नेपाली साहित्यमा विशेषत : समालोचनाको क्षेत्रमा परिचित महेश पौड्याल मुख्यतः कविता, कथा, समालोचना तथा अनुवाद साहित्यमा कलम चलाई रहेका हुन्छन् । अङ्ग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरमा उप–प्राध्यापकको रूपमा कार्यरत पौड्यालका अनामिका यात्री, त्यस पछि फुलेन गोदावरी र अपरिचित अनुहार गरी ती नकथा–सङ्ग्रह, शून्य प्रहरको साक्षी कविता–सङ्ग्रह, एक दर्जन जति बाल साहित्यका पुस्तक तथा विभिन्न विद्यालयका दुई दर्जन पाठ्य पुस्तक प्रकाशित छन् । साहित्य विधाको खोजी, अनुसन्धान र अध्ययन गर्ने रुचाउने पौड्यालसँग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
स्वतन्त्र पठनका साथै समीक्षा–समालोचना पनि गर्ने हुनाले मेरो टेबलमा पुस्तकका चाङ लागि नै रहेका हुन्छन् । करिब करिब साताको एउटा किताब पढ्छु नै होला । अहिले नै ठ्याक्कै भन्न पर्दा चाहिँ म हरिबोल काफ्लेको उपन्यास यशोधरा, तथा डा. नवराज केसीको सिर्जनात्मक गैर–आख्यान शून्यको मूल्य पढिरहेको छु । दुवै पुस्तक मन मोहक छन् । राम्रा पुस्तकको डरलाग्दो खडेरीमा यी दुवै पुस्तक राहत बोकेर आएको महसुस गरेको छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
धेरै छन् । तर नामै लिनु पर्दा नेपालीमा भवानी भिक्षुको कथा सङ्ग्रह मैयाँ साहेब, हिन्दीमा भीष्म साहनीको उपन्यास तमस र अङ्ग्रेजीमा जोन स्टेनबेकको उपन्यास अफमाइस एन्ड म्यान सर्वाधिक मन पर्छन् ।
तपाईँको लागि लेख पढको उपयुक्त समय कुन हो ?
मैले जति लेखेँ, त्यसको अधिकांश हिस्सा राति लेखेँ । अहिले पनि त्यही समय उपयुक्त लाग्छ ।
साहित्यका विविध विधा मध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
सबै विधा उत्तिकै शक्तिशाली हुन्छन् । कुरा के दिने, र कुन शैलीमा दिने, पुस्तकको ल्याकत त्यसमा भर पर्छ । म चैँ बढी सूक्ष्म आकारका कविता र कथा मन पराउँछु ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
मैले सानोमा पढेका पुस्तकमा पण्डित जगन्नाथ गुरागाईँका गुण रत्न माला र नम्र निवेदन, पण्डित खेमराज केशव शरणको भजन–सङ्ग्रह समर्पण, देवकोटाको मुनामदन हिन्दी जीवनी सङ्ग्रह महापुरुष की कथाएँ, रवीन्द्रनाथ ठाकुरका कथा र ओस्कर वाइल्डका कथा हुन् । दार्शनिक स्वामी विवेकानन्दको जीवनी र उनको प्रेरक भनाइहरू चैँ पानी पिए जस्तै गरी पिएको ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो?
बाल्यकालमा त कथा नै बढी मन पर्थ्यो । अलि अलि प्रेरणात्मक र थोरै धार्मिक किताब पनि पढ्थेँ । अचेल सिद्धान्तका पुस्तक तिर बढी मन ढल्किएको छ ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नुभयो ?
म स्कुल छँदै देखि अर्थात् किशोरावस्था देखि नै पढ्थेँ । पढाइको अनुपात अझै उही छ । घटेको वा बढेको छैन ।
धेरै पटक दोहोर्र्याएर पढेका पुस्तकहरू कुन कुन हुन्?
