आधुनिकताबारे मेरा धारणा
मैले नेपाली कवितामा आधुनिकता के हो भन्ने विषयमा आफ्ना धारणाहरु राखेर लेखेको आधी शताब्दीभन्दा बढी भएछ । साहित्यको अमूक धारा र धारणालाई लिएर यति लामो समयसम्म एउटै धारणा पो दोहोराइरहेको छु कि भनेर मैले भर्खरै आफ्ना पूर्व लेख समालोचनाहरु फेरि पढें । शोध गर्ने विद्यार्थीहरुले पनि यो प्रश्न सोधेको अवस्था थियो । मलाई यो विषयमा अध्ययन गरेर केही लेख्ने इच्छा भएको निकै महिना भयो । संजोगले त्रिचन्द्र कलेज नेपाली विभागले वागीशा शीर्षकको पहिलो साहित्यिक पत्रिका प्रकाशित गर्ने निर्णय गरेको छ, त्यसको निम्ति एउटा छोटो साहित्य समालोचना वा विचार सम्वन्धी एउटा लेख लेखिदिनु भन्ने विभागीय अध्यक्ष उषा अधिकारीको प्रस्ताव आएकोले यही विषयमा छोटो लेख लेख्ने विचार भयो । नेपाली विभागको साहित्यिक पत्रिकाको अर्थ धेरै हुन्छ । त्यो फ्याकल्टीका सदस्यहरुबीचमा पढिने हुनाले यो विषयमा लेख्नु मलाई उपयुक्त लाग्यो । साहित्य विभागमा नेपाली समालोचना, इतिहास, विचार र सिद्धान्त विश्लेषणहरु गरिन्छन् । त्यो साहित्य विभागहरुको मूल कर्म हो र यो सबै भाषाका साहित्य विभागहरुमा लागु हुन्छ ।
मैले साहित्यमा आधुनिकता के हो भनेर धेरै छलफल नगरी आधुकितालाई एक सर्वस्वीकृत विषय मानेर लेखेको रहेंछु । खासगरी पहिलेका लेखहरुमा मेरो त्यस्तो विश्वास धेरै बलियो रहेछ । मैले काव्य विधामा आधुनिकताको धेरै मीमांसा गरेको छु । यसको मूलकारण के हो भने नेपाली समालोचनाले, खासगरी सन् साठीका दशकमा अथवा संवत २०१७ सालदेखि यता आधुनिकताको छलफल गरेको देखिन्छ । त्यो बेला समालोचकहरु काव्य विधालाई लिएर चर्चाहरु गर्न मन पराउँथे । काव्य विधा नै नेपाली समालोचनाको प्रिय विषय थियो । साहित्यमा पनि काव्य साधनाको धेरै चर्चा हुने गथ्र्यो । त्यो बेला पश्चिमी, खासगरी अंग्रेजी साहित्यको काव्य समालोचनाको धेरै चर्चा हुने गथ्र्योे । म आफैं अंग्रेजी साहित्यको विद्यार्थी, पछि गएर अध्येता र अंग्रेजी साहित्यका उच्च कक्षाहरुमा पढाउने शिक्षक भएको हुनाले कवितामा आधुनिकता भन्ने विषय लगभग मेरो समालोचनाको विषय बनेको रहेछ । त्यसको आधार मूलतः पश्चिमेली थियो र छ । पछिल्लो समयमा त्यसमा नयाँ किसिमका व्याख्या गरेर लेखें । खासगरी उत्तरऔपनिवेशिक धारणाको प्रभावमा ती लेखहरु लेखिआएको छु । तर यो लेख छोटो भएकोले म त्यो आधुनिकताको अहिलेसम्म पनि लगभग त्यस्तै रहेको मेरो आधुनिकताको धारणाका मूल आधारहरु तल केही छलफलको शैलीमा राखेको छु ।
