२००५ असोज १४ मा रिडीबजार, गुल्मीमा जन्मेकी भागिरथी श्रेष्ठ कथाकारका रुपमा विशिष्ट पहिचान देखाउन सफल कथाकार हुन् । यिनले सरकारी नोकरी गर्नुका सााथै प्राध्यापन सेवा पनि पुर्याएको देखिन्छ । वि.सं. २०२३ मा नै ‘रुरु’ पत्रिकामा ‘प्रबल इच्छा’ कथा छपाएर देखापरेका यिनी कथा क्षेत्रमा स्थापित कथाकार हुन् । यिनी उपन्यास पनि लेख्छिन् । प्रकाशित उपन्यासमा मालती २०३४ सालमा प्रकाशन भएको देखिन्छ । कथा नै यिनको साहित्यिक मुहार हो । यिनका प्रकाशित कथासङ्ग्रहहरुमा क्रमश: (२०४२), मोहदंश (२०४४), यस्तो एउटा आकाश (२०४६), रङ्गीन पोखरी(२०५०), विभ्रम (२०५०), भूमिगत (२०६३), रातो गुलाफ (२०६५) आदि छन् ।‘रुरु’, ‘मिर्मिरे’, ‘पाल्पा दर्पण’, ‘कस्तुरी’, ‘अग्निपर्व’ (अनुवाद) आदि पत्रपत्रिका सम्पादन र अनुवाद गरेर पनि आफूलाई चिनाएकी भागिरथीले आफूलाई विशेषतया कथाकारका रुपमा चिनाउन सफल छन् । ‘मैनाली कथा पुरस्कार’, ‘रत्नश्री स्वर्ण पदक’, ‘प्रतिभा पुरस्कार’, ‘नूरगङ्गा साहित्य पुरस्कार’, ‘दायित्व वाङ्मय पुरस्कार’ आदिका साथै पाल्पा वाङ्मय प्रतिष्ठान, पाल्पाबाट पनि यिनी सम्मानित भइसकेको देखिन्छ । २०४४ मा भएको टेलिफिल्म प्रतियोगितामा सर्वोत्तम कथाकारका रुपमा यिनी पुरस्कृत भएको देखिन्छ । यिनी कथामा जीवन्त छन् । कथामा समसामयिकता व्यक्त गर्न सिपालु कथाकार भएकै कारणले यिनका सबैजसो कथाहरु यथार्थवादकै धरातलमा सिंचन भएको कथावस्तुहरु हुने गर्छन् । यिनले आफ्नो धेरैजसो कथा र उपन्यासमा नारी हृदयका कोमलतम मानवीय भावनालाई अनुभूतिका रुपमा पोख्न सफल छन् ।
तपाईंको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
२०२२ सालमा एस.एल.सी. गरेपछि कलेजमा पढ्न पाइएन । अगाडि पढ्ने अत्यन्तै इच्छा थियो । छोरीको जातलाई बाहिर पढ्न एक्लै पठाउनु हुँदैन भनेर बाबु–आमा, दाजुभाइले जान दिएनन् । एक वर्षसम्म पढ्नको लागि सङ्घर्ष गरेँ – रोएर, कराएर, नखाएर, घुर्की लगाएर । यस्तो स्थितिमा मभित्र छोरी भएर जन्मनुको पीडाले सतायो । छोरी शब्दप्रति घृणा लाग्यो । यस्तै अनुभूति र पीडाले मैले पहिलोपल्ट कविता लेखेँ । साहित्यप्रति चाहना बढ्यो । एक वर्षपछि काठमाडौंमा छात्रावास खुलेपछि पढ्न आउन पाएँ । पद्मकन्या कलेजमा पढ्न आउन थालेँ ।
साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
पछि मेरो भावना, चिन्तन र सोचाईहरु फराकिला हुँदै गए । यसमा उत्साह दिने मेरा आमाबाबु, मोदनाथ प्रश्रित र बिहेपछि मेरो श्रीमान् हुनुहुन्छ ।
साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईं यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
सुरुमा मैले कविता, गीत, नाटक र कथा लेखेँ र पछि उपन्यास पनि लेखेँ । मेरो साहित्य लेखन खास विधामा सीमित भएन । २०३० सालदेखि पूर्र्ण रुपले मैले कथा विधालाई समातेँ, समर्पित भएँ । सङ्ग्रहहरु निस्किए तर मलाई अझसम्म सन्तुष्टि मिलेको छैन । अझै पनि मैले पाठकहरुलाई उत्कृष्ट कथाहरु दिन सकेकी छैन भन्ने बोधले पीडा भइरहन्छ ।
नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसारिता सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
यस सम्बन्धमा मेरो धारणा सकारात्मक नै छ । महिला साहित्यकारहरु पुरुष साहित्यकारहरुको तुलनामा संख्यात्मक रुपमा आउन नसके पनि स्तरको आधारमा भने आई नै रहेछन् । नारी लेखिका हुनु हाम्रो जस्तो समाजमा त्यति सजिलो छैन । तैपनि वर्तमानमा नारी लेखिकाहरुको भूमिका निकै अगाडि आइरहेको छ ।
“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
“साहित्यकारहरू आ–आफ्नो विचार वा दृष्टिकोण कलात्मक तरिकाले उद्घाटन गर्ने माध्यम साहित्यलाई बनाउँछन् । वास्तवमा साहित्यमा मुख्य कुरो सिद्धान्त र दृष्टिकोण हुन्छ र त्यसलाई मार्मिकरूपमा जनसमक्ष पुर्याउन र उनीहरूलाई हृदयङ्गम गराउन कलात्मक सौन्दर्यकासाथ प्रस्तुत गरिन्छ ।” यस भनार्इंप्रति तपाईंको के धारणा छ ?
