‘ऋणं कृत्वा घृतं पिवेत्’ कै आदर्शमा किन नहोस्, चार्वाक मतको जन्म हुनु संसारका लागि अति आवश्यक थियो । चार्वाकको नास्तिकवादले संसारलाई अगाडि बढाउन मार्ग प्रशस्त गरेको थियो । तत्कालीन स्थिति र एकाङ्गी विचारधारासित पर्याप्त टक्कर लिएर चार्वाक मतले मान्छेको मस्तिष्कमा स्वतन्त्रता र क्रान्तिका बीउहरू रोपिदिएको थियो । त्यसले परम्परागत विचारहरूले जमेको (सङ्कुचित बनेको) मान्छेको दिमागलाई हल्लाइदियो र मान्छेमा विचार गर्ने बानीको विकास गरिदियो । त्यस्तै त्यसले के पनि स्पष्ट पारिदियो भने सित्तैमा नमरेर घिउ पिएर जिउनका निम्ति उसैसित मात्र ऋण लिन सकिन्छ जोसित आवश्यकताभन्दा बढी घिउ छ । आजको संसारमा घिउको स्वादले त्यतिसाहै्र महŒव राख्दैन त के भयो ? तर प्रगतिको जग राख्ने पहिलो व्यक्ति चार्वाक नै थिए र उनको मत नै त्यस्तो पहिलो मत थियो । त्यतिवेला परलोकवादको आँधीले संसारको सौन्दर्य नष्ट हुँदै गइरहेको थियो । यस्तो विकट स्थितिमा त्यस्तो आँधीबेहरीसँग जुधेर चार्वाकले यस लोकको मर्यादा बचाएका थिए । बस, उपदेशमा नै निर्भर रहेर तथाकथित आज्ञाकारीमात्रै बनिरहन्थे भने चार्वाकको जन्म अमर चार्वाकका रूपमा हुँदैनथ्यो; न संसारमा यस्तो प्रगतिशील मोड नै आउँथ्यो ।
बुद्ध
आज संसारका सबैभन्दा महान् व्यक्ति मानिने बुद्ध पनि स्वतन्त्र मस्तिष्कबाट नै बुद्ध बनेका हुन् । आफ्ना गुरु र पिताका उपदेशबाट नै बुद्ध बाँधिएका भए विश्वका विभूति बुद्ध ‘बुद्ध’ नबनेर आज शुद्धोदनको छोरो ‘सिद्धार्थ’ रहन्थे र उहिल्यै संसारबाट विलुप्त भइसक्थे । आज केवल उनको हृदय र मस्तिष्कबाट बग्दै आएको शान्ति र अहिंसाको स्रोत संसारका लागि सर्वाधिक श्रेष्ठ र कल्याणप्रदायक सन्देश सिद्ध भइरहेको छ । आधुनिक समाजवाद तथा प्रजातान्त्रिक प्रणालीको रूपरेखा खडा गर्ने अथवा त्यसका प्रेरक भनेर उनैलाई भन्नु अत्युक्ति हुन सक्दैन । कुनै पनि व्यक्तिको उपदेश र विचारलाई सोझै शिरोधार्य नगरी त्यसमाथि आलोचना गर्ने तथा स्वतन्त्र विचारअनुसार चल्नका लागि संसारमा सर्वप्रथम आह्वान गर्ने व्यक्ति पनि बुद्ध नै हुन् ।
इसा
इसामसीह विश्वका एक महान् व्यक्ति हुन्; जो बुद्धपछि आज सबैभन्दा बढी अनुयायीहरूले धनी छन्, जो पश्चिम जगत्का लागि आज सूर्य बन्दै छन् । तिनी पनि उपदेशबाट जन्मेका नभएर स्वतन्त्र मस्तिष्कबाट नै उत्पन्न भएका थिए । उनी गुरु र बाउ–हजुरबाउको घेरामा जकडिएर रहेका भए आज सन् १९५७ज्ञ हुँदैनथ्यो जुन संसारमा सबैभन्दा बढी मान्यता पाउँदै अगाडि बढ्दै गइरहेको छ । स्वतन्त्र मस्तिष्कबाट निस्केको स्वतन्त्र विचार नै बढी प्रभावशाली र कल्याणप्रद भएर चिरस्थायी बन्दछ । विरोधीहरूको अत्यधिक विरोध तथा तिनैको हिंसाले मारिए पनि इसाको विचार मर्न सकेन ।