आधुनिक काव्यको पात्रको अवस्था र अवस्थिति एकल हुन्छ र त्यो आप्mनो अस्तित्वलाई तीव्र किसिमले भोग्नुपर्छ भन्ने मान्यता राख्छ । ऊ जगत्सँग सुमधुर सम्बन्ध राख्न सक्तैन । ऊ त्यसैले आपूmलाई अलग र एक्लिएको ठान्दछ । उसका अभिव्यक्तिहरु त्यसरी नै बनिएका हुन्छन् । त्यसैले कतिपय कवि वा आख्यानकारले त्यस्तो व्यक्तिको चित्रण गर्दा उसबाट जन्मिने भाषिक कलेवरको चित्र पनि अलिक जटिल, किञ्चित अराजक किसिमको देखाउँछन् । त्यो भाषिक चरित्र आधुनिक काव्यमा भेटिन्छ । यस्तो पात्रको चरित्रबारे धेरै किसिमका छलफल भएका छन् । माक्र्सवादी र कतिपय स्वतन्त्र विश्लेषकहरुले पनि यो पश्चिमी बुर्जुवाको चेतनाको चित्रण हो भने । बुर्जुवाको चरित्रको छलफलमा एक्लो हुने सचेत व्यक्तिको चित्रणको विषय आउँछ । पश्चिमका साहित्यमा पाइने त्यो चरित्र लगभग आधुनिकताको वैश्विक चरित्र भयो र अहिले पनि छ । यो धारा आधुनिकतावाद वा “मोडर्निज्म” थिएन । यसलाई “मोडर्निस्ट” धारा भनियो । मैले पनि अर्को उपयुक्त शव्द नपाएकोले “मोडर्निस्ट” शव्द नै प्रयोग गरिआएको छु ।
त्यो आधुनिक वा “मोडर्निस्ट” पात्र ज्ञानप्रसङ्ग ल्याउँछ । ऊ आपूmलाई अरुले नदेखेको शहीद ठान्दछ । कवितामा मात्र होइन आधुनिक चित्रकला, मूर्तिकला र संगीतमा पनि त्यस्ता अभिव्यक्तिहरु गरिन्छन् । आधुनिकताको त्यो पाश्चात्य चरित्र नेपाली कविता र चित्रकलामा, नेपालीमा मात्र होइन भारतीय काव्य र चित्रकलामा पनि भेटिन्छ । आधुनिक अथवा मोडर्निस्ट साहित्य र कला हो त्यो । नेपालका केही राम्ररी लेख्ने समालोचकहरु त्यो धारणासँग सहमत छैनन् । पारिजातको चर्चित कृति शिरीषको पूmलमा त्यो धाराको मोडिर्निस्ट चिन्ता वा “आङ्ग्स्ट्”छ । उनको पहिलो कवितासंग्रहका कविता पनि मोडर्निस्ट शैलीमा लेखिएका हुन् ।
यस्ता शैलीमा कविता लेख्ने कविहरु २०१७ वा सन् साठीको दशकदेखि लेख्ने एकाध दर्जन कविहरुको काव्य साधनामा देखियो । ती कविहरुको शैली न भूतो न भविष्यति किसिमको भयो । तिनीहरुले लगभग एकअर्कासँग मिल्ने शैलीमा कविता लेखे । यी कविहरुको एउटा सङ्कलन तयार गर्ने निर्णय गरेर नेपाल प्रज्ञा प्रतिष्ठानले २०५४ सालतिर एउटा समूह बनायो जसमा “डा. तारानाथ शर्मा, डा. मोहनहिमांसु थापा, कृष्णभक्त श्रेष्ठ, तुलसी दिवस, डा. अभि सुवेदी, गणेशबहादुर प्रसाईं र बैरागी काइँला” नामका समालोचक र आधुनिक कविहरु थिए । ती कविहरुको मोडर्निस्ट धारको विषयमा मेरो धेरै चाख भएको र अनेकौं लेखहरु पनि लेखिसकेको हुनाले सम्पादक मण्डलले मलाई भूमिका लेख्ने अभिभारा दिए जसअनुसार मैले एउटा निकै लामो लेख लेखें । त्यसमा मैले नेपाली आधुनिकताको ती कविहरुका लेखनका शैली, तिनलाई प्रभावित गर्ने विचारहरुको छलफल गरें । आधुनिकताबारे अलग विचार राख्ने केही प्रतिनिधि माक्र्सेली समालोचकका विचार पनि त्यसमा जोडेको छु । त्यो समयमा समालोचनामा यस्ता छलफल भएको कुरा धेरै महत्वपूर्ण छ । त्यतिबेलै तयार भएको त्यो सङ्कलन एकेडेमीमा र काव्य विभाग हेर्नेहरुमा भएका परिवर्तनका कारणले २०६७ मा मात्रै प्रतिनिधि नेपाली आधुनिक कविता नामले प्रकाशित हुन सक्यो । नेपाली