पश्चिम नेपालको रुकुम जिल्लाको दुर्गम गाउँ लुकुम तथा वरपरिका गाउँहरूमा बिहान नास्ता भनेर पाहुनालार्ई स्वागत गर्ने कुरा हो, रक्सी । गाउँलेहरू पनि नास्ता भनेर त्यही सुख्खा रक्सी खान्छन् । खाम मगरहरूको बाहुल्य रहेको यस क्षेत्रमा खाइने त्यो रक्सी पातलो (कम लाग्ने) त हुन्छ तर दिनमा पटक पटक त्यही खाइरहँदा साँझ सम्ममा नशा लागि सक्छ । गाउँमा जे पर्दा पनि झाँक्री लगाउने गरिन्छ र समाजमा तिनीहरूको उच्चसम्मान हुन्छ । विभिन्न मन्त्र पढ्दै र ढ्वाड्ग्रो ठटाउँदै उनीहरू तालमा ताल मिलाउँदै बडो कलात्मक पाराले नाच्छन् । नाच्नुभन्दा अघि र पछिको वातावरण हेर्ने हो भने लाग्छ, जाँड र रक्सी (मदिरा) नहुदो हो त गाउँमा झाँक्री प्रथा नै हुन्न कि । मदिराको प्रयोगलाई बडो महत्वका साथ लिइने यो प्रचलन साना बालकालिकाहरूले सानै उमेरदेखि देखिरहेका हुन्छन् र उनीहरूले समाजबाट बुझ्ने भएदेखि नै सहज रूपमा सिकिरहेका हुन्छन् ।
लुकुम गाउँ मात्रै होइन, त्यसभन्दा बाहेक अन्य गाउँ ठाउँमा पनि मदिराको प्रचलन उत्तिकै पाइन्छन् । मगर समुदायको मात्रै पनि कुरा होइन, त्यसका छिमेकी जातजातिहरूमा पनि यस्तै छ । पूर्वी नेपालमा बाहुल्य भएका राई समाजमा कसैकसैमा त मान्छे मर्दा उसको शरीरमा एक बोतल रक्सी राखेर मात्रै शव यात्रा गरिन्छ । मरेर गए पनि उनले रक्सी खान पाऊन् भनेर यसरी शवसँगै रक्सीको बोतल राखेर पठाउने चलन रहेको बताइन्छ । जाँडको प्रचलन पनि उत्तिकै देखिन्छ । सामाजिक जनजीवनमा मदिराकोे यो अत्यधिक प्रचलनलार्ई संस्कृतिसँग जोडेर व्याख्या गर्ने गरेको पाइन्छ ।
नेपाली समाजलाई तागाधारी र मतवाली भनी दुई वर्गमा विभाजित छ । मदिरा पटक्कै नचल्ने र सात्विक हुनेहरू तागाधारी र मदिरा खानेहरू मतवालीका रूपमा चिनाइन्छ । आफ्नो त जातैले दिएको भनी दिनदहाडै र विहानैदेखि पनि मदिरा खाएर हिडेको देख्न पाइन्छ । अरु त अरु, अचेल कतिपय तागाधारी भनाउँदाहरू नै पनि मतवालीहरूलार्ई माथ गर्ने चरणमा पुगिसकेका छन् र यसैबाट नेपाली समाज मदिरामा कति चुर्लुम्मै डुबिसकेको छ भन्ने अनुमान हुन्छ ।
मदिरा सेवनलार्ई संस्कृतिसँग जोडेर व्याख्या वा तर्क गर्ने गरिएको पाइन्छ । यस सन्दर्भमा नेवार समुदायलार्ई उदारणको रूपमा लिन सकिन्छ । एक पल्ट मदिराको प्रयोगमा कडाइ गर्ने सम्बन्धी समाचारको विरोध गर्दै लब्धप्रतिष्ठित नेवार उद्योगपतिहरूले प्रतिक्रिया दिएका थिए– रक्सी भएन भने त हाम्रो संस्कृति नै रहन्न । हाम्रो संस्कृति नै नरहेपछि नेपाली संस्कृति भनेर के देखाउने ?’ उक्त भनाइ पत्रिकामा बडो महत्व दिएर प्रकाशित गरिएको थियो तर तिनीहरू आफ्नो क्षेत्रमा लब्धप्रतिष्ठित भएपनि नेपाली समाज र संस्कृतिका सम्बन्धमा आधिकारिक ज्ञाता होइनन् भन्ने आधार स्वयं उनीहरूको अभिव्यक्ति हनु् । उनीहरूले आफ्नो जातीय समुदायको संस्कृति मात्रै नेपाली संस्कृति भनेर बुझेछन् र अर्को आफ्नो संस्कृति र रक्सीलार्ई एक अर्काको पूरकको रूपमा लिएछन् जुन सरासर गलत हो ।
