नेपालका पुराना साहित्य भएको भाषामध्ये नेपालभाषा एक हो । तिब्बत–बर्मेली भाषा समूहको एउटा भाषा नेपालभाषाको इतिहासमा साहित्यलाई नियालेर हेर्दा मल्लकालदेखि वाङ्मयमा धेरै विकास भएको देखिन्छ । मध्यकालीन नेपालमा राजकीय सम्मान प्राप्त नेपालभाषाको वाङ्मय र साहित्यको निम्ति मल्लकाल एक स्वर्ण युग हो । नेपालभाषा साहित्यको स्वर्ण युगको रूपमा रहेको मल्लकालको अन्त्यपछि शाहकालमा नेपालभाषा साहित्यको विकास पहिले जस्तो नभएपनि यसको विकासमा कुनै रोकटोक थिएन । पछि राणाकालको उदय भएपछि नेपालभाषा साहित्यको विकासमा तगारोको रूपमा देखा पर्यो । यो समयमा नेपालभाषा साहित्यको विकासलाई कुनै प्रोत्साहन भएन ।झन् यसका साहित्यको विकास गर्दा दण्ड सजाय समेत हुन थाल्यो । त्यत्ति मात्र नभई नेपालभाषालाई राजकीय रूपमा नै बहिष्कार गर्यो । जसको फलस्वरूप नेपालभाषा साहित्यको विकासको गतिमा धेरै नै कमी आएको मात्र होइन, आफ्नो मातृभाषा नेपालभाषाबाट कुराकानी गर्ने समेत कम हुन थाल्यो । नेपालभाषाको यस्तो दयनीय अवस्थामा पुनर्जागरणकालको शुरुवात भयो ।
नेपालभाषाको पुनरुत्थानको लागि तत्कालीन मातृभाषाप्रेमी नवयुवकहरू सजग एवं सचेत भई लाग्न थाले । यो सन्दर्भमा पण्डित निष्ठानन्द बज्राचार्यले पहिले प्रज्ञापारमिताको एक्काइस श्लोक (नेसं (१०२९) र पछि ललितविस्तर(१०३४) जस्ता महत्वपूर्ण बौद्धग्रन्थलाई अनुवाद गरी देवनागरी लिपिमा प्रकाशन गरे । यसको फलस्वरूप जनमानसमा साधारण बोलीचालीको भाषामा पनि साहित्यको सिर्जना गर्न सकिन्छ एवं पढ्न पढाउन सकिन्छ भन्ने धारणा विकसित भयो । स्मरणीय छ, योभन्दा पहिले जनमानसमा साहित्य भनेको विद्वान्वर्गले मात्र सिर्जना गर्ने एवं अध्ययन गर्ने भन्ने धारणा थियो । त्यस्तै नेपालभाषाका महाकवि सिद्धिदास अमात्यले सज्जनहृदयाभरण (१०४०) कवितासंग्रह प्रकाशित गरे । माष्टर जगतसुन्दर मल्लले बालबालिकालाई मातृभाषामा शिक्षा दिए चाँडै सिक्छ भन्ने विचार प्रवाह गरी मातृभाषामा शिक्षा दिने अभियानमा लागे । योगवीरसिंहले काव्यको माध्यमबाट नेपालभाषा साहित्यलाई पुनरुत्थान एवं विकास गर्न योगदान दिए । त्यस्तै नेपालभाषाका प्रथम पत्रकार धर्मादित्य धर्माचार्यले भारतबाट बुद्धधर्म र नेपालभाषा (१०४५–१०५०) पत्रिका निकाली नेपालभाषाको प्रचार एवं प्रसार गर्नमा निकै योगदान गरे । नेपालभाषालाई स्तरीय र एकरूप बनाउन शहीद शुक्रराज शास्त्रीले नेपालभाषाको व्याकरण (१०४५) र नेपालभाषा रिडर प्रकाशन गरे ।
विसं १९९७ सालको पर्वमा दोषी ठहर्याई नेपालभाषा साहित्यका स्रष्टाहरूलाई जेलभित्र लगियो । आफ्नो मातृभाषाका लागि सचेत, उत्साही, जागरुक नवयुवकहरू फत्तेबहादुर सिंह, केदारमान ‘व्यथित’, चित्तधर ‘हृदय’, हरिकृष्ण श्रेष्ठ, सिद्धिचरण श्रेष्ठ आदिलाई नेपालभाषामा लेखेवापत जेल सजाय भयो । तर यो जेल सजाय पनि नेपालभाषा साहित्यको विकासको निम्ति महत्वपूर्ण हुनगयो । किनभने जेलभित्र परेका सबै साथीहरू मिलेर कहिले संगीत सम्मेलन, कहिले चित्रकला प्रदर्शन, कहिले साहित्य सम्मेलन गरेर जेल जस्तो कठोर ठाउँ एवंं कठोर जेल यातनालाई सृजनाका भव्य महल बनाइयो । यसको उपलब्धिस्वरूप नेपालभाषाका बहुमूल्य कृतिहरूको सृष्टि भयो । जस्तो चित्तधर हृदयको महाकाव्य सुगत सौरभ, केदारमान व्यथितको नेपालभाषाका तीनवटा