साहित्यमा आधुनिकता, अनि आधुनिक वा मोडर्निस्ट कविताको त्यसमा व्याख्या भएको छ । मेरो सल्लाहअनुसार सम्पादक मण्डलले त्यस्ता “मोडर्निस्ट” नेपाली कविताको संग्रहलाई “प्रतिनिधि नेपाली आधुनिक कविता” शीर्षक दिएर छुट्टायौं । मैले त्यसमा केही आधुनिक र मोडर्निष्ट लेखनको एउटा सन्दर्भको सूची पनि राखेको छु । त्यो विस्तृत नभए पनि त्यो बेलाको प्रतिनिधि धारालाई समेटेर राखिएको छ । यो सूची तल फुटनोटमा उद्धरण गरेको छु ।१
प्रतिनिधि नेपाली कवितामा समावेश गरिएका कविताहरुको शैली आफ्नै किसिमको र प्रयोगात्मक छ । त्यो किताब खासगरी मोडर्निस्ट नेपाली कविताका अध्येता र अन्वेषकले प्रयोग गरिआएका छन् । त्यो खासै आम रुपमा पढिने सङ्कलन नभएकोले अहिले पनि त्यो प्रज्ञा प्रतिष्ठानको किताब विक्री कक्षमा प्रशस्तै रहेको कुरालाई म स्वाभाविक मान्दछु । किनभने जतिसुकै आधुनिकताको विषयलाई नेपाली लेखक र पाठकले मन पराए पनि धेरै चर्चा भने त्यसमा भएको पाइँदैन ।
मोहन कोइरालाका कवितामा आधुनिकता
अंग्रेजी साहित्य र खासगरी काव्य समालोचनाको प्रभाव नेपाली समालोचकहरुलाई परेको कुरा एउटा अध्ययनको विषय हो । मलाई अंग्रेजी समालोचनाको आधुनिकताको मीमांसा गर्न सहज हुने कारणमध्ये त्यो पनि एउटा थियो । नेपाली समालोचक मात्रै होइन, कविहरु नै अंग्रेजी कविताको आधुनिकताको छलफल गर्थे । अंग्रेजी साहित्य त्यति नपढ्ने कवि मोहन कोइरालालाई समालोचकहरु आधुनिक अंग्रेजी कवि टीएस एलिअटसँग तुलना गर्न थालेका थिए । कवि मोहन कोइरालाले यो कुरा उठाएर असहज मान्दै मसँग छलफल गरेको सम्झना छ । तर मोहन कोइरालाको कविता लेख्ने शैली अपरम्परागत थियो । उनले भाषालाई सहज र स्वतन्त्र किसिमले प्रयोग गर्ने पद्धति लिए । त्यो एउटा अत्यन्त मौलिक काव्य साधना थियो जस्को कति समालोचकहरुले व्याख्या गरेका छन् । तर पाश्चात्य कवितामा आएको आधुनिक शैली पध्दतिसँग त्यो नजिक देखिनु संजोग थियो । त्यसो त उन्नाईसौं शताब्दीका फ्रान्सेली कवि चाल्र्स बोदलेरको आधुनिक कविताको शैली मोहन कोइरालाका कवितासँग मिल्नु कुनै अनुकृति थिएन । त्यो दुईवटा अलग अलग भाषा र परम्पराका यो पृथ्वीका दुई देशका कविले गरेको प्रयोगमा भेटिने समानता र सामथ्र्यको व्याख्या गरेर लेख लेख्ने मेरो चाहना भए पनि अहिलेसम्म लेखेको रहेनछु भन्न अहिले यहाँ केही अनुच्छेद लेख्ता वोध भएको छ ।
मोहन कोइरालाको लेखनशैलीको नौलो र आधुनिक पक्ष भनेको उनको निजत्व राखेर लेखिएको काव्यसाधना हो । त्यो आधुनिक वा “मोडर्निस्ट” मान्नुपर्ने मूल आधार के हो भने निजत्व भए पनि त्यो कवितामा उनको रोमानी भावना र शैली छैन । मूलतः यही पक्षको छलफल हुनुपर्छ । केही उदाहरणहरु दिइएका छन् –
हामी अनन्त हाँगा अनन्त जरा हामी अनन्त लहरा
मलाई हिँड्न देऊ हुटिट्याउँको आकाश खसालेर