नेवार समाजमा केही शुभ कर्म गरिँदा वा राम्रो होस् भनी सगुन दिने चलन छ । उसिनेको अण्डा र माछाका साथै रक्सी अर्पण गर्नु नै सगुन दिनु हो । बच्चाको अन्न प्रासन्नको बेलादेखि नै सगुन दिने गरिन्छ र सगुनमा रक्सी अनिवार्य मानिन्छ । यस कारणले पनि नेवार समाजमा रक्सी भन्ने कुरा अभिन्न नै हो कि भन्ने भ्रम पर्न जाने हुन्छ । यसरी नै देवी देवताको पूजापछि प्रसाद भनी समेबजि खाइन्छ । समेबजिका साथमा अय्लाः (रक्सी) खाने गरिन्छ । अरु त अरु, देवी देवताको पूजा गर्ने बेलामा मान्छेलार्ई जस्तै मूर्तिमा रक्सी चढाउने गरिन्छ अर्थात देवतालार्ई पनि रक्सी खुवाउने । भैरव लगायतका केही देवताको हातमा एउटा पात्र समाउन लगाइएको हुन्छ र त्यो पात्रमा जाँड रक्सी रहेको मानिन्छ । कुनै कुनै मूर्तिको पात्र अलग्गै हुन्छ र पूजा गर्नेहरू त्यसमा जाँड रक्सीले भरिदिने गर्दछन् । देवतासँग रक्सीलाई यति विधि सम्बन्धित गरेपछि आफूहरूले देवाताको प्रसादको रूपमा रक्सी पिएको तर्क गर्छन् जुन तार्किक नभएर बहाना हो । धार्मिक अवसरबाहेक अन्य अवसरमा पनि जाँड रक्सी खाइन्छ र यति बेला गरिने मदिरा पानलार्ई समाजिक प्रतिष्ठाको रूपमा लिइन्छ । मदिरालार्ई समाजिक प्रतिष्ठाका रूपमा वा धार्मिक कृत्यका रूपमा देखाउँनु वास्तवमा एउटा बहाना मात्रै रहेको भनी बुझ्न अन्यत्र जानु पर्दैन, सोही समाजमा प्रचलित सामाजिक मूल्य मान्यतालार्ई पर्गेल्दा थाहा हुन्छ ।
नेवार समाजमा प्रचलित बज्रयानी बौद्ध धर्मअनुसार तान्त्रिक पूजा पाठ वा साधना गरिन्छ । तान्त्रिक साधना गर्दा पंचमकारको आवश्यकता हुने बताइन्छ र ती पाँच वटा मकारमा एउटा मद्य (मदिरा) हो । तन्त्रका कुराहरू रहस्यपूर्ण भएको र त्यसका लागि मदिराको आवश्यकता आफूहरूको बुझाइभन्दा परको विषयवस्तु भनी स्वीकृति दिने प्रचलन व्यापक छ । बौद्धहरूले दैनिक पालना गर्नुपर्न पंचशीलमा एक शील जाँडरक्सी नखाने पनि हो । तन्त्रका नाममा मदिराको प्रयोगले शील भंग भएको र बौद्ध समाजमा विकृति आएको भनी स्वयं बौद्धहरूले नै पनि आलोचना गर्ने गरेको पाइन्छ । वास्तवमा तान्त्रिक परिपाटीमा पंचमकारले अर्कै अर्थ बोक्दथ्यो तर पछि आफू अनुकूल व्याख्या गर्ने क्रममा मदिरालार्ई पनि समावेश गरियो । नेपालको सन्दर्भमा बौद्धहरूको साधनामा मद्य र मांशको प्रयोगमा शासकहरूले नै प्रोत्साहन गरेको पाइन्छ । शासक वर्गले धर्म संस्कृति बौद्धहरूमाथि लाड्ने क्रममा यस्तो गरेको हो । अहिले जीवहत्या, जाँडरक्सीको प्रयोग मौलिक जस्तै स्थापित हुन पुगेको छ जब कि सद्धर्मपुण्डरिक सूत्र लगायतका ग्रन्थहरूमा यी कुराहरू त्याज्य भनी स्पष्ट उल्लेख पाइन्छ ।