कवितासंग्रह, हरिकृष्ण श्रेष्ठको एउटा कवितासंग्रह, धर्मरत्न यमिको महाकाव्य अर्हतनन्द आदि । नेपालभाषाको अति उत्कृष्ट महाकाव्य सुगत सौरभ नेपालकै पहिलो आधुनिक महाकाव्य हो । जुन महाकाव्यको पाण्डुलिपिलाई मोतिलक्ष्मीले स्याहार सुसार गरी पाँच वर्षसम्म जतन गरी राखे । जेलबाट निस्कँदा जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा चाहिन्छ, भन्ने दाजुको इच्छा अनुरूप सो महाकाव्यको पाण्डुलिपि पाउँदा चित्तधर ‘हृदय’ अति खुसी भएका थिए । आफ्ना दाजु चित्तधर ‘हृदय’को स्वर्गारोहण पछि पनि दाजुले दैनिक प्रयोग गर्ने सामानहरू, वस्त्रहरू, पाण्डुलिपि, फोटो, चित्र, डायरी आदि सबै दराजमा सुरक्षित गरी राखेका थिए । त्यस्तै चित्तधरको सबैभन्दा पहिले प्रकाशित भएको तर तत्कालीन शासन व्यवस्थाले जफत गरेको दुइवटा कृति पद्य निकुञ्ज (१०५६) र हृदय कुसुम (१०५६) वैकुण्ठप्रसाद लाकौलसँग भएको मूल पुस्तकबाट जस्तो छ त्यस्तै रूपमा प्रकाशित गराई नेपालभाषा परिषद्लाई प्रदान गरे । त्यस्तै चित्तधरको अर्को गीत संग्रह हृदयया भंmकार, रचनासंग्रह, चित्तया चिन्तना हृदयया रचना, कविता, कथा र निबन्धसंग्रह गरी नेपालभाषा परिषद्बाट प्रकाशन गर्ने गरी बहिनीकी छोरी डा. केशरीलक्ष्मीको सहायताले चाहिने जत्ति खर्च गरी दाजुको कामको अभिभारा बोकी पं्रकाशनको काम पनि गरेका छन् । यसरी दाजुको पं्रेरणाले दाजुले छोडेर गएका कार्यलाई पूरा गरी दाजु र भाषा साहित्यप्रति निरन्तर सेवारत रहे ।
यसरी राणाकालीन शासन व्यवस्थाको दवावको बाबजुद पनि त्याग तपस्या गरी निरन्तर रूपमा नेपालभाषाको सेवा गरेका सर्जकहरूको प्रभावबाट प्रभावित साहित्यकारहरू मध्ये प्रमुख रूपले नेपालका नारी स्रष्टा मोतिलक्ष्मी उपासिका देखिन थाले । नेपालभाषा साहित्यमा मात्र नभई नेपाली साहित्यमा पनि प्रथम नारी कथाकारको रूपमा स्थापित भएका मोतिलक्ष्मी उपासिकाको नेपाली कथा रोदन (विसं १९९२) र पुनर्विवाह (१९९२) नेपालीभाषाको पहिलो मासिक पत्रिका शारदामा प्रकाशित भएको छ । तसर्थ मोतिलक्ष्मी उपासिका शारदाकालीन साहित्यकारको रूपमा पनि प्रतिस्थापित छन् ।
नेपालभाषा साहित्य क्षेत्रमा सुधारवादी युगका सुधारवादी विचारधाराबाट प्रभावित भएको अग्रज व्यक्तित्व मध्ये एकजना मोतिलक्ष्मी उपासिकाको जन्म काठमाडौंको तुंछेँ गल्ली नरदेवीमा नेसं १०२९ दिल्लाथ्व १२ (विसं १९६६ आषाढ शुक्ल द्वादशी)का दिनमा पिता द्रव्यधर र माता ज्ञानलक्ष्मीको कोखबाट भएको हो । मोतिलक्ष्मी उपासिकाका दुई दाजुहरू पन्नाधर र नेपालभाषाका प्रसिद्ध महाकवि चित्तधर ‘हृदय’ हुन् भने दुइजना बहिनीहरू पनि छन् । आमाबुबाका पाँचजना सन्तान मध्ये एकजना प्रसिद्ध महाकवि चित्तधर हुन् भने नेपालभाषा क्षेत्रका मोति सरह मोतिलक्ष्मी उपासिका अर्का सन्तान हुन् जसले आमाबुबाको नामलाई अमर बनाएका छन् ।
मोतिलक्ष्मी उपासिकाले आफ्नो साहित्यिक नाम शारदाकालमा एम.लक्ष्मी, श्रीमती एम.लक्ष्मी र पछि मोतिलक्ष्मी, सुश्री मोतिलक्ष्मी, सुश्री मोतिलक्ष्मी उपासिका, मोतिलक्ष्मी उपासिका आदि आफ्ना विभिन्न साहित्यिक कृतिहरूमा प्रयोग गरेका छन् । आफ्नो वाल्यकाल आमाबुबासँग भन्दा बढी बज्यैसँग बिताएका मोतिलक्ष्मीले बज्यैको इच्छा अनुरूप आठ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिनु पर्यो । तत्कालीन समयको कुरीति अन्तर्गत बालविवाहको शिकार भएको उनको वैवाहिक जीवन सफल भएन । पारिवारिक र केही सामाजिक कारणले तेह्र वर्षको उमेरमा पारपाचुके पनि भयो । आफ्नो जिन्दगीले भोग्नु परेका विविध दु:खद परिवेशका कारणले नै उनले नारीप्रति समाजको अवहेलना विरुद्धको आवाजलाई कलमको माध्यमबाट सशक्त रूपमा उठाए ।