म फर्सीको मन्टा हुँ म आफैं समय हुँ म आफैं अनन्त हुँ ।
प्रूफरीडर मेरो कानको कानेगुजीको पाप्रा
मेरो कानको कानेगुजी
पेपरवेटको पहाडमा लुकामारी
विचारमाथि विचार अभियान
मसीको ओरालो उकालो
कागते कारखानाको स्वर
टाइपराइटरहरुको पदचाप ध्वनि … …
विश्वास नगर्ने मलाई काट र टेबिलमा … …
— विश्वास गर । म फर्सीको जरा हुँ
आकाश हुँ म फर्सीको … … ।
– मोहन कोइराला (“फर्सीको जरा”)
यसमा प्रयोग गरिएका बिम्ब र रmपकहरु अपरम्परागत छन् । ती रोमानी कविताका उदात्त चरित्रसँग मिल्दैनन् । तिनको प्रयोग गर्ने कवि नेपाली काव्यको इतिहासमा न शास्त्रीय न रोमानी धारमा पर्छन् । मोहन कोइरालाले जुनबेला यसरी अलग धारको रचना गरे त्यो बेला नेपालमा पाश्चात्य काव्यको प्रभावमा परेर विषयको छनोट र विचारको प्रयोग गर्ने धाराको आरम्भ भयो । कवितामा वुद्धितत्वको प्रयोग पहिले नभएको होइन । बालकृष्ण समका कवितामा त्यो भेटिन्छ जस्को विषयमा समालोचक यदुनाथ खनालले लेखिसकेका थिए । तर मोहन कोइरालाको प्रयोग मौलिक र आधुनिक वा मोडर्निस्ट भएको कुरा महत्वपूर्ण छ । अझ वैचारिक वा दार्शनिक तत्वको कुरा गर्दा पनि उनले त्यही सहज र प्रयोगात्मक शैलीको प्रयोग गरेका छन् । एउटा उदाहरण लिऊँ ः
आऊ, ईश्वरदेखि यो बस्ती बनाउने बेला भएन
मैले हरेक ईश्वरलाई अभयदान दिएको छु
यो त हरेक चीजको आउने युग हो
छाम त ईश्वरलाई पर्खंदा बस्तीहरु कतै बुढियो कि
म ह्विस्कीको छालमा बग्ने ढुङ्गा त होइन
हेर्छु सागरबाट पृथ्वी, भुइँचालाको कम्पन
प्रत्येक घुटका पिएर,
म विस्फोट बेहोर्ने सोडा बोतल भएर
यो कुरकुरे कुरा यो मायाको दुर्ग क्लेरोनेटको गुफाभित्र
या ब्यालेको बाक्लो छारो ।
– मोहन कोइराला (“रातको सर्दीमा नयाँ सडक”)
मोहन कोइराला, ईश्वर बल्लभ, बैरागी काइँला, तुलसी दिवस, पारिजात, द्वारिका श्रेष्ठ, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, कुन्दन शर्मा र रत्न थापाका कविताहरुमा अभिव्यक्ति रचनाका धेरै साम्य छन् । यो एउटा चाखलाग्दो विषय छ । मैले माथि उल्लेख भएको लेखमा यसबारे लेखिसकेको छु । केही उदाहरणहरु यहाँ राख्न चाहन्छु । पाठकले सजिलै देख्न सक्ने गरी प्रयोग भएका छन् । केही उदाहरण ः
मोहन कोइरालाको कविताबाट उद्धरण गरौं –
फलाकेर बिजुवा झङ झङ झङ
डढुवा र बगुवा झङ झङ काँप्दै मोर्चाका स्ट्रन्चर प्रयत्न,
झकमक्क चौदिशा ओलम्पिक मसाल बालेर उज्यालो छर्दा
आकाश पाताल बाँधी देखिएका र नदेखिएका चौदिशा बाँधी
चारकिल्ला चार भन्ज्याङ ठूलो ठूलो स्वरले ओलम्पिक गीत उचाल्छु
झाँक्री गजो ठोकेर पहाड पहाड दुख्ने गरी युग–युगान्तर बाँधेर
हिमाल व्यस्त छ, ढ्याँग्रो व्यस्त छ,
प्रयत्न गर्जेर आजको मझेरी चिच्याउन …
बाचा बाचा बाचा अथवा बाचा बाँधेको छु ।
बैरागी काइँलाको कविताबाट उद्धरण गरौं –
झङ झङ झङ
झङ झङ झङ
उन्मत्त भैरव