मुहम्मद
एक जगज्योति मियाँ मुहम्मद हुन् । उनीबाट जलाइएको मसालबाट पनि दुनियाँँमा आजसम्म उज्यालो फैलिरहेको छ । उनी पनि आफ्ना उस्तादहरूका उपदेशबाट बनेका मान्छे होइनन्, बरु स्वतन्त्र दिमागका एक उपज हुन् ।
माक्र्स र गान्धी
आज आधुनिकतम युगका सबैभन्दा ठूला मान्छे माक्र्स र गान्धी हुन् । यिनीहरू आजका मात्र नभई प्रारम्भदेखि आजसम्मका मानिसहरूमा सबैभन्दा बढी चर्चाका विषय बनिरहेका छन् । त्यसैले यिनलाई महामानव भन्न सकिन्छ । एकातर्फ माक्र्स प्रगतिशील परमपुरुष हुन् भने अर्कोतर्फ गान्धी सुगतिशील सङ्घर्षसन्त । एउटाले प्राय: पुराना आचार, विचार, संस्कार, धर्म आदिसँग सङ्घर्षरत भएर सदैव विद्रोह गर्छ भने अर्कोचाहिँ अधिकतर पुराना चीजहरू र संस्कारहरूलाई स्थान दिँदै विश्वका सम्पूर्ण धर्म र ईश्वर एवं ईश्वरको प्रतीक मानिने संसारका समस्त माटो र मूर्तिहरूसम्मलाई छाती तथा शिरमा चढाएर राख्छ । एउटा पुरानालाई फालेर सदैव नयाँ नीति र नयाँ कुरा गर्छ भने अर्को सबै पुराना नीति र पुराना कुराहरूलाई नै नयाँ बनाएर भन्दछ । एउटाले हिंसाद्वारा दुनियाँँमा प्राण भर्दछ भने अर्काले अहिंसाद्वारा जीवन भर्दछ । माक्र्स तथा गान्धी दुवै समाजबाट गरिबी हटाएर सुखको सृजना गर्नका निम्ति कटिबद्ध छन् । दुवै योद्धा हुन्, दुवै विद्रोही छन् र दुवै क्रान्तिकारी । विचारधारा फरक भएर पनि दुवैको उद्देश्य एउटै छ — समाजमा एउटा पनि दु:खी र दरिद्र नराख्नु । तर एउटाको विचारमा साध्य राम्रो हुनुपर्छ साधन चाहे जस्तासुकै होस् र दोस्राका विचारमा साधन पनि साध्यजस्तै पवित्र हुनुपर्छ ।
यी दुवै महापुरुष पनि विचारस्वतन्त्रताकै उपज हुन् । यिनीहरूभन्दा पहिलेको जमाना, यिनीहरूको नेतृत्व र यिनीहरूलाई अभिभावन गर्ने यिनका नेता, अभिभावक एवं गुरुहरूले यिनीहरूलाई कुनै पनि यस्तो अवसर दिएका थिएनन् तापनि परिस्थितिको अध्ययन गरी यिनीहरू स्वतन्त्रतामा निकै विचरण गरेर राम्रा विचारक, क्रान्तिकारी र अजेय योद्धा बनी संसारकै सबल स्तम्भ बने । ‘उपदेश वा बाबावाक्य’ मा नै नतमस्तक भएर रहेका भए संसारमा यी महापुरुषहरूको जन्म पनि सम्भव थिएन ।
माक्र्सवादीहरूमा स्टालिन