आजभन्दा सयवर्ष अगाडिको समाजमा नारीलाई शिक्षा दिनु पर्ने कुरालाई अनिवार्यताको रूपमा नलिने मात्र होइन नारीलाई शिक्षा दिन आवश्यकता नै ठानिदैन थियो । त्यस्तो बेलामा पनि साहु द्रव्यधर तुलाधरको कुल घरानामा पहिलेदेखि नारीहरूलाई शिक्षा दिन हुँदैन भन्ने धारणा नभएको हुनाले मोतिलक्ष्मीले पाँच वर्षको उमेरमा नै श्रीपञ्चमीको दिनमा आफ्नै बुबाबाट अक्षरारम्भ गरेका हुन् । उनलाई अक्षर सिकाउन गाह्रो भएन । अक्षर चिनी सकेपछि तत्कालीन समयानुसार उनीलाई बुद्धिचाणक्य पढाउन थालियो । त्यो बेला अरू नारीहरूले अक्षर पढ्ने नगरेका हुनाले बुद्धिचाणक्य एउटा पढ्न जान्नासाथ मोतिलक्ष्मीको नाम अक्षर पढ्न जान्ने नारी भनेर चिनिन थालेको थियो । उनको अध्ययनको मुख्य क्षेत्र साहित्य, बौद्ध धर्म, हिन्दु धर्मका ग्रन्थ रामायण, महाभारत आदि हुन् । त्यसमध्ये बौद्ध धर्मप्रतिको अध्ययन गहन छ । त्यस्तै त्यो समयमा प्रसिद्ध हिन्दी साहित्यिक पत्रिका सरस्वती उनलाई मनपर्ने पत्रिका हो । सिक्ने सिकाउने कुराको जिज्ञासु उनी विहार विहारमा गई स्व. अमृतानन्दसँग पालिभाषा सिकिन् । संस्कृतको अध्ययन भएको कारणले पालिभाषा छिटै सिके । धेरैजसो भिक्षुहरूसँग छलफल गरी थेरवादी धर्मको विषयमा पनि अध्ययन गरी बौद्धधर्म सम्बन्धी ज्ञानहरू प्राप्त गरे । अध्ययनमा लगनशीलता भएको कारणले महत्वपूर्ण बौद्ध ग्रन्थमध्ये एक अष्टसहस्रिंका प्रज्ञापारमिताको राम्रो अध्ययन गरेका छन् ।
यसरी ‘चाणक्यसार संग्रह’, ‘संस्कृत परिचय’ आदिको पर्याप्त ज्ञान भएको मोतिलक्ष्मीलाई राणा प्रधानमन्त्री चन्द्र शम्शेरले भारतमा १८ जना नारीहरूलाई प्रथम पटक नर्स क्षेत्रमा पढाउन पठाउनेहरूमा एकजना छानिएका थिए । भारतमा जानुपर्ने हुनाले हिन्दीभाषाको अध्ययन पनि गरे । तर दुर्भाग्यवश आफ्नी आमा बिरामी भएकोले बिरामीको स्याहार सुसार गर्नुपर्ने हुनाले भारतमा गई नर्स पढ्ने अवसरबाट बञ्चित हुनुपर्यो । यसरी उनको अध्ययनको क्षेत्रमा परिवर्तन भयो । नर्स पढ्न जान नपाए पनि विसं १९८५ सालतिर प्रवेशिका जाँच दिने हिसाबले पाठ्यपुस्तकहरू पढाइयो । विभिन्न कारणले पढ्न नपाएपछि जाँच दिन पाएनन् । त्यसको ठाउँमा संस्कृत नै राम्रोसँग अध्ययन गर्ने विचारले १९८६ श्रावण ३ गतेदेखि पण्डित देवीदत्तलाई घरमै बोलाइ पढाउन थालियो । उनले संस्कृतको बालबोध व्याकरण, संस्कृतसोपान, ऋतुपाठम्, रघुवंश र कुमारसंभव आदि पुस्तकहरू पढे ।
नेपालभाषामा मात्र होइन नेपालकै साहित्यिक इतिहासमा मध्यकालपछि राणाकालीन क्रूर शासनमा सबैभन्दा पहिले देखिएका नारी साहित्यकारको रूपमा विशेष व्यक्तित्व भएका लेखिका मोतिलक्ष्मी उपासिकाले नारीवर्गलाई उत्थान गर्ने र नारीप्रति सामाजिक अन्यायको विरोध गर्ने, नारी जातिलाई आर्थिक, शैक्षिक हरेक दृष्टिकोणबाट आत्मनिर्भर भएर जीवन जिउने कुरामा प्रेरणा दिने, त्याग सेवाको सहनशील संयमित जीवन जिउनेमा उत्पे्ररित गर्ने लेखिकाको रूपमा स्थापित छन् । आफ्ना दाजु कविकेशरी चित्तधर ‘हृदय’को प्रेरणाबाट साहित्यका विविध विधामा कलम चलाउने मोतिलक्ष्मी उपासिकाको साहित्यिक अभिव्यक्ति सबैभन्दा पहिले प्रकाशित मिति अनुसार नेपालीभाषामा नै छ । विसं १९९१ सालदेखि सुब्बा ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा निस्केको नेपालीभाषाको साहित्यिक मासिक पत्रिका शारदामा एम.