दोलखाको ऐतिहासिक पृष्ठभूमि द्वाल्खाको तल्लो नगर भनेर व्याख्यात्मक हिसाबले परिचयमा ओझेल परेको पश्चिमी दिशामा रहेको श्री गणेश भगवानलाई शिर निहुर्याएर चरण स्पर्श गर्दै दोलखाभित्रका अनगिन्ती देवदेवीहरुमा आराधना गर्दै ज्ञान, चेतना अनि बौद्धिक आस्थाका प्रतिमूर्ति गौतम बुद्धलाई मन मष्तिष्कमा निरन्तर सजाएर आराध्य देव शक्तिदाता, पालनकर्ता साक्षात भीमेश्वरलाई हृदयमा समेटेर दोलखालाई चिनाउने माध्यमको ढोका खोल्ने सानो प्रयासलाई यहाँहरुको पवित्र मन र दिव्य ज्योतियुक्त आँखाको सामु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
दोलखा जिल्लाको परिचय दिनुपर्दा यहाँ २ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । नगरपालिकामा भीमेश्वर नगरपालिका र जिरी नगरपालिका अनि गाउँपलिकामा कालिन्चोक, गौरीशंकर, बिगु, तामाकोसी, वैत्यश्वर, शैलुङ र मेलुङ हुन् ।
दोलखा भन्ने बित्तिकै उनै पटकपटक पसिना आउने साक्षात भीमेश्वरको स्मरण हुन आउँछ, कालिन्चोक परिसरमा परेको हिउँको व्याख्या हुन थाल्छ । यदाकदा वसन्तऋतुमा फुल्ने गुराँस र चिमालको सौन्दर्यतिर मन रमाउन थाल्छ । अनि नेपालको प्रामाणिक समयको संकेतसूचक हिमाल गौरीशङ्करको पनि झझल्को आउला ।
विगत केही वर्षदेखि ६० डिग्री उकालोमा मच्छिन्द्रनाथको रथ तान्ने गरिएको विशेषतालाई जोडेर उपत्यकाबाट सयौँ संख्यामा भक्तजन र यात्रीहरु आउन थालेको सन्दर्भले दोलखाको चर्चा जोडिएको होला । अनि हाल आएर ४५६ मेघावाटको विद्युत उत्पादन हुने तामाकोसीको चर्चाबारे केही ज्ञान होला । सामान्य हिसाबले भन्नुपर्दा दोलखा भनेको एउटा अलग्गै खालको नेवार भाषा बोल्ने नेवार समुदायको एउटा थलो हो भनेर जानेको अभिव्यक्ति बाहिरिँदा सबैमा दु:ख लागेको हुनुपर्छ ।
दोलखा नामाकरणको सन्दर्भमा
यो पवित्र स्थल जहाँ हामी अहिले जमघट भइरहेका छौँ, यो सिङ्गो धरातल अर्थात पूर्वमा रामेछापको उत्तरपूर्वीय भाग र सोलुखुम्बु जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा रामेछाप जिल्लाको बीचमा रहेको जिल्ला नै दोलखा जिल्ला हो ।
यो दोलखा भन्ने शब्दको नामबाट लोकप्रिय बनेको दोलखा शब्दको न्वारान कसरी गरियो कसरी रहन गयो भन्ने सन्दर्भमा धेरै नै लोकोक्ति, किंवदन्ती र पर्यायहरु बाहिर आएपनि यसको मूल यथार्थ चाहिँ तिब्बतीयन् भाषाबाट नै भएको मूल आधार मान्न सकिन्छ । तिब्बतियन भाषामा ‘दो–ल–खा’ तीन अक्षरले बनेको शब्दको परिभाषा दिँदा ‘दो’ को अर्थ ढुङ्गा, ‘ल’को अर्थ मन्दिर र ‘खा’ को अर्थ घर भएको बताइन्छ । यसको व्याख्या गर्दा ढुङ्गैढुङ्गाले बनाइएको घर, मन्दिर र बस्ती भएकोले ‘दोलखा’ भनिएको हो ।