तर माक्र्सवादी अर्थात् माक्र्सका हिमायतीहरूमा अधिकांशत: के विचार पाइन्छ भने माक्र्सवाद नै सबैभन्दा सुन्दर वाद हो, यो पहिले पनि वस्तुपरक(ठीक) थियो र हरहमेसा वस्तुपरक(ठीक) हुनेछ; अब योभन्दा राम्रो कुनै विचार हुनै सक्दैन । त्यसैले हामीले अर्को दोस्रो विचारबारे सोच्नु आवश्यक छैन । बस, यसै धारणाको आधारमा माक्र्सवादका सत्ताधारी तथा शक्तिशाली नेता, गुरु, लेखक आदिले आआफ्नो पकड भएको क्षेत्रमा मानिसहरूलाई शिक्षादीक्षा, उपदेश दिन थाले एवं कुनै पनि व्यक्ति मतिभ्रम भएर अरू नै कुनै विचारमा नफसोस् तथा फेरि अरू कुनै विचार उत्पन्न गर्न नसकोस् भन्ने सोच लिई मान्छेको दिमागमा ताल्चा लगाउन थाले । मान्छेको मस्तिष्कमा दोस्रो प्रकारका विचारको प्रेरणा पनि उत्पन्न नहोस् भनेर उपाय पनि सोच्न थाले । त्यसका निम्ति उनीहरूले आफ्नो प्रभावमा नपर्ने खालका दोस्रो विचार राख्ने संसार र त्यस्ता विभिन्न चिन्तकहरूसित आफ्नो पकडमा भएका जनताको संसर्ग–सम्पर्क गराउन र तिनीहरूसँग बौद्धिक आदान–प्रदान तथा आवागमन गर्न–गराउन पनि बन्द गरिदिए । कतिसम्म कोसिस हुन थाल्यो भने आफ्ना वाद र विचार सकेसम्म बाहिर जाऊन् तर भूलवश पनि अरूका विचार भित्र नआऊन् । रूसका सर्वेसर्वा मार्सल स्टालिन यस्तो विचार राख्ने खालका चोटिका व्यक्ति थिए । आफ्नो जीवनभरि उनले आफ्ना जनतालाई सदा ‘भ्याकुमप्याक’ र ‘एयरटाइट’ बनाएर राखेका थिए । आफ्नो मुलुकमा मात्र होइन, आफ्नो प्रभावमा आएका अन्य देशहरूका जनतालाई पनि त्यहाँका नायकहरूद्वारा यस्तै हालतमा राख्ने प्रयास उनले गरेका थिए ।
उदारताको सुरुवात : निकिता ख्रुस्चेव
तर मान्छेले खानु, पिउनु र मोज गर्नुलाई मात्र जिन्दगी ठान्दैन, तीबाहेक अरू पनि कैयन् चीज छन् जुन जिन्दगीलाई धेरै प्रिय छन् । मानिस सबैभन्दा बढी स्वतन्त्रता चाहन्छ । ऊ सोच्ने स्वतन्त्रता चाहन्छ, बोल्ने छूट चाहन्छ, स्वच्छन्द घुमफिर गर्ने, हेर्ने, सुन्ने आदि कुरा गर्न मन पराउँछ । ऊ कुनै पनि किसिमको बन्धनमा रहेर मुक्ति गुमाउन चाहन्न । तर मान्छेलाई स्वभावत: मन पर्ने यी सबै कुरा अनेक माक्र्सवादी मुलुकमा मान्छेलाई दुर्लभ छन् । यसले गर्दा ती ठाउँहरूमा उनीहरू खानेपिउने र मोज गर्ने सहजप्राप्त साधनबाट असन्तुष्ट हुन थाले । फलस्वरूप कठोर प्रतिबन्धभित्र पनि स्वतन्त्रताको आवाज उठ्न थाल्यो । हङ्गेरी, पोल्यान्डद्द आदि देशहरूमा यसका निम्ति विस्फोट हुन थाल्यो । कतिसम्म भने रूसमा पनि बिस्तारैबिस्तारै झिनो आवाज गुन्जिन थाल्यो । एकदलीय शासनको अन्त्यको माग गर्दै २३ नोभेम्बर १९५६ का दिन रूसमा छात्रहरूले एक विशाल प्रदर्शनसमेत गरे ।