मेरो विश्वास छ— कुनै पनि सुखमा स्थायित्व छैन र कुनै पनि सुख यस्तो छैन जुन सदैव प्रिय र सदैव मङ्गलप्रद होस् । त्यसैले वाञ्छित र आवश्यक सुखका निम्ति मान्छेले सदैव सोचविचार गर्नुपर्छ । यसै सोचविचार र खोजबाट संसारमा ईश्वरसम्मको जन्म भयो जसले अँध्यारोबाट भयभीत हुँदाको समय, आकाशबाट घबराउँदाको समय, हावा–पानी र आगोबाट डराउँदाको समय तथा पशुपन्छीमात्र होइन, स्वयं मान्छेले मान्छेलाई खाँदाको समयमा मानवजातिका निम्ति अत्यधिक सहायक भएर उसलाई अगाडि बढाइरह्यो ।
ईश्वरको सृष्टि सर्वप्रथम डरका कारण भयो । उसको जन्म कमजोरीको गर्भबाट भयो र त्रासबाट रक्षाका लागि कल्पनामा नै उसको उद्भव भयो । पछि ऊ ‘रक्षक’ मात्र नभई ‘दायक’ पनि भयो र दुःखनाशक मात्र नभई सुखको कारणसमेत हुन थाल्यो । ईश्वरको अस्तित्वको दर्शन अथवा अध्यात्मबाट नै संसारमा सुसभ्यताको प्रारम्भ भएको थियो । त्यसैले आज पनि संसारमा अध्यात्मदर्शनको मान्यता छ । अध्यात्मको आविर्भावले मान्छेमा खोज गर्ने स्वभाव बनाउँदै ल्यायो र केही पाउने प्रेरणा दियो । उसको ज्ञानले अगाडि बढ्दैबढ्दै अज्ञात कुराहरूसम्म पुग्ने प्रयास गर्न थाल्यो । सुख र आनन्दको खोजी गर्दागर्दै मानिसले जीवनमा मात्र नभई मरेपछि पनि सुख र आनन्द पाइरहने कल्पना गर्न थाल्यो र त्यसै आकाङ्क्षापूर्तिका लागि प्रयत्नहरू गर्न थाल्यो । आनन्दप्राप्तिको आकाङ्क्षा र भोक मान्छेमा कति धेरै हुन थाल्यो भने उसले आनन्दको स्रोत तथा एकमात्र केन्द्र ईश्वरलाई ठानी त्यसैमा टाँसिएर रहने प्रयत्न गर्न थाल्यो । ईश्वरमा लीन भइसकेपछि दुःखबाट मुक्त भई आनन्द नै आनन्द मिल्न थाल्नेछ । बस, सम्झन थाल्यो— यसैबाट बेडा पार हुन्छ, यही मोक्ष हो । कति मीठो आकाङ्क्षा र कति सुन्दर कल्पना !
मान्छेको पहिलो खोजको परिणाम रहेको यस दर्शनले मान्छेलाई आनन्दको आकाङ्क्षा र कल्पनामात्र दिएन, व्यवहारमा कसैलाई दुःख नदिने प्रेरणा पनि दियो । त्यसपछि उसको निर्गुण ईश्वर सगुण ईश्वरमा प्रादुर्भाव हुन थाल्यो । ईश्वर मान्छेमा अवतीर्ण हुन थाल्यो । कहाँसम्म भने माटो र ढुङ्गोसम्ममा ईश्वरको प्रतीक जग्मगाउन थाल्यो । अन्तरिक्षको अन्तर र अज्ञातको घना अन्धकारमा मात्र होइन, आँखै अगाडिका वस्तुहरूमा पनि मान्छेले ईश्वर खोज्न थाल्यो र पाउन थाल्यो । ईश्वरको प्राप्ति र आनन्दको खोज गर्दागर्दै मान्छेको चिन्तन यस लोकबाट परलोकसम्म पुग्यो । यो लोक तथा यस जन्मलाई काम नलाग्ने ठानेर मान्छेको दिमागमा परलोक तथा पुनर्जन्मको महŒव बढ्न थाल्यो । ईश्वर र परलोकको भावनाले मान्छेको मन कति धेरै भरियो भने उसको मस्तिष्कमा समेत अरू कुराको प्रवेश बन्दजस्तै भयो । ‘जगत् मिथ्यावाद’को विश्वास मान्छेमा कति धेरै बढ्यो भने उसले यस लोकको वर्तमान जीवनमा चारैतिर अन्धकार नै अन्धकार देख्न थाल्यो र आफ्नो प्रियतम (ईश्वर) लाई पाउन तथा खोज्न ज्ञानको दीप जलाउन थाल्यो । यही खोज, यही अन्वेषण, यही आकाङ्क्षा र यही जिज्ञासा नै अध्यात्म–दर्शन हो ।