लक्ष्मीको नाममा ‘रोदन’ र ‘पुनर्विवाह’ कथा प्रकाशित भए । यी कथाहरू प्रकाशित भएपछि उनको बारेमा नेपालीभाषाका समालोचक ईश्वर बरालले झ्यालबाट कथासङ्ग्रहको भूमिकामा लेखेका छन् –‘अर्को एउटा शैली विशेष एम.लक्ष्मी (१९९२) को ‘पुनर्विवाह’मा देखिन्छ । पत्र लेखनशैलीको प्रथम कथा हो । भाषाको आलङ्कारिक भारीले कथामा छरितो रूप नआए पनि यसको रूपकौशल अत्यन्त सफल रहेको छ । (झ्यालबाट, साझा प्रकाशन, विसं २०३८) । त्यस्तै ‘रोदन’ कथालाई लिएर नेपाली नारी हस्ताक्षरको प्राथमिक चरणकी कवयित्री लोकप्रियादेवीले शारदामै एम.लक्ष्मीलाई पत्र भनेर यी पंक्ति लेखेका छन् –
प्यारी बैनी
नहोउ दिक मनमा यस्तै छ संसारमा
तिम्रो पत्र पढी अहो रगतको आँसु बग्यो नेत्रमा
हामी हौ ललना अबोध जनना के शक्ति हाम्रो यहाँ
आर्यै धर्म भनी सबै दुख खपी बस्नै छ धीरा बनी
दैव खालि विमुख भो र सब यी दुर्भाग्य यस्तै रह्यो
तिम्रो दुख यहाँ त क्षुद्र मनमा अप्सोच मात्रै भयो ।
अर्कोतिर उनको बारेमा नेपालभाषा एवं नेपालीभाषाका पनि प्रख्यात युगकवि सिद्धिचरणले एक ठाउँमा यसरी विचार पोखेका छन् –‘मोतिलक्ष्मीलाई भेटेपछि निर्वाण पथमा हिँडेका एउटी भिक्षुणीलाई भेटेको जस्तो लाग्यो ।’
यसरी नेपालीभाषामा साहित्य सृजनाको शुभारम्भ गर्ने उनले पछिबाट नेपालभाषा साहित्यको उत्थानमा महत्वपूर्ण योगदान दिए । नेपालभाषा साहित्यको निम्ति जीवनको अधिकांश समय व्यतित गरे ।
चित्तधर ‘हृदय’का साथीहरू पूर्णदास श्रेष्ठ, पूर्णबहादुर नेवा:, कृष्णप्रसाद मानन्धर आदिहरू जम्मा भएर स्वयम्भूमा कविगोष्ठी गर्न जान्थे । त्यो गोष्ठीमा मोतिलक्ष्मीले नेपालीभाषाबाट लेखिएको ‘आँसु’ शीर्षकको निबन्ध पढ्नलाई पठाएका थिए । त्यस्तै अर्को एउटा निबन्ध पनि दिएर पठाएका थिए । यी निबन्धहरू १९९७ सालको पर्वमा चित्तधर ‘हृदय’लाई जेल सजाय हुँदा घरमा भएका अरू किताबहरूसँंगै लेखहरू पनि सबै लुकाउने क्रममा माटोमुनि राख्दा भिजेर त्यहीँ नष्ट भएर गएको थियो ।
मोतिलक्ष्मी एक लेखिका मात्र होइनन् स्वयं एक सहृदयी पाठक पनि हुन् । तत्कालीन समयमा प्रकाशित हुने बुद्धधर्म पत्रिका शुरुदेखि अन्तसम्म गहिरिएर पढ्ने बानी छ । त्यसमा पनि कविताहरू कण्ठ हुने गरी पढ्ने बानी छ । त्यो बेलामा कण्ठ पारेका कविताहरू जीवनका उत्तराद्र्ध अर्थात् पचासी सालको उमेरसम्म पनि कण्ठ थियो । त्यस्तै चित्तधर ‘हृदय’, लोकरत्न र अरू साथीहरू मिली सारनाथबाट महाबोधि सभाको तर्फबाट हिन्दी भाषामा प्रकाशित हुने धर्मदूत पत्रिकामा नेपालभाषाका दुईतीन वटा लेखहरू पठाउनु भए अनुसार सो पत्रिकामा सबैभन्दा पहिले एम.लक्ष्मीको नाममा ‘उद्योग’ निबन्ध र ‘लँ’ (बाटो) कथा प्रकाशित भयो ।