यो व्याख्यालाई सार्थक रुपमा व्याख्या गर्नुपर्दा दोलखा जिल्लाभरि नै नियाल्दा प्राकृतिक स्वरुपले पनि कडा चट्टानहरुले भरिएको भूगोल, धार्मिक रुपमा विभिन्न हस्तकला, शिल्पकला र वास्तुकला पनि पत्थरमै कँुदिएको र पत्थरबाटै देवदेवीको मन्दिर, सत्तल, खम्बा, घण्टा झुण्ड्याउने थाम, जोर्नी आदि ईत्यादि सबै कडा र बलियो खालको पत्थरबाट बनाइएको पाइनु पनि यसको दोलखा शब्द नामको उदाहरण हो । त्यतिमात्र नभएर दोलखामा स्लेट ढुङ्गा, चून ढुङ्गा खरिढुङ्गा स्फटिक जस्तो चमकदार ढुङ्गा पनि उपलब्ध छ । दोलखामा अधिकांश ठाउँमा देखिएका स–साना मन्दिरहरुमा काठको प्रयोग भएको पाइँदैन, झ्याल ढोकाको अंकुशदेखि लिएर चौकोससम्म पनि ढुङ्गाबाटै बनेको पाइनु पनि यसको विशेषता मान्न सकिन्छ र यस ठाउँलाई ढुङ्गै ढुङ्गाको आश्रमस्थलको रुपमा दोलखा नामले लोकप्रिय बनाउनका लागि पूर्खाहरुले जेजति योगदान दिए त्यसलाई जोगाउन हामी सबैको दायित्व हो ।
दोलखाको इतिहासको प्रसङ्गमा र यहाँको सम्पदा, संस्कृति प्राचीनताबारे कुरा गर्नुपर्दा इतिहास शिरोमणि बाबुराम आचार्यज्यूको नाम सबैले मुग्धकण्ठले उच्चारण गरेको पाउँदा आपूm दोलखाली हुनुमा अत्यन्तै गर्व लाग्न थाल्छ । तर इतिहासकार आचार्यज्यूले कुन अर्थमा के उद्देश्यले कुन प्रसङ्ग र सन्दर्भमा त्यो वाक्य प्रस्फुटन गर्नुभएको थियो त्यसको भेउको ज्ञान प्राप्त नहुँदा मनमा चिसो पस्न थाल्छ । उहाँको भनाइलाई आत्मसात गर्दै यहाँको इतिहासले देखाएका कुराहरु,
१) दोलखाको बाटो भएर महायान मञ्जुश्रीले भारत देशबाट नेपालको तराई भित्री मधेस हुँदै नदी किनाराबाट दोलखाको बाटो भएर पैदल यात्रा गर्दै तिब्बतसम्म गएर बौद्धधर्म प्रचार प्रसार गरिएको ।
२) जैविक रुपमा शिलाबाट पसिना आउने साक्षात देउता भीमेश्वर ।
३) नेपालको इतिहासमा व्यापार व्यवसायको थालनी गर्न सबैभन्दा पहिले पैसाको चलनको प्रचलनमा ल्याउने तत्कालीन राजा इन्द्रसिंह देव ।
४) मच्छिन्द्रनाथको रथजात्रा लगायत वडादसैँमा किरातकालीन वंशका सन्तान थामी समुदाय सहभागी भई जात्रा सञ्चालन गर्न गुठी जग्गाको व्यवस्थापन गर्ने राजा वासुदेव ।
५) नेपालको इतिहासमा सबैभन्दा हिमाली पहाडी इलाकामा विभिन्न खालको जात्रा, पर्व र अलौकिक साँस्कृतिक देवीनृत्य र भजन कीर्तन ।
६) परम्परागत बाजा वाद्यवादनमा ऋतु र पर्व अनुसार फरकफरक वाद्य धुनहरु ।
७) एसिया महादेशमै प्रख्यात रहेको ओरियन्टल म्याग्नेसाइट परियोजना खरिढुङ्गा ।
८) लामो बेलासम्म जात्रा निरन्तरता दिउँसो करीब १४ घण्टा दसैँको एकादशीको दिनमा खड्ग जात्रा ।
९) श्रावण कृष्णपक्षको द्वितियादेखि षष्ठी तिथिसम्म ५ रात बेलुकी करीब ८:०० बजे शुरुआत गरेर ८ घण्टा नै रातभरि नचाइने भैरवकुमारी जात्रा ।
१०) वैशाख शुक्ल पूर्णिमादेखि कृष्णपक्षको अष्टमीसम्म तल्लो नगरको समथर सतहबाट ६०–६५ डिग्रीको उकालोमा तानिने मच्छिन्द्रनाथको जात्रा ।