मैले दोहोर्र्याएर पढेको चाहिँ चाल्र्स डिकेन्सको उपन्यास अ टेल अफ टु सिटिज, जोन स्टेनबेकको उपन्यास अफमाइस एन्ड म्यान, देवकोटाको मुनामदन, बिपी कोइरालाको तीन घुम्ती कृष्ण धरावासीको राधा, आदि सम्झन्छु ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
पहिलो, पुस्तकको सम्मोहन । दोस्रो, पाठ्यक्रमको आवश्यकता । तेस्रो, शिक्षक हुनुका नाताले पाठ्यक्रमको दबाब अथवा विद्यार्थीको जिज्ञासालाई सम्बोधित गर्नुपर्ने दबाब । चौथो, समीक्षा–समालोचना क्षेत्रमा काम गर्ने हुनाले लेख–रचनाका लागि, गोष्ठी पत्रहरूका लागि, शोध–अनुसन्धानका लागि, सार्वजनिक मन्तव्यहरूका लागि ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन्?
अ टेल अफ टु सिटिजको त्रास, अफमाइस एन्ड म्यानमा लेनी नामक पात्रको अनौठो मनोविज्ञान, मुना मदनको कारुणिकता, तीन घुम्तीकी इन्द्रमायाको जुझारुपन र राधामा उपन्यासकार धरावासीले देखाएको विमिथीकरण शिल्पको अनुपम उदाहरण ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
धेरै पछ्याउँछन्, विशेष गरी पात्रहरूले । परिवेशले पनि यदाकदा । लेखकले धेरै कम ।
तपाईँको विचार पढ्नु केका लागि हो ?
आनन्दका लागि । ज्ञान आर्जनका लागि । आफूलाई र जगतलाई बुझ्नका लागि । आफू लेखक पनि भएका नाताले आफ्नो लेखन शिल्प र विषय छनोटलाई खार्नका लागि ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
जीवनमा सघाउने नै त पाठ्यक्रमकै पुस्तकले बढी हो । त्यसपछि प्रेरक प्रसङ्ग भएका तथा आत्मिक उज्यालो जगाउने पुस्तकले बढी सघाए ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
१. एक किशोरीको डायरी — एनीफ्रेङ्क
२. दस स्पेक जराथुस्थ्र — फ्रड्रिक नित्से
३. माईएक्पेरिमेन्ट विथ ट्र्थ — महात्मागान्धी
४. आत्मवृत्तान्त — बिपी कोइराला
५. द ब्रोकनविङ्स — खलिलजिब्रान
६. अ टेलअफ टु सिटिज — चार्लस डिकेन्स
७. बिलभेड — टोनीमोरिसन
८. माधवी — मदनमणि दीक्षित
९. शरणार्थी — कृष्ण धरावासी
१०. कर्णाली ब्लुज — बुद्धि सागर
तपाई सँग कति जति पुस्तकहरूको कलेक्सन होला?
म सँग करिब आठ हजार पुस्तक होलान् ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक?
थुप्रो छन् । बाहिर छापिने पुस्तक नेपालमा खासै पाइँदैन । स्वेडिस कवि टोमस ट्रान्ट्रोमरले नोबेल पुरस्कार पाए । उनको ‘द ग्रेटइनिग्मा’ जस्ता किताब नेपालमा भेटिनँ । धेरै जनासँग ‘नोर्टोन एन्थोलजीआफ चिल्ड्रेन्स लिटरेचर’ ल्याइदिनू न भने, अहँ आएन । यता पनि भेटिँदैन । लुइस ग्लुकका पुस्तक पढ्नै पाएको छैन । इन्टरनेट मै भेटेका टिपन टापन पढेर मन बुझ्दैन ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा?