विवाहिता भएर पनि माइतीघरमा बसी परम्परागत कुण्ठित विचारधारा, संकुचित व्यवहार र त्यो समयको रुढीगत यथास्थितिलाई त्यागेर शिक्षा हासिल गर्ने एक क्रान्तिकारी नारी हुन् मोतिलक्ष्मी उपासिका । उनको धारणा अनुसार समाजमा नारी पुरुष दुवैलाई शिक्षाको आवश्यकता त्यत्तिकै छ । घर नै बच्चाहरूको प्रारम्भिक स्कुल हो । आमा शिक्षित भएमा मात्र बच्चाहरू पनि शिक्षित हुनेछ । त्यसैले नारीजातिलाई पनि शिक्षा नभई हुँदैन । नारीजातिसँग करुणा, वात्सल्य, प्रेम, स्नेह, भावना, विवेक र सहनशीलताको प्राधान्य हुन्छ भने पुरुष जातिसँग बल, कठोरताको बढी प्राधान्य हुन्छ । शिक्षाले नारीजातिको जीवनमा सुधारको बाटो देखाउँछ । अपेक्षित रूपमा शिक्षित नारीले राम्रो परिवारको सृजना गर्छ । हुनत पहिले भन्दा अहिले नारीहरूलाई पुरुष सरह नै शिक्षा दिइन्छ । नारीहरू पहिले भन्दा शिक्षित छन् तापनि आपूm सन्तुष्ट हुन नसकेको कुरा मोतिलक्ष्मीले आफ्नो जीवनकालमा दिएका एउटा अन्तर्वार्तामा उल्लेख गर्दै भनेका छन् –‘नारीजातिको बौद्धिक क्षेत्र व्यापक बनाउन अझ पनि राम्रो वातावरण र उचित अवसर आएको छैन । त्यसैले हजारमा पाँच जना नारी पनि आफ्नो योग्यता देखाउने स्थान लिन सकेको छैन । आजका नारीमा आफ्नो हक अधिकारको लागि कति विद्रोह, संघर्ष र असहनशीलता छ त्यत्तिकै प्रेम, सेवा, त्याग र सहनशीलताको मानवीय गुण पनि हुनुपर्छ ।’
शुरुमा नेपालीभाषामा कथा लेखी नेपालीभाषाका प्रथम महिला कथाकारको रूपमा स्थापित भएका मोतिलक्ष्मीले नेपालभाषाका विविध विधामा कलम चलाएका छन् । उनका प्रकाशित ६ वटा कृतिहरू छन् । ती हुन् :
१. मोतिमा: (मोतिको माला) (निबन्धसंग्रह, नेसं १०७८)
२. संघ (अधिनिबन्ध, नेसं १०८०)
३. चखुंचिया सर्वय् (भँगेराको सर्वश्व) (कवितासंग्रह, नेसं. १११३)
४. मोति: (कथासंग्रह, नेसं १११४)
५. उत्पलवर्णा (कथासंग्रह, नेसं. १११५)
६. धौबजि (दहीच्यूरा) (निबन्धसंग्रह, नेसं १११८)
उनले विविध विधामा कलम चलाए पनि प्रमुख रूपमा निबन्धविधामा प्रतिष्ठित भएका छन् । विशेषत: निबन्धकारकै रूपमा लिने मोतिलक्ष्मी महिलाको हैसियतले पहिलो महिला निबन्धकारको रूपमा पनि प्रतिष्ठित छन् साथै नेपालभाषा साहित्यमा सिद्धहस्त निबन्धकारहरू ठाकुरलाल मानन्धर, रत्नध्वज जोशीकै लहरमा उनलाई पनि राख्न सकिन्छ । उनको निबन्धको लेखन शैलीको बारेमा नेपालभाषाको निबन्धसंग्रह मूस:निबन्धको भूमिकामा समालोचक डा. कमलप्रकाश मल्लले यसरी धारणा व्यक्त गरेका छन् – ‘नेपालभाषाको गद्यको संक्रमणकालमा मुख्य विशेषता देखाउने निबन्धकार मोतिलक्ष्मी हुन् । उनको गद्यमा धार्मिक विषयतत्वलाई चारैतिरबाट वैयक्तिक र स्वानुभूत सत्यले सिंगारिएको छ । अरू निबन्धकारहरूभन्दा उनको निबन्ध धार्मिक र विशुद्ध साहित्यिक गद्यकोबीचमा एउटा नभई नहुने सम्बन्ध भन्न सुहाउँछ । निबन्धमा विषय चयनले उनमा धार्मिक आस्था दर्शाउँछ भने शैलीको लालित्यले उनको स्वभाव बुझाउँछ ।’ उनको साहित्य सृजनामा नेवार समाजको राणाकालीन घटना, नारीहरूको परिस्थिति, नेवार संस्कृतिको साथै बुद्ध धर्मबाट प्रभावित भएर गरेका देखिन्छन् । उनी एक उपासिका मात्रै नभएर आफैले बुद्ध धर्मलाई हृदयदेखि मनन गरी त्यसलाई प्रयोग गर्नेगरी साहित्य सृजना गरेका छन् । बुद्ध धर्मको बुद्ध धर्म र संंघको दर्शनमा संघको महिमाको प्रस्तुति ‘संघ’ प्रबन्ध हो । बौद्ध दर्शनलाइ व्यावहारिक जीवनमा प्रयोग गर्ने अनुभूतिको प्रस्तुतिको रूपमा संघलाई लिन सकिन्छ । उनको यो कृति ‘संघ’ प्रबन्ध नेपालभाषा साहित्य विधामा नै एउटा नयाँ प्रयोग हो ।