नेवार समाजमा नै प्रचलित अर्को धार्मिक सम्प्रदाय हो– शैव । शाक्त सम्प्रदाय पनि त्यही मात्रामा प्रचलित छ । मुख्यत हिन्दूअन्तर्गत रहेका शैव र शाक्तमा पनि तन्त्र साधनाको कुरा पाइन्छ र पूर्ववत् मदिराको प्रयोग हुने गर्दछ । संस्कृतिका नाममा इन्द्रजात्रालगायत अन्य पर्वमा राज्यले नै मदिराको प्रयोग प्रसादको रुपमा छेलोखेलो गर्ने गर्दछ, जसले राज्य आफ्नै संस्कृति मात्रै नबुझ्ने भनेर त स्पष्ट नै भयो साथसाथै जनताको स्वास्थ्यमा पनि सम्वेदनशील छैन भन्ने कुरा देखाउँछ ।
बज्रयानी बौद्ध, शैव र शाक्त धर्मवलम्बीहरूको बाहुल्यता भएको नेवार समाजमा झट्ट हेर्दा मदिरा बिना केही नहुनेजस्तो देखिन्छ तर त्यस्तो होइन । सगुनमा रक्सी हुनै पर्छ भन्ने छैन । कथंकदाचित रक्सीसहित सगुन दिइयो भने अनामिका औलाले रक्सीलार्ई तीन पल्ट छर्किदिंदा पनि स्वयं मान्छेले खाएको सरह मानिन्छ । यसरी नै ‘समेबजि’ खाने बेलामा पनि रक्सी खानै पर्छ भन्ने छैन । यसबाट बुझिन्छ, यी क्रियाकलापमा रक्सी अनिवार्य रहेनछ, ऐच्छिक हो । कुनै बेला दर्शैमा बली अनिवार्य रूपमा दिनु पर्ने सोचाइ थियो तर अचेल पशु बली क्रमशः हट्दै गइरहे पनि दशैं नै रोकिएको त छैन । यसै गरी नेवार समाजमा बिना रक्सीका साँस्कृतिक क्रियाकलापहरू पनि बढ्दै छन् ।
मदिरा चढ्ने र नचढ्ने भनी देवताहरू पनि दुई वर्गमा विभाजित छन् । धरानको बूढासुब्वा पहिले चुरोट खान्थे होलान् र पछि उनलार्ई देवताका रूपमा पुजिंदा हाल अन्य कुराजस्तै चुरोट पनि चढाउने गरियो । मदिराको प्रचलन पनि त्यस्तै हुन सक्छ । रक्सी चढ्ने र नचढ्ने पनि समुदाय विशेषमा भर पर्दो रहेछ भन्ने कुराको दृष्टान्त नेवार समाजमा नै देख्न पाइन्छ । भैरव त मदिरा नभइ नहुने भयो तर महादेव र गणेशलार्ई कसैले रगत तथा मदिरा नचढ्ने देवताका रूपमा लिन्छन् भने कसैले न चढ्ने देवताका रूपमा लिन्छन् । यसबाट बुझिन्छ, रक्सीको प्रयोग बहाना मात्रै हो, अनिवार्य होइन ।
समाजमा मदिरालाई संस्कृतिसँग सम्वन्धित गरेर व्याख्या गरिए पनि व्यवहारमा संस्कृति गौण र मदिराको प्रचलन बढी भएको देखिन्छ । संस्कृतिको आडमा मदिराले समाजमा बालबालिकालाई सानैदेखि नै प्रभाव पार्ने गर्दछ । जन्मेको केही महिनादेखि नै रक्सीसँग संगत भएका नेपाली राजनीतिका एक व्यक्तित्व निर्मल लामाको अन्त्यको प्रमुख कारण अत्यधिक रक्सीको सेवन नै थियो र उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । ठूलो उमेरकाहरू मात्रै होइनन, बालबालिका रक्सीको कुलतमा फस्नु भनेको धेरै कुराको अन्त्य हुनु हो, जुन नेपालमा सामान्य मानिनु समाज अधोगति तर्फ लागेको संकेत हो ।