यस खोजमा, यस अध्यात्मतŒवमा मानवजातिले हज्जारौँ वर्ष बिताइसकेको छ । जीवन के हो, जगत् के हो, यसको पछाडि र भित्र के छ, आदि कुरामा अत्यधिक छानबिन गरिसकेपछि उसलाई के विश्वास भयो भने सत्य एउटामात्रै छ, त्यो हो ईश्वर । बस, त्यही एउटामात्र कुरा पाउनका लागि ऊ जीवनमा अनुभव गरेका सारा सुख र जीवनलाई नै समर्पण गरिरहेको छ । आजसम्म पनि प्रायः मानवजाति यही विश्वासमा बाँचिरहेको छ । यसै विश्वासलाई सत्य ठानेर, सबै जनसाधारणको कल्याण होओस् भन्ने दयाको भावना राखेर पण्डितहरूले मानिसको मस्तिष्कमा यही विश्वासको छाप लगाइदिए । पछि समय बित्दै जाँदा ज्ञानराज्यका अधिराजहरूले ईश्वरबाहेक अरू कुनै पनि कुरा सोच्नै छाडे र कस्तोसम्म अध्यादेशको घोषणा गरे भने ईश्वरका अतिरिक्त अरू कुनै कुरा सोच्ने र सम्झने व्यक्ति पाखण्डी हो । उनीहरूले यसै कुरालाई प्राथमिकता र यसैलाई ग्राह्यता दिन थाले । यस क्षेत्रका बुजुर्गहरूको रायमा विज्ञान र राजनीति पनि बेकारका हुन् ।
तर मान्छे स्वभावले स्वतन्त्र प्राणी हो । स्वतन्त्रता नै उसको सबैभन्दा प्यारो कुरा हो । आफ्ना पथप्रदर्शक बुजुर्गहरूको परामर्शमा विश्वास हुँदाहुँदै पनि ऊ अन्य कुराहरूका बारेमा सोचविचार गर्न अभ्यस्त छ । ताल्चा लगाइदियो भने पनि ऊ यताउता झाँक्ने प्रयत्न गर्दछ । कहाँसम्म भने कर्फ्युको समयमा पनि बाहिर निस्केर क्षितिजपारि हेर्न चाहन्छ । मान्छेको यस स्वतन्त्र प्रवृत्तिले उसलाई आज यहाँसम्म पुर्याएको छ; अझै अगाडि पनि पुर्याउनेछ ।
उपग्रह तथा अध्यात्म
आज मानिस उपग्रहकोयुगसम्म पुगिरहेको छ । अब ऊ अध्यात्मवादमा मात्र विश्वास गरेर ईश्वरमा विलीन भई समाप्त हुने सोचमा छैन । न त ऊ परलोकसुखको आशामा यस लोक र जीवनलाई कुवामा फाल्न नै तयार छ । अबको मान्छेले अध्यात्मज्ञानको केही सम्मान गर्छ र समाजमा प्रश्रय दिन्छ भने यस अर्थमा मात्र सक्छ— यसबाट मान्छेमान्छेबीच लुछाचुँडी बढ्नमा योगदान नपुगोस् तथा जगत्जीवनलाई ‘परम्’ मानेर अर्थ, काम र विज्ञान इत्यादिसँग शान्तिपूर्ण सहअस्तित्वका साथ रहनमा असहमत नहोस् । अध्यात्मवादका परहित र आत्मसात्का भावपक्षलाई अँगालेर आजको मान्छे अध्यात्मवादको पनि संशोधन गर्न चाहन्छ । अब ऊ चाँडै नै चन्द्रमामा पुग्नेछ र त्यहाँ बस्ती बसाल्नेछ । बिस्तारै सूर्य, मङ्गल आदि ग्रहहरूमा पनि सहर बसाल्नेछ । पृथ्वीको सम्पत्ति तथा आम्दानीबाट नपुगेर ऊ अभावग्रस्त हुनेछ र धर्तीलाई शस्यश्यामल(हरिलोभरिलो) बनाउनमा अरू केही उपकरणहरूको आवश्यकता पर्नेछ तब चन्द्रमाजस्ता अन्य नक्षत्रहरूबाट काम लिनेछ । अब चन्द्रलोकमा पुग्नका लागि पण्डापुरोहितहरूलाई रगतपसिना बगाएर दान दीदीकन जिउँदै मर्नुपर्ने आवश्यकता पर्नेछैन । आठदश आनाको टिकटबाट नै चन्द्रलोक पुग्ने सुविधा मिल्नेछ । मान्छेमात्र किन, कुकुर र बाँदर पनि चन्द्रलोक पुग्नेवाला छन् ।