उत्पलवर्णा बौद्धकालीन एकजना नारीको सुचरित्रको बारेमा लेखिएको पुस्तक हो । पुरा बौद्ध जातक अनुसार नभई वर्तमान नारीहरूको चरित्र नैतिक रूपमा राम्रो एवं असल बनाउनको लागि लेखिएको उपदेशात्मक कथा हो ।
कृतिका रूपमा ६ वटा मात्र प्रकाशित भएको देखिए तापनि उनका फुटकर कृतिहरू नेपालभाषाका अनेकौं पत्रपत्रिकामा प्रकाशित छन् । धर्मदूत, धर्मोदय, नेपाल, झी, जनचेतना, आनन्दभूभि आदि पत्रिकामा विभिन्न कृतिहरू प्रकाशित छन् भने अरूको कृतिमा भूमिका लेखन, स्मृतिग्रन्थमा स्मृति लेखन आदि पनि छन् ।
उनको बहुचर्चित ज्ञानबद्र्धक ‘समानताया विषय’ (समानताको विषय) निबन्धले नारीजातिलाई आफ्नो शक्तिबोध गराउन प्रोत्साहन गरेको छ । त्यति बेलाका अनपढ, पिछडिएको नारीजातिलाई आत्मगौरव, आत्मबल र आत्मसम्मान गर्न सिकाएको छ । चिठीपत्रको रूपमा लेखिएका ती लेखहरूमा समेटिएका यावत कुरा आजको एक्काइसौं शताब्दीमा पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ । आजको अत्याधुनिक युगमा पनि आफ्ना हकहितका लागि संघर्ष गरिरहेका नारीहरूले उठाएका आवाज, एव महिला मागसँग समानताको विषयमा उल्लेख गरिएका कुराहरू मिल्न आउँछ । उनका अधिकांश कथामा नारीशिक्षामा जोड दिइनुका साथै बालविवाह तथा त्यतिबेलाको कुण्ठित र रूढिग्रस्त समाजका पात्रहरूको विरोध गरिएको छ ।
लेख्न, पढ्न वा अगाडि बढ्न प्रेरणा भएर मात्र पुग्दैन । प्रेरणा त एउटा खुड्किला हो भने त्यो खुड्किला टेकेर जाने पाइला त आफ्नै जीवनको विभिन्न अनुभूति नै हो । पाइलाको गतिलाई चलायमान गर्न आफ्नै प्रकारको साहित्यिक प्रयास हुन्छ । यसरी निरन्तर प्रयास, लगनशीलता भएका मोतिलक्ष्मी उपासिका पारिवारिक दाम्पत्य जीवन परित्याग गरी साहित्यिक जीवन निर्वाह गर्नु भएको छ । उनका साहित्यिक कृति संख्यात्मक हिसाबले धेरै नभएपनि त्यस बेलाको वातावरण परिवेशको संक्रामक समयलाई दिएको दिगो साहित्यिक योगदानले उनको नारी व्यक्तित्व र कृतित्वको क्रममा सबैभन्दा पाको मात्र नभइ साहित्य रचनाकालको क्षेत्रमा दीर्घ सेवा गर्ने व्यक्तित्व पनि हुन् । वास्तवमा उनले आफ्नो जीवन क्षेत्रमा भोग्दै आएका जुन संघर्षमय जीवन छ त्यो नै साहित्य रचनाको प्रेरणा र मनोवैज्ञानिक ग्रन्थीको अभिव्यक्तिको उदाहरण भएको छ ।
मोतिलक्ष्मी उपासिकाको साहित्यिक विधाको बारेमा आधुनिक कथाकार एवं समालोचका रूपमा प्रतिष्ठित माधवलाल कर्माचार्यको तल उल्लेखित धारणाबाट उनको सम्पूर्ण साहित्यिक विधाको उजागर भएको छ ।
‘संक्षेपमा भन्ने हो भने मोतिलक्ष्मी उपासिका सुधारवादी युगका सुधारात्मक प्रवृत्ति भएका एक उल्लेखनीय लेखिका हुन् । उनको कलमबाट उनीलाई कथा विधामा सुधार गर्नुपर्ने समाजका विभिन्न पक्षहरूको चित्रण गर्ने कलाकारको रूपमा अगाडि उभ्याइएको छ भने, कविता विधामा यस्ता समाजबाट जन्माइएका आशा, आसक्ति, चिन्ता, त्याग आदि कुराले भावावेशमा परेर भावपूर्ण प्रतिक्रिया व्यक्त गर्ने कविको रूपमा उठाएको छ अनि निबन्धको विधामा यसप्रकार भावावेशमा पर्ने कुरामा पछाडि हटेर संयमपूर्वक, धैर्यपूर्वक कर्तव्यको बाटो अपनाई ज्ञान गुणको कुरा उल्लेख गरी अन्तरदृष्टि खोल्न सक्ने निबन्धकारको रूपमा देखाइएको छ । यसप्रकार साहित्यको क्षेत्रमा मोतिलक्ष्मीलाई रूप, भाव, भावना र विचारको त्रिवेणी भएर भित्रभित्रै अघि बढिरहेको स्पष्ट हुन्छ ।’