घ मानिसहरूको स्वाभाविक चाहना र अन्य संसारको आलोचनालाई ध्यानमा राख्दै अहिलेको रूसका सर्वेसर्वा निकिता ख्रुस्चेवले पार्टीनीतिमा केही फेरबदल गरे । उनले स्वतन्त्रतामाथि चर्को जोरजुलुम गर्नु उचित ठानेनन्; जबर्जस्ती गरियो भने असल पनि खराब हुन्छ भन्ने अनुभूति गरे । त्यसपछि ससाना प्रतिबन्धहरू हटाएर केही स्वतन्त्रताको बहाली गरे भने अरू संसारका साथ मिलनसार हुने नीति पनि अँगाल्न थाले । अनि त रूसमा कालीदासको जयन्ती पनि मनाउन थालियो र तुलसीदासको रामायण पनि बिक्न थाल्यो भने गिर्जाघरमा दीप जल्न थाल्यो । कहाँसम्म भने राजामहाराजाहरूलाई बोलाएर ‘गार्ड–अफनर’ को तालमा लालसलामी दिई स्वागत समेत गर्न थालियो ।
भारतका साम्यवादी मानिसहरूमा पनि अब अलिकति स्वतन्त्र विचार स्फुरण हुन थाल्यो, नत्र त उनीहरू सदैव मास्कोका कुराहरूलाई ‘बाबावाक्य जनार्दनम्’ ठान्दथे । अब मास्कोमा पानी पर्दा भारतमा छाता ओढ्ने काम गर्न छाड्न थाले । भारतीय साम्यवादी दलका महामन्त्री श्री अजय घोषले श्री जयप्रकाश नारायणको नाममा लेखिएको एक पत्रमा केसम्म स्वीकार गरे भने— “भारतीय साम्यवादीले अहिलेसम्म मास्कोका प्रत्येक वस्तुलाई आदर्श मानिरहे; यो तिनको भूल थियो ।”द्ध
वर्गसङ्घर्ष, आर्थिक क्रान्ति आदि कतिपय साधन र सिद्धान्तहरूका कारण साम्यवादी देशहरूमा अकथनीय प्रगति भएको छ । यो कुरा कसैलाई पनि अमान्य छैन । अब स्वतन्त्रताको सम्मान भएर साम्यवादको जन्मभूमि रूसमा पनि लोकतन्त्रको उषाकिरण देखिँदै छ किनभने त्यहाँ एकदुईमा स्वतन्त्र विचार प्रकट हुँदा पनि र मतभेद हुँदा पनि आजका सर्वशक्तिमान् महाप्रभु ख्रुस्चेवले मोलतोव, मालन्कोवछ आदि प्रतिपक्षीहरूलाई मृत्युलोक पठाएनन् । सानातिना कारखाना, स्कुल आदिमा पनि म्यानेजर, अध्यापक आदि पदहरू दिएर अहिलेसम्म जिउँदै सास फेर्न दिइराखिएको छ । मोलतोवलाई त बाहिरी मङ्गोलियाको राजदूतसमेत दिइराखिएको छ । मृत्युको घाटमा उतार्नुको सट्टा तिनीहरूलाई यो सुविधा दिनु के उदारता होइन ? के यो उदाहरण रूसका लागि स्वतन्त्रता तथा जनतन्त्रको सङ्केत होइन ? सुत्नका लागि ओछ्यानमा जाने समयमा हिजो साँझसम्म प्रशंसाको पुलमा खडा भएको महान् व्यक्तिले बिहान जागेर राम्ररी आँखा मिच्न पनि पाएन । आज मार्सल जुकोभले आपूmलाई अपराधीका रूपमा पायो । फेरि पनि ऊ खुसी नै छ । सायद ऊ आपूm बाँचुन्जेल आफ्नो कब्र खन्नु नपरेकाले खुसी होला । उसले आपूmलाई कति धेरै नाफामा पायो भने ‘हो हजुर, मेरो गल्ती थियो’ भन्नमा समेत घाटा सम्झेन । उसलाई पनि सायद उपग्रहमा बसेर अन्तरिक्षमा भ्रमण गरी फर्कने सफल कुकुर, बाँदर आदिको रक्षा गर्नेवाला आदि कुनै पद मिल्न सक्दछ । तब पनि ऊ सायद जीवन–अवसरको सम्मान सम्झेर खुसी नै हुन्छ होला । आउँदो पुस्तामा सायद यस प्रकारको आज्ञाकारी नभएर आफ्नै इच्छा र परामर्शमा डटिरहनका लागि छूट पनि मिल्न सक्छ होला !