विदेशी लेखकमा मलाई सर्वाधिक मन पर्ने चाहिँ रवीन्द्रनाथ टैगोर, चाल्र्स डिकेन्स, प्रेमचन्द, आन्तोन चेखभ र खालेद हुसैनी हुन् । स्वदेशको कुरा गर्दा बिपी कोइराला, भवानी भिक्षु, मदनमणि दीक्षित, हरिभक्त कटुवाल र कृष्ण धरावासी हुन् । अरू पनि छन् तर यस प्रश्नको सीमा भित्र रहेर यी नामहरू मात्रै लिएको हुँ ।
अध्ययन र लेखाइ बाहेकका रुचिहरू के छन्?
म गीत लेख्छु । केही रेकर्ड पनि भएको छन् । कुनै बेला नाटक पनि खेलेँ । निर्देशन पनि गरेँ । रुचि अहिले पनि छ, तर समय मिली रहेको छैन । भ्रमणमा जानु, केटा केटीसँग समय बिताउनु, सुन्तला खानु, लुकी लुकी पान–सुपारी खानु र खाना पकाउनु मेरो रुचिका विषय हुन् ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
यस्तो चाहिँ केही छैन । कुन पढ्ने भन्ने कुरा मान्छेको रुचि र आवश्यकताले निर्देशित गर्छ । तरै पनि, कुनै पनि सचेत नागरिकले उसको देशको इतिहास, भूगोल, साझा संस्कृति र दर्शनको मूल बुझाउने पुस्तक पढ्नुपर्छ । विज्ञान र भूगोलका आधारभूत कुरा, विश्व इतिहासको न्यूनतम पाठ, दर्शनको कखरा, नागरिक दायित्व र अधिकारका कुरा, वातावरणका कुरा, घरेलु चिकित्सा, स्वास्थ्यका आधारभूत कुरा आदिको जानकारी त राख्नु नै पर्दछ भन्ठान्छु ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
मलाई सूक्ष्म कविताको अर्को सङ्ग्रह छाप्न मन छ । दुई वटा उपन्यासका खेस्रा बनाएको छु । पूर्ण रूप दिन मन छ । करिब २० वटा कथाका झिल्का छन् मनमा । लेखेको चाहिँ एउटा पनि छैन । तिनलाई आकार दिन मन छ । गीत छन् डायरीमा । तिनलाई जीवन दिन मन छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
सिर्जना उज्याले हो, र स्रष्टाचाहिँ बत्ती हो । यी दुईको सम्बन्धलाई कहिल्यै पनि विच्छेदन गर्न सकिँदैन । सिर्जनाले स्रष्टालाई पहिचान र अमरत्व दिन्छ भने स्रष्टाले सिर्जनालाई जन्म र जीवन दिन्छ ।
तपाईँको जीवनमा सानै देखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
छन् । मेरो सबैभन्दा पुरानो स्मृति पटल खोतल्दा म मेरो घरको बैठकमा झुन्ड्याइएको हँसिलो मान्छेको एउटा तस्बिर सम्झन्छु । त्यो थियो स्वामी विवेकानन्दको । उनको प्रभाव मेरो बाल मस्तिकमा यति पर्यो कि म कक्षा ६ अथवा ७ मा हुँदा उनका करिब १०० भनाइहरूलाई अङ्ग्रेजीबाट नेपालीमा उल्था गरेको थिएँ । आज पनि कतै उनको फोटो देखेँ भने मलाई उनी मेरै परिवारका सदस्य हुन् जस्तो लाग्छ । किन किन काठमाडौँको मेरो डेरा पनि एउटा सानो फोटो राखेको छु उनको । उनले सिकाएको जागरण, संयम, अध्यात्म र राष्ट्र प्रेमले सधैँ हल्लाइ रहन्छ । अँ, मेरै जीवन कालमा पनि स शरीर मसँग रहेर प्रेरणा र हौसला दिने पनि अनेक हुनुहुन्छ । यहाँ अहिले नाम लिन सम्भव भएन । ती सबैमा सम्मान छ ।