११) राक्षसलाई वध गरेर राक्षसकै आत्मशान्तिको लागि जनैपूर्णिमाको दिनमा तल्लो नगरको गोपीनारायण मन्दिर सामु गरिने उपकर्ण यज्ञ ।
१२) किरातकालीन सभ्यतादेखि मान्दै आएको भूमिराजा (धर्ती जन्मोत्सव) असार ८ गतेलाई निरन्तरता दिँदै आएको आदि ।
माथि उल्लेखित बुँदाहरुको यथार्थ जानकारी राखेर दोलखाको पहिचान दिलाउन सकेमा मात्रै दोलखाको वास्तविक मूल इतिहासले पूर्णता पाउनेछ र नेपालको इतिहासले नयाँ मार्ग पहिल्याउनेछ भन्ने उद्देश्यले इतिहास शिरोमणि बाबुराम आचार्यबाट यो सन्दर्भ निकालेको हो कि भन्ने अर्थ लाग्न सक्छ । अब इतिहासको कुरा खोतल्ने प्रयासमा दोलखा जिल्लाभरिमा भौगोलिक, प्राकृतिक, साँस्कृतिक सम्पदा तर्पm के के पाइँदो रहेछ र के के हुँदो रहेछ भन्ने कुरातिर ध्यान दिँदा यस प्रकारका देखिन्छन्,
पहिलो क्रममा भीमेश्वर नगरपालिका वडा नं. २ भित्रका मन्दिर, देवल र स्तुपा :
शहरको पश्चिम टोलमा गणेश मन्दिर, गोपीनारायण मन्दिर, नामकाइ मदौ नाम लिन नमिल्ने देवल), छेरप्वाले दैत्यको शिर छेदन गर्ने स्थल), बाहिर टोलमा हरसिद्धि भवानी, नक्छेँ टोलमा बौद्ध स्तुपा, बुद्ध मूर्ति, श्यामसुन्दर टोलमा श्यामनारायण मन्दिर, कोछेँँ टोलमा नारायण मन्दिर छ । त्यस्तै ठूलो स्तुपा (ड्वाकु सेङ्), सानो स्तुपा (चिचा सेङ्), राजकुलेश्वर तलेजु भवानी (रास्कुल), पिङ्गल टोलमा सबैभन्दा पुरानो शिवशक्ति महादेव मन्दिर, यही टोलमा पुरानो कुमारी घर, मच्छिन्द्रनाथको रथ निर्माणस्थल, टसिचा टोलमा महादेव मन्दिर, नव निर्मित कुमारी घर, ड्वाल्ङा (डोकुलुङा)टोलको मच्छिन्द्रनाथको मूलघर, त्यही टोलमा रहेको सरस्वती मन्दिर, दुङ्गल गगरलुङा टोलको नाश्वर (नाटेश्वर)को मन्दिर, कोब्देउ (बालकुमारी) मन्दिर, दुङ्गल टोलमै नारायण मन्दिर र स्तुपा रहेको छ ।
सबैभन्दा पूर्वपट्टि त्रिपुरासुन्दरी (देक्वार वा देवीकोट), वाराणसी तीर्थस्थल, त्यहाँबाट पश्चिम उत्तरतिर काली मन्दिर, साक्षात भीमेश्वर मन्दिर, सो मन्दिरसँगै दक्षिणी भागमा नाट्यश्वर मन्दिर र दुङ्गल टोल मार्ग ठाडो ओह्रालो देउपाखा सिँढी, माथिल्लो टोल मुख्य बजारमा बौद्ध चैत्य र महादेवको मन्दिर, त्यस्तै हालको बसपार्कसँगै बज्रयोगिनीको प्राचीन स्तुपा र देवल रहेको छ भने अलिक पश्चिमतिर स्थानीय कुल्यान देउता रासदेगुर अनि दोलखा शहरको उत्तरतर्फ महायान मञ्जुश्रीको चरणपद रहेको छ, साथमा सरस्वतीको मन्दिर रहेको छ ।
महत्वपूर्ण डबलीहरू
