“तिमीसँगको सम्बन्ध थाहा पाएर एकदिन शङ्का गरेर झगडा पनि गरे । अनि त अर्कै घरमा तिमीलाई मैले कोठा सारिदिएकी नि !”