ट वैज्ञानिक तथा भौतिकवादीहरूको उन्नति र प्रगतिको परिणामस्वरूप के भयो भने कृत्रिम चन्द्रमाबाट वैज्ञानिक तथा भौतिक क्षेत्रमा अझै अगाडि बढ्ने प्रेरणा मिल्यो, साथै आफ्नो नक्कली चन्द्रमालाई आकाशमा घुमिरहेको देखेर भौतिकवादका विरोधी अध्यात्मवादीहरूलाई पनि एउटा गरम जोस प्राप्त भयो । उनीहरूका चिरविश्रामित मस्तिष्कहरू हल्ले र पछौटे बन्दै गइरहेको तिनको स्थितिलाई एउटा तरङ्ग प्राप्त भयो । नक्कली चन्द्रमाको हाँसिरहेको ज्योत्स्ना देखेर अध्यात्मज्ञानको केन्द्र रहेको भारतका मानिसहरूमा कतिसम्मको होड चल्यो भने समाधिमा सुतेका अध्यात्मशिरोमणिहरू पनि जागे । हेर्नुहोस् मुनि सुशील कुमारको प्रतिस्पर्धा कति जागरुक र मीठो छ— सन् ५७ नोभेम्बर १७ को दिन विश्वधर्म–सम्मेलनमा तालीको गडगडाहटबीच (दिल्लीमा) उनले भनेका थिए— “यदि रूसले नक्कली चन्द्रमा छाडेको छ भने भारतका मानिसहरू विश्वमा आध्यात्मिक चन्द्रमा बढाउनेछन् ।”ठ
त्यसोभए त चार चाँद लागेर संसार अझै सुन्दर हुनेछ । तर मुनिजी ! तपाईंको आध्यात्मिक चन्द्रमा यसै संसार र यसै समाजको आकाशमा नै चढ्नेछ । जीवनबाट टाढा भागेर पहिलेकै जस्तो परलोककै आकाशमा घुमिरह्यो र ईश्वरप्राप्ति तथा त्यसमै विलीन हुनका निम्ति तपाईंको चन्द्रमा चम्किरह्यो भने त्यसलाई ग्रसित पार्न भौतिक राहु घुमिरहनेछ । तब संसारमा ग्रहण लागेर सूतकका बेला तपाईंलाई स्नान गर्नबाटै फुर्सत मिल्नेछैन ।
मुनि सुशीलकुमारको हाँक वैज्ञानिक अर्थात् भौतिकवादीहरूद्वारा छाडिएको कृत्रिम चन्द्रमासित प्रतिस्पर्धा वा प्रतियोगिता हो भने यसमा क्षोभ गर्नुपर्ने कुनै कुरा छैन, म यसको स्वागत गर्छु किनभने एक हदसम्म यसको उपयोगिता प्रशस्त छ र आवश्यक पनि छ । तर वैज्ञानिकहरूको प्रगतिका रूपमा रहेको उपग्रहप्रति बधाईको भाव नभई भर्त्सना गर्दै अध्यात्मकै प्रशस्ति गाइएको हो भने यो एक बिडम्बना र अहङ्कारमात्र हो । यस्तो ‘आफ्ना कुराको आफै जयकार’ को कुराले केही हुँदैन, केही बन्दैन ।
साँचो कुरा भन्ने हो र वास्तविकतालाई देख्ने हो भने बढ्दो जनसङ्ख्या र यस भीडभाडको दुनियाँमा आध्यात्मिक चन्द्रमाले कुनै प्रकाश दिन सक्दैन, न त त्यसको मूल–आधार ईश्वर नै कुतŒवसँग लड्न सक्नेछ । मात्र अध्यात्मज्ञान र ईश्वरमहिमाबाट संसारलाई सुन्दर बनाउनु आकाशको फल आँखा तरी मर् सिद्ध भइसकेको छ । अध्यात्मज्ञान र ईश्वरीय विश्वासबाट विश्वलाई बनाइराख्ने कुरा एउटा चेलो बनाउनमा उसका पछाडि एघारजना गुरु लागिरहनुजस्तै मुस्किल छ । हामीलाई यस्तो एक सम्भावनाको आवश्यकता छ जसबाट एकजना चेलाद्वारा घटीमा पनि बाह्रजना गुरु तयार होऊन् किनभने अध्यात्म वा ईश्वरीय विश्वासबाट प्रभावित युग हामीले धेरै देखिसक्यौँ, धेरै सुनिसक्यौँ र त्यसकै बाटो हुँदै हामी आज पनि हिँडिरहेका छौँ ।
ईश्वर र अध्यात्मको दुहाई दि“दादि“दै सबै थाकिसके