वि.सं २००९ सालमा ‘च्वसापासा’ संस्थाको आयोजनामा काठमाडांैको हनुमानढोकामा तीन दिनसम्म भएको ऐतिहासिक नेपालभाषा वृहत् साहित्य सम्मेलनमा ‘पासा’ (साथी) निबन्ध सुनाएर नारी लेखिकाको रूपमा सबैभन्दा पहिले मञ्चमा उभिने पनि मोतिलक्ष्मी नै हुन् ।
प्रा. कृष्णबहादुर मानन्धरको सम्पादनमा प्रकाशित ‘पासा’ पत्रिकामा उल्लेख भए बमोजिम महिला साहित्य सम्मेलन क्षेत्रपाटीमा श्रीमती मोतिलक्ष्मीको नेतृत्वमा धुमधाम नक्साले सम्पन्न भयो । त्यस्तै ललितपुरमा रहेको सत्यमोहन जोशीको संरक्षकत्वमा भएको लोकसाहित्य परिषद्को ‘करुणाकर सिरपा:’ वितरण समारोहमा पनि सभानेत्रीको रूपमा भूमिका निभाएका छन् । त्यस्तै नेपालभाषा मिसा खल:को आयोजनामा भएको ‘न्हूगु संविधानय् मांभाषं शिक्षा’ (नयाँ संविधानमा मातृभाषा शिक्षा) नामको विचार गोष्ठीमा पनि उनले सभानेत्रीको भूमिका निभाए ।
मोतिलक्ष्मीले आफ्नो जीवनकालमा साहित्य लेखनको साथसाथै भाषिक सेवा, संस्थागत सेवा तथा थुप्रै दान प्रदान गरेका छन् । विसं २००९ सालमा दाजु चित्तधर ‘हृदय’ले स्थापना गरेको संस्था ‘नेपालभाषा परिषद्’ स्थापना भएदेखि सदस्य भई आफ्नो जीवनको अन्तिमकालसम्म पनि कोषाध्यक्षको अभिभारा सफलतापूर्वक निर्वाह गरेर गएका छन् । यसरी आफ्नो जीवनको अन्तिम समयसम्म नेपालभाषा परिषद्को कोषाध्यक्षको जिम्मेवारी बोकेका मातृभाषाप्रति समर्पित मोतिलक्ष्मीले आफ्नो इच्छा यसरी व्यक्त गरेका छन् – ‘जिन्दगीमा मलाई केही इच्छा छ भने त्यो हो नेपालभाषा र नेपालभाषा परिषद्लाई बचाउनु ।’ नेपालभाषातिर वर्तमानकै एउटा सक्रिय भाषिक तथा सामाजिक संस्था ‘नेपालभाषा मिसा खल:’को संस्थापक अध्यक्ष हुन् मोतिलक्ष्मी उपासिका ।
नेपालभाषा परिषद्द्वारा प्रकाशित हुने ‘नेपाल’ ऋतुपौ नामक पत्रिकाका लागि आफ्नो पुख्र्याैली जग्गाहरू बेचेर एक लाख रुपियाँ जम्मा गरी अक्षयकोष बनाई दान दिनुभएको थियो । सो नेपाल ऋतुपौ हालसम्म १०१ अङ्कसम्म प्रकाशित भएको छ ।
‘नेपालभाषा परिषद्’ लाई संस्थागत रूपमा पछिसम्म राख्नुपर्छ भन्ने उद्देश्यले दाजु चित्तधर ‘हृदय’ले आफ्नो घरको बीचको तल्ला नेपालभाषा परिषद्लाई विसं २०३१ सालमा दानपत्र गरिदिएका हु्न् । घरको अरू भाग बहिनी मोतिलक्ष्मी उपासिकाको नाममा लेखिदिएका थिए । पछि मोतिलक्ष्मी उपासिकाले उक्त ऐतिहासिक घर सबै आफ्नो शेषपछि नेपालभाषा परिषद्लाई नै विसं २०३१ सालमा बकसपत्र गरी लेखिदिए । जुन नेपालभाषा परिषद्को घर छ अहिले भारतीय राजदूतावासको सहयोगले पुरानै ढाँचामा जिर्णोद्वार भएको छ । उक्त ऐतिहासिक नेपालभाषा परिषद्को घर नेपालमा पहिलो साहित्यकारहरूको संग्रहालयको रूपमा रहेको छ । नेपालभाषाका अनन्य सेवक दाता दाजु बहिनीको सपना सदैव साकार हुने गरी नेपालभाषा परिषद्को सो संग्रहालय भएको घर जीर्णोद्वार हुनु खुसीको कुरा हो । तर यसलाई निरन्तरता दिई यसको गौरव कायम राख्न नयाँ पुस्ताले सोही अनुरूपको कार्य गरेमा नेपालभाषाका कहिल्यै ननिभ्ने दियो, नबिलाउने तारा चित्तधर र मोतिलक्ष्मीको सपना साकार भई सदैव उनीहरूको आत्माले शान्ति एवं सुखको अनुभूति गर्नेछ ।