दोलखामा ऐतिहासिक, धार्मिक र सामाजिक नाटकहरु, साँस्कृतिक रीतिरिवाजहरु र धार्मिक अनुष्ठान एवम् जात्रा पर्व मञ्चन र सञ्चालन गर्नका लागि पूर्खाहरुले धेरै सोच विचार गरेर विज्ञान सम्मत तरिकाले दोलखाका महत्वपूर्ण स्थानहरुमा डबलीहरुको पनि निर्माण गरेर भावी पुस्ताहरुका लागि सौगात स्वरुप हस्तान्तरण गरेर गएको पाइन्छ । जुन डबली कार्यक्रमको लागि मात्र सदुपयोग गरिने होइन कि भौतिक उपस्थिति र जमघट गरेर भलाकुसारी गर्ने थलोको रुपमा पनि प्रयोग हुँदै आएको छ । जसको बनावट हेर्दा वर्षाको बेलामा पानी नजम्ने आपतकालीन अवस्थामा भेला हुन सहज हुने तरिकाले बनाइएको छ । यस्ता डबलीहरु दोलखाको हरेक टोलको केन्द्रमा देखिन्छ, ती हुन्,
दुङ्गल टोलमा नाट्यश्वर मन्दिर सामुको डबली, पिङ्गल टोलमा मच्छिन्द्रनाथको रथ निर्माण स्थलसँगैको डबली, बाहिर टोलको चक्र डबली, श्यामसुन्दर टोलको प्राङ्गणमा गाँसिएको डबली, टसिचा टोलको रास्नी उकालो र पिङ्गल टोल जाने बाटो सँगैको डबली, माथिल्लो टोलको भीमसेन डबली हुन् ।
महत्वपूर्ण पोखरी र पानीको मुहान
दोलखाको प्राचीन इतिहास खोतलेर हेर्दा पूर्खाहरुले जति पनि कार्य गरेको देखिन्छ, ती सबै व्यक्तिगत स्वार्थका लागि नभएर सामाजिक हितका लागि गरिएको पाइन्छ । समाजमा आवश्यक पर्ने सबै कुरालाई मध्यनजर राखेर भौगोलिक धरातललाई अति शोभनीय बनाउन र आकस्मिक घटनालाई निमूर्ल पार्न र जीविकोपार्जनका लागि सहज होस भनेर कृषि खेती गर्न समेत धेरै ध्यान दिएको पाइन्छ । यसको लागि आवश्यक पर्ने पूर्वाधारका लागि सिँचाइ गर्न दोलखा शहरभित्र पानीको मुहान नभएको कारणले असहज परिस्थितिलाई सहज बनाउन चरिकोट नजिकैको मरेङखोला, अँधेरी खोला (खिङौझोर) बाट कुलो बनाएर दोलखाको पाखलतीमा रहेको पोखरीमा पानी जम्मा गर्ने र त्यसैबाट तल्लो टोलमा रहेको पोखरीमा जम्मा गरेर सिँचाइ गर्न सहज बनाएको देखिन्छ ।
दोलखाका यी पोखरीले सिँचाइ मात्र होइन कि ऐतिहासिक, धार्मिक महत्व पनि बोकेको पाइन्छ । जस्तो कि माथिल्लो पोखरीलाई पानी संकलनको लागि मात्र हेरिए पनि तल्लो शहरको पोखरीलाई रानीपोखरीको नामले पनि प्रसिद्धता पाएको छ । यही पोखरीको ठिक अगाडि राजदरबार रहेको र पश्चिमतिरको बहार टोलमा रानीको दरबार रहेको भन्ने इतिहासमा देखाएको छ र यही पोखरीमा हरेक जनैपूर्णिमामा मेला लाग्ने गरेको छ । यसैगरी दोलखामा पिउने पानी वितरण गर्न दोलखा शहरबाट लगभग तीन किलोमिटर उत्तरमा रहेको दर्पmे भन्ने ठाउँबाट पानी ल्याइएको छ ।
दोलखाभित्र यथाशक्तिले भ्याएसम्मका इतिहास, परम्परा र साँस्कृतिक पक्षलाई नियालेर हेर्दा माथि उल्लेखित कुराहरु देखिए पनि अभैm अमूल्य मूर्त अमूर्त तथ्यहरु रहस्यको गर्भमा लुकेका होलान् । आशा छ ती कुराहरुलाई दोलखाका अग्रज र दिग्गज इतिहासप्रेमीहरुले यथाशीघ्र आँगनमा ल्याउने प्रयत्नशील कदम चाल्नेछ भन्ने विश्वास दिलाउँदै अहिलेलाई यी अक्षरहरु सानो कोसेलीको रुपमा अर्पण गरेर बिट मार्ने अनुमति चाहेँ । जदौ ! जय भीमसेन !