यो भनाई धेरै हदसम्म ठीक छ – वास्तवमा साहित्य भन्नाले सौन्दर्य चेतनाको उद्बोधन हो । जुनसुकै सिर्जनामा पनि निश्चित दृष्टिकोण र मार्मिक अभिव्यक्ति हुनु नै मुख्य कुरा हुन् । प्रस्तुत सन्दर्भमा तपाईको प्रश्नको उत्तर सकारात्मक रुपमा लिन सकिन्छ ।
तपाईंलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
मलाई मनपर्ने स्वदेशी लेखकहरुमध्ये उपन्यासकारहरुमा विजय मल्ल, धु्रबचन्द्र गौतम, दौलतविक्रम विष्ट, पारिजात, वीपी कोइराला कथाकारहरुमा प्रेमा शाह, मनु ब्राजाकी, परशु प्रधान, राजव, गोठाले, वीपी कोइराला, ओममणि शर्मा आदि हुन् । कविहरुमा विष्णुविभु घिमिरे, मञ्जुल, जीवन आचार्य, हेमन्त श्रेष्ठ, कृष्णभूषण बल । विदेशी उपन्यासकारहरुमा कामु, उषा प्रियम्वरम, मन्नु भण्डारी, अमृता प्रितम, निर्मल वर्मा, मोहन राकेश ।
हालका विभिन्न साहित्यिक प्रतिष्ठानको साहित्यिक गतिविधि र साहित्यिक धारा सम्बन्धमा तपाईं कस्तो धारणा राख्नुहुन्छ ?
साहित्यिक प्रतिष्ठानहरुले समय समयमा देखाएको उत्साह र क्रियाकलापले साहित्यकारहरुलाई कुनै न कुनै प्रेरणा दिँदै आएको मैले पाएको छु । जहाँसम्म साहित्यिक धाराको कुरा छ समसामयिक नेपाली साहित्यमा नयाँ नयाँ प्रयोग र नयाँ नयाँ बान्कीका साहित्य सिर्जना हँुदै आएको छ । निरन्तर सिर्जनाको वर्तमान अवस्थालाई हेर्दा नेपाली साहित्यको भविष्य उर्वर र उज्ज्वल मान्न सकिन्छ ।
तपाईंलाई सधैं सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानिकन उल्लेख गरिदिनुहोस् ?
पाल्पा तानसेनबाट पत्रिकाहरु निस्कन्थे । त्यस पत्रिकाहरुमा जसमा कहिल्यै मेरा कविता छापिन्थ्यो, कहिले कथा, कहिले निबन्ध । तर तानसेनका मान्छेहरुले तानसेनकै अर्काे भागिरथीले लेखेकी हुन् भन्ने ठानेका रहेछन् । पछि मात्र म हुँ भन्ने थाहा पाए । काठमाडौं आएर यहाँ पनि एकजना मेरै नाम गरेकी स्वास्नीमान्छे अर्थ मन्त्रालयमा अफिसर पदमा रहिछिन् । विभिन्न पत्रिकामा मेरा कथा, कविताहरु निस्कन्थे । उनलाई चिने जतिले उनैलाई बधाई दिँदारहेछन् । रत्नश्री पदक पाउँदा पनि बधाई त उनले नै पाइन् । पछि मेरो नामको भागिरथीसँग भेटघाट भयो, परिचय भयो, यस विषयमा कुराकानी भयो । खास घटना यही हो ।
तपाईंको पहिलो प्रकाशित रचना कुन हो र तपाईंका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मनपर्ने कुन रचना हो ?
मेरो पहिलो प्रकाशित रचना प्रजल हो । मैले जन्माएका छोराछोरीहरुप्रति बराबर अथवा समान किसिमले माया लागेजस्तै मलाई पनि मेरा रचनाहरु त्यसरी नै माया लाग्नु स्वाभाविक नै हुन्छ । तैपनि बढी मात्रामा मातृत्व, मोहदंश कथाहरु सफल भएको सम्झन्छु ।
यस बाहेक तपाईंको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्यलाई अहिलेसम्म अनुत्पादक धर्तीको रुपमा समाजमा लिइँदै आएको छ । यसलाई कमसेकम उत्पादनशील राष्ट्रको ऊर्जाको रुपमा सम्बन्धित क्षेत्रले सोचे मलाई खुशी लाग्थ्यो ।
(जनमत, पूर्णाङ्क ३, चैत्र २०४५)