म सम्झन्छु, साम्यवादीहरूको वर्गसङ्घर्ष, आर्थिक क्रान्ति आदि नीति–रीति तथा साधन सबै बितेका स्थितिका लागि ‘आपत्धर्म’ मात्र हुन् । सामान्य स्थिति आइपुग्दा पनि ‘आपत्धर्म’लाई ‘परम’ मानेर चलिरहने छैनन्, पछि गएर स्वतन्त्रताको पूजा गर्ने नै छन् । त्यस्तै तानाशाहीलाई राखिरहने पनि छैनन् । त्यतिबेला साम्यवादी देश विशेषत: रूसलाई अन्य कुनै पनि देशले पछि पार्न सक्नेछैन । आज पनि रूस कोहीभन्दा पछाडि छैन । विचारस्वतन्त्रताको जगमा जनतन्त्रको महल पनि खडा हुन थाल्नेछ त्यस बेला संसारमा रूस सबैभन्दा अगाडि नै रहनेछ एवं अरूलाई पनि अझै अगाडि लग्नेछ । यदि “जो हाम्रो हो र जसको अनुसरणमा हामी चल्दै छौँ त्यही ठीक हो, त्यसैलाई सदाका निम्ति बनाइराख्नेछौँ” भनेर वा यस्तै सम्झेर जिद्दी गरिरह्यो र मान्छेको स्वतन्त्रता कुल्चेर उसको दिमागमा सदा आजकै जस्तो ताल्चा लगाइरह्यो भने रूसको प्रगति चाँडै नै पतनमा परिवर्तित हुने सम्भावना छ किनभने मानिस हरहमेसा केही न केही सोचिरहन्छ र विद्यमान् सुख एवं वर्तमान स्थितिबाट अगाडि बढ्नका लागि उत्सुक भइरहन्छ । उसका लागि सुखको चरम स्थिति मुक्ति एकमात्र स्वतन्त्रता नै हुन जान्छ । स्वतन्त्रताबाट वञ्चित भएर प्रतिबन्धनको घेरामा रहन ऊ सक्दैन । तब ऊ विद्रोह गर्न थाल्नेछ । यसका लागि चाहे उसले जस्तोसुकै मूल्य चुकाउनु किन नपरोस् ऊ तयार हुनेछ किनभने एउटै रीति, एउटै नीति र एउटै साधन तथा एउटै सिद्धान्त हरयुग तथा हर स्थितिमा उचित नै हुन्छ भन्ने कुरा कहिल्यै सही हुन सक्दैन । युग र स्थितिअनुसारको भइरहनुपर्नेछ । यो ध्रुवसत्य हो । त्यसैले स्वतन्त्रता नै अन्तत: जीवनका लागि सबैभन्दा ठूलो कुरा हो । स्वतन्त्रता र स्वाधीन विचारबाट नै मानवजाति अगाडि बढ्न सक्नेछ ।
म सम्झन्छु संसारको कुनै पनि भागमा कहिल्यै पनि यस्तो उन्नति तथा प्रगति भएको छैन जहाँ केही हुन बाँकी नहोस् । यस्तो हुन पनि सक्दैन किनभने मान्छेको चाहना, उसको आवश्यकताको स्तर, स्थिति, वातावरण र गतिविधि इत्यादि सदा एकैनासका हुँदैनन्, बदलिइरहन्छन् । सबैभन्दा ठूलो कुरा सत्य वा वास्तविकताचाहिँ यस्तो सूक्ष्ममा लुकेर बसेको हुन्छ जुन मान्छेलाई मिलेर पनि उसको हातमा पर्दैन । अर्थात् त्यसलाई प्राप्त भएको विश्वास हुँदाहुँदै पनि त्यसको खोज, अन्वेषण र अनुसन्धान जारी नै रहन्छ । गतिचक्र र मान्छेको अनुभूति तथा ज्ञानचक्रका अनुसार उसको आजको विश्वास भोलि सन्देहमा बदलिन्छ । सत्य र वास्तविकतालाई समात्नका लागि मान्छे अगाडि बढ्दै जान्छ । त्यसैले खोज, अन्वेषण र अनुसन्धान मान्छेका सामु सदैव विद्यमान् रहन्छन् । यही नै दर्शन हो । यसै दर्शनका आधारमा वास्तविक सुख पाउनका लागि मानिस उत्सुक भइरहन्छ । यसैको तृप्ति मान्छेको मोह हो । तर एउटाको आधार र विश्वास अर्कालाई पनि मान्य हुनै पर्छ भन्ने कुरा हुनै सक्दैन, यही नै उन्नतिको लक्षण हो । त्यसैले खोज, अन्वेषण वा अनुसन्धान मानिसमा जारी नै रहनेछ र यही खोज मानवजगत्लाई अगाडि बढाउने तŒव हुनेछ । मोहर लगाएको सुख र सत्य चाहे भौतिक होस्, चाहे आध्यात्मिक; चाहे सुयोग्य प्रबन्धकद्वारा व्यवस्थित होस्, चाहे आफ्नै धुरन्धर दार्शनिक बाबुद्वारा दर्शित होस्, त्यसबाट मानिस सदैव तृप्त र सन्तुष्ट कहिल्यै हुन सक्दैन । मनुष्यलाई वास्तविकताको भोक लागि नै रहन्छ । तृप्ति तथा सन्तुष्टिका लागि उसले खोज गरी नै रहनेछ । त्यसैले स्वतन्त्रताको हनन र खोजमाथिको प्रतिबन्धलाई मान्छेले कहिल्यै सहन सक्दैन ।
हज्जार खराब कुरा हुँदाहुँदै पनि हिन्दू संस्कृति, जाति र देशमा एउटा राम्रो कुरा छ । त्यो हो वैचारिक स्वतन्त्रताको सम्मान आदिकालदेखि आजसम्म पनि वैचारिक स्वतन्त्रताको सम्मान गरिएकै छ । यहाँ कहिल्यै पनि वैचारिक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको छैन । कतिसम्म भने आफ्नो खास सिद्धान्त, आफ्नो सर्वोपरि महान् ग्रन्थ वेदमाथि नै विरोध र निन्दा प्रकट गरिएको पाइन्छ । नत्र भने भारतमा चार्वाक, महावीर, बुद्ध र मीमांसक आदि नास्तिक मत या नास्तिक व्यक्तिको जन्म पनि हुँदैनथ्यो र ती मतहरू विकसित पनि हुन सक्दैनथे । यद्यपि विरोधी मत र व्यक्तिमाथि प्रशस्तै घृणा र तिरस्कार गर्ने गरिन्छ तथापि भारतमा वैचारिक स्वतन्त्रतालाई खुला स्थान दिइएको छ । कुनै पनि अधिकारी वा नेताले आजसम्म यसमाथि प्रतिबन्ध लगाएको छैन । यो नै भारतको राम्रो कुरो हो र यो भारतको उज्ज्वल भविष्यको सङ्केत पनि हो ।