यसप्रकार तन, मन, धनले नेपालभाषा साहित्य कलामा समर्पित मोतिलक्ष्मी उपासिकाको निस्वार्थ त्याग, सेवाभावको मूल्याङ्कन समयले गरेको छ । यस सन्दर्भमा मोतिलक्ष्मीको बारेमा धेरै लेखकहरूले विविध रचना सिर्जना गर्नु भएको छ भने मोतिलक्ष्मीको योगदानलाई कदर गर्दै विसं २०४५ मा नेपालभाषा परिषद्बाट उनको सम्मानमा अभिनन्दनसहित नेपाल ऋतुपौ पौष वर्ष ६ पूर्णाङ्क ४७ लाई मोतिलक्ष्मी विशेषाङ्कको रूपमा प्रकाशित गरिएको थियो । अनेक संघसंस्थाहरूबाट सो कार्यक्रममा विभिन्न उपहार र अभिनन्दनपत्रहरू चढाउन ल्याएका थिए । उनको प्रतिभा र योगदानको कदरस्वरूप नारी साहित्य सेवा केन्द्रबाट अभिनन्दन गरिएको थियो । साहित्यिक पत्रकार संघले वितरण गर्दै आएको लोकप्रियादेवी साहित्य पुरस्कार २०४९ मा प्रदान गरियो । उनीभन्दा पहिले यो पुरस्कारद्वारा श्रीमती गोमा, रमोलादेवी शाह ‘छिन्नलता’ र डा. लक्खीदेवी सुन्दास सम्मानित भइसकेका थिए । यही सालमा नेपाल नारी साहित्य सेवा केन्द्रले ‘अग्रणी लेखिका मोतिलक्ष्मी ‘उपासिका’ को सम्मानमा अभिनन्दन–पत्र चढाएका थिए ।
मोतिलक्ष्मी उपासिकाको ८०औं जन्मदिन तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभाकक्षमा भव्य समारोहको आयोजना गरी मनाइएको थियो । त्यो भव्य समारोहमा विभिन्न व्यक्ति र संस्थाहरूले विभिन्न उपहार एवं अभिनन्दन पत्र चढाई भव्य सम्मान प्रदान गरेका थिए ।
नेपाल नारी साहित्यिक सेवा केन्द्रबाट आजीवन सदस्यताको प्रमाणपत्र, २०५३ मोतिलक्ष्मी उपासिकालाई प्रदान गरियो ।
मोतिलक्ष्मीले जीवनभर साहित्यलाई माध्यम बनाएर ‘समाजको विकास, नारी र पुरुष समान’ भन्ने भावना तथा धार्मिक पथबाट कहिल्यै विचलित नहोउन् भन्ने पाठलाई बल प्रदान गरी जीवनभर नेपालभाषा साहित्यसेवामा समर्पित भई ८८ वर्षको उमेरमा विसंं २०५३ मार्ग ३० गतेका दिन चीरनिद्रामा परिन् । नेपाली एवं नेपालभाषा साहित्य क्षेत्रमा सदाको लागि अमर भएर गइन् ।
कुनै पनि व्यक्तिको जीवनको सफलतामा नारीको हात हुन्छ भन्ने धारणालाई मोतिलक्ष्मी उपासिकाले चरितार्थ गरेका छन् । यहाँ नारी भन्नाले पत्नीमा मात्रै सीमित नभई त्यो नारी आमा, दिदी, बहिनी, छोरी आदि रूपमा पनि हुन्छ भन्ने कुरा मोतिलक्ष्मीले आफ्ना दाजु चित्तधर हृदयको साहित्यिक जीवन सफल पार्नुमा महत्वपूर्ण योगदान गरेका छन् ।
मोतिलक्ष्मी उपासिकाको व्यक्तित्वको बारेमा लेखिरहँदा यो पंक्तिका लेखिका स्वयंको पनि एउटा अविस्मरणीय अनुभूति छ । नेपालभाषा परिषद्को कोठामा उनकै सामिप्यमा नेपालभाषाका अग्रज कविहरू पूर्ण वैद्य, बुद्ध साय्मि, समालोचक इन्द्र मालीको उपस्थितिमा भरखर भरखर कविता लेख्न थालेका हामी पाँचजना कविको कविता पाठ भएको थियो । पाठ भएको कविताको बारेमा केही टिप्पणी पनि भएको थियो । यसै सन्दर्भमा प्रतिष्ठित भइसकेका उनले हामी कविता लेख्ने सर्जकप्रति जुन सम्मान व्यक्त भएको थियो त्यसप्रति यो पंक्ति लेखिका नतमस्तक भएको थियो । त्यस्तो साधकको सामु कविता पाठ गर्दा अलि अलि लाज संकोचका साथै गौरवको अनुभूति पनि भएको थियो । यो अनुभूतिबाट जसले अरूलाई सम्मान गर्छ त्यो पनि सम्मानको पूर्ण हकदार हुन्छ भन्ने कुराको ज्ञान भएको थियो ।
यस पत्रमा सामान्यतया मोतिलक्ष्मी उपासिकाको जीवनको एक पक्ष साहित्यको बारेमा संक्षेपमा मात्र उल्लेख भएको छ । उनका कृतिहरूको बारेमा मात्रै विस्तृत अध्ययन गरी लेख्ने हो भने एउटा मोटो किताब नै तयार हुन सक्छ । यहाँ संक्षेपमा मात्र उल्लेख भएको हुनाले उनको पुस्तक कृतिको नाम मात्र माथि दिइएको छ ।