काखमा टेबलमाथि मृगासन लिपेर पस्किन्छ स्वास्नीमान्छे
उन्मत्त भैरव ÷
जिब्रोले टिपेर चाट्दछ ।
“अस्तित्वको दावीमा सावातको वैला उत्सव”
मोहन कोइरालाले बैरागी काइँलाको “झङ झङ झङ” कविताको किन प्रयोग दोहो¥याए त्यसको उत्तर सजिलो छ । यसरी लेखेर उनले आफुभन्दा पछि आएका यी कविहरुको शैली र उक्ति पद्धति अनि तिनको प्रभावकारिताको समर्थन गरेका हुन् । यो छोटो लेखमा धेरै छलफल गर्ने ठाउँ नभएकोले यहाँ यत्तिमै टुङ्ग्याउन चाहन्छु ।
निष्कर्षमा
आधुनकता भन्दा उत्तरआधुनिकताको चर्चा गर्ने एउटा लहर चलेको छ नेपाली समालोचनामा । यस विषयमा निकै मीमांसा भएका छन् । यो छोटो लेखमा त्यसको उल्लेख गर्न सम्भव भएन । यसमाथि ग्रन्थ र लेखहरु लेखिएका छन् । जर्मन समाजशास्त्री युर्गेन हेबरमासले आधुनिकता एउटा अपूर्ण परियोजना हो भने । यसमाथि अझै धेरै काम गरिनु पर्ने भएकोले अहिले नै आधुनिकता वा मोडर्निज्म सकियो भन्नु उपयुक्त नहुने उनको विचार छ । साहित्य समालोचनामा आधुनिकताको प्रयोगलाई उत्तरआधुनिकताको अघिल्लो रुप भनेर व्याख्या गर्ने गरेको देखिन्छ । त्यो त्यति सरल विषय होइन । यहाँ यत्ति भनौं, एउटा कालखण्डमा लेखिएका नेपाली कवितामा चेतनाको व्याख्या, भाषिक र शैलीगत प्रयोग अनि शास्त्रीय र सौन्दर्य मूलक धारणाका मीमांसा गरिएका छन् र गर्नुपर्छ भन्ने मेरो धारणा छ । माथि पनि यो विषयको छाटो चर्चा गरिएको छ । मोहन कोइरालालाई एक अग्रज आधुनिक कवि भनिएकोले यस लेखमा त्यस विषयको संक्षिप्त छलफल गरियो । हेबरमासले भने जस्तै नेपाली समालोचनामा पनि आधुनिकता वा “मोडर्निज्म” एक अपूर्ण परियोजना हो ।
नेपाली कवितामा आएको आधुनिकता वा “मोडर्निस्ट” धारको छलफल गर्नको निम्ति मोहन कोइरालाका कवितालाई सम्झिनुपर्ने केही महत्वपूर्ण आधार छन् । पहिलो कुरा, मोहन कोइरालाले आपूmले पाश्चात्य साहित्यको अध्ययन नगरेरै जुन किसिमले आधुनिक काव्य लेखे त्यो एउटा अत्यन्त महत्वपूर्ण प्रयोग हो । यसको समालोचकहरुले राम्ररी व्याख्या गरेका छैनन् । अनुसन्धान गर्ने पछिल्लो पुस्ताका समालोचकहरुले यसमा काम गर्नुपर्छ भन्ने मेरो धारणा छ । नेपाली विभागहरुमा अध्ययन गर्ने वा शोध गर्नेहरुले पनि यसमा काम गर्नुपर्छ भन्ने मेरो विश्वास छ । अर्को आधार भनेको मोहन कोइरालाका कवितामा भेटिने नित्य प्रयोगको शैली हो । त्यसको अध्ययनको समय सकिएको छैन । बरु त्यसको अहिले अध्ययनको बेला आएको छ । त्यसो त मोहन कोइरालाका काव्यका अध्ययन भएका छन् । समालोचक ईश्वर बरालले मोहन कोइरालाका कविता शीर्षक साझाबाट प्रकाशित किताबमा विस्तृत भूमिका लेखेका छन् । त्यो भूमिका विधिसम्मत समालोचना हो । तर त्यसमा मोहन कोइरालाको माथि उठाइएको विषयको कुनै उल्लेख छैन । तर केही समालोचनाहरुले मोहन कोइरालाको आधुनिक कवितामा के योगदान छ भन्ने विषयमा चाखलाग्दा मीमांसा गरेका छन् । यो क्रम जारिराखे आधुनिक नेपाली कवितावारे बढी कुराहरु प्रष्ट हुँदै जानेछन् भन्ने मेरो विश्वास छ ।