भारतवर्षमा त अझै पनि यसकै प्रभाव सर्वोपरि छ । जावलि, आरुणि र याज्ञवल्क्यदेखि गान्धीसम्म, वेददेखि गीतासम्म यही आध्यात्मिक र ईश्वरीय विश्वासले प्रतिनिधित्व गरिरह्यो एवं पश्चिमी जगत्मा पनि पिथागोरसदेखि तथा अरस्तु र इसादेखि अगस्टिन टामस, एक्किनस आदि अध्यात्मवादी दार्शनिक तथा ईश्वरवादी धर्मप्रचारक महात्माहरू र विश्वविस्तृत इसाई धर्मग्रन्थ बाइबल पनि मानवजातिलाई अध्यात्म र ईश्वरबाट प्रभावित गरी संसारलाई शान्तिमय बनाउने प्रयत्न गर्दागर्दै थाकिसके । एउटा ठूलो सङ्ख्याको जाति मुस्लिम संसारमा पनि मोहम्मददेखि आगारवी र तिनको धर्मग्रन्थ कुरानसमेत संसारमा शत्रुता र खराबी भगाउनका निम्ति ईश्वरसँग गुहार माग्दामाग्दै हैरान भइसके ।
अरू त अरू भौतिक जगत्प्रतिको केही विरागका कारण बुद्धसमेत थाके
संसारमा नयाँ हावा फैलाउने क्रान्तिकारी हुँदाहुँदै पनि बुद्धसमेत थाके जसको दर्शनमा केहीकेही समाजवाद, केहीकेही प्रगतिशील चेतना र केहीकेही जनतान्त्रिक स्रोतलाई समावेश गरिएकाले साधारण व्यवहारलाई पनि छुने क्रान्ति देखिन्छ तथा मान्छेलाई अगाडि बढाउनबाट रोक्ने ईश्वरको अस्तित्वमाथिको विश्वासप्रति विद्रोह छ । सबैभन्दा ठूलो कुरा त यो दर्शन जातपात आदिको भेदभाव तथा यज्ञादि अगतिशील कर्मकाण्डमाथिको चुनौती हो; उथलपुथल हो । विश्वमा सबैभन्दा बढी मानवहृदयमा ज्ञानज्योति जगाउने व्यक्ति वास्तवमा बुद्ध नै हुन् जसको प्रभाव र प्रचार आज पनि संसारको लगभग आधा भागमा छ । उनी एसियाका उज्ज्वल प्रकाश हुन् । संसारको निर्माण गर्नमा र सभ्यतालाई बनाउनमा उनको ठूलो हात छ तर उनी पनि थाकिसके । उनका अहिंसा र शान्तिवाद पनि संसारबाट कुतŒवलाई हटाउन तथा मेटाउन समर्थ हुन सकेनन् । उनका अहिंसा र शान्तिवाद पनि त्यति धेरै विकसित हुन सकेनन् जति हुनुपर्थ्यो । अझै अरू संसारको उपेक्षा गरेर कोरा अध्यात्ममा लीन हुने अध्यात्मवादीहरूको कुरा के गर्नु ?
बुद्ध अहिंसाका त्यति ठूला प्रवर्तक र शान्तिवादी हुँदाहुँदै पनि उनको अहिंसा र शान्तिवाद विश्वमा त्यति विकसित हुन नसक्नुको कारण मैले त एउटामात्रै देखेको छु– यति सबै हुँदाहुँदै पनि संसारप्रति उदासीन अध्यात्मवादीहरूसरह बुद्ध पनि परलोक तथा पुनर्जन्मका हिमायती हुनाले उनको हिंसा तथा शान्तिवादमा थोरैधेरै सन्न्यासभावना समाविष्ट छ । परलोक तथा पुनर्जन्मको सुखको आशाआकाङ्क्षाबाट यो लोक र भौतिक जगत्प्रति स्वाभाविक रूपमा वैराग्य उत्पन्न हुन्छ ।
यसै कारण बुद्धजस्ता क्रान्तिकारीको शान्तिवाद पनि सर्वसाधारण जनताको हृदयमा निरोगी बनेर बस्न सकेन । उनको दर्शनको आधार परलोक तथा पुनर्जन्म हुनुले गर्दा यो सफल हुन सकेन । उनको अहिंसा र शान्ति कहाँ बढिरहेको छ ? साँचो कुरा भन्ने हो भने म उनलाई कतै पनि हाँसखेल गरेको देख्दिनँ— न त उनका प्रयोग र प्रभावक्षेत्र चीन, जापान, वर्मा र तिब्बत आदि मुलुकहरूमा नै । आज २५०० वर्ष पूरा भएका छन् । ड उनको क्षेत्रमा कहाँ र कहिले मान्छेको घाँटीमा तरबारहरू नाचेका छैनन् ? कुनचैँ शताब्दी र कुनचैँ दशकमा रगतको नदी बगेको छैन ?