१. आधुनिकताका अनेकौं स्वरmपहरु र तिनका विशेषताका विषयमा नेपाली साहित्यमा अनेकौं ढंगले छलफल भएका छन् । केही छलफलहरुको निम्ति हेर्नुहोस् चुडामणि वन्धु, भूमिका लेख, साझा कविता ( २०२४)े; वासुदेव त्रिपाठी, भूमिका लेख आधुनिक नेपाली कविता (प्र. प्रतिष्ठान, २०२८), अभि सुवेदी, भूमिका लेख, पच्चीस वर्षका नेपाली कविता ( प्र.प्रतिष्ठान, २०३९) ; भूमिका लेख, नेपाली समसामयिक कविता, सम्पादक, कृष्ण प्रसाईं (दार्जीलिङ्गः २०४८) ; “रुप—रेखा र आधुनिक कविता”,र “शारदा र रुप—रेखाः दुई युगको प्रसङ्ग”, सिर्जना र मूल्याङ्गन (साझा, २०३ं८, २०५२ ) पृ १२६—१५३ र पृ. १—५० ; आधुनकिता सम्वन्धी लेखहरु, रचना र माध्यम ( काठमाढौःेः साझा, २०५४) Uniqueness in Modernist Nepali Literary Discourse” , Literary Studies 16 ( March, 1997): 25-34; “Literary Response to Panchayat Utopia”, Studies in Nepali History and Society 1(June 1996): 77-96; “पारिजात र कुन्दन शर्माका कविता”, आधुनिक कविता प्रवचन, ( प्रज्ञा प्रतिष्ठान, २०५४) ; तारानाथ शर्मा, भूमिका लेख, समसामयिक कविता ( काठमाडौः साझा, २०४०) ; “आधुनकि कविता,” र “भूपि शेरचनका कविता” आधुनिक कविता प्रवचन ( प्रज्ञा प्रतिष्ठान, २०५४) ; दयाराम श्रेष्ठ, भूमिका लेख, तुलसी दिवसका कविता ( काठमाडौः प्र. प्रतिष्ठान, २०४०); ईश्वर बराल, भूमिका लेख, मोहन कोइरालाका कविता (काठमाडौ ः साझा प्रकाशन, २०३० ) र भूमिका लेख, पारिजातका कविता (साझा, २०४४) ; इन्द्र राई, कथास्था ( दार्जीलिङ्गः श्याम ब्रदर्श, सन् १९७२) ; र इन्द्र राई अर्थहरुको पछिल्तिर; सम्पादकीय लेख, तेश्रो आयाम, पहिलो अङ्क, (सन् १९६३) ; गणेश बहादुर प्रसाईको लेख मधुपर्क(?) मा .; गोविन्द भट्ट, “शिरीषको फूल कि कागजको फूल”, पारिजात स्मृति ग्रन्थ, सम्पादक, निनु चापागाईं, खगेन्द्र संग्रौला ( काठमाडौः पारिजात स्मृति केन्द्र, २०५१) , पृ ११०— ११६ । यी लेखहरु बाहेक अन्य समालोचना, इतिहास र सोध—पत्रहरुमा आधुनिकताका अनेकौं स्वरmपका चर्चा भएकाछन् । आधुनिकता सम्वन्धी उठाइएका यहाँ सान्दर्भिक मूल प्रश्नहरुका चर्चा उपर्युक्त लेखहरुमा भएका हुनाले यहाँ तिनको उल्लेख गरिएको हो । त्यसो त धेरै अन्य लेखहरु प्रकाशित छन् ।
यो लेख अमूक कलेजको नेपाली विभागको प्रकाशनको निम्ति लेखिएको थियो । तर सायद कुनै कारणले त्यो पत्रिका प्रकाशित भएन । यो लेखमा मैले आप्mना केही धारणाहरु राखेको र कवि मोहन कोइरालाका बहुचर्चित कवितामा आधुनिकताका केही महत्वपूर्ण विषयको यसमा छलफल गरिएको हुनाले केही संशोधनसहित पाठकसमक्ष पु¥याउने चाहना भएकोले यहाँ प्रस्तुत गरिएको छ ।